२६ जेठ २०८३, मंगलबार
शिक्षक आन्दोलनको असर

देशकै ठूला सामुदायिक विद्यालयमा भर्ना अभियान रोकियो, अभिभावक र विद्यार्थी अन्योलमा

बैशाख ३, २०८२
बुटवल
देशकै ठूला सामुदायिक विद्यालयमा भर्ना अभियान रोकियो, अभिभावक र विद्यार्थी अन्योलमा

शिक्षक आन्दोलनका कारण रुपन्देहीका ठूला सामुदायिक विद्यालयमा भर्ना अभियान प्रभावित भएका छन् । विद्यार्थीको रोजाइमा रहेका यहाँका सामुदायिक विद्यालयले सूचना प्रकाशित गरेर भर्ना अभियान रोकेका हुन् ।

शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा रहेकाले माग सम्बोधन नभएसम्म भर्ना अभियान अनिश्चित कालका लागि स्थगित गरिएको विद्यालयहरूले जनाएका छन् ।

बुटवलका कालिका मानवज्ञान मावि, तिलोत्तमाको शान्ति नमूना मावि, बुटवलका कान्ति मावि र नवीन औद्योगिक कदरबहादुर रीता मावि देशकै धेरै विद्यार्थी अध्ययन गर्ने विद्यालयमा पर्छन् । 

ठूला स्कूल मात्रै नभएर नयाँ शैक्षिक सत्र शुभारम्भ गर्ने कार्यक्रममा अन्य सामुदायिक विद्यालय पनि अन्योलमा छन् । नविन औद्योगिक कदरबहादुर रीता माविका प्रअ प्रेमबहादुर बस्नेतले शिक्षक महासंघ विगतका सम्झौता कार्यान्वयन माग गर्दै शिक्षक महासंघको आम हडतालका कारण पूर्वनिर्धारित विद्यार्थी भर्नालगायत सम्पूर्ण कार्यक्रम स्थगित गरिएको बताए । कालिका मानवज्ञान ८  हजार, शान्ति नमूना माविमा ६ हजार ५००, कान्तिमा करिब ६ हजार तथा नवीनमा करिब पाँच हजार विद्यार्थी अध्ययनरत छन् । 

null

कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापाले जारी गरेको सूचनामा लेखिएको छ, ‘हाल चलिरहेको शिक्षक महासंघको शिक्षक कर्मचारी आन्दोलनले सिर्जना गरेको शैक्षिक हड्तालको विषम परिस्थितिले गर्दा विद्यालयको पूर्वनिर्धारित भर्नालगायत सम्पूर्ण कार्यक्रमहरू अर्को सूचना नआएसम्मलाई स्थगित गरिएको व्यहोरा सम्बन्धित सम्पूर्णमा सूचित गरिन्छ ।’

यी विद्यालयमा संस्थागत विद्यालय छाडेर भर्ना हुन विद्यार्थीको तछाडमछाड हुने गर्छ । भर्नाका लागि आवश्यक कोटाभन्दा धेरै विद्यार्थी आएपछि स्कूलहरूले प्रवेश परीक्षा लिएर विद्यार्थी लिने गरेका छन् । 

शिक्षकहरू आन्दोलनमा होमिएर भर्नासहित कार्यक्रम प्रभावित भएकै समयमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यालयबाहिर रहेका बालबालिकालाई अनिवार्य रूपमा विद्यालयमा भर्ना गर्न  निर्देशन दिएका छन् । 

null

आचार्यले शिक्षा सबैको मौलिक हक भएकाले एकजना पनि बालबालिका विद्यालयबाहिर नरहोस् भन्ने उद्देश्यले प्रदेशभर अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, अभिभावक, शिक्षक र सम्पूर्ण सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको उनले बताए । 

मुख्यमन्त्री आचार्यले शैक्षिक प्रगतिलाई अझ सुदृढ बनाउँदै कुनै पनि बालबालिका विद्यालयबाहिर नहुनेगरी अभियानलाई सफल बनाउन सबै पक्षको सक्रियता अपरिहार्य रहेको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्