२६ जेठ २०८३, मंगलबार
जीवनदर्शन

जीवनमा संयोजन शक्तिको भूमिका

बैशाख ६, २०८२
काठमाडौं
जीवनमा संयोजन शक्तिको भूमिका

प्रकृतिमा पदार्थ परमाणुहरूको मिलन र बिछोड निरन्तर चलिरहन्छ । परमाणुहरू सजातीय पनि हुन सक्छन्, विजातीय पनि हुन सक्छन् । जे भए पनि जब उनीहरूको आपसमा मेल हुन्छ तब नवसिर्जना हुन्छ । तर, जतिबेला बिछोडिन पुग्छन् तब उड्दै जान थाल्छन् र विनाशको अवस्था सिर्जना हुन पुग्छ । 

अनादिकालदेखि चल्दै आएको प्रकृतिको यो खेल अनन्तकालसम्म पनि चलिरहनेछ । प्रश्न उठ्न सक्छ- त्यस्तो किन भएको होला ? स्वतः भएको होला कि कुनै शक्तिले काम गरेको होला ? भए कुन शक्ति होला ? र, कसरी उसले त्यस्तो काम गरेको होला ? यस आलेखमा यसैलाई केलाउने प्रयास गरिएको छ । 

संसारमा विनाकारण कुनै पनि कार्य सम्भव हुन्न, हुँदैन । कारण र कार्य अन्योन्याश्रय भएर रहेका हुन्छन् । पहिले कारणबाट कार्यको उत्पत्ति हुन्छ र पछि सोही कार्यले नै अर्को कारण सिर्जना गरिरहेको हुन्छ । विनाकारण सुकेको पत्तासमेत हल्लिन्न भने यति ठूलो कार्य विनाकारण सम्भव हुने प्रश्नै आउन्न । पुन: प्रश्न उठ्न सक्छ- त्यसो हो भने त्यस्तो के कारण होला ? उत्तर यही हो कि सोही पदार्थपरमाणुभित्र विद्यमान अन्तरसंयोजन शक्तिले नै ती सब गराएको हो वा उसकै कारण त्यस्तो हुने गरेको हो ।

हरेक वस्तु वा पदार्थभित्र पदार्थजत्तिकै शक्तिशाली एउटा अन्तरसंयोजन शक्ति हुन्छ, जसलाई अन्तरसंयोजक पदार्थकै संज्ञा दिन पनि सकिन्छ । संसारमा जति पनि सृष्टि, स्थिति, प्रलयका खेल हुन्छन् वा हुँदै आएका छन् ती सबै यही अन्तरसंयोजन शक्तिकै कारण सम्भव भएका छन् वा सम्भव हुँदै आएका छन् । यस अर्थमा सृष्टि, स्थिति, प्रलयलाई पदार्थको खेल मान्न सकिन्छ भने अन्तरसंयोजन शक्तिलाई रेफ्री भन्न सकिन्छ । 

उदाहरणका लागि मानिसकै जन्म र मृत्युको प्रक्रियालाई लिन सकिन्छ । जस्तो; हामी सबैलाई थाहा छ आमा र बाबुको रज तथा वीर्यमा एक/एक जीवकोष रहेको हुन्छ, जहाँ २३/२३ जोडीका दरले ४६ जोडी जीवतत्व रहेका हुन्छन् । यिनै ४६ जोडी जीवतत्व मिलेर भ्रूण निर्माण गरेका हुन्छन् । जसमध्ये एक/एक जोडीले भ्रूणको लिङ्ग निर्धारण गरेका हुन्छन्, जसलाई क्रोमोजोम भनिन्छ भने बाँकी ४४ जोडीले अरू नै काम गरेका हुन्छन् । यी सब काम तिनै ४६ जोडी जीवतत्वभित्र विद्यमान अन्तरसंयोजन शक्तिका कारण सम्भव भएका हुन्छन् । 

अब हेरौं; त्यसले कसरी काम गर्दो रहेछ । बाबु र आमाको समागमपश्चात् जब रज र वीर्य उत्सर्जन हुन्छ तब सोही रज र वीर्यमा रहेको अन्तरसंयोजन शक्ति सक्रिय हुन्छ । र, रज र वीर्यमा रहेका उल्लिखित ४६ जोडी जीवतत्वलाई अन्तरसंयोजन गराउन थाल्छ । जब उसले अन्तरसंयोजनको क्रम शुरू गर्दछ तब उनीहरू आपसमा समन्वित भई नयाँ जीवन बन्न पुगिरहेको हुन्छ । स्मरणीय त के भने जब अन्तरसंयोजन शक्तिले काम गर्न थाल्छ तब उसले अघिल्लो अवस्थालाई निषेध गर्दै अघि बढ्ने गरेको हुन्छ, जसले गर्दा न बीचमा कुनै खाली ठाउँ रहन पाएको हुन्छ । न पुरानो अवस्था जस्ताको तस्तै रहेको हुन्छ । 

अपितु सोही पुरानो अवस्था नै निर्वाध रूपमा नयाँ स्वरूपमा परिवर्तन भइरहेको हुन्छ । फलतः भ्रूणमा विद्यमान जीवतत्वहरू सिङ्गो जीवन बन्न पुगिरहेका हुन्छन् । तर, अन्तरसंयोजनको क्रम भने त्यसपछि पनि सकिएको हुँदैन । अपितु त्यसैले नै नवजात शिशुलाई नयाँ नयाँ अवस्थामा परिणत गर्दै गएको हुन्छ । यतिबेला पनि उसले अघिल्लो अवस्थालाई निषेध गर्दै जाने भएकाले आजको नवजात शिशु भोलि त्यस्तै अवस्थामा रहन्न ।

अपितु युवा र वयस्क हुँदै वृद्धावस्थामा पुगेको हुन्छ । तर, यहाँ पनि अन्तरसंयोजन शक्तिकै कारण बीचमा कुनै खाली हुन दिएको हुँदैन । बरु सोही पछिल्लो अवस्था नै तानिएर अघिल्लो अवस्थामा रूपान्तरित हुँदै गएको हुन्छ ।

जब जीवनको क्षयीकरण शुरू हुन्छ तब त्यसभित्रको जीवन ऊर्जासम्बन्धी परमाणुहरू उँड्दै जान थाल्ने भएकाले मानिस वृद्ध हुँदै जान्छ र जीवन ऊर्जा उडेर समाप्त हुनासाथ मानिसको मृत्यु हुन्छ । जहाँसम्म ती उडेर गएका जीवन ऊर्जाको अवस्था कस्तो हुन्छ भन्ने कुरा छ, त्यसमा पनि अन्तरसंयोजन शक्ति कायमै रहने भएकाले सोही शक्तिले नै उसलाई अन्य जीवनमा परिणत गर्दै लगेको हुन्छ । 

यसरी अन्तरसंयोजन शक्तिले मानिस जन्मिनुपूर्वदेखि नै काम गर्दै आएको हुन्छ भने मरे पछि पनि उसको कार्य जारी नै रहेको हुन्छ । किनभने पदार्थको स्वरूप नाश हुँदा पनि त्यसभित्र विद्यमान अन्तरसंयोजन शक्तिको नाश भएको हुँदैन । अर्थात् निष्क्रिय रहेको हुँदैन । बरू उसले त्यस्तै अर्को जीवन बनाउने काम गरिरहेको हुन्छ ।

यो एउटा सामान्य उदाहरण हो । संसारका हरेक पदार्थमा यही नियमले काम गरेको हुन्छ । हावामा गर्छ, माटोमा गर्छ । आगोमा गर्छ, पानीमा गर्छ । रुखबिरुवा वनस्पतिमा गर्छ, ग्रह-तारा-नक्षत्रमा गर्छ । जसलाई हामीले ईश्वरीय शक्तिको कल्पना गर्ने गरेका हुन्छौं, त्यो अरू केही नभएर यही अन्तरसंयोजन शक्ति नै हो । 

त्यसैले त उसलाई न हावाले उठाउन सक्छ न आगोले डढाउन सक्छ । न पानीले भिजाउन सक्छ न कुनै हातहतियारले काट्न सक्छ । न ऊ आफैं मर्दछ न कसैले मार्न नै सक्दछ । अपितु अनादिकालदेखि अनवरत रूपमा चल्दै आएको छ । अनन्तकालसम्म चलिनैरहनेछ । अस्तु ! आजलाई यति नै ।       
 

salt training

कमेन्ट गर्नुहोस्