नेपाल प्रहरीका कैयौं अधिकृत तथा जवानहरू सडक प्रयोग गर्दा, कार्यक्षेत्रमा कार्यरत रहँदा वा सवारी चलाउने/चढ्ने क्रममा दुर्घटनामा मारिन्छन् र घाइते पनि हुन्छन् ।
प्रहरी कर्मचारी नै कर्तव्यपालनाको सिलसिलामा दुर्घटनामा पर्दा परिवार, राष्ट्र र संगठनमा अपूरणीय क्षति हुन्छ । पारिवारिक विचलनको अवस्थामा पुग्न सक्छन् । यसरी एक जिम्मेवार कर्मचारी, जिम्मेवार पारिवारिक स्तम्भ सडक दुर्घटनामा ढल्दा बालबच्चाको विचल्ली हुन्छ ।
सडक दुर्घटनास्थल हो भनिए पनि दुर्घटना न्यूनीकरणका लागि व्यक्ति स्वयं नै सचेत हुनु जरुरी छ ।
एकपटक म विराटनगर ट्राफिक प्रहरी कार्यालयमा कार्यरत रहँदा शनि मन्दिर सडकको बीचमा उभिएर ड्युटी गरिरहेको थिएँ । केही दिनअघि सवारी दुर्घटना भएकाले पनि गति कम गराउन म सडकको बीचमा उभिएर सवारीसाधनलाई बिस्तारै चलाउन अनुरोध गरिरहेको थिएँ ।
प्राय: ट्राफिक प्रहरीको पोशाक लगाएर ड्युटीमा उभिँदा सवारीसाधनका चालकले प्रहरी देखेपछि स्पिड त कम गरिहाल्छन् नि भन्ने मेरो सोच थियो । साँझ पर्न लागेको थियो । विराटनगर भन्सारबाट छुटेका ठूला ट्रकहरू औद्योगिक नगरी दुहवीतर्फ जाने क्रममा सवारीसाधनको चाप बढेको थियो ।
एउटा भारतीय ट्रक चालकले सवारीसाधन नजिकै रोक्नुभयो र नजिक आउन इसारा गर्नुभयो । म गएँ । केही सोध्न होलाजस्तो लागेको थियो, तर उहाँले भन्नुभयो, 'तिम्रो ड्युटी राम्रो छ, तर तिमी सडकमै उभिएको छौ । सडकमा विभिन्न अवस्थाका चालक हुन्छन् । साँझ पनि पर्दैछ । तिमीलाई सबै चालकले नदेखेका पनि हुन सक्छन् । के सडक बाहिरबाट सवारीसाधनलाई निर्देशन वा जानकारी गराउन सकिन्न ?'
पाका उमेरका चालकले हिन्दी भाषामा सम्झाउनुभएको त्यो समयपछि वास्तवमा नै मैले सडकको असुरक्षित स्थानमा उभिएर ड्युटी गर्न हुन्न भन्ने महसुस गरें र मानें पनि । अझ उहाँले भन्नुभयो, 'सवारी चालक हतारमा हुन सक्छन्, ओभरटेक गर्न सक्छन्, दुईवटा सवारीसाधन एकैसाथ चलेको बेला ट्राफिक प्रहरी बीच सडकमा हुँदा चालकमा हुने घबराहटले दुर्घटना हुनसक्छ ।'
नेपाल प्रहरीका कर्मचारीहरू नेपालको सडकमा प्रत्येक वर्ष २५/२६ जनाको सडक दुर्घटनामा मारिने गरेको अभिलेखले देखाउँछ । प्रत्येक वर्ष १९७ जनादेखि ३६५ जनासम्म घाइते भएको अभिलेख नेपाल प्रहरीसँग छ ।
प्रहरी कर्मचारीको सडक दुर्घटनामा मृत्यु र घाइते
साल | मृत्यु | घाइते |
|---|
२०७७/०७८ | २६ | १९७ |
२०७८/०७९ | २० | २७२ |
२०७९/०८० | १७ | २८१ |
२०८०/०८१ | १८ | २६५ |
२०८१ सालको चैत मसान्तसम्म | १२ | ३६५ |
स्रोत: नेपाल प्रहरी
अनुशासनको पूर्णपालनाको कमीले वा सामान्य लापरवाहीबाट हुने दुर्घटनामा घाइते र मृत्यु समेत भइरहेको सन्दर्भमा नेपाल प्रहरीको सकल दर्जालाई पनि सडक सुरक्षा विषयक अनुशिक्षण समय-समयमा प्रदान गराइरहनु सान्दर्भिक हुनेछ ।
नेपाल प्रहरीका अधिकृत तथा जवानहरू सडक दुर्घटनामा पर्नु दुःखद कुरा हो । यसलाई न्यूनीकरण गर्न प्रहरी कर्मचारीहरू स्वयंले सडक अनुशासनको महत्त्व बुझी आफू सुरक्षित रही आफ्ना मातहतलाई समेत सचेतना फैलाउनु आवश्यक छ । हालै पनि केही जिल्लाको ट्राफिक प्रहरीले आफ्नो र नजिकका प्रहरी कार्यालयसम्बन्धी जानकारी गराएको थियो । यो पनि सकल दर्जाहरूलाई सडक संकेत बारेमा बुझ्न/बुझाउन सकिएको थियो भनेर मान्नु पर्छ ।
सबै प्रहरी कर्मचारीहरूलाई सडक, सडक संकेत, सडक अनुशासनका बारेमा जानकारी र अनिवार्य पालना गराउन जरुरी छ । प्रहरी कर्मचारी दुईपाङ्ग्रे मोटरसाइकल चालकहरूले अनिवार्य दुई हेल्मेट प्रयोगमा निरन्तरता दिनुपर्छ ।
प्रहरी कर्मचारीले जानेर मान्नुपर्ने केही बुँदाहरू निम्न छन्:
- सडक सुरक्षाको आधारभूत सिद्धान्त: गति नियन्त्रण, लेन अनुशासन, सुरक्षित दूरी, ट्राफिक संकेतको पालना र जोखिम पहिचान । (सैद्धान्तिक ज्ञान दिनुपर्छ)
- नेपालको हालको सडक सुरक्षा नियम र कानून: नवीनतम संशोधनसहित सम्पूर्ण नियमहरूको विस्तृत जानकारी र उल्लङ्घन गर्दा हुने सजाय । (कानूनी ज्ञान दिलाउनुपर्छ)
- दुर्घटनाका मुख्य कारणहरू: मानवीय त्रुटि (लापरबाही, बढी गति, ध्यान विचलन, मादक तथा लागूपदार्थ सेवन), सवारीसाधनको अवस्था र सडकको भौतिक पूर्वाधार, मौसमको कारण हुने दुर्घटनाको जानकारी । (विश्लेषणात्मक ज्ञान भन्नुपर्छ)
- मोटरसाइकल चालनसम्बन्धी विशेष सावधानी: स्तरीय हेल्मेट र डबल हेल्मेटको सही प्रयोग, गति नियन्त्रण, अचानक ब्रेक लगाउनुको जोखिम, २ जनाभन्दा बढी सवार हुन नहुने नियम । (विशेष सवारी ज्ञान अनिवार्य पालना गराउनुपर्छ)
- चारपाङ्ग्रे सवारीसाधन चलाउँदा ध्यान दिनुपर्ने कुरा: सिट बेल्टको अनिवार्य प्रयोग, ओभरटेक गर्दा सावधानी, मोबाइल फोनको प्रयोग निषेध, पार्किङ नियम, गति सीमा र ध्वनि प्रदूषण (बढी साइरन नबजाउने) । (विशेष सवारी ज्ञान चालकले मान्नुपर्छ)
- पैदलयात्रीको सुरक्षा: जेब्रा क्रसिङको प्रयोग, फूटपाथको प्रयोग, सडक पार गर्दा ध्यान दिनुपर्ने कुरा, रातिको समयमा देखिने पहिरनको महत्व प्रहरी कर्मचारीलाई अनिवार्य र पालना सुनिश्चित । (आधारभूत सुरक्षा ज्ञान हुनैपर्छ)
- आपतकालीन अवस्थामा प्रतिक्रिया: दुर्घटना भएको खण्डमा तत्काल गर्नुपर्ने कार्य, घाइतेलाई प्राथमिक उपचार, सम्बन्धित निकायमा खबर गर्ने प्रक्रिया, घाइतेलाई अस्पताल पठाउने विशेष तरिकाको जानकारी । (प्रयोगात्मक ज्ञान प्रहरीले तालिममा नै सिकिसकेको हुनुपर्छ)
- सडक चिह्न र संकेतहरूको सही पहिचान: अनिवार्य, निषेधात्मक र जानकारीमूलक संकेतहरूको अर्थ र अनिवार्य पालना गर्ने तरिका, सडकमा कोरिएका रेखाको जानकारी । (सैद्धान्तिक ज्ञान जान्नु र मान्नुपर्छ)
- मौसमअनुसार सवारी चलाउने तरिका: वर्षा, हुस्सु, जाडो र अत्यधिक गर्मीमा अपनाउनुपर्ने सावधानी । (व्यावहारिक ज्ञान थाहा पाएको हुनुपर्छ)
- सवारीसाधनको नियमित मर्मत र जाँच: टायर, ब्रेक, लाइट र अन्य महत्वपूर्ण भागहरूको नियमित परीक्षणको महत्व । (प्राविधिक ज्ञान चालकले अनिवार्य पालना गर्नुपर्छ)
- रक्षात्मक ड्राइभिङ (Defensive Driving): अरूको गल्तीबाट बच्ने कौशल र सम्भावित खतराहरू पहिचान गर्ने क्षमता विकास । (प्रयोगात्मक ज्ञान चालक हुँदै जानेको हुनुपर्छ)
- ट्राफिक प्रहरीको स्थानीय निकाय र नागरिकसँग समन्वय र सहयोग: ट्राफिक नियम पालना गर्न र दुर्घटना न्यूनीकरणमा सहयोग गर्न, स्कूल–कलेजका विद्यार्थीहरूलाई सडक ज्ञान प्रदान गर्न, स्थानीय निकायसँग समन्वय गरी स्थानीय नागरिकसँग सहकार्य गर्न । (सामाजिक ज्ञान लिएको र दिन जान्ने हुनुपर्छ)
- सडक अनुशासन र नैतिकता: धैर्यता, सहयोगी भावना र जिम्मेवार प्रहरी साथै नागरिकको भूमिका । यसमा सडक प्रयोगकर्ताहरूप्रति सम्मान मुख्य हो । सडकमा हिँड्ने पैदलयात्री, साइकलयात्री, मोटरसाइकल चालक र अन्य सवारी चालकहरू सबैलाई सम्मानजनक व्यवहार गर्नु सडक नैतिकता हो । धैर्यता देखाउनु, अनावश्यक हर्न नबजाउनु, अरूलाई अगाडि बढ्न दिनु र सहयोगको भावना राख्नु नागरिकका पनि अनुशासन र नैतिकता दुवै हुन् । (नैतिक ज्ञान समाजमा सचेतनामूलक कार्यक्रम गर्नसक्ने प्रहरी हुनुपर्छ)
- सडक दुर्घटनाका सामाजिक र आर्थिक असर: व्यक्ति, परिवार र राष्ट्रलाई पर्ने नकारात्मक प्रभावबारे जानकारी । यसबाट हुने सडक दुर्घटनाले व्यक्ति, परिवार र समग्र समाजमा गम्भीर सामाजिक र आर्थिक असर पार्दछ । यसका केही प्रमुख असरहरू निम्नअनुसार छन्:
क) सामाजिक असर:- मानवीय क्षति र पीडा: सडक दुर्घटनामा मृत्यु वा गम्भीर चोटपटक लाग्दा व्यक्तिले आफ्नो जीवन गुमाउँछ वा स्थायी अपाङ्गता भोग्नुपर्छ । यसले पीडित र उसको परिवारमा असह्य भावनात्मक र मानसिक पीडा सिर्जना गर्दछ । परिवारका सदस्यले आफ्नो प्रियजन गुमाउँदा वा उनीहरूको कष्ट देख्दा लामो समयसम्म शोक र निराशामा रहनुपर्ने हुन्छ । बालबच्चाले अभिभावक गुमाउँदा उनीहरूको भविष्य अन्योलमा पर्छ ।
- पारिवारिक विघटन र सामाजिक सम्बन्धमा असर: दुर्घटनाका कारण परिवारको कमाउने सदस्यको मृत्यु वा अपाङ्गता भएमा परिवारको आर्थिक अवस्था कमजोर हुन्छ ।
- मानसिक स्वास्थ्यमा नकारात्मक असर: दुर्घटनामा संलग्न व्यक्ति (पीडित, प्रत्यक्षदर्शी वा परिवारका सदस्य)लाई डर, त्रास, डिप्रेसन, एन्जाइटी र पोस्ट-ट्रमेटिक स्ट्रेस डिसअर्डर (PTSD) जस्ता मानसिक स्वास्थ्य समस्याहरू देखिन सक्छन् । यसले उनीहरूको दैनिक जीवन, काम र सामाजिक क्रियाकलापमा नकारात्मक प्रभाव पार्छ ।
- अपराध र सामाजिक विचलन: कतिपय अवस्थामा दुर्घटनापछि उत्पन्न विवाद वा आक्रोशले हिंसात्मक रूप लिन सक्छ र अपराध बढ्न सक्छ । दुर्घटनाका कारण आर्थिक अभाव झेल्नुपरेका परिवारका सदस्यहरू गलत बाटोमा लाग्न सक्ने सम्भावना पनि हुन्छ ।
आर्थिक पक्ष त डामाडोल हुन्छ नै परिवारको बिचल्लीको हिसाब-किताब नै हुन्न । यसले पारिवारिक सम्बन्धमा तनाव र झगडा उत्पन्न गराउन सक्छ ।
घाइते व्यक्तिलाई स्याहार सुसार गर्नुपर्दा परिवारका अन्य सदस्यको दैनिक जीवन र सामाजिक सम्बन्धमा नकारात्मक असर पर्छ । समुदायमा पनि शोक र त्रासको वातावरण सिर्जना हुन्छ ।
सडक दुर्घटनामा नपर्न पहिलो अनुशासन र ट्राफिक नियमको पालना नै महत्वपूर्ण कार्य हो ।
प्रत्येक वर्ष नेपाल प्रहरीको सवारीसाधन दुर्घटना पनि पर्ने गरेको अवस्थामा प्रहरीका चालकहरूलाई पनि सडक सुरक्षा, ऐन-नियम, ट्राफिक संकेत-चिह्न पालना र अनिवार्यता लागू गराउन आवश्यक छ । जयनेपाल ।
लेखक नेपाल प्रहरीको अवकाशप्राप्त प्रहरी नायब उपरीक्षक हुन् ।