२६ जेठ २०८३, मंगलबार
जीवनदर्शन

शुक्राचार्य अरबमा किन गएका थिए ?

जेठ ३, २०८२
काठमाडौं
शुक्राचार्य अरबमा किन गएका थिए ?

पौराणिक कथनअनुसार हाल श्वेतवराह कल्पको सातौँ मन्वन्तर चल्दै छ । हालका मनु विवस्वानपुत्र वैवस्वत हुन् । यसअघि ६ वटा मनु भइसकेका छन् । यस आलेखमा बितेका मनुका समय र त्यति बेलाभएका घटनालाई ऐतिहासिक आलोकमा हेर्ने प्रयास गरिएको छ ।
पहिलो मनु स्वायम्भू मनु हुन् । उनका शतरूपा रानीबाट प्रियव्रत र उत्तानपाद नामका दुई पुत्र भएका थिए । यीमध्ये प्रियव्रतको वंशमा स्वारोचिष, उत्तम, तामस र रैवत गरी पाँचवटा मनु र ३५ वटा प्रजातिपति भएका थिए भने उत्तानपादको वंशमा छैटौँ चाक्षुष मनु र १० वटा प्रजापति भएका थिए । 

इतिहारकारहरूका अनुसार उल्लिखित मनुहरूमध्ये चाक्षुष मनुको समय सांस्कृतिक दृष्टिले विशेष महत्वको देखिन्छ । समयको हिसाबले स्वायम्भू मनु ई. पू. ४००० तिरका मानिएका छन् । स्वायम्भूदेखि चाक्षुषसम्मको मन्वन्तरकाल करिब १३ सय वर्षको मानिएकाले ई. पूं  सत्ताइस सयवर्षतिरबाट सातौँ वैवस्वत मन्वन्तर शुरू भएको देखिन्छ । 

जे होस् चाक्षुष मनुको समयमा भएका प्रजापतिहरूमध्ये ३६औँ देखि ३९ औँसम्मको समयलाई प्राग्वैदिक काल भनिन्छ भने त्यसपछिको समयलाई वेदोदयको समय मानिएको छ । वेदको प्राकाट्य, भूमिमाथिको अधिकार, कृषियुगको शुरूवात, ई. जलप्रलय (ई. पू. ३२ सय वर्षतिर) का कारण काश्यपसागरको तटीय क्षेत्र डुवान तथा पर्शियामाथि भरतहरूको आक्रमण यस समयको महत्वपूर्र्ण घटना हुन् ।

चाक्षुष मनुका अत्यराति, जानन्तपति, अभिमन्यु उर, पुर र तपोरत अत्यन्त शक्तिशाली पाँच पुत्र भएका थिए । पछि गएर कान्छा तपोरतका पुत्र अङ्गिरा पनि उनीहरू जत्तिकै शक्तिशाली भएर निस्के । यिनै ६ जनाले पर्शियामाथि आक्रमणगरी त्यस आसपास विद्यमान सिरिया, बेविलोनिया, मिश्र, आर्मेनिया लगायतका तमाम क्षेत्रमाथि विजय पाएका थिए । त्यतिबेला पर्शिया आफैं भने सुग्द, मरू, वरवधी, निशा, हरयु (शायद हरप्पा) र बक्रित (काबूल) आदि छ खण्डमा विभक्त थियो । 

उल्लिखित ६ जनामध्ये जानन्तपदि र अत्यरातिको वंशजलाई अर्राट भनिन्छ । हालको आर्मेनिया यिनीहरूकै उपनिवेश मानिन्छ । हालको अर्राट पर्वत र सिरियाको नागर अत्यरात पनि उनीहरूकै नामसित सम्बन्धित मानिन्छ । तपोरतपुत्र अङ्गिरा भने कुशद्वीप हालको पूर्वी अफ्रिकी भूभागमा उपनिवेश कायम गर्न पुगेका थिए । तपोरतका दाजु पुरको नामबाट त्यस क्षेत्रको नाम पर्शिया रहेको मानिन्छ, जुन स्थानलाई हाल इरान भन्ने गरिएको छ ।  

त्यतिबेला उनीहरूका अर्का भाइ उरले उपनिवेश कायम गरेको क्षेत्रलाई उर प्रदेश भनिन्थ्यो । प्रशिद्ध युराल पहाड पनि यसै क्षेत्रमा थियो । त्यस प्रदेशमा अत्यन्त सुन्दरी अप्सरा थिइन्, जसलाई उर्वशी भनिन्थ्यो । यौन स्वतन्त्रता कायम रहेको तत्कालीन जमानामा जातकमा कसको बाबु को हो भन्ने नै थाहा हुँदैन थियो । फलतः उनीहरू आमाको नामबाट पुकारिने गर्दथे ।

त्यसमाथि सुन्दरी अप्सराहरू यसै पनि सर्वभोग्यामा पर्दथिन् । त्यस्तैमा एकपटक आदित्य (अदितीका सन्तान) सूर्यले उर्वशीलाई समागमका लागि आमन्त्रित गरेका थिए । जब उनी सृङ्गारपटारका साथ सूर्य समक्ष जाँदै थिइन् बाटामा अर्का आदित्य (वरुण) ले समागमको इच्छा गरे । अदितीका १२ भाइ छोरामध्ये वरुण जेठा र सूर्य कान्छामा पर्ने भएकाले उनीहरू दाजुभाइ मानिन्थे । 

सूर्याभिमुख हुँदै गर्दा जब वरुण बाधक बन्न आए तब उर्वशीले टार्न सकिनन् र पहिले उनी भएतिरै लागी पछिमात्र सूर्य समक्ष गइन् । फलतः उनीहरू दुई भाइको सम्पर्कबाट उर्वशी गर्भवती भइन् र समय पूरा भएपछि जम्ल्याहा सन्तान जन्माइन्, जो अगस्त्य र वसिष्टको नामले प्रख्यात भए । वरुण र सूर्यमध्ये कसका बाबु को हो भन्ने नछुट्टिएकाले उनीहरूलाई संयुक्तरूपमा मैत्रावरुणपुत्र भन्ने गरियो । यसमा वरुण त यसै पनि भइहाले सूर्यको एउटा नाम मित्र पनि थियो । यसैको आधारमा उनीहरूलाई मैत्रावरुणपुत्र भन्ने गरिएको हो । 

पछि गएर वसिष्ठ काश्यपसागरको तटीय क्षेत्रमा पर्ने सुमेरु भूमिको आसपास उपनिवेश कायम गरी बस्न लागे, जुन भूमिलाई हाल अरब भन्ने गरिएको छ । हालका अरबी आदिवासीहरू उनकै वंशज मानिएका छन् । वसिष्ठ सूर्यपुत्र भएकाले उनले त्यहाँ सूर्यउपासनाको स्थिति बसालेका थिए । हालको अरबी भूमिमा रहेको अदना शहर उनै सूर्य अर्थात् आदित्यको नामबाट कायम रहेको मानिन्छ । सूर्यलाई रवी भनिन्छ । निरन्तर रब गर्ने अर्थमा उनलाई रव वा रवि भनिएको हो । 

यस क्षेत्रको नाम पनि उही रव वा रविको नामबाट अरब रहेको हो । वसिष्टले त्यस क्षेत्रमा सूर्यलगायत अन्य धेरै आदित्यको मन्दिर बनाएका थिए तर, वैदिक मन्त्रको उच्चारणको निहुँमा नारद–वामदेवसँग खटपट परेकाले उनी आफैं भने त्यहाँ त्यति लामो समय बसेनन् । केही समयपछि नै अरब भूमि छाडी आर्यभूमि इलावर्ततिर लागे तर, उनका सन्तान भने त्यतैतिर रहन लागे । हाल अरबभूमिमा रहेको मूक, मोखा, महुरा, मक्का, मकरनियत, मैखा आदि स्थान उनकै वंशजको नामबाट कायम भएको जनविश्वास छ ।

वसिष्ठ आर्यभूमितिर लागेपछि त्यस क्षेत्रमा शुक्राचार्य आएर रहन लागे, जो यजमान बलिसँग रिसाएर हिँडेका  थिए । उनी बसेको स्थानलाई कुरैशी भनिन्थ्यो । हालको कुरैशी जाति यसैको आधारमा कायम भएको मानिन्छ । कुरानको भाषा पनि कुरैशी नै हो । जहाँसम्म उनी बलिसँग किन रिसाएर हिँडेका थिए भन्ने कुरा छ त्यसको भने अर्कै कहानी छ ।

जब द्वितीय देवासुर सङ्ग्राममा असुरहरूको हार भएको थियो त्यतिबेला गुरु शुक्राचार्यले यस्तो चमत्कार देखाए कि उनकै सल्लाह मुताबिक असुरहरू चाँडै नै आदित्यहरूमाथि विजयी भए । त्यसपछि बलि काश्यपसागरको तटीय क्षेत्र सुमेरु भूमि छाडेर अरबी भूमिनिकट बलासुरा नामक नगर बसाई रहन लागे । वलिको ऐन्द्रभिषेक यसै स्थानमा भएको थियो । असुरले निरन्तर उन्नति गर्दै गएको आदित्यहरूले सहन सकेनन् र सूर्य (विष्णु)को अगुवाइमा यज्ञअनुष्ठानको निम्ति भनेर उनीसमक्ष केही भूमि माग्न गए । 

बलि विष्णुलाई इष्टदेव नै मान्थे । त्यसैले भन्नासाथ उनीहरूको चाहनाअनुसारको भूमिदान गरिदिए । यतिबेला शुक्राचार्यले आदित्यहरूको कूटीलनीति बुझेर सक्दो विरोध गरेका थिए । यद्यपि इन्द्रले छोरी जयन्ती सुम्पेर शुक्रलाई प्रभावित पार्ने प्रयास नगरेका होइनन् तर, शुक्राचार्यले जयन्तीलाई स्वीकारे पनि उनीहरूको कुटीलनीतिको भने विरोध गरिरहे । तथापि बलि भने आफ्नो वचनमा टसमस भएनन् । त्यसैले शुक्र रिसाएर असुरभूमि छाड्न बाध्य भएका थिए । 

राजा बलिले असल नियतले भूमि दान दिएका भए पनि आदित्यहरूको उद्देश्य अर्कै थियो । उनीहरूले तत्कालै यज्ञको नाममा आगो बाल्न शुरूगरी पूरा असुरनगरसभ्यता ध्वस्त पार्न लागे । बलिलाई बाँधेर पाता फर्काइयो । प्रह्लादको आग्रहमा उनी बन्धनमुक्त त भए तर त्यहाँ बस्न भने पाएनन् । देश निकालागरी अविसिनियातिर पठाइयो, जुन क्षेत्रलाई त्यतिबेला पाताल भन्ने गरिन्थ्यो । त्यसपछि वलासुरा क्षेत्र उजाडियो र लामो समयसम्म त्यस्तै अवस्थामा रह्यो । पछि यसैको भग्नावशेषमाथि सन् ६४० तिर खलीफा उमर नामक मुसलमान सज्जनले वसरा नगर बसाएका थिए, जुन स्थान हाल इराकको मुख्य बन्दरगाह रहेको छ । 

जे होस् अरबीहरू शुक्राचार्यलाई उपाश्यदेव मान्दथे । अहिले पनि शुक्रबारलाई उनीहरू पवित्र दिन मान्ने गर्दछन् । उनीहरूले कुरैशी क्षेत्र मक्कामा शुक्राचार्यको भव्य मन्दिर बनाएका थिए । हालको काबा यही शुक्र मन्दिर हो भन्ने गरिएको पाइन्छ । शुक्राचार्यको एउटा नाम काव्य हो । यसैको आधारमा सो मन्दिरक्षेत्रलाई काबा भनिएको हो । काबामा कालो पत्थरको चार फिट अग्लो र दुई फिट चौडा प्राचीन शिवलिङ्ग रहेको बताइन्छ, जसलाई मुन्नाह भनिन्थ्यो । यद्यपि शुक्राचार्य जानु अघि त्यहाँ वासिष्टहरूले सूर्यबाहेक अन्य आदित्यको पनि मूर्ति स्थापना गरेका थिए तर मुहमदको उदयपछि अन्य मूर्तिलाई हटाएर काबामात्र बाँकी राखिएको इतिहासकारहरूको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्