
मेरा दुई/चार वटा शोखमध्ये हाइकिङ ट्रेकिङ गइरहनु एक हो । समय, परिस्थिति अनुकूल भएसम्म र सबै चाँजोपाँचो मिलेसम्म म हाइकिङ र ट्रेकिङ गर्न औधी रुचाउँछु ।
गएको दशैंलगत्तै सपरिवार शे–फोक्सुण्डो पुगेँ । सायद त्यो संयोग नै थियो होला, मेरा प्रेयसीहरूसँग सुन्दर र शान्त ठाउँमा पुग्न पाउनु । त्यति मात्रै होइन, मेरो परिवार अनि जाजरकोट जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीज्यूको परिवार सँगसँगै पैदल यात्रा गर्ने अवसर प्राप्त गरेका थियौं हामीले । नेपालका अन्य गाउँठाउँ र शहरभन्दा अलि धेरै सुविधा भएको ठाउँ काठमाडौं शहरको वातावरण, भूगोल र जीवनशैलीमा हुर्केबढेकी चौध वर्षीय छोरीसँग समुन्द्री सतहदेखि करिब ३६ सय मिटर माथि रहेको शे–फोक्सुण्डो तालको मनमोहक दृश्यावलोकन गर्नेगरी करिब ३८ किलोमिटरको साँघुरो बाटोको हाइकिङ जाने निर्णय कम चूनौतीपूर्ण थिएन । तर, त्यो भन्दा कयौँ गुणा धेरै खुसी थिएँ म ।
संसारकै अग्लो हिमाल सगरमाथा; जसको उचाइ ८८४८ मिटर छ, यस्तै-यस्तै थुप्रै कुरा किताबमा पढ्नु, परीक्षाका लागि कण्ठ पार्नु जति अप्ठ्यारो होला त्यो भन्दा ज्यादा मज्जा हुन्छ, गर्व अनुभूत हुन्छ र बेग्लै अनुभव हुन्छ ती ठाउँमा आफैं पुगेर अनुभव गर्दा । मेरा प्रेयसीहरूको हृदयको मुस्कान नजिकैबाट नियाल्ने मौका पाएँ मैले । त्यो भन्दा अझ धेरै हाम्रो सम्बन्धको दूरीलाई छोट्याइदियो, सामिप्यता बढाइदियो, सम्बन्धमा थप गाढा रंग भरिदियो यो पारिवारिक यात्राले । म निकै खुसी थिएँ यी सबै कुरा देखेर । तर, मेरो मनको एउटा सानो प्रश्नले मलाई बाटोभरी चिमोटिरह्यो । सायद मेरो प्रश्नले मलाई मात्र होइन हाम्रो शिक्षा प्रणालीलाई सोधिरहेको छ जस्तो लाग्छ । स्कूले उमेरमा यति धेरै विषयवस्तुका बारेमा मैले घोकेँ, कण्ठ पारेँ ती आज सम्झिन मुस्किल पर्छ मलाई । किनकि जे कुरा पढेँ, जे कुरा घोकेँ ती कुरा देख्नै पाएको थिइनँ त्यतिबेला । हेरेर छोएर खाएर देखेर बुझ्नै पाएको थिइनँ । अक्षरमा देखेँ, चिनेँ तर, साँच्चिकै चिन्दै चिनिनँ । र त आजकल याद गर्नै गाह्रो छ ।
हो, किताबमा भए जति सबै ठाउँमा पुग्न र पुगाउन सम्भव पक्कै थिएन र छैन पनि । तर, माध्यमिक तह पार गर्दैगर्दा कम्तीमा वर्षको एकपटक कुनै नयाँ ठाउँमा पुर्याउने संस्कार भइदिएको भए वा स्कूलले यस्तो अभ्यास गरेको भए अक्षर, वाक्य र हरफ कण्ठ गर्ने समयमा मैले नँया ठाउँको भूगोल, त्यहाँका मान्छेको जीवनशैली, आर्थिक सामाजिक अवस्था, कला संस्कृतिसँग नजिकबाट साक्षात्कार गर्ने मौका पाउँथेँ होला । जसले मलाई समस्यासँगै समाधान खोज्न सिकाउँथ्यो, किताब होइन मान्छेको मन पढ्न सिक्थेँ होला । सानो मान्छेभित्रको विशाल हृदयलाई छुन सक्ने कला सिक्थेँ होला, त्योभन्दा धेरै नेपाल पढ्न उहिल्यै सक्थेँ होला ।
मेरो स्कूले जीवनमा यस्ता सबै मौका चुकाएँ भनौं या मौकै पाइनँ भनौं । जे होस् अनुभव गरेर सिक्न भने पाइनँ मैले । न मेरो बालापन फर्केर आउँछ न मैले चाहेजसरी सिक्ने मौका पाँउछु होला । चुकेका मौका फेरि मेरो ढोका ढक्ढक्याउन आँउदै आउँदैनन् भन्नेमा चाहिँ म ढुक्क छु । हाम्रा छोराछोरी पुस्तालाई केही निजी स्कूलहरूले केही हद्सम्म भएपनि यस्तो मौका दिएका छन्, दिने गरेका छन् । त्यसका लागि म एक हदसम्म खुसी छु र कृतघ्न पनि ।
तर, शैक्षिक भ्रमणको नाउँमा अभिभावकमाथि शैक्षिक संस्थाले थोपरिदिएको आर्थिक भारले मभित्र फेरि अर्को प्रश्न जन्माइदियो कि शहरतिरै गरिने शैक्षिक सेमिनार, कार्यशाला गोष्ठीहरूको खर्च कटौती गरेर विद्यार्थीको शैक्षिक भ्रमणमा खर्चिँदा के हुन्छ होला ? मेरा प्रश्नै प्रश्न देखेर हजुरहरूलाई लाग्न सक्छ कि म त प्रश्न उत्पादन गर्ने कारखाना मात्र हुँ तर, त्यसो होइन । प्रश्न मानौं या जिज्ञासा, यात्रीका रूपमा यात्रा गरिरहँदा नितान्त मेरो अनुभवबाट जन्मिएका सवाल हुन् यी । सबै जो सम्बन्धित सरोकारवाला वा अरु कसैलाई सुन्न लायक लागिदिए पक्कै पनि केही न केही समाधान आउन सक्ला । केही कोसिस जरुर हुन सक्लान् र मजस्ता लाखौं अभिभावकको टाउको हलुंगो हुनेगरि छोराछोरी या भनौं बालबालिकाले देशको भूगोल, आर्थिक, सामाजिक, सांस्कृतिक पाटो बुझ्न पाउने थिएँ भनेर विशुद्ध आफ्नो अनुभव पस्किएको मात्र हुँ ।
अन्यत्रभन्दा त्यो यात्रामा देखेका र भोगेका निकै भिन्न र चूनौतीपूर्ण पल मैले शब्दमा उपयुक्त चित्रण गर्न सकेँ सकिनँ त्यो हजुरहरूलाई नै छोडिदिएँ । तर, त्यो फोक्सुण्डोको वाई आकार छातीमाथि शयर गर्दै बसेको पानीको विभिन्न रंग जतिकै रंगिविरंगी याद भने मेरो मन र मष्तिष्कभित्र जीवितै छन् । यी यादहरू सम्झिनका लागि सायद कण्ठ गर्नुपर्दैन । अब जसरी स्कूले जीवनमा परीक्षा पास गर्नकै लागि कण्ठ गरिन्थ्यो । फोक्सुण्डोको काखबाट जन्मेको सुलिगाड झरना झर्दै गर्दा मैले उमा सरबाट रारा र फेवाको साइनो जुराएर लेखेको कविता होस् वा रारा लुम्बिनी राजमार्गको विस्तारपछिको सम्भाव्यता होस् यी सब फोक्सुण्डो यात्रामा श्रवण गरिरहँदा लाग्यो सरको कलमले कतै फोक्सुण्डोलाई समेट्न कन्जुस्याइँ त गरेन ? मेरो दोस्रो पटकको शे–फोक्सुण्डो यात्रापछि भने मलाई लाग्यो केही भावना, केही प्रश्न, केही उत्तर सुनाउनुपर्छ ताकि यात्रामा सोचिरहेका जतिलाई सजिलो पनि होस् ।
सुनिन्छ, कमै मान्छे मात्र दोहोर्याएर शे–फोक्सुण्डो जान तयार हुन्छन् । फेवा ताल हो भने महिनैपिच्छे पनि जान रुचाउँछन् मान्छे, मौका पाएसम्म । म भने कहरले होइन रहरैले दोहोर्याएँ पुगेँ सुन्दर फोक्सुण्डो । समय र परिस्थितिले साथ दियो । कामको सिलसिलामा डोल्पा हुँदै जानुपर्ने भयो । जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीज्यूले ‘एक काम दुई पन्थ, काम पनि हुन्छ शे–फोक्सुण्डो पनि पुगिन्छ ल जाँऊ’ भनेर प्रस्ताव राख्नु भएपछि म पनि तयार भएँ । यसरी तयार हुँदै गर्दा केही लोभ अनि केही जिज्ञासा थिए मसँग ।
यदि लामो बाटोको यात्रा यसरी सँगै गरियो भने प्रजिअ सर लगायत मित्रहरूसँग घनिष्ठता र आत्मीयता बढ्छ । औपचारिक भन्दा अनौपचारिक बसाइँले एकअर्का बीचका भावना विचार र अनुभव सुन्न, जान्नबुझ्न अनि साट्न पाइन्छ भन्ने लोभ थियो र भयो पनि । बसन्त सर, सन्तोष सर पनि साह्रै रसिक सोचेभन्दा धेरै ।
मानवीयता र अभिभावकत्व कस्तो हुन्छ भन्ने कुरा प्रजिअ सरमा देखेँ ,भोगेँ र सिकेँ । बारम्बार फेवा तालमा डुंगामा फोटो खिच्न, टिकटक बनाउन जान तम्सिने त्यही यात्री फोक्सुण्डो जान किन तयार नहुने होला ? वा त्यहाँ दोहोर्याएर गए/नगए पनि अरुहरू किन कम जाँदा रहेछन् र यस्ता जिज्ञासाको उत्तर भेटाउन, ती मान्छेहरू भएर अनुभव गर्न सकिन्छ कि भनेर दुई पटक सोच्दै नसोची म पुनः तयार भएँ ।
यात्राको पहिलो दिन जेठको दोस्रो साता खलंगा अफिसबाट निस्कँदै गर्दा बाटो छेउैमा फूलहरू भूइँभरी पोखिएर मलाई शे–फोक्सुण्डोमा पनि देख्नेछौं, बिस्तारै जानु, हामी फेरि पनि छिट्टै भेट्नेछौं । पर्खि बस्नेछु है तिमी आउञ्जेल भनेझैं लाग्यो ।
गाडी आइसकेको रहेछ म भएको बाटोनिर । सबैलाई अभिवादन गर्दै गाडी चढेँ । गाडीभित्र सबैजना मजाक गर्दै र गफिँदै अगाडि बढिरहेँ । म भने बाटोभरि मेरो छेऊबाटै बतासिँदै पछाडि छुटेका सालका रुखसँग संवाद गर्दै रिम्ना दल्ली हुँदै तल्लुबगर पुगेको पत्तै भएन । तल्लु पुगेपछि वायो ब्रेक तथा चियाखाजाका लागि होटल झिल्लामा गाडी रोकियो । करिब आधी घण्टाको विश्रामपछि पुनः प्रारम्भ भयो गाडीको यात्रा । शक्ति प्रदान चोक रुकुम पश्चिम हुँदै जाजरकोट, रुकुम पश्चिम र डोल्पाको सिमाना त्रिवेणीको झोलुङ्गे पुल तरेर डोल्पाको प्रवेशद्वार खसाङ पुग्यौं ।
करिब साढे पाँच घण्टाको गाडीको यात्रापश्चात डोल्पाको त्रिपुराकोट पुगेर खानाका लागि पहिल्यै खबर गरेको ठाउँमा पुगियो । हिन्दू धर्मावलम्बीहरूको लागि प्रख्यात मन्दिर बाला त्रिपुरा सुन्दरी फोक्सुण्डोबाट फर्किँदा दर्शन गर्ने सल्लाह बमोजिम त्यो दिन गएनौं तर, फर्किँदा भने दर्शन गर्यौं । जसरी वाचा गरेका थियौं । रिम्नामा ठूली भेरीसँग पनि जोडिएको नलगाड र जग्दुल्ला खोलाले सोचिरहे-म बगिरहेछु निरन्तर मलाई हाइड्रोपावर कहिले बनाउँछौ ? र, यी पखेराका बस्तीमा तिमीले छुटाएको ज्याकाराण्डा जस्तै हँसिलो कहिले बनाउँछौ हँ ? बाटोभरी सडकहरूले सोधिरहे मलाई कुल्चिएर कति दिन हिँडिरहन्छौ ? मलाई राम्रो स्याहार कहिले गर्छौ ? ताकि तिमी जस्ता सयौं यात्री जो शे–फोक्सुण्डो ताकेर हिँडेका छन्, म सजिलै पठाउन सकूँ उनीहरूलाई ।
बाटोभरि कतै एकीकृत जस्तो देखिने त कतै छरिएका बस्तीहरूले सोधिरहेका थिए- हामी मात्र कुरिरहेछौ यो देश । छोराछोरी सबै बिदेशिसके, तीविना कति दिन हामी उभिरहन सकुँला र कुरिरहन सकुँला ? मेरा छोराछोरी हुर्काउनयोग्य कहिले बनाउँछौ ? यी बस्तीहरूले, बोटबिरुवाले, खोलानदीले सोधिरहेका प्रश्नहरूको घेराबीच करिब ७ घण्टाको यात्रापछि डोल्पाको सुलिगाड पुग्यौं ।
गाडीबाट नझर्दै बहिनी कौशिला र उसका साथीहरू थकित तर, हँसिलो मुहारसहित हामीलाई स्वागत गर्न पुगे । उनीहरू फोक्सुण्डोलाई छोएर घरतिर फर्किँदै थिए भने हामी फोक्सुण्डोको सामिप्य जाँदै थियौं । त्यसैले होला उनीहरू र हामी दुवै पक्षसँग धेरै गफिने समय थिएन । तैपनि बहिनीले हतार हतार आफूले बचाएर ल्याएको कफी चकलेट, सिटामोल, मुभ, ह्याण्डप्लाष्ट अनि ट्रेकिङ स्टिक हामीलाई हस्तान्तरण गरिन् । र, एउटा सेल्फी पनि खिच्न भ्याइन् । नेपाली सेनाका मेजर साबले सुलिगाडमा स्वागत गर्नुभयो । सुलिगाडमा रहेको सेनाको चेक पोष्ट नजिकैबाट हाम्रो पैदल यात्रा शुरू भयो । सुलिगाडको झोलुंगे पुल तरेसँगै सेनाको गुल्मको आड बनाएर सुलिगाडको तिरैतिर अगाडि बढ्यौं । सुलिगाड पुल तरेर एकैछिनमा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको अनुमति लिएर अगाडि बढ्यौं । करिब १ बजे तिर अलिकति अगाडि पहिरोले बाटो बिग्रेको हुँदा बाँयातिरको काठेपुल तरेर जानुहोला भन्ने सूचना टाँगिएको थियो । त्यो सूचनाले हामीलाई बाँया मोड्यो । काठेपुल पार गर्दै पारिपट्टि अलि अगाडि पुगेपछि सुलिगाड पारी पहिरोले बाटो छेकिएको, माथिबाट ढुंगा झरिरहेको देखियो जो डोजरे विकासको उपज रहेछ ।
दाँयाबाँया जुन बाटो हिँडे पनि आखिर कागेनी पुग्ने दूरी भने उस्तै रहेछ । झण्डै २ घण्टाको पैदल यात्रापछि कागेनी पुगियो जहाँ ३ वटा जति साना होटल थिए । तीमध्येको राजु होटलमा हामी पस्यौं । चिसो पानी पियौं र बहिनीको सिफारिस अनुसार ट्रेक स्टिक मागेर फोक्सुण्डोबाट फर्किँदा पस्ने वाचासहित अगाडि बढ्यौं । राजु होटलकी मालिक्नी राईनी दिदी बडा रमाइली हुनुहुँदोरहेछ । ओखलढुंगाबाट बिहे गरेर डोल्पालाई आफ्नो ठाउँ बनाउन त्यँहा पुगेकी दिदीको सहयोगी मन र हसिलो अनुहारले हामीलाई एकछिन भए पनि खुसी बनायो । करिब १ घण्टाजति पैदल हिँडेपछि हामी स्वागत होटललाई दाँया पार्दै बाँया झोलुङ्गे पुल तर्दै २ घण्टापछि छेप्का पुग्यौं । उकालो त त्यति धेरै होइन, तर जमिनले विस्तारै उचाइ लिँदे गएको खुट्टालाई भने महसुस भएकै थियो ।
दिन लामो भए पनि छेप्का बास बस्ने निधो गरेर पहिले म बसिसकेको होटल गेट वेमा नभै वेलकम होटलमा बास बस्न हामी सहमत भयौं । लगभग ६ घण्टाको पैदल यात्रापछि यही ठाउँमा दोहोर्याएर बास बस्ने त भइयो । बाटो भरि नदीले, रुखले, ढुंगाले मलाई प्रश्न तेर्स्याए पनि छेप्कासँग भने मेरो सानो गुनासो भनूँ कि प्रश्न थियो तर भनिनँ । मतलब, छेप्कालाई पनि एकफेर घान्द्रुक, तिलिचो वा पूर्वतिर कतै घुमाउन लिन पाएको भए छेप्का पनि परिवर्तन अवश्य हुने थियो सोच्दै निदाएछु ।
दोस्रो दिन...
थकाई धेरै भएर होला निन्द्रा गहिरो पर्यो परेन पत्तो पाइनँ । तर, हिजो राति सुत्दा भएको सल्लाह बमोजिम भोलिपल्ट बिहानै ६ बजे उठ्यौं, चिया पियौं र फेरि शुरू गर्यौं हाम्रो पैदल यात्रा । बाटोभरि चिचिला लागेका ओखरका रुखले, झपक्क गरी फलेका चुत्राले, बाटोभरि भेटिने घोडा र खच्चडको लहर अनि तिनका घाँटीमा बाँधिएका घण्टीको आवाजले, सफा कञ्चन नीलो पानीले सजिएको छङछङ गर्दै बगेको खोलाले हामीलाई नै स्वागत गरिरहेछन् झैँ लाग्थ्यो । आफ्नो मनमर्जीले बाटोको चुत्रा टिप्दै खाँदै अगाडि बढ्यौं ।
पहिलो पटक त्यही बाटो जाँदा ओखर देखिनँ सायद ओखरको रुखको पात झर्ने र दाना टिप्ने समय भएर होला । यो पटक भने बाटैभरि ओखरकै रुखसँग साक्षात्कार गर्दै हिँड्ने मौका पाएँ । मैले ओखर देखे जस्तैगरि सीडीओसाबले पनि चुत्राको स्वाद पहिलो पटक थाहा पाउनुभयो । सम्धु अगाडि सम्झना होटलसम्म पुग्दा दुई ठाउँ जतिमा खच्चड मुकाम रहेछ जँहा हामी भन्दा धेरै थाकेका खच्चड विश्राम गरिरहेका भेटिन्थे । सीडीओसाबका रसिक कुरा सुन्दै अगाडि बढिरहँदा पछाडि छुट्नुभएका साथीलाई देखेर उकालिँदै गरेको बाटोले यस्तो भन्दै थियो, ‘फोक्सुण्डो आउनु अगाडि कम्तीमा हप्ता दश दिनसम्म दुई घण्टाको वाकिङ ह्याविट बसायो भने छातीभित्र बजिरहेको र बहिरहेको धड्कनको रफ्तार कम हुन्छ र सजिलो पनि ।’
सुलिगाडको माथि भएर हिँड्दै गर्दा कतै कतै तिरमा पुगियो जहाँको कञ्चन नीलो पानीले सीडीओसाबलाई किन्लेको पानी बिर्साइदियो । मलाई एलओडीमा होहल्लाले भरिएको म्युजिकभन्दा सुलिगाडले गाएको गीत र हावामा सुनिने संगीतको विनोद लिँदै गर्दा कर्णालीबाट बागमतीलाई जिस्काए जस्तो लागिरह्यो । कर्णालीको यो सुलिगाड भन्दैथियो ‘भयो मलाई बागमती बन्नु छैन । दुर्गममा छु, विकटमा छु, म कलकल सफा सुन्दर छु, मेरो छातीलाई फोहोरको थुप्रोले किचेको त छैन नि !’
सुलिगाडले यसो भन्दै गर्दा मलाई यो पनि लाग्यो काठमाडौं यहाँसम्म नआए पनि म गएको चन्द्रागिरि, नमोबुद्ध जस्तै नभए पनि बाटामा छरिएर रहेका ढुंगाछेऊ लगाइदिएको भए मेरा हिँड्दै गरेका पाइलालाई अल्झन हुने थिएन । यसैगरी ढुंगा, खोला र पहरासँग कुरा गर्दै ३ घण्टामा सम्धुको सम्झना होटल पुग्यौं र बिहानको खाना खाइवरी फेरि अगाडि बढ्यौं । सम्झना होटलको आलुभातको यादलाई छोडेसँगै झोलुङ्गे पुललाई पार गरेर १०:४० बजेतिर पुलपारीको झरना होटललाई आँखा झिम्काउदै उकालिन शुरू गर्यौं । अँ साँची, अहिले नामै आएन, याकको आहारा रहेछ के झार बसन्त सरले सुनाउनु भो अनि मलाई पोहोर सालको झारीमा चर्दै गरेका नाउरको बथान याद आयो । आज भने थिएनन्, मैले सुनाएँ मात्र । बिहान साँझ फेला पर्छन् सायद ।
करिब १ घण्टाको ठाडो, साँघुरो, बाटोभन्दा धेरै भीर देखिने उकालो उक्लिसकेपछि सुलिगाड झरना नजिकै पुग्दा करिब १२:३० बजेको थियो । पहिले भन्दा स्तरोन्नती गरिएको साँघुरो उकालो बाटोमा हावाले सन्तोष सरलाई ठेलेर भित्तामा टाँसिदिएको दृश्य सम्झेर अहिले पो डर लाग्छ । अहो ! कस्तो बाटो पार गरिएछ । बसन्त सरले भीरमा झुण्डिरहेका क्याक्टसको आत्मविश्वासको कुरा सुनाउँदै गर्दा मेरो हृदयले भन्यो, ‘यहाँका बस्ती पनि कम्ता आत्मविश्वासी छैनन् बाबै । शिक्षा, स्वास्थ्य, यातायात, विद्युत, सञ्चार जस्ता आधारभूत कुराबाट वञ्चित भएपनि यिनै भीर कुरेर बसेका छन् ।’
क्याक्टसजस्तै सुलिगाड झरनाले र्याप हानेको सुन्दै–सुन्दै करिब आधा घण्टा जति हिँडेपछि फोक्सुण्डो नजिकैको होटल हिमालयमा झोला बिसाएर ७ घण्टाको पैदल यात्रापछि भेटेको फोक्सुण्डोसम्म हतार–हतार पुग्छु , सेल्फी खिच्छु, टिकटक बनाउँछु अनि फेवा तालमा माछापुच्छ्रेको छाँयाजस्तै सामुन्ने काञ्जिरोवा हिमाल हाँसेको देखेर नाँचिदिन्छु सँगै । दुई घण्टा जति फोक्सुण्डोलाई नियाल्छु, उनैसँग बातचित गर्छु, उनको आफ्नै मौलिक रंग हेर्दै रमाइलो गरेर होटलमा फर्कन्छु । हिमाली चुल्होमा न्यानो हुँदै आलुभात खाएर निदाउन कोठामा जान्छु, निदाउने प्रयास गर्छु, तर नव दुलाहाले दुलही भित्राएको दिन उमंग र बेडरुमले सुत्न नपाएझैं छेवैमा रहेको फोक्सुण्डोले जिस्काएर होला सास बढे बढे जस्तो, कौतुहलता भनौं या थकानले मज्जाले सुत्न दिएन । मानौं कि उनी केही भनिरहेकी छिन् । म थाकेर सुत्न खोजिरहेछु अनि फोक्सुण्डो भन्दा नजिक मेरो पलङ्गमा उनी मस्किरहेकी थिइन् । मेरा गोडामा तेल लगाँउदै । उनको मुस्कानलाई न्याय दिन सकिनँ ।
यात्राको अन्त्यमा
यात्रा समापनको दिन सीडीओसाब निदाउनु भयो कि ? आज पनि गहिरो निद परेनछ कतिखेर निदाएछु सँगसँगै उठेछु क्यार ढोका बाहिर जम्काभेट भयो हाम्रो बिहान ५ बजेतिर । हिजो सुत्दाखेरि २ नम्बर भ्युटावर पुगेर फर्कने सल्लाह थियो । हिजो दिउँसो १ बजे नै फोक्सुण्डो पुगेपनि हावा चलेर माथिबाट ढुङ्गा झर्छ नजानु भन्ने बाटोमा फर्कँदै गरेका सेनाका करसाबका कुराले हाम्रो यात्रा रोकियो ।
अरु साथीहरूले हिजै नजाने निर्णय सुनाउनु भएको थियो । हामी बाहिर निस्कियौं, सिमसिम पानी परिरहेको तर आकाश भने खुल्ला । हावाको बेगले हौँसिदै डोल्पा फोक्सुण्डोको काखैमा पुग्यौं । दृश्यपान गर्यौं फोक्सुण्डो सुन्दरता र समुख रहेको काञ्जिरोवा हिमाल । अनि, होटल हिमालय फर्क्यौं । चियापानपश्चात ७ बजेतिर फोक्सुण्डोलाई फेरि भेटौँला भन्दै हामी ओरालो लाग्यौं । सुलिगाड झरना पार गर्दै र्याची पुग्यौं र खाना खायौं । फोटो भिडियो खिचेनौं । सबै पुनरावृत्ति थिए दृश्यहरू । छेप्का जँहा फोक्सुण्डो जाँदाखेरि बास बसेका थियौं त्यहीँ आएर कालो कफिको चुस्कीमा रमाउँदै, साउनीको फरासिलोपनले थकाइलाई एकछिन बिर्सायो । त्यो दिनको खाना, खाजा, आराम गर्दै करिब १२ घण्टाको पैदल यात्रापश्चात डोल्पाको सदरमुकाम दुनै पुग्यौं । आत्मिय स्वागत प्राप्त गर्यौं डोल्पा जिल्लाका श्रेष्ठ पदाधिकारीहरूको टिमबाट । भोलिपल्ट पनि बिहानै बाला त्रिपुरा सुन्दरीको दर्शन गर्ने सल्लाह भयो । आज भने म मज्जाले निदाएछु । सन्तोष सरले उठाउनुभयो बिहानै । एक घण्टाको ड्राइभपछि बाला सुन्दरीको दर्शन गर्न उक्लिँदै गर्दा पछाडी फर्केर हेरेँ । हर रातसँगै टाँसिएर निदाउने, ओल्टो कोल्टो गर्दा छामछुम पार्ने उनी देखा परिनन् । अरे राति सँगै थियौं कता छुटिन् भन्ने लाग्यो । अनि, उनले भनेको सम्झेँ।
‘ए साथी एउटा कुरा भनम् ?’
‘भनम्’ मैले भनेँ ।
‘तिम्रो फोक्सुण्डोले देशको पीएमलाई पत्र लेखेर दिएकी छन, तिमीले लगेर बालुवाटारमा दिइदिनु रे ।
पहिले म सुनाएर पढ्छु अनि तिमी लिएर जानु ल’, उनले भनिन् ।
मैले हस भनेर मुण्टो हल्लाएँ मात्र ।
‘ल सुन है ।’
सुति सुति उनी उठेर भित्तामा सिरानीको आड लिएर वाचन गर्न लागिन् र भनिन् ‘सुन्दैछौ ?’
‘सुन्दैछु’ मैले जवाफ फर्काएँ ।
प्रिय पीएम
अभिवादन, नमस्कार !
म जहाँ छु ठीकठाक छु । बेला-बेला काञ्जिरोवा मुस्काएको देखेर मलाई शान्ति हुन्छ मनमा । छिटफुट मलाई भेट्न आउने प्रेमीहरूसँग फोटो खिचाउँछु । टिकटक र रिल बनाउँछु । यसरी नै समय कटेको पत्तो पाउँदिन म । ती सबै प्रेमीलाई यहीँ कुरिरहेकी छु, जो आउँछन् मलाई भेट्न । म आफ्नो अंगालोमा बेरेर, स्नेह बाँडेर बिदा गर्छु । आफ्नो ज्यानलाई बेमतलब गर्दै मलाई अगाध माया गरेर भेट्न आउने मेरा प्रेमीका लागि केही गरिदिनुस् न हजुर भनेर हजुरलाई बिन्तिपत्र लेख्दैछु ।
यो पनि पढ्नुहोस्- कथा- संयोगको श्रृंखला
हजुरले मेरो बिन्तिपत्र सुनेर मैले गरेको अपीललाई सम्बोधन गरिदिनुभो भने मेरा प्रेमीहरू मलाई भेटेर गएपछि खुसी हुनेछन् । हुन त अमूल्य चिज सजिलै प्राप्त हुँदैन, त्याग, तपस्या, धैर्यता अनि आत्मविश्वास पनि उत्तिकै जरुरी हुन्छ । तैपनि म उनीहरूको प्रेमिका भएकी नाताले उनीहरूको बारेमा चिन्ता गर्नु पनि स्वाभाविकै ठान्दछु । हजुरको सानो सहयोग र निर्देशन भयो भने तिनीहरूलाई अवश्य राहत हुनेछ । मैले लामो बात नगरी बूँदागत रूपमा यहाँ उल्लेख गर्ने कोसिस गरेकी छु :
१. जाजरकोटदेखि दुनै सडक कालोपत्र गर्ने काम छिट्टै सम्पन्न गर्न निर्देशन दिनुहोला ।
२. सुलिगाडदेखि मसम्म पुग्ने गोरेटो बाटोलाई सहज र थोरै फराकिलो बनाइदिन भन्नुहोला ।
३. मैले जन्म दिएको सुलिगाड झरना नजिकको भीरमा मेरा धेरै प्रेमीहरू डराउँछन् भन्ने सुनेकी छु, त्यहाँ आवश्यक सुरक्षाको प्रबन्ध मिलाइदिनुहोला ।
४. समयको अभावले गर्दा टाढा टाढाका प्रेमीहरू प्लेनबाट आउने भएकोले जुफाल एयरपोर्टमा प्लेनको नियमित उडानको गर्न गराउन निर्देशन दिइदिनुहोला ।
५. गाउँ गाउँका हजुरका साना सरकारहरूले कागजमा बनाएका बाटालाई पूर्णता दिन, प्रत्येक २ किलोमिटरको फरकमा सार्वजनिक शौचालय, फोहोर व्यवस्थापनका लागि ठाउँ र प्राथमिक स्वास्थ्योपचार गर्न सकिनेगरी स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको व्यवस्था मिलाउन आदेश गरिदिनुहोला । साथै, काठमाडौंजस्ता महल छोडेर यहीँ भए गरेका जस्ता बास बस्ने घर र यहाँको बस्ती विकासका लागि अनिवार्य मोडल बनाउन निर्देशन दिनु । किनकि मलाई भेट्न आउने प्रेमीहरू फर्किजाँदा गोतामकोट जस्तो गाउँ देख्न चाहन्छन्, बसपार्क जस्तो कंक्रिट होइन । यिनीहरूलाई उही पुरानैपनको आधुनिकीकरण मन पर्छ भन्ने मलाई थाहा छ । त्यो आफ्नोपन अनि पुरानोपन नमेटाइदिनु भनेर सम्झाइदिनुहोला ।
अन्त्यमा, हजुर यो देशको कार्यकारी हो । ठूलो मान्छे हो । हजुरको आदेश, निर्देशन भए धेरै लाग्दैन होला । दुई वर्षमै मेरा प्रेमीहरूलाई सहज हुनेछ । र, यहाँका गाउँबस्ती र भीरपाखामा आयआर्जन बढेर मुस्कान छाएको देख्न पाउनेछु, त्योभन्दा धेरै त यहाँ मान्छेहरू देख्नेछु । ती मान्छेका आँखामा सपना देख्नेछु, आफ्नै देशमा बस्ने । हजुरलाई पनि एकफेर आउनु है भन्ने चुले निम्तो दिँदै अहिलेलाई यति नै बिन्ती चढाएँ । आगे हजुरको मर्जी ।
हजुरको प्रिया
फोक्सुण्डो !
यति कुरा सम्झिँदै मन्दिर दर्शन गरेर याद गरेँ यो त सपनामा मलाई कुनै अपरिचित युवतीले वाचन गरेको पत्र रहेछ । साथमा न उनी थिइन् न त पत्र । त्यही सपनालाई सम्झेर जस्ताको तस्तै लिपिबद्ध गरिदिएँ र छक्क परेँ म । प्रिय फोक्सुण्डो !
[लेखक चन्द सशस्त्र प्रहरी बल आश्रित गुल्म जाजरकोटमा कार्यरत छन् ।]