२६ जेठ २०८३, मंगलबार
नियात्रा

अपिको अँगालोमा बेरिँदा...

जेठ २७, २०८२
काठमाडौं
अपिको अँगालोमा बेरिँदा...

चारैतिर हिमचुली। अपि, नाम्पा, कायाकोर नाउँका हिम पर्वतहरू। बीचमा फराकिलो मैदान (३,९०० मिटर)। मैदानमा सामान्य होटल।  एकातिर उकालो चढ्दाको थकाइ र भोक, अर्कातिर अपि हिमाल बेस क्याम्प पुग्नुको खुसी, मन रोमाञ्चित भइरहेथ्यो।

हामीले त्यही होटलमा दालभात, तरकारी, अचार र अकबरे खुर्सानी खायौं। खायौं मात्र होइन, कवि अभय श्रेष्ठ र मैले त थाल चाटचुटसमेत पार्‍यौं

थाल चाटेको देखेर होटल सञ्चालिका प्रमिला धामीले भनिन्, 'सरहरूले त थाल नै माझ्नु नपर्ने गरी चाटीचुटी खानुभयो। थाकेर आउनुभएकाले होला, मिठो मान्नु भो। बरू थप्नुहुन्छ कि ?’ ‘दालभात मिठो रहेछ। तपाईंहरूलाई धन्यवाद !’, हामीले भन्यौं।

प्रमिलाको आडमा उनका ससुरा बा झलकसिंह थिए। ‘सरहरू खाना थपिथपी खानुहोला’, तिनले हामीलाई खाना थप्न प्रेरित गरे, ‘गाईको घ्यु पनि छ।’ अपि हिमालमा कति मीठो आत्मीयता !

null

त्यो दिन थियो, १६ जेठ २०८२ । ‘अपि काव्ययात्रा’को अवसरमा हामी त्यहाँ पुगेका थियौं। अपिहिमाल गाउँपालिकाको आयोजनामा भएको काव्ययात्रामा हरियो मैदानमा उभिएर हामीले आ-आफ्ना अनुभूति र सिर्जना सुनायौं।

कार्यक्रममा हामी १२ जना काव्ययात्री, योग गुरु, जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी र केही स्थानीय सहभागी थिए। कीरा (यार्सागुम्बा) टिप्ने सिजन भएकाले धेरैजसो गाउँले भने पर्वततिरै थिए।

बेस क्याम्पमा पहिलो पटक काव्ययात्रा मात्र होइन, ध्यानशिविर पनि चलाइयो। अपि हिमाललाई योग, ध्यान र सिर्जनाको केन्द्र बनाउने योजनामा गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहोरा सक्रिय छन्।  

मीठो अनुभूति सँगाल्न पाइयो, अपि हिमालको जरामा। अपिनाम्पा हिमालको फेदबाट बग्ने चौलानी नदीको शुद्ध पानी पिएर हामी पुलकित बन्यौं।

अपि पदयात्राका क्षणहरू कहिल्यै बिर्सनँ सकिँदैन। ती दृश्यहरू आँखामा नाचिरहेछन्। अपि हिमाल (७,१३२ मिटर) दार्चुला जिल्लाको सबैभन्दा अग्लो भूगोल। अपिहिमाल गाउँपालिका वडा नं. १ मा पर्दछ, बेस क्याम्प। त्यहाँ पुगेर हामीले वरिपरिका हिमाल र समथर हरियाली भूभाग नियाल्यौं।

null

​​त्यहाँ पुग्दा हामीले थकाई बिर्सियौं। घरपरिवार र काम बिर्सियौं। सम्झिरह्यौं त केवल अपिको सौन्दर्य।

हामी चौलानी नदीको मुहानमा पुग्यौं। एक अंजुली पानी उठाएर पिएँ। त्यहाँ शिव मन्दिर दर्शन गर्‍यौं । अनि हरियाली मैदानमा खाली खुट्टा हिँडेर हामीले बेस क्याम्पसँग सामिप्यता गाँस्यौं।

बेस क्याम्प हिम उपत्यका हो। अपि, नाम्पा, कापुचुली, बबै, जेठी बहुरानी, गुराँस, कायाकोरलगायतका हिमालसँग पिरती गाँस्दा मायाको फूलबारीमा झुलेझैं लाग्यो।  

हिमालबाट आएको सिरेटोले हाम्रा नाकलाई चिस्याइरह्यो। मैदानमा चरिरहेका खच्चड। भेडाको बथान। र, यार्सागुम्बा टिप्नेहरूको जीवन गीतले हामीलाई लोभ्याइरह्यो।

अहा, कति रमाइलो ठाउँ !

हामीलाई अपि हिमालले ग्वाम्लाङ अँगालोमा बेर्‍यो। आमाको काखमा बसेको अनुभूति गर्‍यौं। मनमनै हिमाललाई नमन गरें। त्यतिबेला आनन्दको चरमोत्कर्षमा पुगें।

हामीलाई त्यतै बसिरहुँझैं लागेथ्यो। तर, फर्किनु पर्ने बाध्यता थियो। हामी फर्कियौं। यसरी जीवनको एउटा अर्थपूर्ण यात्रा गर्‍यौं हामीले।

null

खासमा जेठ १२ गते हामी काव्ययात्रामा निस्केका। साहित्यकार अभय श्रेष्ठको नेतृत्वमा हामी १२ जना कवि, लेखक र पत्रकारको समूह बिहान काठमाडौंबाट धनगढी उडेका थियौं।

धनगढीमा हामीलाई सुदूरपश्चिमका पत्रकार एवम् संस्कृतिविद् हेमन्त विवशले स्वागत गरे। त्यहाँबाट हामी दुई ओटा जिपमा चढेर र कैलालीको गोदावरी, भासु भिर, बुडर हुँदै दार्चुलातिर लाग्यौं।

दार्चुलाको अपि बेस क्याम्प घुम्नलायक छ। अलौकिक प्रकृति र गाउँलेको आत्मीयताले भुतुक्कै बनाउँछ। त्यहाँबाट फर्केको केही दिन भयो, मन चाहिँ उतै डुल्दैछ।

मेरा लागि सुदूरपश्चिम प्रदेशको पहिलो यात्रा थियो। हामी जति जति उकालिँदै जान्थ्यौं, उति उति शितल हुँदै जान्थ्यो।

पहिलो दिनको हाम्रो गन्तव्य दार्चुलाको गोकुलेश्वर थियो। तर, बाटोमा भेटिने सम्पदा नहेरी अघि बढ्ने कुरै भएन। डडेल्धुरामा हामीले उग्रतारा माताको दर्शन गर्‍यौं। शक्ति पिठमा पुग्दा मन हर्षित बन्यो।

यात्रा लामो थियो, राती ११ बजे मात्र हामी गोकुलेश्वर पुग्यौ। हाम्रा लागि होटल ‘अपि नाम्पा’मा कोठा बुक गरिएको रहेछ। त्यहीँ बास बस्यौं।

भोलिपल्ट बिहान नास्तापछि हामी उकालियौं। चौलानी नदी पछ्याउँदै चमेलिया हाइड्रोपावर र यसको ड्याम हेर्दै हामी खाना खान मकरीगाडमा पुग्यौं।

null

उकालो लाग्दै गर्दा मनले एउटा प्रश्न सोध्यो, ‘स्थानीयले चौलानी सम्बोधन गर्ने नदीमा बनेको हाइड्रोपावरको नाम चाहिँ किन चमेलिया राखियो ?’

यसको जवाफ खोज्दैछु। अँ साँच्ची, मकरीगाडबाट गाउँपालिका मुकाम खण्डेश्वरी जाने सडक बन्दै रहेछ। हाम्रो जिप यात्रा यहीँसम्म थियो। यहाँको दाल, भात, तरकारी, गाइको ध्यु, पुदीना र भाङको अचार खाएपछि मन तृप्त भयो। ऊर्जा बढ्यो।

हाम्रो टोलीमा मुलुकका चर्चित लेखकहरू थिए। अभय दाई, प्रभा बराल, सागर उदास, कुमारी लामा, दीपेन्द्रसिंह थापा, घनश्याम पौडेल, घनश्याम खड्का, शान्ति लामा, लक्ष्मी रुम्बा, अनुपम रोशी र  बल्कुराम पुन उत्साहित भएर यात्रा गरिरहेका थिए।

अपि क्षेत्र एक्सप्लोर गरी मिडियामा आआफ्ना अनूभूति लेख्ने हुट्हुटी थियो सबैमा। खानापछि हाम्रो पदयात्रा शुरू भयो। मकरीगाडबाट उकालो सिंढी (करिब आठ हजार) चढेर मकरीकोट पुग्दा सहयात्रीहरू थकित देखिन्थे।

जेठको मध्य घाममा हिँड्दा जोकोहीलाई पनि गाह्रै हुन्छ। उकालो चढ्दै गर्दा खण्डेश्वरीमा बन्दै गरेको अस्पतालमा प्लम्बर कामका लागी धनगढीबाट आएका राजकुमार पोखरेलको टोलीसँग जम्काभेट भयो।

null

‘तपाइँहरूको यात्रा कस्तो हुँदैछ ?’, मैले सोधें।

'हाम्रो सामान खच्चडले ल्याउँदैछन्। मान्छेहरू कहाँकहाँबाट खर्च गरेर यहाँ आउँदा रहेछन्। हामी त कमाउन आएको। रमाइलो ठाउँ रहेछ। अस्पतालको काम सकेर हामी पनि बेस क्याम्प जानेछौं।'

गफिँदै हामी मकरीकोट पुग्यौं। त्यहाँबाट पारीपट्टी खण्डेश्वरी र नौपाटा होमस्टे देखियो। बासस्थल नजिकै देख्दा चारपाँच घण्टा लागेर उकालिएको थकाइ कता हरायो, कता।  

नौपाटामा गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहरा, कर्मचारी र जनप्रतिनिधि र होमस्टे सञ्चालकले हाम्रो भव्य स्वागत गरे।

ढाँको बाजा बजाउँदै, मल्देशी पहिरनमा सजिएका स्थानीयको आथित्य र स्वागतले लठ्ठै बनायो।

सुर्मा भवानी मान्ने समुदायको बाजा रहेछ, ढाँको। होमस्टेमा हामीले घट्टमा पिँधेको सेतो मकैको रोटी, दही, दुध, मही र लोकल आलुको परिकार खान पायौं।

null

गाउँमा गहुँ, चिनो, जौं, मकै, आलु, सिमी उत्पादन हुने रहेछ।

नौपाटा होमस्टेमा हाम्रो स्वागत गर्दे गाउँपालिका अध्यक्ष बोहोराले भने, ‘गतबर्ष करिब पाँच हजार आन्तरिक तथा बाह्य पर्यटकले अपि बेस क्याम्प’ पदयात्रा गरेका थिए।‘

उनको ब्रिफिङ सुन्दै गर्दा मैले पत्रकार अमृत भादगाउँलेलाई सम्झिएँ। उनको समूहले सन् २०११ मा अपि बेस क्याम्प पदयात्रा गरेको थियो।

‘हामीले चमेलिया जलविद्युतको बाँध बिटलेबाट पदयात्रा शुरू गरेका थियौं। पदमार्गमा एक जना पनि पदयात्री भेटेनौं’, दाइले भनेको सम्झें।

भिजनरी जनप्रतिनिधि आएकाले पछिल्लो तीन वर्षमा अपि बेस क्याम्पको कायाकल्प भएको रहेछ। गाउँपालिकाकै अगुवाईमा ठाउँठाउँमा होटल सुबिधा र पदमार्ग व्यवस्थित गरिएको रहेछ।

हिजो खप्तड र बडिमालिका चर्चामा थिए। आज अपि चर्चित बन्दैछ। गाउँपालिकाभित्र पाँचवटा सामुदायिक होमस्टे सञ्चालनमा छन्।  पर्यटकको चाप र स्थानीयको मागअनुसार होमस्टे थप्दै जाने योजना सुनाए अध्यक्षले।

पालिकाले स्थानीय युवालाई पथप्रदर्शक तालिम दिइसकेको छ। होमस्टे सञ्चालकले पनि तालिम पाएका छन्। उनीहरूको अनुहारमा उत्साहको फूल फुलेको छ।

null

पालिकाले नै धौलीओडार र वेस क्याम्ममा होटल बनाएर भाडामा लगाएको रहेछ । पदमार्गको मार्केटिङ गर्ने गज्जबको काइदा रहेछ !

डक्टरहरूलाई बेस क्याम्पमा निःशुल्क घुमाउने। तर, पालिकाको एउटा शर्त छ, त्यो के भने घुम्न आएको चिकित्सकले स्थानीयको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुपर्छ। यसरी गत वर्ष आँखा र कान शिविर चलाइएको उनले बताए।  

अर्को आइडिया पनि राम्रै लाग्यो, स्वदेशी तथा विदेशी स्वयंसेवी शिक्षकलाई बोलाएर घुमाउने। अनि यहाँ पढाउने।

'अपिहिमाल गाउँपालिकालाई प्राकृतिक, धार्मिक र आध्यात्मिक गन्तव्यका रुपमा ब्रान्डिङ गर्दैछौं’, अध्यक्ष बोहोराले भन्छन्, ‘जडीबुटी अध्ययनका लागि समेत अपि क्षेत्र उपयुक्त छ।’

यस क्षेत्रमा रातो च्याउ, पाँचऔले, डुकु, गनना, सिलाजित, यार्सा, जटामसी लगायतका जडीबुटी पाइन्छ।

धार्मिक हिसाबले पनि अपि क्षेत्र पावन भूमि हो। यस क्षेत्रका शिव मन्दिर, सुर्मा सरोवर, कपिल ऋषिले तपस्था गरेको कपिल हिमाल, धर्म गुफा, नाग नागिन मन्दिर, मस्टो मन्दिर, काली ढुङ्गा ताल, रिङ्दे पोखरी, लगायतको प्रचारमा जुट्ने पालिकाको योजना छ।

त्यो साँझ हामीले पालिकाका अध्यक्षका कुरा त सुन्यौं नै, स्थानीय मल्देशी र डेउडा संस्कृतिमा पनि झुम्यौं। जानी नजानी डेउडाको तालमा खुट्टा हल्लायौं।
गाउँमा मानिस थोरै थिए। गाउँका मान्छे कहाँ गए ?

null

प्रश्न सुनेर होमस्टेकी आमा पानासिंह ठेकरे र बा नरेन्द्रसिह ठेकरेले जवाफ दिए, ‘गाउँलेहरू सबै यार्सा टिप्न लेकतिर गएका छन्।’
यार्सागुम्बा यस क्षेत्रको आयआर्जनको राम्रो माध्यम हो।

नौपाटाका १५ घरमा पाहुना राखिन्छ। होमस्टेमा सामान्य बसाई, स्वादिलो खाना र आत्मीय ब्यबहार पाइन्छ।

एक रात नौपाटामा बसेर बिहान ओरालो लाग्दा धनबोहरामा जडीबुटी चिया खायौं। डुकु, गनना र सिलाजित राखेर पकाएको चिया।
त्यहाँ हामीले दही पनि चाख्यौं। अत्यन्तै मिठो ।

धनबोहराबाट चौलानी नदीको किनारैकिनार हिँड्दा भिर मौरीका घारहरूमा मौरीहरू भुनभुनाइरहेका थिए। धनबोहराबाट घुसा जाने उकालो उक्लँदा टन्टलापुर घामले सेक्यो।

तल चौलानी नदी हेर्दा आङ नै सिरिङ्ग हुन्थ्यो। क्षितिजको दृश्य अनुपम थियो। दायाँबायाँ हेर्दै हामीले नाला (२,४३० मिटर) मा पुगेर खाना खायौं। यहाँको खाना सम्झिँदा अहिले पनि जिब्रो रसाउँछ।

नालाबाट सिती होमस्टे पुग्न तीन घण्टा लाग्यो। पदमार्ग हल्का उकालो, हल्का ओरालो, तेर्सैतेर्सै रहेछ। निगालो, जङ्गली गुलाफ, पारिपट्टीका डाँडा, तलको चौलानी नदी  हेर्दै हिँड्दा थकाई मेटिँदै जान्थ्यो।

तल चौलानी नदि हेर्दा कहालिएका साथीहरू भित्ता छाम्दै हिँडे। खुलेको मौसम। हरियाली वातावरण। रमणीय ठाउँ। पदयात्रामा शरीर मन दुवै फुरुङ्ग थिए।

null

हामी बेलैमा सिती होमस्टे (२,२८४ मिटर) पुग्यौ। नुवाइधुवाई सकेर आराम गर्‍यौं। गाउँका सबै लेक उक्लिएका थिए। हामी बास बसेको घरमा, एसईइ परीक्षा दिएर बसेकी ममीरा जागरी मात्र थिइन्। उनले सानिआमाकी छोरीलाई बोलाएर मिठो खाना पकाएर खुवाइन्। आलु र सागको तरकारी, हामीले थपिथपि खायौं।

चट्याङ्सहित साँझमा परेको हल्का वर्षाले जाडो अनुभव भएकाले खानापछि भान्सामा आगो ताप्यौं। शरीरलाई न्यानो बन्यो।
‘पाहुनालाई खाना बनाएर खुवाउन पाउँदा रमाइलो लाग्छ’, ममिरा बहिनीले भनिन्।

हाम्रो यात्राको चौंथो बिहान ५ बजे नै हामीले सिती गाउँलाई छोड्यौं। त्यहाँबाट ओरालो झरेर खायाकोट (२,०५० मिटर) पुगेर खाजा खायौं।

खाजा खाइवरी फेरि पाइला चाल्यौं। सिमसिमे पानीले यात्रा रोमाञ्चक बनेको थियो। कहिले उकालो, कहिले ओरालो, चौलानीको किनारैकिनार हावाको हल्का लप्का चुम्दै हिँड्यौं।

चराको चिरबिर, चौलानी नदीको सुसाई, घना जङ्गलको शान्त स्थिर ध्वनी। प्रकृतिको न्यानो स्पर्शमा रमाउँदै हामी छिरछिरेमा (२,५०० मिटर) पुग्यौं। त्यहाँ हामीले चिया र ताजा च्याउ खायौं।

null

अर्गानिक जडीबुटी चिया, जङ्गलको अर्गानिक च्याउको तरकारी ! छिरछिरेमा ठुलाठुला रुखको छहारीमा एउटा होटल रहेछ। होटल सञ्चालक जोडी रहेछ। कुराकानीमा होटल सञ्चालिकाले भनिन्, 'काम गर्दा रमाइलो छ। यहाँको कमाइबाट यहीं लगानी गर्दै  व्यवस्थित बनाउँछौं। तपाइहरू फेरि पनि आउनुहोला है !'

हामीले सिमार (२,९०० मिटर) पुगेर खाना खायौं। देवसिंह जागरीको होटलमा गाईको घ्युसँग खाएको खाना स्वादिलो हुने नै भयो। लेकाली आलुको तरकारी मिठो भएकाले दुईचार गाँस भात बढी नै खाइदिएँ।

सिमारबाट हिँडेपछि तर्पेतर्पे उकालो थियो। केहीबेर हिँडेपछि बहुरानी हिमाल देखियो। नजर गर्‍यौं।

बाटोमा ठुलाठुला बृक्ष ढलेका, तिनमै साना लेकाली गुराँस उम्रिएर फूलेका। दमोल (२,९३२ मिटर) मा काठको पुलबाट नदी तर्दा, त्यहाँको घना जङ्गल र हजारौ बर्ष पुराना रुखको फेदमा हिँड्दा बाल्यकालमा हजुरआमाले सुनाएको कथा सम्झिएँ।

उहाँले घना जङ्गलका डरलाग्दा जनावर र गोठालोको कथा सुनाउँदा डराउँथे। ठ्याक्कै त्यस्तै डरलाग्दो घना जङ्गल पार गरेर हामी समथर पाटनमा पुग्यौं, भल्लेखोला (३,४४२ मिटर) । पारी भिरालो पाटनमा यार्सा खोज्नेको चहलपहल थियो।

null

त्यहाँ भेडा र खच्चड चरिरहेका थिए। एउटा अनुपम स्थान, स्थिर, शान्त र बिशाल पाटनलाई मैले निकैबेर हेरिरहेँ। यस्ता दृश्यले यात्राको थकान मेटाउने मात्र हैन, शरीरमा नयाँ ऊर्जा पनि थपिदिन्छ। सम्पुर्ण थकाई, पिर, चिन्ता हटाएर शरीरलाई हावा भरिएको बेलुन जस्तै हल्का वा चङ्गा जस्तै आकाशमा पुर्‍याउँदो रहेछ !

निलो आकाश मुन्तिर हिँड्दै हिँड्दै हामी धौलीओडार (३,४४० मिटर) पुग्यौं। हाम्रो बासस्थानमा। त्यहाँको ‘ग्रिन हाउस’ होटलमा झोला राखेर तातोपानी र जडीबुटी चिया पियौं।

चियो भएका कारण चुल्हो वरपर बसेर गफियौं। एकछिनमा नजिकैको भवैया ताल पुग्यौं। ताल किनारमा खच्चड र भेडा चरिरहेका थिए। तालमा हिमालको प्रतिबिम्ब खिचें। त्यही बेला गाउँले आएर मलाई सोधे, ‘तमी कताबाट आयौ ?’

सुदूरपश्चिममा सानादेखि ठुलासम्मलाई ‘तमी’ सम्बोधन गरिन्छ। ‘काठमाडौबाट आएको हुँ’, मेरो जवाफ सुनेपछि तिनले फेरि सोधे, ‘तमीलाई हाम्रो ठाउँ कस्तो लाग्यो ?’ ‘स्वर्गकै टुक्रा रहेछ’, मैले भनें।

null

‘हाम्रो ठाउँमा अरु पनि पाहुना पठाऊ है’ भनेर उनीहरू लम्किए। यार्सा टिप्नेहरूको मेलै लागेको रहेछ। उनीहरू टेन्टमा बसेका थिए।

धौलीओडारको साँझ रंगिलो बन्यो। हामीले डेउडा नाच पनि हेर्ने अवसर पायौं। होटल सञ्चालक प्रेमसिंह जागरीले मिठो खाना र न्यानो ओछ्यानको व्यबस्था मिलाए।

हाम्रो यात्राको पाँचौं दिन जेठ १६ गते शुक्रबार। हामी बिहान ५ बजे नै उठेर अपि बेस क्याम्पको उकालो चढ्यौं। करिब डेड घण्टामा बेस क्याम्प पुग्दा घाम झुल्किसकेको थियो। गाउँलेहरू खाना बोकेर लेकतिर उकालिँदै थिए।

यात्राको क्लाइमेक्स विदन्दु बेस क्याम्पमा चिया सुरुपसुरुप पार्दै गर्दा मैले साथीहरूका अनुहार नियालें। ठेुलै बाजि जितेझैं सबैका अनुहार धपक्कै बलेको थियो। अपि हिमालझैं टलक्क थियो।

null

दिनभर हामी बेस क्याम्पमा बस्यौं। अपिहिमाल गाउँपालिकाले आयोजन गरेको योग ध्यान शिविर र काव्ययात्रा कार्यक्रममा व्यस्त बन्यौं।

साँझ फेरि धौलिओडार झर्‍यौं। साँझ आगोको चुल्हो वरिपरि बसेर हामीले यात्राको समीक्षा गर्‍यौं। कवि, लेखकका आँखाबाट अपि क्षेत्रको सम्भावना, समस्या र भविश्यलाई पर्गेल्ने गाउँपालिकाको प्रयासलाई साधुबाद भन्यौं। अनि डेउडाको रन्कोले छोप्यो।

अर्को बिहानबाट फर्किन सुरु गर्‍यौं।  बाटोमा मैले बयली खोलाका पौडी खेलेर नयाँ अनुभव लिएँ । साथै पालिकाकी कर्मचारी छायाँ धामीको सहयोगमा प्रत्यक्ष यार्सा खोज्ने अवसर पनि पाएँ।

null

त्यस दिन हामी सिती होमस्टेमा बास बस्यौं। भोलिपल्ट मकरीगाडसम्म हिँड्यौं। मकरीगाडमा खाना खाएर साँझ जिप चढेर रातभरको यात्रापछि जेठ १९ गते बिहान धनगढी विमानस्थल पुग्यौं।

हामी अपि हिमालका तस्बिर, गाउँलेको माया र सम्झना बोकेर काठमाडौं फर्कियौं।

null

वास्तवमा अपि बेस क्याम्प घुम्नलायक छ। अलौकिक प्रकृति र गाउँलेको आत्मीयताले भुतुक्कै बनाउँछ। त्यहाँबाट फर्केको केही दिन भइसक्यो, मन चाहिँ अपिका हरिया मैदानतिरै डुल्दैछ। 

अपिले हामी लेखकहरूलाई सम्झियो। मन खोलेर सम्मान गर्‍यौं। हामी मन, वचन र कर्मले अपिको गुन तिर्ने प्रयास गर्नेछौं।

प्रिय अपि ! नमरी बाँचे कालले साँचे म फेरि आउने छु, तिमीलाई भेट्न। 

null

null

salt training

कमेन्ट गर्नुहोस्