नेपाल आयल निगमको आधुनिक सेवा सुविधासहितको नयाँ भवन सञ्चालनमा आउने अन्तिम तयारीमा छ । निर्माण सम्झौता भएको करिब ४ वर्षपछि सिंहदरबारको आडैमा बबरमहलस्थित निगमको नयाँ भवन सञ्चालनमा आउन लागेको हो ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण भइरहेको अत्याधुनिक भवनको काम करिब ९७ प्रतिशत सम्पन्न भइसकेको आयोजना प्रमुख राम बन्जाराले लोकान्तरलाई बताए । निर्माणको काम सम्पन्न भई भित्री फिनिसिङ लगायतका काम भइरहेको उनको भनाइ छ ।
निगमको मुख्य कार्यालय २०७२ सालमा गएको भूकम्पले क्षति पुर्याएको थियो । बबरमहलमा रहेको आयल निगमको मुख्य कार्यालयका तीनवटै भवन भूकम्पले चर्काएको थियो । त्यसको करिब ५ वर्षपछि २०७७ सालमा निगमले सोही स्थानमा नयाँ कार्यालय भवन बनाउने प्रक्रिया अगाडि बढाएको थियो । जुन अहिले अन्तिम चरणमा पुगिसकेको छ ।
हाल निगमको मुख्य कार्यालय टेकुमा छ । तर, नयाँ आर्थिक वर्षदेखि बबरमहलमा निर्माण भइरहेको भवनबाटै निगमले आफ्नो कार्यसम्पादन गर्ने योजना बनाएको छ ।
‘भवन निर्माणको काम करिब करिब सम्पन्न भइसकेको छ । फिनिसिङको काम भइरहेको छ’, उनले भने, ‘नयाँ आर्थिक वर्षमा नयाँ भवनबाटै काम शुरू गर्ने तयारी छ ।’
२ तलाको अन्डरग्राउन्ड पार्किङसहितको अत्याधुनिक भवन १० तलाको छ । जहाँ चार तलासम्म खुला स्पेससहित बनाइएको छ भने, ६ तलामा आकर्षक टावर छ ।
भवनका सम्पूर्ण कोठा पूर्ण रूपमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएका छन् । लिफ्ट, फायरफाइटिङ, बेसमेन्ट पार्किङ, आकस्मिक निकास लगायत सबै सुविधा छन् ।
भवन निर्माणको लागत करिब १ अर्ब २४ करोड अनुमान गरिएको थियो । निर्माण कम्पनीले ८१ करोडमा भ्याटविना यो भवन बनाउने ठेक्का लिएको हो ।
साढे दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी सन् २०२१ डिसेम्बरमा निर्माण सम्झौता भएको थियो । तर, प्राविधिक कारणले निर्माणको काम करिब एक वर्ष ढिला हुन गएको बन्जाराको भनाइ छ ।