
पछिल्ला केही वर्षमा राष्ट्रिय राजमार्गहरूको दूरावस्थाले गर्दा सडक मार्ग प्रयोग गर्ने यात्रुहरू निर्धारित समयमा आफ्नो गन्तव्यमा पुग्न सकेका छैनन् ।
सडक र राजमार्गको अवस्था खराब हुँदा सर्वसाधारण नागरिकले प्रयोग गर्ने स्थल यातायात भरपर्दो बन्न सकिरहेका छैनन् ।
पूर्व–पश्चिम राजमार्ग, राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा–मुग्लिङ खण्ड र पूर्वी नेपाललाई राजधानीसँग जोड्ने छोटो बीपी राजमार्ग सहज छैनन् । गत वर्ष असोजमा आएको बाढीका कारण बीपी राजमार्ग अस्तव्यस्त छ । निर्माणको काममा भइरहेको ढिलाइका कारण बीपी राजमार्ग भएर हिँड्ने यात्रुले सास्ती खेपिरहेका छन् । सानो पानी पर्यो भने पनि राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू त्रासमा यात्रा गर्न विवश छन् ।
पछिल्ला वर्षहरूमा यात्रुका लागि ‘कहर’ बनेको पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्ड सोमबार र मंगलबार अवरुद्ध हुन पुग्यो । मंगलबार दिनभर लगाएर बनाएको डाइभर्सन राति आएको बाढीले बगाइदिएपछि राजमार्ग पुनः अवरुद्ध बन्न पुग्यो । मंगलबार नै मुग्लिङ–नारायणगढ खण्डको सडक पहिरोका कारण अवरुद्ध बन्न पुग्यो ।
सम्पन्न भइसक्नुपर्ने आयोजनाको काममा भएको ढिलासुस्तीका कारण सानो पानी पर्यो भने पनि डाइभर्सन बगाएर राजमार्ग अवरुद्ध हुने अवस्था देखिएको छ ।
काठमाडौंबाट बाहिरिने नागढुंना–नौबीसे खण्ड होस् या सूर्यविनायक–धुलिखेल सडक, कुनै पनि भरपर्दो छैन ।
सडक विस्तारको काम समयमा पूरा नहुँदा वर्षायाम र चाडबाडको समयमा समेत यात्रुहरूले यात्राका क्रममा दुखः–कष्ट व्यहोर्नुपर्ने देखिएको छ ।
मौसम विभागले यस वर्ष पनि विगतको तुलनामा अधिक वर्षा हुने बताएको छ ।
गत वर्ष मनसुन सकिने बेला मध्य असोजमा भएको वर्षाले धनजनको ठूलो क्षति पुर्याएको थियो । राजधानीको घाँटीमुनि ३५ यात्रुको गाडीमा पुरिएर मृत्यु भएको थियो ।
विस्तारका नाममा खनेर अलपत्र छाडिएका सडकका कारण त्यस्ता अप्रिय दुर्घटना नहोऊन् भन्नेतर्फ सरोकारवालाको समयमै ध्यान पुग्न जरुरी छ ।
सर्वसाधारण नागरिकको आवतजावतमा सहजीकरण गर्दै राजधानीको आपूर्ति सप्लाइलाई समेत सुचारु गर्न राजमार्गलाई भरपर्दो र सुरक्षित बनाउनेतर्फ सरकारले ध्यान पुर्याओस् ।