२६ जेठ २०८३, मंगलबार

प्रकाशचन्द्र खतिवडाका तीन कविता

असार ७, २०८२
काठमाडौं
प्रकाशचन्द्र खतिवडाका तीन कविता

१. परिस्थिति बोध

थोरै भए पनि प्रतिकारमा बोल्नु पर्छ 
देश अँध्यारो बाँचिरहेको बेला 
अलिनो परिवेशमा 
रुमल्लिरहेको छ जिन्दगी 
सम्झ 
पीडाले मुटु दुखी रहेछ बस्तीहरूमा 
मलम लगाई दिने  कोही छैन 
सगरमाथा धुरुधुरु रोइरहेछ 
सगरमाथाकै देशमा । 

म कसरी हाँस्न सक्छु ? 
सगरमाथा रोइरहँदा 
साथीले नै आँगन छिर्ने द्वारमा 
विवेकहीन तगारो लगाएपछि ।

गोमन फणा उठाउन व्यस्त छ 
आफ्नै साथीलाई डस्ने नियतले 
विषका थैलीहरू बटुलेर 
ऊ मौका हेरी बसेको छ 
मौकामा चौका हान्ने गरी ।
जुवाको खाल हैन जिन्दगी 
छक्का पञ्जा दाउ लगाउने 
न त बाघचाल नै हो जिन्दगी 
बाख्राहरू दमनले हसुर्नु पर्ने 
अबोधहरू बोधले सक्रिय भै रहेछन् 
सहनुको पनि एउटा सीमा हुन्छ 
अस्तित्व माथि 
खेलवाड नगर 
अब त बुद्ध पनि 
जुरुक, जुरुक उठ्न सक्छ । 

२. नेपाली जनता 

नेपाली जनता 
भाषण सुनेर 
तर्सन्छन् 
हच्कन्छन् 
रित्तो पेट ठटाएर 

भोक हड्तालमा सामेल भै 
अनिकाल वर्ष मनाउँछन् ।

राहतको परिभाषा खोज्छन् 
शब्दावली नभेटेर 
अर्थ थाती राख्छन् 
महँगो भो बजार
तीनको तेह्र 
चारको सोह्र 
साहुजीको करामतलाई 
धारे हातले सराप्ने गर्छन् 
जग्गा जमिन धितो राखी 
चुलो चौको धुँवाउने गर्छन् । 

मापदण्ड बक्सियो भन्छन् (महाराजबाट)
विचरा जनता 
पत्याइ हाल्छन् (साह्रै सोझा जनता)
कुरो बुझ्दैनन् (बुझ्ने अवसर नै पाउँदैनन्)
आश गर्छन् 
आशै आशमा 
लखटट्टु हुने गर्छन् । 

नाइकेहरू
परेवा मात्रै उडाउँछन् 
र भन्छन् 
खबरदार 
होसियार 
अमन चयन खलबल होला 
तल माथि गरिस् भने 
भेट्लास बारुद गोला । 

बोल्न बन्देज छ 
स्वतन्त्रता कैद छ 
मुक्ति रोइरहेको बेला 
क्रान्ति र परिवर्तन मुर्झाइ बसेको छ ।

भोक खप्ने कि 
गोली खाने 
नेपाली जनता 
छिनोफानो गर्न नसकी 
अझै मौन छन् 
मुर्दा तुल्य हुने गरी । 

३. गणतन्त्र 

यहाँ शान्ति सुरक्षा 
राम्रैसँग कायम छ 
चोर्नेले चोर्न पाउनु पर्छ 
डाकाले डकैत गर्न 
यो गणतान्त्रिक अभ्यास हो हजुरआमा 
भर्खरै मात्र 
ज्यानमाराले 
आचरण सुधारको नाममा 
माफी मिनाहा पाएको छ  
उसैलाई अविर जात्रा गराएर 
पार्टी प्रवेश गराइएको छ । 

गुण्डागर्दीलाई प्रोत्सहान 
बलात्कारीलाई छुट 
दिउँसै नाङ्गो नाँच देखाउन पाउनु पर्छ 
राति होटल एण्ड लज 
यो समाजवादको शभ्य परीक्षा हो हजुरबा 
हिजो मात्रै 
बजार भाउले 
आकाशिने शौभाग्य प्राप्त गरेको छ 
भ्रष्टचार र कमिशन 
नेताहरूको पर्याय नै हो 
पार्टीमा उहाँहरूकै कुरा बिक्ने गरेको छ । 

गधा धुनेले
आफैं गधा भएको पत्तै पाउँदैन
भूँइमा हो कि भारमा ? 
न माछो 
न भ्यागुतो 
निर्धाहरूलाई लगार्न पाउनु पर्छ 
नोट बाँड्न छुट 
जसरी पनि चुनाउ जित्नै पर्छ 
नोट /भोट 
चलन चलेकै छ 
सिद्धान्तको कुरा नगरन यार 
सिद्धान्तले घरबार जोडिँदैन त ।

राष्ट्रियताको धोख नहाल बन्दु 
यो देश 
सबै साझा बनाइनु पर्छ 
कसैले तस्कर बन्न पाउनु पर्छ 
कसैले लठैत 
यो त शिशु गणतन्त्र हो ठाइला बा 
गणतन्त्र 
सुगा रटाई रट्नै पर्छ 
शरणार्थी प्रकरण 
ललिता निवास 
भिजिट भिसा 
लाउडा 
धमिजा 
गिरी बन्धु 
दुधले नुहाएर नेता चोख्याउनु पर्छ 
ठूलो स्वरले विरोध नगर प्रिय 
गणतन्त्र मर्न सक्छ । 

सुन्दरहरैंचा –६, दुलारी, मोरङ

  

salt training

कमेन्ट गर्नुहोस्