२६ जेठ २०८३, मंगलबार
युक्रेन युद्ध अन्त्यमा अझै मिलेन कुरा

ट्रम्प-पुटिन संवाद: मिलेर फिल्म बनाउने पुटिनको प्रस्ताव, ट्रम्पले भने- मन पर्‍यो !

असार २०, २०८२
काठमाडौं
ट्रम्प-पुटिन संवाद: मिलेर फिल्म बनाउने पुटिनको प्रस्ताव, ट्रम्पले भने- मन पर्‍यो !

डोनाल्ड ट्रम्प दोस्रोपटक अमेरिकी राष्ट्रपतिका रूपमा ह्वाइटहाउस फर्किएको ६ महिनामा रुसी समकक्षी भ्लादिमिर पुटिनसँग ६ पटक टेलिफोन संवाद गरे ।

बिहीबार दुवै नेताबीच करिब १ घण्टा लामो संवाद भएको ह्वाइट हाउसले जानकारी दिएको छ । वार्तामा पुटिनले युक्रेन युद्ध अन्त्य गर्न कुनै चासो दिएनन् ।

गत जनवरी २० मा राष्ट्रपतिको शपथ लिएलगत्तै ट्रम्पले केहीदिनमै युक्रेन युद्ध अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसअघि आफ्नो चुनावी अभियानका क्रममा पनि ट्रम्पले युद्ध अन्त्य गरिदिने दाबी धेरैपटक गरे ।

पुटिन आफ्नो एकदमै नजिकको साथी भएको र आफूले चाहे तुरुन्तै युद्ध अन्त्य हुने ट्रम्पको दाबी 'परीक्षण समय'मै असफल बनेको छ ।

बिहीबार भएको एक घण्टा लामो संवादमा दुवै नेताबीच युक्रेन युद्ध, इरानको आणविक कार्यक्रम, द्विपक्षीय आर्थिक सहकार्य र अन्य कूटनीतिक विषयमा छलफल भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।  

दुवै नेताबीचको वार्ताको मुख्य फोकस युक्रेन युद्धमै रहेको पुष्टि पनि ह्वाइट हाउसले गरिसकेको छ ।

तर, संवादले युद्ध अन्त्यको सम्भावना भने देखाएन । आफ्नो लक्ष्य पूरा गरेरै छाड्ने अडान पुटिनले लिएपछि रुस-युक्रेन युद्ध थप लम्बिने देखिएको विश्लेषण हुन थालेका छन् ।

यसरी पटक-पटक वन टू वन वार्ता गरिरहेका ट्रम्प र पुटिनमाथि युद्ध अन्त्य गर्ने भन्दा पनि शीतयुद्ध शैलीको नयाँ अध्याय शुरू गर्न लागेको आरोप लाग्न थालेको छ ।

पुटिनको कठोर अडान

वार्तापछि एक विज्ञप्ति जारी गर्दै क्रेमलिनले रुस आफ्नो लक्ष्यहरूबाट पछि नहट्ने जनाएको छ । युक्रेनमा जारी आक्रमणका ‘मूल कारण’ समाधान नभएसम्म रुसले सैन्य कारबाही नरोक्ने बताएको हो ।

‘मूल कारणहरू’ भन्ने शब्द रुसले विगतदेखि नै प्रयोग गर्दै आएको हो ।

यसको व्याख्याका रूपमा रुसले पहिल्यै देखि भन्दै आएको छ- युक्रेन नेटोको सदस्य हुन नहुने, तटस्थताको नीति अंगीकार गर्नुपर्ने, कब्जामा लिएका भूभागमा रुसको स्वामित्व मान्यता हुनुपर्ने र युक्रेनी सैन्य संरचनामा रुसी अनुकूलताअनुसार सीमितता लागू हुनुपर्ने ।

बिहीवारको संवादमा पुटिनको यही अडान दोहोर्‍याएका हुन् । रुस युक्रेनसँग प्रत्यक्ष वार्ता गर्न तयार रहेको समाचारहरू यसअघि आएका थिए ।

तर, पुटिनको अडानले पूर्व शर्त पालना नभएसम्म रुस वार्ताका लागि तयार नभएको स्पष्ट बनाएको छ ।

रुसी सञ्चारमाध्यम आरटीले भनेको छ- 'पुटिनले ट्रम्पलाई रुस अझै पनि राजनीतिक सहमतिको उपाय खोजिरहेको तर लचिलोपन नपाइएको बताएका छन् ।'

निराशट्रम्प!

समकक्षी पुटिनसँग भएको टेलिफोन संवादपछि ट्रम्पले सञ्चारकर्मीहरूसँग भने, 'पुटिनसँगको वार्तामा युद्ध अन्त्यबारे कुनै प्रगति भएन । युद्ध लम्बिएकोमा म खुसी छैन ।'

पुटिनसँग पटक-पटक संवाद भएपनि युद्ध अन्त्यका लागि कुनै पहल गर्न नसकेकोमा ट्रम्प निराश देखिएका छन् ।

उनले युक्रेनलाई दिइँदै आएको अमेरिकी सहायता रोक्ने निर्णयसमेत गरेका छन् । आफ्नो निर्णयको प्रतिरक्षा गर्दै ट्रम्पले भने, 'बाइडेनले हाम्रो देशको सबै हतियार युक्रेनलाई दिए । अब हामीले आफ्ना लागि केही राख्नुपर्छ । त्यसैकारण युक्रेन पठाउने भनिएका हतियारहरू रोकिएका हुन् ।'

द न्यूयोर्क टाइम्सले गरेको एक टिप्पणीमा ट्रम्पले आफ्नै मित्रराष्ट्रहरूलाई पनि रक्षा सहायता दिन नरुचाएको उल्लेख गरेको छ ।

रुसी समकक्षीसँगको कुराकानीपछि ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई पुनः सम्पर्क गर्ने बताएका छन् । अमेरिकी सैन्य सहायता रोकिएपछि युक्रेन र युक्रेनलाई सहायता दिइरहेका युरोपेली देशहरू चिन्तित छन् ।

ट्रम्पकोव्यापारिक सौदाबाजी!

युद्धको कुरा भइरहँदा ट्रम्प र पुटिनबीच ऊर्जा, अन्तरिक्ष र फिल्म क्षेत्रका विविध पक्षहरूबीच पनि कुराकानी भयो । दुवै नेताले अन्य विविध क्षेत्रमा द्विपक्षीय सहायता आदानप्रदान गर्नेबारे पनि चर्चा भयो ।

पुटिनले रूसी फिल्म निर्माता र अमेरिकी व्यवसायीहरूबीच 'परम्परागत मूल्य प्रवर्द्धन' गर्ने सहकार्यको प्रस्ताव राखेको र ट्रम्पले यसलाई मन पराएको क्रेमलिनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

न्यूयोर्क टाइम्सका अनुसार यस्तो सहकार्य पारिवारिक संरचना, धार्मिक आस्था वा लैङ्गिक नीतिमा दुवै नेताको रूढिवादी सोचसँग मेल खाने प्रयत्न हो ।

एकातिर युक्रेन युद्धमा निर्दोष मानिसको ज्यान गइरहेको छ भने अर्कातिर युद्धकै बीच दुई महाशक्ति देशबीच व्यापारिक तथा सांस्कृतिक सहकार्यको खोजी भइरहेको छ ।

न्यूयोर्क टाइम्सजस्तै अरू अमेरिकी सञ्चारमाध्यमहरूले यसलाई ट्रम्पमाथि नैतिक प्रश्न उठेको रूपमा लिनुपर्ने भन्दै समाचारहरू प्रकाशित गरिरहेका छन् ।

युद्धको चपेटामा परेका राष्ट्रको पीडामाथि सौदाबाजी गरेर ट्रम्पले हदैसम्मको संवेदनहीनता देखाएको चर्चा अमेरिकी राजनीतिमा चलिरहेको छ ।

ट्रम्पले यसअघि इजरायल-इरान द्वन्द्वमा इजरायलको पक्ष लिएर इरानका आणविक केन्द्रहरूमा आक्रमण गर्ने आदेश दिएका थिए ।

यो विषय ट्रम्प-पुटिनबीचको संवादमा पनि उठेको क्रेमलिनले जनाएको छ । पुटिनले उक्त विवादको समाधान कूटनीतिक उपायबाट गर्नुपर्नेमा जोड दिएका थिए ।

नयाँ प्रगति होइन, 'स्ट्याटस को' मात्र !

युक्रेन, अमेरिका र युरोपका नीतिगत विश्लेषकहरूले ट्रम्प-पुटिनबीचको यो संवाद शान्तिको दिशातर्फ नभएर 'स्ट्याटस को'लाई औपचारिक रूपमा दोहोर्‍याउनेतर्फ केन्द्रित भएको बताएका छन् ।

किनभने पुटिनका मागहरू पुरानै छन्, ट्रम्पको प्रतिक्रिया पनि उस्तै छ । नयाँ केही नभएकाले परिवर्तनको सम्भावना पनि नभएको विश्लेषकहरूले बताएका छन् ।

ट्रम्पले युक्रेन युद्ध रोक्न चाहेको देखिए पनि त्यसका लागि आवश्यक कूटनीतिक साहस वा स्पष्ट नीति लिएका छैनन् ।

बरु, ट्रम्पले रुससँग सहकार्य गर्न अन्य विविध बुँदाहरूको सहारा लिन खोजेको देखिन्छ । ट्रम्पको यस्तो रवैयाले अमेरिका नेतृत्वको पश्चिमी गठबन्धनभित्र अविश्वास पैदा गरिरहेको छ ।

ट्रम्प-पुटिन संवादले अहिलेसम्म शान्तिको मार्ग खुल्ला गर्न सकेको छैन । बरू, रुसको अडान, युक्रेनलाई सहयोग कटौती गर्ने ट्रम्पको नीति र दुवैबीच युद्ध अन्त्य गर्ने नभई व्यापारिक सहकार्यको तयारीले विश्वलाई अर्को चरणको तनावतर्फ धकेल्ने संकेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्