
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बनिरहेको प्यारापिट र जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जान आग्रह गरेका छन् ।
प्रचण्डले संसद्मा उठाएको विषयलाई उनले सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत नै जवाफ दिएका हुन् ।
'पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न सोध्नु भएछ– कीर्तिपुरको मैदानमा खोइ फ्लडलाइट ? खोइ प्यारापिट ?,' उनले लेखेका छन्, 'उहाँलाई मेरो आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस् । बनिरहेको छ ।'
प्रधानमन्त्री ओलीले प्रचण्डलाई 'तपाईंले जर्जर छाडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो' भन्दै प्रश्न समेत गरेका छन् ।
'तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन । सरकारको कामबारे तथ्य तथ्यांक राखेर तपाईंले प्रधानमन्त्रीको रुपमा जवाफ पनि दिनु परेन। तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम । मैले त दिन तोकेर गर्छु भनेँ, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरेँ । तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु,' उनले लेखेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले ३०० दिनमा कहाँ जोडियो फ्लडलाइट र कहाँ बन्यो प्यारापिट भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका थिए ।
'मेरो नेतृत्वको सरकारले कीर्तिपुरको रंगशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको थियो । तर, त्यसैबीच हामी सरकारबाट बाहिरियौं । त्यसपछि प्रधानमन्त्री (केपी शर्मा ओली) कै भाषामा शक्तिशाली दुईतिहाईको सरकार बनेको दाबी गर्दै उहाँले पहिलो निर्णयमै ३०० दिनभित्र फ्लडलाइट र प्यारापिटसहितको अन्तर्राष्ट्रिय रंगशाला निर्माण सम्पन्न गर्ने घोषणा गर्नुभयो,' उनले भनेका थिए ।
तर, ३६५ दिन बितिसक्दासमेत उक्त घोषणा कार्यान्वयनमा आउन नसकेको भन्दै प्रचण्डले सरकारको प्रतिबद्धता र क्षमतामाथि गम्भीर प्रश्न उठाएका थिए । 'जोडियो त फ्लडलाइट ? बन्यो त प्यारापिट' भन्दै उनले सत्तारूढ दलको घोषणा र व्यवहारबीचको अन्तर रहेको बताएका थिए ।