
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा सम्मान समारोहलाई आज सम्बोधन गर्दै उनले हिमाल, पहाड र तराईको अनुपम भौगोलिक अवस्थितिले नेपाल आफैंमा एउटा प्राकृतिक चलचित्र स्टुडियोका रूपमा रहेकाले यसबाट चलचित्र सँगसँगै रोजगारी, पर्यटन र राष्ट्रिय अर्थतन्त्रको विकासमा समेत सकारात्मक योगदान पुग्ने बताए ।
राष्ट्रपति पौडेलले चलचित्रका माध्यमबाट राष्ट्रिय लोककला, कथा, गीत, सङ्गीत, भाषा, साहित्य, संस्कृति, सांस्कृतिक पहिचान, राष्ट्रियता, मौलिकता, विविध जातजाति, भाषाभाषीका पहिचानजस्ता विषयलाई सशक्त रूपमा अभिव्यक्त गरिने बताए । उनले भने, 'पछिल्लो समयमा आदिवासी जनजातिलगायतका कला, भाषा, भेषभूषा, संस्कार र संस्कृतिका कथाले पाएको प्राथमिकताले चलचित्र उद्योगमा समावेशिता, पहिचान र विविधताको पक्षलाई सबल बनाउँदै लगेको छ ।'
राष्ट्रपति पौडेलले कलात्मक, सन्देशमूलक र समयसापेक्ष नेपाली मौलिकताको विशेषतासहितको चलचित्र बनाएर विश्वव्यापीकरण र सूचना प्रविधिको युगमा विश्वका दर्शकसामु पुर्याउने प्रयास गर्नुपर्नेमा जोड दिए ।
उनले गुणस्तरीय पक्षलाई जोड दिएर बजारीकरणका लागि नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरणमा पनि ध्यान जान जरुरी रहेको बताए । उनले भने, 'नेपाली चलचित्रको विकास, विस्तार र समृद्धिको यात्रामा सरकार, नीति निर्माता, चलचित्रकर्मी र सरोकारवाला सबै हातेमालो गरेर अघि बढ्नु हाम्रो साझा दायित्व हो ।'
मानव समुदायलाई प्रभावित र प्रेरित गर्ने चलचित्रको महत्त्व आधुनिक युगमा पनि उत्तिकै रहेको बताउँदै उनले भने, 'कलात्मकरूपमा मानवीय जीवन र जगत्का विविध पक्षलाई अभिव्यक्त गर्ने शैली र माध्यमका रुपमा यसको महत्व र विशिष्टता सदैव रहँदै आएको छ ।'
सो अवसरमा राष्ट्रपति पौडेलले दीर्घ साधना सम्मानबाट लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मालाई सम्मान गरेका थिए भने विभिन्न ११ जनालाई विशेष योगदान सम्मान र ११ जनालाई राष्ट्रिय चलचित्र पुरस्कारबाट सम्मान गरिएको थियो ।