
रुस-युक्रेन युद्धबारे बदलिइरहेको ट्रम्पको चरित्रबारे हालै विश्वमा नयाँ बहसको शुरूआत भएको छ ।
अमेरिकी र युरोपेली सञ्चारमाध्यमहरूले युक्रेनलाई हतियार पनि दिने र रुसी राष्ट्रपतिसँगको सम्बन्धलाई पनि कायम राख्नेगरी ट्रम्प द्वैध नीतिमा चलेको टिप्पणी गर्न थालेका छन् ।
पछिल्लो समय युक्रेनप्रतिको दृष्टिकोणबारे ट्रम्पमा बदलाव र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको उनको सम्बन्धलाई लिएर चर्चा चल्न थालेको हो । दोस्रो कार्यकालको शुरूमा युक्रेन र युरोपेली साझेदारविरुद्ध कडा अभिव्यक्ति दिएका ट्रम्प पछिल्लो समय केही नरम बनेका छन् ।
तर, पुटिनसँगको ट्रम्पको सम्बन्ध अझै साथीजस्तो छ । त्यसैले, युक्रेन र युरोपेली साझेदारबारे ट्रम्पले अपनाएको नयाँ नीतिले युद्धको गतिरोध तोड्ने सम्भावना नदेखेको सीएनएनको टिप्पणी छ ।
पुटिनको रणनीति र युद्धप्रतिको दृष्टिकोणमा कुनै परिवर्तन नआएकाले युद्ध हिजो जसरी चलिरहेको थियो, आज पनि उस्तै चल्ने र अनन्तकालसम्म चलिरहने सम्भावना युरोपेली नेताहरूले देखेका छन् ।
युक्रेनप्रति किन नरम भएट्रम्प?
रुस-युक्रेन युद्धको शुरूआति चरणमा ट्रम्पले युक्रेनलाई सहयोग गर्नुभन्दा पुटिनसँगको व्यक्तिगत सम्बन्धलाई बढी जोड दिएका थिए ।
उनको पहिलो कार्यकाल (२०१६-२०२०)मा युक्रेनप्रतिको नीति अस्पष्ट थियो । उनले युक्रेनलाई सहयोग गर्नुको सट्टा पुटिनसँग शान्ति सम्झौताको सम्भावनालाई प्राथमिकता दिएको देखिन्थ्यो ।
तर, हालैका घटनाक्रमले उनको दृष्टिकोणमा परिवर्तन आएको संकेत गरेको छ । विशेषगरी, उनले युक्रेनलाई प्याट्रियट मिसाइल प्रणाली उपलब्ध गराउने सम्झौता गरेका छन् ।
ट्रम्पको यो कदमले युक्रेनको रक्षात्मक क्षमतालाई बलियो बनाउने अपेक्षा गरिएको छ । ती मिसाइलहरूले युक्रेनको भूमिमा आक्रमण गर्न आउने रुसी ड्रोन र मिसाइललाई आकाशमै नष्ट गर्ने क्षमता राख्दछ ।
युक्रेनलाई आत्मरक्षाको अधिकार रहेको भन्दै ट्रम्पले प्याट्रियट मिसाइल उपलब्ध गराउने प्रतिबद्धता गरेका हुन् । पछिल्लो समय ट्रम्पमा आएको यो नीतिगत परिवर्तनले धेरैलाई आश्चर्यमा पारेको छ ।
किनकि, आफ्नो चुनावी अभियानमा उनले युक्रेनलाई सहयोग नगर्ने बताएका थिए । साथै, दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएपछि ट्रम्पले पटक-पटक युक्रेनलाई दिइएको सहयोग बन्द गर्दै आएका छन् ।
ट्रम्पका समर्थकको ठूलो हिस्सा युक्रेनलाई थप सहयोग गर्न नहुने पक्षमा छ । तैपनि, ट्रम्पले युक्रेनलाई 'शीर्षस्तरका हतियार' पठाउने प्रतिबद्धता व्यक्त गरेर ठूलो राजनीतिक जोखिम लिएका छन् । यो कदमले उनको नीतिमा गहिरो परिवर्तन आएको संकेत गर्छ, तर यो परिवर्तनको दिगोपनामा भने आशंकाहरू कायमै छन् ।
'हामीले हतियार दिए तिमीले मस्को हान्न सक्छौ?'
गत जुलाई ४ मा युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग टेलिफोनमा कुराकानी गर्दै ट्रम्पले सोधे, 'भोलोदिमिर, यदि हामीले तिमीलाई लामो दूरीका हतियार दियौं भने तिमीले मस्कोमाथि आक्रमण गर्न सक्छौ ? सेन्ट पिटर्सबर्गमा पनि ?'
यो प्रश्न पुटिनसँग युद्ध रोक्न गरेको असफल वार्तापछि व्यक्त निराशाको परिणाम थियो ।
फाइनान्सियल टाइम्सले जेलेन्स्कीको जवाफ उदृत गर्दै भनेको छ, 'निश्चितरूपमा, यदि तपाईंले हामीलाई हतियार दिनुभयो भने हामी गर्न सक्छौं ।' युक्रेनलाई थप आक्रामक कदम चाल्न प्रोत्साहन गरेका अमेरिकी राष्ट्रपति ट्रम्पले के–के हतियार दिने हो भन्ने कुरा भने अहिलेसम्म खुलाएका छैनन् ।
यद्यपि, मंगलबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले युक्रेनलाई मस्कोमाथि प्रहार गर्न हतियार दिने कुरा नगरेको भन्दै आफ्नै भनाइको खण्डन गरे । उनले भने, 'नाइँ, जेलेन्स्कीले मस्कोमाथि निशाना बनाउनु हुँदैन । म कसैको पक्षमा छैन, म मानवताको पक्षमा छु ।'
यस्ता खालका परस्परविरोधी बयानले ट्रम्पको नीतिमा अझै अनिश्चितता र दोहोरो चरित्र रहेको पुष्टि गरेका छन् । एकातिर उनले युक्रेनलाई बलियो समर्थन देखाउँदै हतियार पठाउने निर्णय गरेका छन्, अर्कोतिर रुससँगको सम्बन्धलाई पूर्णरूपमा तोड्न चाहेको देखिँदैन ।
पुटिनसँगकोटेलिफोन वार्ता
जेलेन्स्कीलाई फोन गरेर मस्को हान्न उक्साएको ठीक एकदिन अघि जुलाई ३ मा ट्रम्प र पुटिनबीच एकघण्टा भन्दा लामो टेलिफोन वार्ता भएको थियो ।
उक्त कुराकानीमा पुटिनले युद्ध अन्त्य गर्न नचाहेको भन्दै आफू निराश बनेको ट्रम्पले बताएका थिए । यद्यपि, युद्धबाहेक अन्य धेरै विषयमा सहकार्य गर्ने सहमति भने दुवै नेताबीच भएको थियो ।
टेलिफोनवार्ता सकिएलगत्तै उनले सञ्चारकर्मीहरूसँग भनेका थिए, 'म पुटिनसँगको कुराकानीबाट धेरै निराश भएँ, किनकि मलाई लाग्छ उनी युद्ध रोक्न चाहँदैनन् ।'
यद्यपि, त्यसको केही दिनपछि बीबीसीसँग कुराकानी गर्दै ट्रम्पले पुटिनसँगको सम्बन्ध पूर्णरूपमा नसकिएको दाबी गरे । 'पुटिनसँग मेरो सम्बन्ध तोडिएको छैन । युक्रेन युद्धबाहेक पनि हामीले धेरै क्षेत्रमा सहकार्य गर्न सक्छौं ।'
छिटो उत्साहित हुने र छिटो निराश बन्ने ट्रम्पको यो चक्र दोस्रो कार्यकालमा पनि जारी छ । यिनै घटनाक्रमहरूलाई लिएर पश्चिमा सञ्चारमाध्यमहरूले ट्रम्पले युक्रेन युद्धबारे स्पष्ट धारणा राख्न नसकेको भन्दै उनलाई कूटनीतिक हिसाबले फेलियर नेताका रूपमा चित्रण गर्न थालेका छन् ।
सीएनएनकी विश्व मामिला विश्लेषक सब्रिना सिंहले ट्रम्पको यो दोहोरो चरित्रबारे टिप्पणी गर्दै भनेकी छन्, 'मलाई चिन्ता छ कि डोनाल्ड ट्रम्प चाँडै प्रभावित हुने क्षमता राख्छन् ।'
ट्रम्प र पुटिनबीच हुने अर्को फोनवार्तामा पुटिनले केही छुटको प्रस्ताव गरेर ५ दिने युद्धविरामको कुरा गरेपनि ट्रम्पले मान्ने उनको भनाइ छ । उनले भनिन्, 'त्यसपछि युक्रेनले युद्धविराम उल्लंघन गरेको भन्दै पुटिनले युद्धलाई निरन्तरता दिनेछन्, अनि ट्रम्प हेरेकोहेर्यै हुनेछन् ।'
युरोप र नेटोको भूमिका
ट्रम्पको नीतिमा आएको परिवर्तनले युरोपेली साझेदारहरू र नेटोलाई पनि तत्कालका लागि राहत प्रदान गरेको छ । ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा अमेरिकालाई नेटोबाट निकाल्ने चिन्ता साझेदार देशहरूको थियो । तर, ट्रम्पले पछिल्लो समय नेटोप्रति नरम दृष्टिकोण अपनाएका छन् ।
नेटो महासचिव मार्क रुटेले गत महिना नेदरल्यान्ड्समा आयोजित एक सम्मेलनमा ट्रम्पको प्रशंसा गरे ।
रुटेले भने, 'राष्ट्रपति महोदय, प्रिय डोनाल्ड, यो साँच्चै ठूलो कदम हो । तपाईंले बिहीबार मलाई फोन गरेर युक्रेनलाई आफ्नो रक्षा गर्न आवश्यक पर्ने कुरा दिनुपर्छ भन्ने निर्णय लिनुभएको थियो । यसको भुक्तानी युरोपेली देशले गर्नुपर्छ भन्ने तपाईंको भनाइ पूर्णरूपमा तर्कसंगत छ ।'
साथै, सोही सम्मेलनमा नेटो सदस्य राष्ट्रहरूले सन् २०३५ सम्ममा आफ्नो कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशत रक्षा खर्चमा लगाउने सहमति गरे । त्यसपछि ट्रम्पले युरोपलाई रक्षा खर्चमा गम्भीर बन्न आफूले बाध्य पारेको दाबी गरे ।
युक्रेनलाई पठाइने प्याट्रियट मिसाइलको खर्च नेटोलाई बेहोर्न लगाउने ट्रम्पको नीतिले उनका समर्थकहरूलाई केही हदसम्म खुसी पारेको छ । यसलाई ट्रम्पले आफू घरेलु राजनीतिमा थप सफल भएको हिसाबले हेरेका छन् ।
युक्रेनको रणनीतिक स्थितिर पुटिनलाई दिइएको ५० दिने अल्टिमेटम
युक्रेनका लागि ट्रम्पको नीतिमा आएको परिवर्तनले केही आशा जगाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पसँगको सम्बन्ध सुधार्न प्रयास गरिरहेका छन्, त्यसमा पछिल्लो समय केही हदसम्म सफल पनि भएका छन् ।
गत फेब्रुअरीमा ओभल अफिसमा ट्रम्प र जेलेन्स्कीबीच भएको 'तीखो' कुराकानीले जेलेन्स्कीलाई अहिलेसम्म झस्काउने गरेको छ ।
ट्रम्पले युक्रेनलाई थप हतियार र सम्भावित आक्रामक हतियारहरू उपलब्ध गराउने संकेत गरेका छन् । अनि पुटिनलाई शान्ति वार्ताका लागि ५० दिने अल्टिमेटम पनि दिएका छन् ।
तर, सीएनएनका म्याथ्यू चान्सले मस्कोलाई दिएको उक्त अल्टिमेटमले रुसलाई युक्रेनमा थप आक्रमण तीव्र बनाउने अवसर दिने टिप्पणी गरेका छन् ।
ट्रम्पले मंगलबार यो अल्टिमेटमको बचाउ गर्दै भने, 'धेरै रायहरू छिटो परिवर्तन हुन्छन् । मैले दिएको यो ५० दिने अल्टिमेटम समयमा पूरा नहुन पनि सक्छ, त्यसभन्दा अघि नै पूरा पनि हुन सक्छ ।'
ट्रम्पको नीतिमा आएको परिवर्तन सकारात्मक भए पनि यसको दिगोपनमाथि प्रश्न उठाएर विभिन्न टिप्पणीहरू गरिएका छन् । 'लेनदेन'मा आधारित सोच र छोटो समयको रणनीतिले उनको नीतिलाई अस्थिर बनाएको छ । यदि पुटिनले ट्रम्पसँग कुनै नयाँ र 'मालदार' सम्झौताको प्रस्ताव राखे भने ट्रम्प पुनः परिवर्तन हुन सक्ने आशंका कायमै छ ।
अथवा, जेलेन्स्कीले ट्रम्पलाई कुनै रूपमा रिस उठाए भने पनि ट्रम्प आफ्नो नीतिबाट पल्टिन सक्छन् । साथै, रुसमाथि थप प्रतिबन्ध लगाउनुपर्ने भन्दै अमेरिका संसदमा आएको प्रस्तावका कारण पनि ट्रम्पको घरेलु राजनीति चुनौतीपूर्ण हुन ठानिएको छ ।