
नेपालले ४२ देशसँग द्विपक्षीय हवाई सेवा सम्झौता गरे पनि जम्मा १६ वटा देशका ३० गन्तव्यमा मात्र नियमित उडान सञ्चालन भइरहेको छ ।
नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार नेपालबाट विदेश उडान हुने जहाजहरूको स्वीकृत साप्ताहिक सिट क्षमता १ लाख ७६ हजार ७६४ छ । तर, वास्तविक उपयोग त्यसको ४५ दशमलव १४ प्रतिशत मात्र छ ।
नेपाली एयरलाइन्स कम्पनीको हकमा त्यो तथ्यांक अझै थोरै छ । नेपाली जहाजहरूले एक हप्तामा ११ देशमा ११४ उडान सञ्चालन गर्छन् ।
नेपाली जहाजहरूले हप्तामा जम्मा २४ हजार ४९४ सिट र वार्षिक १२ लाख ७३ हजार ६८८ सिट मात्र उपयोग गर्न सकेका छन् । यो कुल स्वीकृत सिटको जम्मा ३० प्रतिशत मात्र हो ।
कुन–कुन देशसँग दोहोरो उडानको सम्झौता छ ?
नेपालले सन् १९६३ देखि अहिलेसम्म ४२ देशसँग उडान सम्झौता गरेको छ ।
अस्ट्रिया, अस्ट्रेलिया, बंगलादेश, बहराइन, भुटान, ब्रुनाई, बुल्गेरिया, कम्बोडिया, चीन, क्रोएसिया, चेक गणतन्त्र, डेनमार्क, इजिप्ट, फिनल्यान्ड, फ्रान्स, जर्मनी, हङकङ, भारत, इन्डोनेसिया, इजरायल, इटाली, जापान, जोर्डन, कुवेत, लक्जमबर्ग, माल्दिभ्स, मलेसिया, मंगोलिया, म्यानमार, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, ओमान, पाकिस्तान, कतार, रुस, साउदी अरब, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाइल्याण्ड, टर्की र युएईसँग नेपालको दोहोरो उडान सम्झौता छ ।
सम्झौतामा यी देशहरूले आफ्नो देशका केही गन्तव्यबाट नेपालका केही गन्तव्यमा उडान गर्ने उल्लेख छ । उदाहरणका लागि, भारतसँग नेपालबाट दिल्ली, मुम्बई, बैंगलोर, चेन्नई, कलकत्ताजस्ता गन्तव्यमा उडान गर्न साप्ताहिक ३० हजार सिटको सुविधा छ ।
तर, सम्झौता संशोधन गरेर २०११ देखि असीमित सिट बनाइएको छ ।
चीनसँग नेपालबाट बेइजिङ, सांघाई, ल्हासा, ग्वाङझाओ, कुनमिङजस्ता गन्तव्यमा उडान गर्न साप्ताहिक ११ हजार २०० सिटको व्यवस्था छ । माल्दिभ्ससँग सिट र उडानमा कुनै प्रतिबन्ध छैन ।
तर, सम्झौता गरिएका अस्ट्रिया, क्रोएसिया, फ्रान्स, जर्मनी र इजिप्ट जस्ता देशहरूमा अहिलेसम्म कुनै उडान सञ्चालन भएको छैन । जर्मनीमा पहिला उडान हुने गरेकोमा अहिले बन्द छ । पाकिस्तानमा पनि नेपालबाट सिधा हवाई उडान छैन ।
सन् १९९२ मा उदार आकाश नीति लिएको नेपालले २००६ पछि उड्डयन क्षेत्रलाई खुला बनाउने प्रयास गरेको थियो ।
पछिल्लो नीतिले पुराना विमान आयातमा कडाइ, विदेशी लगानीमा सीमा (अन्तर्राष्ट्रिय एयरलाइन्समा ९० प्रतिशत, आन्तरिकमा ४९ प्रतिशत) र निजी जेट सञ्चालनको अनुमति जस्ता सुधारहरू प्रस्ताव गरेको छ ।
उडान १६ देशमा मात्र सीमित
अहिले नेपालबाट १६ देश (भारत, चीन, कतार, यूएई, मलेसिया, थाइल्याण्ड, बंगलादेश, भुटान, श्रीलंका, जापान, कुवेत, सिंगापुर, दक्षिण कोरिया, टर्की, हङकङ र साउदी अरब) का ३० गन्तव्यमा उडान सञ्चालन हुन्छ ।
यी गन्तव्यहरूमा दिल्ली, मुम्बई, बैंग्लोर, दोहा, दुबई, क्वालालम्पुर, रियाद, नारिता (जापान) र इन्चोन (दक्षिण कोरिया) प्रमुख छन् । कुल २७ विदेशी एयरलाइन्स र ३ नेपाली एयरलाइन्सले यी उडानहरू सञ्चालन गर्छन् ।
नेपालको ध्वजावाहक जहाजले ८ देशका १० गन्तव्यमा उडान भर्छ ।
नेपाल एयरलाइन्सले काठमाडौँबाट दिल्ली, मुम्बई, दोहा, दुबई, नारिताजस्ता गन्तव्यमा साप्ताहिक १४ हजार ५२२ सिट मात्र उपयोग गरेको छ । यो कूल स्वीकृत सिट संख्याको जम्मा १८ प्रतिशत मात्र हो ।
त्यस्तै, निजी क्षेत्रको हिमालय एयरलाइन्सले ७ वटा देशका ११ गन्तव्यमा उडान भर्छ ।
चोङकिङ, ल्हासा, दोहा, दुबईजस्ता गन्तव्यमा हिमालयन एयरलाइन्सले साप्ताहिक स्वीकृत सिट संख्यामध्ये १० हजार ११६ (१२ दशमलव ५ प्रतिशत) मात्र उपयोग गर्छ ।
बुद्ध एयरले भने भारतको वाराणसीमा उडान भर्छ जसले साप्ताहिक जम्मा २१६ सिट मात्र उपयोग गर्ने गरेको छ ।
नेपालबाट विभिन्न गन्तव्यमा उडान भर्ने विदेशी एयरलाइन्स कम्पनी (एयर इन्डिया, कतार एयरवेज, टर्किस एयरलाइन्स, सिंगापुर एयरलाइन्स)ले २० गन्तव्यमा उडान सञ्चालन गर्छन् ।
कतार एयरवेजले दोहामा साप्ताहिक ५ हजार ९४३ सिट र वार्षिक ३ लाख ०९ हजार ३६ सिट उपयोग गर्छ ।
सिट उपयोग अपेक्षाभन्दा कम
सम्झौताअनुसार नेपाललाई विदेशी गन्तव्यसँग जोड्ने जहाजहरूसँग कुल स्वीकृत साप्ताहिक सिट क्षमता १ लाख ७६ हजार ७६४ छ । तर, वास्तविक उपयोग केवल ४५ प्रतिशत अर्थात् ७९ हजार ७८४ साप्ताहिक सिट मात्र छ ।
नेपाली एयरलाइन्सहरूले कुल स्वीकृत सिटको ३० दशमलव ७ प्रतिशत अर्थात् १२ लाख ७३ हजार ६८८ वार्षिक सिट मात्र उपयोग गर्छन् । यसले नेपाली एयरलाइन्सहरूलाई स्वीकृत गरिएको सिट संख्या भन्दा निकै कम मात्र उडान गरेको तथ्य स्पष्ट पार्छ ।
सीमित विमान संख्या हुनु यसको एउटा कारण हो । नेपाल एयरलाइन्ससँग जम्मा ६ जहाज छन् । हिमालय एयरलाइन्स र बुद्ध एयरको पनि सीमित फ्लाइट छ ।
त्यस्तै, विदेशी एयरलाइन्सहरूले सस्तो र भरपर्दो सेवा प्रदान गर्छन् । तिनीहरूसँग प्रतिस्पर्धात्मक हुन नसक्नु नेपाली एयरलाइन्स कम्पनीहरूको अर्को कमजोरी हो ।
सन् २०१३ देखि नेपालका एयरलाइन्सहरू युरोपियन युनियनको 'एयर सेफ्टी लिस्ट'मा भएका कारणले पनि सम्झौता भएका युरोपका कतिपय गन्तव्यमा उडान हुन सकेको छैन ।
सम्झौता भएका २६ देशमा उडान नहुनुको अर्को कारण कूटनीतिक र व्यावसायिक समन्वयको अभाव हो । अस्ट्रेलिया, न्युजिल्यान्ड र स्विट्जरल्यान्डसँग सम्झौता भए पनि उडान सञ्चालन भएको छैन ।
नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल भन्छन्, 'मुख्य समस्या हामीसँग जहाज नहुनु नै हो । जहाज नभएपछि समन्वय गरेर के काम ? सरकारले विभिन्न देशसँग द्विपक्षीय सम्झौता गरेको छ । एक त ती देशका जहाजहरूले नेपालमा उडान गर्दा फाइदा देखेका छैनन्, अर्कातिर हामीसँग जहाज छैन ।'