
दाङको तुलसीपुर उपमहानगरपालिका–१७, मानपुरका शशीधर पौडेलले घरपालुवा कुकुरप्रति देखाएको माया र समर्पणले यतिबेला धेरैको मन छोएको छ ।
९ वर्षसम्म सन्तानसरह पालेको ‘रमी’ नामक कुकुरको मृत्यु भएपछि उनी ९ दिनसम्म किरिया बसेका छन् ।
साउन ६ गते अचानक हराएको र अन्तत: मृत अवस्थामा भेटिएको कुकुरको सम्झनामा पौडेलले नवौं दिन आफन्तजन बोलाएर श्रद्धाञ्जली सभा समेत आयोजना गरे ।
वडासदस्यसमेत रहेका पौडेलले भने, ‘मानिसको आत्मीयता केवल मानवमा मात्र सीमित हुँदैन, घरपालुवा जनावरहरूसँग पनि गहिरो सम्बन्ध बन्न सक्छ ।’
उनले रमीलाई आफ्नै सन्तानसरह माया गरेका थिए । ‘जता गयो, सँगै गयो । मोटरसाइकल चढेर बजार जान्थ्यो, घरको हेरचाह गर्थ्यो, हामीलाई के खानु छ के छैन भन्नेसम्मको चिन्ता गरिदिन्थ्यो’, पौडेलले सम्झिए ।
कुकुर एकाएक हराएको र खोजी गर्दा मृत भेटिएको जानकारी दिँदै उनले मरेको निश्चित गरेपछि किरिया बसेको बताए । उनका अनुसार रमीले घरमा आउने अपरिचितप्रति सतर्कता अपनाउने, ढोका नलगाएर निस्किँदा सुरक्षा गर्ने, भाषा बुझेझैं व्यवहार गर्ने जस्ता गुण देखाएको थियो ।
वडा अध्यक्ष थलराज पुरीले यो घटना केवल भावनात्मक नभई मानवीय संवेदनाको गहिरो सन्देश बोकेको बताए ।
‘कुकुर इमानदार र बफादार प्राणी हो । मानिसले अन्य प्राणीहरूप्रति पनि समान माया र व्यवहार गर्नुपर्छ भन्ने सन्देश यो कार्यले दिएको छ’, उनले भने ।