२६ जेठ २०८३, मंगलबार
सर्पदंश आतंक

तराईमा विषालु सर्पको बिगबिगी– घटना गाउँमा बढी, उपचार केन्द्र शहरमा सीमित

साउन १९, २०८२
काठमाडौं
तराईमा विषालु सर्पको बिगबिगी– घटना गाउँमा बढी, उपचार केन्द्र शहरमा सीमित

रूपन्देहीको सैनामैना–१ का हर्षवीर पुलामी मंगलबार साँझपख गोठमा काम गर्दै थिए । भ्यागुतो च्यापेको गोमन सर्पले भकारो सोहोर्दै गरेका पुलामीको खुट्टामा एक्कासि टोक्यो ।

छोरा सागर पुलामीले तुरुन्तै हर्षवीरलाई बुटवलस्थित प्रादेशिक अस्पतालमा ल्याए । ५५ वर्षीय हर्षवीरलाई समयमै 'एन्टी स्नेक भेनम' र अन्य औषधि चलाएपछि अहिले अवस्था जोखिममुक्त छ ।

'सर्पले टोकेको बिरामीलाई एक घण्टाभित्र उपचार शुरू नगरे ज्यान जान सक्ने रहेछ,' छोरा सागर भन्छन्, 'धन्न नजिक अस्पताल सुविधा भएकाले ३५ मिनेटभित्र ल्याउन सक्दा बाबाको ज्यान जोगियो । अस्पताल आइपुग्दा बाबा बेहोश भइसक्नुभएको थियो ।'

अस्पतालको आकस्मिक कक्षमा बाबालाई कुरिरहेका सागरले थपे, 'तराईमा वर्षायाममा सर्पको यस्तो बिगबिगी हुन्छ, टाढाका मानिसहरू त उपचारको पहुँचमा आउन नपाउँदै ज्यान गुमाउनुपर्ने अवस्थामा पुग्छन् ।'

***

दाङको राजपुर गाउँपालिका– ३ खरदरियाका शालिकराम यादव गएको सोमबार बिहानै शौचालय जान बाहिर निस्केका थिए । शंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत रहेका यादवलाई कमिलाले टोकेजस्तो महसुस भयो । विस्तारै उनलाई गाह्रो हुन थाल्यो । शिथिल बन्न पुगेपछि सर्पले टोकेको शंका लागेर घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करिब २ घण्टामा पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो ।

५५ वर्षका यादवको सर्पको टोकाइबाट निधन भएपछि खरदरिया अहिले शोकमा डुबेको छ ।

***

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– २ गाउँकी झगरू पासवानीकी १४ महिनाकी छोरी संगीतालाई सर्पले डस्यो । शुरूमा बहादुरगञ्जस्थित अस्पतालमा पुर्‍याए । त्यहाँ उपचार सम्भव नभएपछि सर्पदंश उपचार केन्द्र गोरुसिंगे पुर्‍याएर औषधि चलाउन नपाउँदै बालिकाको मृत्यु भयो । बालिकाको मृत्युसँगै पासवानी परिवारको काख रित्तिएको छ ।

***

रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ की डिलाराम अर्याल अर्की सर्पदंश पीडित हुन् । गत असार २८ गते भान्छाकोठामा काम गर्दै गर्दा कमिलाले टोकेजस्तो भयो ।

हेर्दा सर्प खुट्टामा देखेपछि तुरुन्तै रूपन्देहीको बुटवल ल्याएर उपचार गराएपछि मृत्युको मुखबाट बाँचिन् । सर्प संरक्षक विशाल पाण्डेलाई बोलाएर हेर्दा उनको किचनबाट तीन दिन लगाएर २३ वटा विषालु सर्प निकालियो ।

उक्त घटनालगत्तै बुटवल–११ देवसिद्धचोकस्थित शान्ति घिमिरेको घरबाट एकै दिन ८ वटा गोमन सर्प र देवदह नगरपालिका– ८ टटेरामा प्रेम खत्रीको घरबाट ९ वटा गोमन सर्प उद्धारकर्ता पाण्डेले समाएर निकाले ।

असार २७ गते कपिलवस्तु नगरपालिका–१ की ६० वर्षीया सुमित्रादेवी कान्दुको भान्सामा खाना पकाउँदै गर्दा सर्पले डसेर मृत्यु भयो । यो वर्षायाममा कम पानी परेपछि तराईमा गर्मीले सर्प जमिनमा निस्केर मानिस र जनावरलाई टोकेका छन् ।

सुनौलो एक घण्टा

सर्पले टोकेको एक घण्टाको समयावधिलाई सुनौलो समय मानिन्छ ।

तर, अधिकांश ग्रामीण क्षेत्रमा बिरामी शहरी क्षेत्रमा उपचार केन्द्रमा पुग्न दुई घण्टाभन्दा बेसी समय लाग्ने गर्छ । एक घण्टाभित्र बिरामीलाई अस्पताल पुर्‍याउन सके बचाउन सक्ने सम्भावना बढी हुन्छ ।

null

लुम्बिनी प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डा. रामप्रसाद अर्यालले प्रत्यक्ष टोकेर प्रादेशिक अस्पतालमा आएकाहरूमध्ये अधिकांशलाई बचाउने गरेको बताउँछन् ।

'सर्पदंश उपचार नचलाएका, हेल्थ पोस्टमा लैजाने, झारफुक गर्ने र अन्तिम अवस्था आएकाहरूलाई गाह्रो हुन्छ,' अर्याल भन्छन्, 'सर्पदंशका बिरामीलाई एक मिनेट पनि उपचारमा ढिलाई हुँदैन । तुरुन्त औषधि चलाउँछौं । हामीकहाँ आउने अधिकांश जटिल केस हुन्छन् । केहीलाई आईसीयू पनि चाहिन्छ ।'

उनका अनुसार प्रादेशिक अस्पतालमा वर्षायाममा कहिलेकाहीँ दैनिक ५/६ जना सर्पदंशका बिरामी आउने गर्छन् ।

तथ्यांक र अवस्था

वर्षायामसँगै अहिले तराई/मधेशमा विषालु सर्पको बिगबिगी छ । तर, धेरै ठाउँमा उपचार केन्द्र छैनन् । भएका ठाउँमा पनि औषधि र उपकरण नभएपछि टाढाको अस्पताल पुर्‍याउनु पर्दा ज्यान गइरहेका छन् ।

लुम्बिनी प्रदेशमा जंगली जनावर बाघ, हात्ती र गैंडाको आक्रमणबाट भन्दा सर्पको टोकाइबाट मृत्यु र घाइते हुनेको संख्या बढी रहेको प्रहरीको तथ्यांकमा देखिन्छ ।

प्रदेश प्रहरी कार्यालय दाङका अनुसार प्रदेशमा एक वर्षको अवधिमा सर्पको टोकाइबाट २७ जनाको मृत्यु भएको छ भने २८९ जना घाइते भएका छन् । मृत्यु हुनेमा महिला र बालबालिका धेरै छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी नवराज पोखरेलका अनुसार यो केवल प्रहरीको रेकर्डमा आएको तथ्यांक भएकाले वास्तविकता अझै बढी हुन सक्छ ।

प्रहरीको तथ्यांकअनुसार सबैभन्दा बढी कपिलवस्तुमा ७ जना, दाङमा ६ जना, बर्दियामा ५ जना, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र बाँकेमा ३/३ जना तथा पाल्पा, प्युठान र रूपन्देहीमा १–१ जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी दाङमा सर्पदंशका घटना भएका छन् ।

राष्ट्रिय स्तरमा गरिएका विभिन्न अध्ययनअनुसार नेपालमा हरेक वर्ष विषालु सर्पले २० हजारलाई डस्ने गर्छ, जसमध्ये १ हजारभन्दा बढीको ज्यान जाने गरेको पाइन्छ ।

मृत्यु हुनेमध्ये ८० प्रतिशत अस्पताल समयमा पुर्‍याउन नसक्दा ज्यान जाने गरेको पाइन्छ ।

उपचार केन्द्र र चुनौती

लुम्बिनी प्रदेशमा १४ वटा सर्पदंश उपचार केन्द्र रहेका छन्, जसमध्ये ३ वटा नेपाली सेना र एउटा स्थानीय तहले नेतृत्व गरेका छन्, बाँकी भने अस्पताललाई नै सर्पदंश उपचार केन्द्रका रूपमा विकास गरेर सञ्चालन गरिएको छ ।

सर्पदंश उपचार केन्द्रहरू सञ्चालनमा भए पनि घरमै वा उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु हुने संख्या धेरै देखिएको छ । समुदायमा सर्पले डसेमा प्राथमिक उपचार कसरी गर्ने भन्ने जनचेतनाको अभाव छ । अस्पताल आउँदा बिरामी विष चढिसकेको अवस्थामा मात्र आइपुग्ने गर्छन् ।

सर्पले डस्नेबित्तिकै होसियारी अपनाउने र समयमै नजिकको अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्‍याउन सकियो भने बिरामीको ज्यान बचाउन सकिन्छ ।

जेठदेखि कार्तिकसम्म सर्पदंशको जोखिम बढी हुने गर्छ । सर्प उद्धारकर्ता पाण्डेले तराईमा विषालु सर्पले डसेका बिरामीका लागि रूपन्देहीवासी भाग्यमानी रहेको बताउँछन् ।

'बुटवलको प्रादेशिक अस्पताल र भैरहवा भीम अस्पताल तथा यूसीएएसएममा पनि सर्पदंशको उपचार हुन्छ । अन्य जिल्लामा उपचार नभएर टाढा लैजाँदै गर्दा धेरैजसो बिरामीको निधन हुने गरेको छ,' पाण्डेले भने ।

घाँस काट्दा, शौच गर्न जाँदा, घरमा सुतिरहेका बेला र जुत्ता निकाल्ने क्रममा सुरक्षा विधि नअपनाउँदा सर्पदंशका घटना धेरै भएका छन् ।

सर्पले टोकेपछि तत्काल स्वास्थ्य संस्थामा गएर उपचार गर्नुको साटो घरेलु उपचार विधि र झारफुक गर्दा पनि कतिपयको मृत्यु हुने गरेको छ ।

त्यसो त सर्पदंशका घटना गाउँमा धेरै भए पनि उपचार केन्द्र शहरकेन्द्रित भएकाले समयमा अस्पताल पुर्‍याउन पनि समस्या छ ।

लक्षण र सर्पका प्रकार

विषालु सर्पले टोक्दा बिरामीलाई पेट दुख्ने, कमजोरी महसुस हुने, आँखाको पारेला झर्ने, हात खुट्टा चलाउन नसक्ने, बान्ता हुने, बेहोश हुनेजस्ता लक्षण देखिने गर्छन् । पाण्डेका अनुसार पछिल्लो समय सर्पले टोकेको भन्ने थाहा नहुँदा पनि मृत्यु हुने क्रम बढेको छ ।

तराई क्षेत्रमा मात्र पाइने विषालु सर्पहरू पछिल्लो समय पहाडी जिल्लाहरूमा पनि देखिन थालेका छन् । जलवायु परिवर्तनसँगै तराईबाट कार्टुन, इँटा र पाइप (नाला) को माध्यमबाट विषालु सर्प पहाडतर्फ उक्लिन थालेको पाइन्छ ।

नेपालमा हालसम्म पाइएका ८९ प्रजातिका सर्पमध्ये २१ प्रजातिका सर्प विषालु छन् । यसमा गोमन, करेत, रसेल भाइपरलगायत पर्छन् । नेपालमा सबैभन्दा बढी गोमन र करेतले डस्ने गरेको तथ्यांक छ ।

तराईमा बढ्दो शहरी विकाससँगै सर्पको वासस्थान नष्ट भएपछि पनि खानाको खोजीमा सर्प घरभित्र पस्न थालेका छन् । गर्मी समयमा सर्प बढी देखिने गर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्