
रूपन्देहीको सैनामैना–१ का हर्षवीर पुलामी मंगलबार साँझपख गोठमा काम गर्दै थिए । भ्यागुतो च्यापेको गोमन सर्पले भकारो सोहोर्दै गरेका पुलामीको खुट्टामा एक्कासि टोक्यो ।
छोरा सागर पुलामीले तुरुन्तै हर्षवीरलाई बुटवलस्थित प्रादेशिक अस्पतालमा ल्याए । ५५ वर्षीय हर्षवीरलाई समयमै 'एन्टी स्नेक भेनम' र अन्य औषधि चलाएपछि अहिले अवस्था जोखिममुक्त छ ।
'सर्पले टोकेको बिरामीलाई एक घण्टाभित्र उपचार शुरू नगरे ज्यान जान सक्ने रहेछ,' छोरा सागर भन्छन्, 'धन्न नजिक अस्पताल सुविधा भएकाले ३५ मिनेटभित्र ल्याउन सक्दा बाबाको ज्यान जोगियो । अस्पताल आइपुग्दा बाबा बेहोश भइसक्नुभएको थियो ।'
अस्पतालको आकस्मिक कक्षमा बाबालाई कुरिरहेका सागरले थपे, 'तराईमा वर्षायाममा सर्पको यस्तो बिगबिगी हुन्छ, टाढाका मानिसहरू त उपचारको पहुँचमा आउन नपाउँदै ज्यान गुमाउनुपर्ने अवस्थामा पुग्छन् ।'
***
दाङको राजपुर गाउँपालिका– ३ खरदरियाका शालिकराम यादव गएको सोमबार बिहानै शौचालय जान बाहिर निस्केका थिए । शंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत रहेका यादवलाई कमिलाले टोकेजस्तो महसुस भयो । विस्तारै उनलाई गाह्रो हुन थाल्यो । शिथिल बन्न पुगेपछि सर्पले टोकेको शंका लागेर घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करिब २ घण्टामा पुर्याउँदा उनको मृत्यु भइसकेको थियो ।
५५ वर्षका यादवको सर्पको टोकाइबाट निधन भएपछि खरदरिया अहिले शोकमा डुबेको छ ।
***
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– २ गाउँकी झगरू पासवानीकी १४ महिनाकी छोरी संगीतालाई सर्पले डस्यो । शुरूमा बहादुरगञ्जस्थित अस्पतालमा पुर्याए । त्यहाँ उपचार सम्भव नभएपछि सर्पदंश उपचार केन्द्र गोरुसिंगे पुर्याएर औषधि चलाउन नपाउँदै बालिकाको मृत्यु भयो । बालिकाको मृत्युसँगै पासवानी परिवारको काख रित्तिएको छ ।
***
रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ की डिलाराम अर्याल अर्की सर्पदंश पीडित हुन् । गत असार २८ गते भान्छाकोठामा काम गर्दै गर्दा कमिलाले टोकेजस्तो भयो ।
हेर्दा सर्प खुट्टामा देखेपछि तुरुन्तै रूपन्देहीको बुटवल ल्याएर उपचार गराएपछि मृत्युको मुखबाट बाँचिन् । सर्प संरक्षक विशाल पाण्डेलाई बोलाएर हेर्दा उनको किचनबाट तीन दिन लगाएर २३ वटा विषालु सर्प निकालियो ।
उक्त घटनालगत्तै बुटवल–११ देवसिद्धचोकस्थित शान्ति घिमिरेको घरबाट एकै दिन ८ वटा गोमन सर्प र देवदह नगरपालिका– ८ टटेरामा प्रेम खत्रीको घरबाट ९ वटा गोमन सर्प उद्धारकर्ता पाण्डेले समाएर निकाले ।
असार २७ गते कपिलवस्तु नगरपालिका–१ की ६० वर्षीया सुमित्रादेवी कान्दुको भान्सामा खाना पकाउँदै गर्दा सर्पले डसेर मृत्यु भयो । यो वर्षायाममा कम पानी परेपछि तराईमा गर्मीले सर्प जमिनमा निस्केर मानिस र जनावरलाई टोकेका छन् ।
सुनौलो एक घण्टा
सर्पले टोकेको एक घण्टाको समयावधिलाई सुनौलो समय मानिन्छ ।
तर, अधिकांश ग्रामीण क्षेत्रमा बिरामी शहरी क्षेत्रमा उपचार केन्द्रमा पुग्न दुई घण्टाभन्दा बेसी समय लाग्ने गर्छ । एक घण्टाभित्र बिरामीलाई अस्पताल पुर्याउन सके बचाउन सक्ने सम्भावना बढी हुन्छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डा. रामप्रसाद अर्यालले प्रत्यक्ष टोकेर प्रादेशिक अस्पतालमा आएकाहरूमध्ये अधिकांशलाई बचाउने गरेको बताउँछन् ।
'सर्पदंश उपचार नचलाएका, हेल्थ पोस्टमा लैजाने, झारफुक गर्ने र अन्तिम अवस्था आएकाहरूलाई गाह्रो हुन्छ,' अर्याल भन्छन्, 'सर्पदंशका बिरामीलाई एक मिनेट पनि उपचारमा ढिलाई हुँदैन । तुरुन्त औषधि चलाउँछौं । हामीकहाँ आउने अधिकांश जटिल केस हुन्छन् । केहीलाई आईसीयू पनि चाहिन्छ ।'
उनका अनुसार प्रादेशिक अस्पतालमा वर्षायाममा कहिलेकाहीँ दैनिक ५/६ जना सर्पदंशका बिरामी आउने गर्छन् ।
तथ्यांक र अवस्था
वर्षायामसँगै अहिले तराई/मधेशमा विषालु सर्पको बिगबिगी छ । तर, धेरै ठाउँमा उपचार केन्द्र छैनन् । भएका ठाउँमा पनि औषधि र उपकरण नभएपछि टाढाको अस्पताल पुर्याउनु पर्दा ज्यान गइरहेका छन् ।
लुम्बिनी प्रदेशमा जंगली जनावर बाघ, हात्ती र गैंडाको आक्रमणबाट भन्दा सर्पको टोकाइबाट मृत्यु र घाइते हुनेको संख्या बढी रहेको प्रहरीको तथ्यांकमा देखिन्छ ।
प्रदेश प्रहरी कार्यालय दाङका अनुसार प्रदेशमा एक वर्षको अवधिमा सर्पको टोकाइबाट २७ जनाको मृत्यु भएको छ भने २८९ जना घाइते भएका छन् । मृत्यु हुनेमा महिला र बालबालिका धेरै छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी नवराज पोखरेलका अनुसार यो केवल प्रहरीको रेकर्डमा आएको तथ्यांक भएकाले वास्तविकता अझै बढी हुन सक्छ ।
प्रहरीको तथ्यांकअनुसार सबैभन्दा बढी कपिलवस्तुमा ७ जना, दाङमा ६ जना, बर्दियामा ५ जना, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र बाँकेमा ३/३ जना तथा पाल्पा, प्युठान र रूपन्देहीमा १–१ जनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रदेशमा सबैभन्दा बढी दाङमा सर्पदंशका घटना भएका छन् ।
राष्ट्रिय स्तरमा गरिएका विभिन्न अध्ययनअनुसार नेपालमा हरेक वर्ष विषालु सर्पले २० हजारलाई डस्ने गर्छ, जसमध्ये १ हजारभन्दा बढीको ज्यान जाने गरेको पाइन्छ ।
मृत्यु हुनेमध्ये ८० प्रतिशत अस्पताल समयमा पुर्याउन नसक्दा ज्यान जाने गरेको पाइन्छ ।
उपचार केन्द्र र चुनौती
लुम्बिनी प्रदेशमा १४ वटा सर्पदंश उपचार केन्द्र रहेका छन्, जसमध्ये ३ वटा नेपाली सेना र एउटा स्थानीय तहले नेतृत्व गरेका छन्, बाँकी भने अस्पताललाई नै सर्पदंश उपचार केन्द्रका रूपमा विकास गरेर सञ्चालन गरिएको छ ।
सर्पदंश उपचार केन्द्रहरू सञ्चालनमा भए पनि घरमै वा उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु हुने संख्या धेरै देखिएको छ । समुदायमा सर्पले डसेमा प्राथमिक उपचार कसरी गर्ने भन्ने जनचेतनाको अभाव छ । अस्पताल आउँदा बिरामी विष चढिसकेको अवस्थामा मात्र आइपुग्ने गर्छन् ।
सर्पले डस्नेबित्तिकै होसियारी अपनाउने र समयमै नजिकको अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउन सकियो भने बिरामीको ज्यान बचाउन सकिन्छ ।
जेठदेखि कार्तिकसम्म सर्पदंशको जोखिम बढी हुने गर्छ । सर्प उद्धारकर्ता पाण्डेले तराईमा विषालु सर्पले डसेका बिरामीका लागि रूपन्देहीवासी भाग्यमानी रहेको बताउँछन् ।
'बुटवलको प्रादेशिक अस्पताल र भैरहवा भीम अस्पताल तथा यूसीएएसएममा पनि सर्पदंशको उपचार हुन्छ । अन्य जिल्लामा उपचार नभएर टाढा लैजाँदै गर्दा धेरैजसो बिरामीको निधन हुने गरेको छ,' पाण्डेले भने ।
घाँस काट्दा, शौच गर्न जाँदा, घरमा सुतिरहेका बेला र जुत्ता निकाल्ने क्रममा सुरक्षा विधि नअपनाउँदा सर्पदंशका घटना धेरै भएका छन् ।
सर्पले टोकेपछि तत्काल स्वास्थ्य संस्थामा गएर उपचार गर्नुको साटो घरेलु उपचार विधि र झारफुक गर्दा पनि कतिपयको मृत्यु हुने गरेको छ ।
त्यसो त सर्पदंशका घटना गाउँमा धेरै भए पनि उपचार केन्द्र शहरकेन्द्रित भएकाले समयमा अस्पताल पुर्याउन पनि समस्या छ ।
लक्षण र सर्पका प्रकार
विषालु सर्पले टोक्दा बिरामीलाई पेट दुख्ने, कमजोरी महसुस हुने, आँखाको पारेला झर्ने, हात खुट्टा चलाउन नसक्ने, बान्ता हुने, बेहोश हुनेजस्ता लक्षण देखिने गर्छन् । पाण्डेका अनुसार पछिल्लो समय सर्पले टोकेको भन्ने थाहा नहुँदा पनि मृत्यु हुने क्रम बढेको छ ।
तराई क्षेत्रमा मात्र पाइने विषालु सर्पहरू पछिल्लो समय पहाडी जिल्लाहरूमा पनि देखिन थालेका छन् । जलवायु परिवर्तनसँगै तराईबाट कार्टुन, इँटा र पाइप (नाला) को माध्यमबाट विषालु सर्प पहाडतर्फ उक्लिन थालेको पाइन्छ ।
नेपालमा हालसम्म पाइएका ८९ प्रजातिका सर्पमध्ये २१ प्रजातिका सर्प विषालु छन् । यसमा गोमन, करेत, रसेल भाइपरलगायत पर्छन् । नेपालमा सबैभन्दा बढी गोमन र करेतले डस्ने गरेको तथ्यांक छ ।
तराईमा बढ्दो शहरी विकाससँगै सर्पको वासस्थान नष्ट भएपछि पनि खानाको खोजीमा सर्प घरभित्र पस्न थालेका छन् । गर्मी समयमा सर्प बढी देखिने गर्छन् ।