२६ जेठ २०८३, मंगलबार
यात्रा संस्मरण

जनै पूर्णिमामा गोसाइँकुण्डको रोमाञ्चक यात्रा

साउन २४, २०८२
काठमाडौं
जनै पूर्णिमामा गोसाइँकुण्डको रोमाञ्चक यात्रा

म र मेरी जीवन संगिनी सविताले पदयात्रामा जाने योजना बनाएको करिब सात वर्षपछि गत वर्ष मात्र जुरेको गोसाइँकुण्ड पदयात्रा एक अविस्मरणीय रह्यो । गोसाइँकुण्डको यात्रा मेरो दोस्रोपटक थियो भने, सविताको पहिलो । तर, मेरो जन्मदिन पारेर साथै पुगेकाले दुवैमा एक बेग्लै उत्साह थियो

जनैपूर्णिमा मेरा लागि खास दिन पनि हो, अर्थात् मेरो जन्मदिन । अनि करिब तीस वर्षअघि मेरो बुवाले जनैपूर्णिमाकै दिन यही पवित्र तीर्थस्थल गोसाइँकुण्डको पदयात्रा तय गर्नुभएको थियो । केही वर्षपछिसम्म पनि नेपाल टेलिभिजनले तयार पारेको डकुमेन्ट्रीमा बुबालाई देखाउथ्यो । यी सबै कुराका साथै धार्मिक, सांस्कृतिक र ऐतिहासिक पर्यटनको मज्जा लिन रसुवा जिल्लामा अवस्थित गोसाइँकुण्ड जनैपूर्णिमा मेला हाम्रा लागि उपयुक्त गन्तव्य बनेको थियो ।

योजना त बन्यो तर, आमाको मन न हो, सवितालाई हाम्रो चार वर्षको बच्चालाई छोडेर पदयात्रामा निस्किन गाह्रो भएको थियो । परिस्थिति बुझेर, मेरी आमाले मलाई पुलुक्क हेरेर भन्नुभयो, 'तिम्रो बुबा गोसाइँकुण्ड जाँदा मलाई पनि जाँउ भन्नुभएको थियो, मैले तिमी सानो छौं भनेर मानिनँ । तर अब, मैले त्यो क्षण सधैंको लागि गुमाएँ । उहाँ अब हामीसँग हुनुहुन्न । अवसरहरू सधैं आउँदैनन्, आएको बेला छुटाउन हुदैन । जाने बाटो त त्यही नै रहन्छ, हराउँदैन तर आफूसँग हिँड्न चाहने व्यक्ति सधैं आफूले भनेको क्षणमा नहुन सक्छ । त्यसैले यो अवसर हो जाउ, बाबुकेटो म हेर्छुु'भन्दा हामी सबै भावुक भयौं । यसरी लामो समयको अन्तरालपछि हामीले आँटेको यात्रा पूर्ण गर्ने अभिलाषाले हामीलाई निक्कै रोमाञ्चित बनाएको थियो ।

यात्राका क्रममा हामी दुई जना काठमाडौंबाट मोटरसाइकलमा टोखा, छहरे हुँदै करिब ६ घण्टाको यात्रापश्चात रसुवा सदरमुकाम धुन्चे पुग्यौं । हिँड्नुपूर्व, मेरा आत्मिय मित्र तथा कालिका गाँउपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटालाई बाटोमा पर्ने राम्चेको पहिरोको अवस्थाबारे जानकारी लिएका लियौं । उनले पानी परेमा अघि नबढ्न सुझाव दिएका थिए । पानी पर्नेवित्तिकै सो स्थानमा ढुङ्गा झर्ने र बाटो अफ्ठेरो हुने रहेछ । धन्न पानी परेन । रसुवा सदरमुकाम धुन्चेमा बेलुका वास लाङटाङ लजमा भयो ।

हाम्रो पदयात्रा भोलि बिहान सबेरै पाँच बजे २००० मिटरमा रहेको रसुवाको धुन्चेबाट शुरू भयो । सानो बालकले लौरो किनीदिन गरेको आग्रहलाई सहस्र स्वीकार गर्दै सानो झोलुङ्गे पुल तर्दै करिब एक घण्टाको तेर्सो बाटो हिँडेर १९६० मिटर उचाईमा रहेको घट्टे खोला पुगियो । त्यहास्थित मिनी गोसाइँकुण्ड र शिवमन्दिरमा, गोसाइँकुण्ड पुग्न नसक्ने मानिस त्यहाँबाट दर्शन गरेर फर्किने रहेछन् ।

null

२५०० मिटर उचाईको  देउरालीमा पुग्दा हामीले करिब साढे तिन घण्टा लगाएछौं । उकालोका कारण यात्रा गाह्रो हुँदा मैले बुवालाई सम्झें । मेरो लागि यो यात्रा केवल एक पदयात्रा मात्र थिएन, बाबु र छोराको सम्बन्ध मानसपटलमा पुनर्जिवित गर्ने क्षण बनेको थियो । पदयात्रासँगै चलेका पाइलाका हरेक धड्कन र हरेक सासमा, म बुवालाई महसुस गर्दै भावुक बनेको थिएँ । तर अलि संयमित पनि थिएँ, किनभने पहिलोपटक पदयात्रामा निस्किएकी मेरो जीवनसाथिको उमङ्गतामा साथ पनि त दिनु थियो ।

रमाइलो कुराकानी, मनमोहक प्राकृतिक दृश्यको अवलोकन गर्दै,  देउराली पछिको उकालो बाटो करिब दुई घण्टा उकालोपश्चात हामी २९०० मिटरमा अवस्थित धिम्सा पुग्यौं । रमाउँदै बाटोमा दर्शनार्थीहरू आ-आफ्नो पारामा थिए । यसै क्रममा एक परिवारसँग हाम्रो भेट भयो । उहाहरूसँगै विश्राम गर्दै सम्पूर्ण यात्रा एक परिवार जस्तो भएर वितायौं । डेढ घण्टा  हिँडेपछि ३२५० मिटर उचाईमा चन्दनवारी पुग्यौं, खाजा खाएर आराम गर्यौ । बौद्ध समुदायको सिङगुम्वाको अवलोकन गर्दै नेपालको सरकारी स्वामित्वको दुग्ध विकास संस्थानबाट उत्पादित चिज फर्किँदा किन्ने योजनाका साथ अघि बढियो । यात्रा लेकको भएकाले सुझावअनुसार हामीले शरीरलाई ऊर्जा दिने खानेकुराका साथै न्यानो कपडा बोकेका थियौं ।

null

यात्राका क्रममा सविताले भनिन्, 'उकालो चढ्न जति गाह्रो हुन्छ, त्यति माथिबाट देखिने सुन्दरताले उकालोको थकान बिर्साउँदो रहेछ । ' यस्तै कुराहरू गर्दै, फोटो खिच्दै  करिब दुई घण्टाको हिँडाइमा हामी ३५५० मिटर उचाईमा रहेको चोलाङपाटी पुग्यौं । चोलाङपाटीमा एक होटल टिबेट एण्ड माउन्टेनको माथि आँटीमा करिब ६० जना जति सुतियो । यो देख्दा, मलाई मेरो गुल्मी मामाघरको याद आयो । हजुरआमाले यस्तो ठाउँमा भने मकै भण्डारण गर्नु हुन्थ्यो । खचाखच भरिएको त्यो होटलमा खानापश्चात् राति होटलका माइला दाइले माथिनै चौरी गाईको दूध ल्याइदिए । दूध अलि सेलाएको थियो तर, उनको हँसिलो अनुहार सहितको आतिथ्यताले तातोपना कायम राखेको थियो । थाकेको शरीर कतिबेला भुस्स निदाइएछ थाहै भएन ।

‘अवसरहरू सधै आउँदैनन्, आएको बेला छुटाउन हुँदैन । जाने बाटो त रहन्छ, तर आफूसँग हिँड्न चाहने व्यक्ति सधैं आफूले भनेको क्षणमा नहुन सक्छ । यो अवसर हो जाउ,’ मलाई पुलुक्क हेरेर आमाले स्वीकृति दिएपछि हामी केहीबेर भावुक भयौं ।

भोलि करिब सात बजेतिर लागियो, उकालो । पानी परेको हुनाले संगै रेनकोट लगाइयो, तर एकैछिनमा पानी रोकियो । हामीसँगै उकालो गर्दै हिँड्दा सवितालाई पछाडिबाट सविता दिदी भनेर कसैले बोलायो । सवितालाई चिनेर उनले बोलाएका थिएनन्, उनको जुत्तामा सविता लेखिएको थियो । भीडभाडमा जुत्ताको हिफाजत गर्न लागि उनले यसो गरेकी थिइन् ।

आधा घण्टा जति हिँडेपछि, तीर्थयात्रुका लागि नेपाली सेनाले गरेको स्वास्थ्य परीक्षण र उद्धार कार्यका साथै गोसाइँकुण्ड क्षेत्र विकास समितिले आफ्नो बलबुताले भ्याएसम्म सेवा दिएको पाइयो । जत्ति माथि त्यत्ति मूल्य बढ्दै जानेगरी मूल्य निर्धारण गरिएको रहेछ । हाम्रो जीवनमा पनि यो लागु हुन्छ त ? भनेर मैले सोधेको प्रश्नमा सविताले 'मानिस जति उचाईमा पुग्यो त्यति निहुरिनु पर्छ, गुणी हुनु पर्छ कवि शिरोमणिले भने जस्तै' भनेर जवाफ दिइन् । म फिस्स हाँसें । करिब तीन घण्टामा ३९०० मिटर उचाईमा रहेको लौरीविनायकमा गणेशको पूजा र खुसी पार्न टेकेको लौरो चढाएर कुण्ड नुहाएपछि यात्रा सिद्ध र मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको पाइयो । हामीले लौरो चढायौं अनि छुट्टै केही पैसा राखेर लौरो फिर्ता लिएर अघि बढ्यौं ।

null

उकालो बाटो भएकोले त्यस्‌पश्चात् दुई घण्टाको यात्रा अलिक कठिन लाग्यो । ४१५० मिटरको उचाईमा रहेको बुद्ध मन्दिरमा पुग्दा आधा घण्टा जति हामीले भीड र त्यसमाथि हुस्सु लागेकाले एक अर्कालाई भेटेनौं । त्यसबेला पापी मनले राम्रो सोचेन, कतै केही भएकी भन्ने डर लाग्यो । पछि भेट भयो, अनि एक अर्काले माया मिश्रित गाली गर्दै अङ्गालोमा बेरियौं । निराशाले भरिएको केही अघिको वातावरण एकाएक खुल्यो । प्राकृतिक हरियालीले हामीलाई रोमाञ्चित बनाएको जस्तै भान भयो ।

null

मनास्लु, गणेश हिमाल, लाङटाङ हिमाललगायत थुप्रै हिउँ चुचुराहरू हामीलाई नै  हेरेर हाँसेजस्तो लाग्यो । अघि बढ्ने क्रममा, हामी तेर्सो बाटो साढे एक घण्टाको यात्रामा ४३८० मिटर उचाईको गोसाइँकुण्ड पुग्यौं । पदयात्रु सजिलै  हिँड्न मिल्ने साधुरो सिँढी युक्त बाटो भए पनि पूर्ण रेलिङ लगाएकाले सुरक्षित महशुस भयो । थचक्क बसेर हेरिरहुँ जस्तो, तल देखिने भैरव र सरस्वती कुण्डसँगैको त्रिशुली नदीको उद्गम झरनाले हाम्रो मन लोभ्यायो । हामी गोसाइँकुण्ड पुग्दा साँझ परेको थियो । यात्रुले भरिभराउ ठाउँमा होटल पाउने कुरै थिएन । कुण्ड नजिकै अस्थायी प्लाष्टिकका टहरा (थर्पु  नं ८६)मा बास पाइयो ।

null

भोलि बिहान सबेरै जनैपूर्णिमाको दिन नुहाउन करिब पाँच बजे कुण्डमा पुगियो । अचम्म कुण्डमा नुहाएपछि, हामी दुवैले थकान पूर्ण रूपमा निको भएको महशुस गर्यौ । घरबाट आमाले पठाउनुभएको धुप बत्ती गरेर बुबाले सिकाउनुभएको शिव पञ्चाक्षरस्तोत्र आदि मन्त्र जप्यौं । सविताले सोही दिन सोमबारको वर्त बस्ने निधो गरिन् । भगवान शिवले कालकुट विषको डाहा शान्त पार्न त्रिशुल भेदन गरी त्रिशुलधाराबाट निस्किएको जलले गोसाइँकुण्ड उत्पत्ति भएको र सोही कुण्डको बीचमा भगवान शिव विराजमान रहनुभएको विश्वास प्रचलित किंवदन्ती तथा धार्मिक ग्रन्थहरूमा पाइन्छ ।

रामसार क्षेत्रमा सूचीकृत तालको रूपमा पनि रहेको यस गोसाइँकुण्डमा डुबुल्की मारेपछि घरपरिवारमा सुख शान्ति बढ्ने र  शरीरको रोग ब्याधि हट्ने धार्मिक मान्यता रहेछ । हिन्दु धर्म र बौद्ध र बोन्पो धर्मावलम्बीहरूको आ-आफ्नै बुझाइ भए पनि कुण्ड प्राप्ति समान श्रद्धा, सामाजिक सद्भाव र  धार्मिक सहिष्णुता कायम रहनु सबैभन्दा राम्रो पक्ष हो ।

null

बैङ्किङ क्षेत्रको दैनिक एक कोठामा कम्प्युटरको स्क्रिन र चार भित्तामात्र देख्ने बानी परेकी मेरी उनीलाई यस रमणीय मार्ग, ढुङ्गा र पहाडहरूले गोसाइँकुण्डतर्फ लम्केका हरेक पाइलालाई  स्वागत गरे झै लागेको थियो । मलाई लाग्छ, एक स्वच्छन्द, प्रेमले भरिपूर्ण र धार्मिक पर्यटकीय साहसिक यात्रामा बिताएका पलहरू जीवनभर सम्झनलायक क्षण बन्नेछन् । आफ्नो जीवनमा पहिलो पल्ट यसरी यात्रा गरेकी उनलाई सोधे, 'कस्तो लाग्यो त गोसाइँकुण्ड यात्रा ?' उनले भनिन्, 'एकदम रोमाञ्चक, धर्तीको स्वर्गजस्तो, जीवनमा एक पटक आउनै पर्ने ठाउँ । '

null

salt training

कमेन्ट गर्नुहोस्