२७ जेठ २०८३, बुधबार
काम नगरेको सूत्र

शिथिल प्रचण्ड : सकिए सत्ता परिवर्तनका सबै ‘कार्ड’ !

साउन २९, २०८२
काठमाडौं
शिथिल प्रचण्ड : सकिए सत्ता परिवर्तनका सबै ‘कार्ड’ !

केही महिना अघिसम्म दिनदिनै र छिनछिनमै सरकार ढलिहाल्छ भन्दै आएका प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजभोलि शान्त छन् । धेरै समयसम्म सरकार ढलिहाल्ने भन्दै उनले मिडियालाई ‘हेडलाइन’ दिइरहे । नागरिक तहमा पनि सरकार ढल्ने भाष्य बनाउने प्रयास गरे । अघिल्लो असारमा सरकार बनेपछि प्रचण्डले दशैंसम्म मात्रै चल्ने बताएका थिए । दशैंपछि सरकार ढलेन । बीचका महिनामा पनि सार्वजनिक मञ्चदेखि आन्तरिक बैठकमा प्रचण्डले सरकार ढल्ने बताउन छाडेनन् ।

नयाँ वर्ष लागेपछि गत वैशाख ११ गते संसदीय दलको बैठकमा त प्रचण्डले नयाँ समीकरणको आधार नै तय भइसकेको बताउन भुलेनन् । ‘नयाँ समीकरणको आधार बनिसक्यो, देउवा (कांग्रेस सभापति शेरबहादुर देउवा)जी थाइल्यान्डबाट फर्किएपछि थप कुरा हुन्छ,’ सूचना नै पाएजसरी प्रचण्डले थुप्रै मिडियालाई ‘हेडलाइन’ दिए ।

गभर्नर नियुक्तिको किचलो, शिक्षक आन्दोलन, दिनदिनै सडकमा हुने आन्दोलनले सरकार र गठबन्धनमा समस्या हुन्छ कि भन्नेमा सत्तामै रहेका दल पनि नपुगेका होइनन् । तर, आधार दिन्छु भनेका प्रचण्डलाई देउवाले थाइल्यान्डबाट फर्किँदा आघात दिए । देउवाले भनिदिए– ‘समीकरणमा केही समस्या छैन, यो टिक्छ ।’

प्रचण्डको बोलीमा लोली मिलाउँदै माओवादीकै उपमहासचिव वर्षमान पुनले पनि ‘कांग्रेसले सरकार बनाए माओवादीको साथ रहने’ टिप्पणी गरेका थिए । तर, माओवादीकै महासचिव देव गुरुङले ‘सरकार फेरिने विषयमा पार्टीभित्र कुनै कुराकानी भएको छैन,’ भनेका थिए ।

सूचना पाएजसरी बोलेका अभिव्यक्ति हचुवा हुँदै गएपछि प्रचण्डले फेरि बोली फेर्न थाले । अनि भने– ‘फेरि एकचोटि यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने हामीलाई कुनै रुचि छैन । हामी जनतासँगै र हाम्रो वर्गसँगै ठीक छौं । तपाईंहरू कोही पनि कन्फ्युजनमा नपर्नुहोला ।’

सरकार ढल्ने एकोहोरो रटान लगाउने अध्यक्ष प्रचण्डको अभिव्यक्तिलाई उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नै नरुचाएको माओवादीका एक नेता बताउँछन् ।

‘हाम्रो अध्यक्ष अलि भावुक भएर हो कि के हो ? हो कि जसरी बोल्नुहुन्छ । तर, उहाँको अभिव्यक्ति अनुसार सरकार भत्किने र अर्को समीकरण बन्ने स्थिति देखिएन,’ माओवादी स्रोतले भन्यो, ‘केही नेताले खुलेरै सरकार फेर्ने कोर्स र छलफलमा छैनौं भन्नुभयो । उपाध्यक्ष श्रेष्ठ त सरकार फेरिँदैन भनेर वामपन्थीबीच ध्रुवीकरणको प्रयासमा लाग्नुभएको छ ।’

पछिल्लो समय श्रेष्ठले नेकपा एसका झलनाथ खनाल र घनश्याम भुसाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जसपाका उपेन्द्र यादवसहितका नेतासँग भेट गरेका छन् । यी भेट सरकारभन्दा वामपन्थी र विचार मिल्नेसँग कार्यगत एकतादेखि पार्टी एकतासम्मै पुग्न सकिन्छ भन्ने हिसाबले गरिएको स्रोत बताउँछ ।

यसबीचमा प्रचण्डको दाबीअनुसार सरकार ढलेन, बरु प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँगको समीकरणलाई एक वर्ष पार गराएका छन् ।

अब बढीमा १० महिना मात्रै प्रधानमन्त्रीमा केपी ओली रहनेछन् । सात बुँदे सहमति अनुसार त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेछन् । प्रधानमन्त्रीले भदौमा चीन र असोजको पहिलो साता भारतको भ्रमण गर्दैछन् । ती भ्रमणबाट सरकार अस्थिर होइन, स्थिर छ भन्ने भाष्य बनाउने तयारीमा प्रधानमन्त्री छन् ।

null

त्यसपछि दशैंतिहार, छठजस्ता चाडबाडको समय हुनेछ । त्यस्तोमा कम्तीमा कात्तिक महिना बितिसक्छ । त्यसपछि बढीमा ६ महिनामात्रै ओली प्रधानमन्त्री हुनेछन् । त्यसैले सत्ता हस्तान्तरण गर्ने समय नजिकिन थालेपछि सरकार ढल्ने बहस विरोधी र विपक्षले गर्ने स्थिति नबन्ने देखिन्छ ।

प्रचण्डले दिँदै आएको अभिव्यक्तिलाई प्रधानमन्त्री ओलीले बुधबार संसदमा सम्बोधन गर्दै स्थिरता अप्रिय लागेको हो ? भन्दै प्रश्न गरे । ‘मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौं र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔं भनेर संसद्का दुई प्रमुख दल मिलेर, अन्य दलहरूको समेत सहयोगमा यो सरकार बनेको हो । तर, विपक्षमा रहेका दलहरूलाई स्थिरता कति अप्रिय लागेको हो ?,’ ओलीले भनेका थिए, ‘प्रमुख दल कांग्रेस र एमाले मात्रैको संसदमा भारी बहुमत छ । त्यसमाथि अन्य दलहरू समेत यस सरकारमा सहभागी छन् । सरकार बनाउने संसद्को गणितले हो । बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर हल्ला पिटिरहने ? अस्थिरताको यो पक्षपोषण केका लागि ?’

ओलीले भनेजस्तो आजको दिनमा कांग्रेस र एमालेबाहेकको सत्ता समीकरण बन्नै नसक्ने गणित छ ।

प्रधानमन्त्रीले सरकारका लागि सरकार नबनाएको भन्दै आफूले गरेका कामको फेहरिस्त समेत बुधबारको सम्बोधनमा दिएका थिए । यो समीकरण २०८४ सम्मै जानको उनको दाबी थियो ।

‘म सबैलाई स्पष्ट पार्न चाहन्छु, अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ,’ ओलीले भने ।

‘प्रतिपक्षीले सरकार ढल्छ, ढाल्छु भनिरहन्छन् । यो अस्वाभाविक विषय पनि होइन । तर, समझ भएका नेताले प्रभावकारी सूचना पाएपछि बोल्ने र बोलेको कुरा पूरा हुने भयो भने राजनीतिमा विश्वसनीयता आर्जन हुने हो,’ बरालले लोकान्तरसँग भने, ‘तर, आजका दिनमा कांग्रेस र एमालेबीच सहमति कायम हुञ्जेल अरू विकल्पले सरकार ढल्दैन । सरकार ढल्ने गणित पनि छैन ।’

टुंगोमा नपुगेको ‘प्रचण्ड कार्ड’

वैशाखमा नयाँ समीकरण हुने भविष्यवाणी फेल खाएपछि प्रचण्डले केही समयअघि अर्को कार्ड पनि फाल्न खोजे । एमालेमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय हुन खोज्दा र कांग्रेसमा डा. शेखर कोइरालाले दबाब बढाउन खोज्दा  प्रचण्डले राम्रै आशा गरेका थिए । तर, घटनाक्रम उनको अपेक्षाअनुसार विकास भएन ।

एमालेले औपचारिक रूपमा साउन ६ गते राजनीतिक निर्णय नै गरेर भण्डारीको पार्टी सदस्यता कायम नभएको र राजनीतिमा फर्किन नमिल्ने निर्णय गर्‍यो । पार्टीको तल्लो तहलाई पनि यो निर्णय कार्यान्वयन गर्न सर्कुलर जारी गर्‍यो । यही औपचारिक निर्णयले भण्डारीलाई सहजै एमालेको सक्रिय राजनीति गर्ने बाटो बन्द भएको अवस्था छ ।

एमालेमा विद्या हावी हुने गरी आउने स्थिति बनेको भए परिस्थिति प्रचण्डले अपेक्षा गरेको जस्तो पनि हुन सक्थ्यो । एमालेमा शक्ति समीकरण पेचिलो बन्दा विद्या हावी हुन सक्थिन्, जसले सत्ता समीकरण नै फेरबदल गर्न सक्थ्यो । आ–आफ्ना खुद्रे पसल चलाएका वामपन्थीलाई भण्डारीले मात्रै जोड्न सक्ने धेरैको विश्वास थियो । कतिपय नेताले त खुलेरै अभिव्यक्ति दिएका थिए । तर, भण्डारीको यो प्रयासमा ओली र देउवा एक ठाउँमा उभिए । दुवै पार्टीले उस्तै मत बनाए । भण्डारीका लागि सहज र औपचारिक बाटो बन्द भएको छ । यद्यपि उनले मदन भण्डारी फाउन्डेसनको सहारामा एमालेको राजनीतिमा आउने र नेतृत्वमा स्थापित हुने हठ छाडेकी छैनन् ।

भण्डारीको दबाबका बीच कांग्रेस नेता डा. शेखर कोइरालाले पनि सरकारमाथि धक्का दिने प्रयास गरेका थिए । संसदीय दलमा बहुमत जुटाउन सकिन्छ कि भनेर उनको समूहले प्रयत्न पनि नगरेको होइन । शेखरले प्रचण्डदेखि भण्डारीसम्म भेटे । साना दललाई पनि विश्वासमा लिने प्रयास गरे । तर, ८८ सिट भएको कांग्रेस संसदीय दलमा बहुमत जुटाउन सक्ने सामर्थ्य शेखरले हासिल गर्न सकेनन् ।

प्रचण्डले शेखरको यो प्रयासमार्फत समीकरणलाई धक्का दिन सकिने ठूलै अपेक्षा गरेका थिए । यद्यपि, यो प्रयास पनि सफल भएन । प्रधानमन्त्री ओलीले समेत मंगलबार भूमि समस्या समाधान आयोगको कार्यक्रममा कांग्रेसमा दलको नेता फेर्न खोजिएकोबारे बोलेका थिए । १२ मत नपुगेको भन्ने कुरालाई ओलीले हल्लाको कथा भनेर सामान्यीकरण गरिदिए ।

‘मंगलबार बिहानै आएर मलाई एकजनाले भने– नेपाली कांग्रेसभित्र एकदम ठूलो समस्या आउने भयो, दलको नेता फेर्नका लागि १२ जना पुगेको छैन । १२ जना पुर्‍याएर ढाल्ने भए भनेर सुनाएका थिए,’ ओलीले भने, ‘यो कथा सुन्दा–सुन्दा मेरो कान नै टट्याइसक्यो । अब फेरि यही कथा अर्को संस्करण भएर आइरहन्छ । तर, बोल्नेहरू भए पनि केही हुँदैन ।  बोल्ने पात्र फेरिन्छ, तर संशोधन केही हुँदैन । स्थिरताका लागि बनेको यो समीकरण २०८४ सम्मै जान्छ ।’

null

कुनै टुंगोमा नपुगे पनि कांग्रेसभित्र शेखर पक्षले संसदीय दलको नेता फेर्ने गणितमा कसरत गरेको उनको अभिव्यक्तिले प्रस्ट्याउँछ ।

‘प्रतिपक्षीले सरकार ढल्छ, ढाल्छु भनिरहन्छन् । यो अस्वाभाविक विषय पनि होइन । तर, समझ भएका नेताले प्रभावकारी सूचना पाएपछि बोल्ने र बोलेको कुरा पूरा हुने भयो भने राजनीतिमा विश्वसनीयता आर्जन हुने हो,’ बरालले लोकान्तरसँग भने, ‘तर, आजका दिनमा कांग्रेस र एमालेबीच सहमति कायम हुञ्जेल अरू विकल्पले सरकार ढल्दैन । सरकार ढल्ने गणित पनि छैन ।’

प्रचण्डले भनेर मात्रै नहुने भन्दै बरालले पूर्व राष्ट्रपति र कांग्रेसका असन्तुष्ट नेता डा. शेखर कोइरालाको कार्डले पनि काम नगरेको बताए । ‘कांग्रेस नेता शेखर पनि के–के भन्दै थिए । तर, केही दिनयता सरकार २०८४ सम्मै जान्छ, सरकार हटाउन लागेको छैन भनेर बोल्दैछन् । यसैले प्रचण्डले भनेर मात्रै सरकार ढल्दैन,’ बराल भन्छन्, ‘अर्कातिर पूर्व राष्ट्रपति विद्या भण्डारी बलियो भइन् भने ओलीलाई फाल्न सक्ने स्थिति बन्थ्यो । एमालेमा सहजै ठाउँ नपाएपछि उनी अफिस खोलेर काम गर्दैछिन् । उनको दबाबले एमालेमा झगडा परेर अप्ठ्यारो भए एउटा कुरा, नत्र केही हुँदैन ।’

मन परे, पनि नपरे पनि राजनीतिमा भण्डारीभन्दा ओलीको संघर्ष र त्याग धेरै रहेको उनी बताउँछन् ।

‘ओली मन परे पनि, नपरे पनि संघर्ष र त्याग गरेर आएका नेता हुन् । उनले सहज राजनीतिक परिवेशमा काम गर्न नसकेका प्रश्न छन् । देउवा पनि उस्तै हुन् । प्रचण्ड आए पनि हाइफाइ हुने मात्रै हो । प्रचण्डले के भन्छन्, के गर्छन् भनिसाध्ये छैन,’ बरालले भने, ‘एमालेका ओलीसँग असन्तुष्ट हुने विद्यातिर लाग्ने हुन् । ती पनि दुईचार जना मात्रै देखिएका छन् । विद्यासँग मदन भण्डारीको विरासत छ । तर, उनीसँग चामत्कारिक काम गर्न सक्ने कौशलता छैन । आए पनि गर्न सक्दिनन् ।’

salt training

कमेन्ट गर्नुहोस्