
फूलहरू फूलेनन्
वसन्त रोएर गयो
फूलबारी फिका र उजाड देखेपछि
माली न्यास्रिएर रोयो
नरबहादुर कम बोल्छ अचेल
पीडा मिश्रित हाँसो हाँस्दै
वियोगान्त गीत गाउँछ
नरमायाको अकाल मृत्युपछि ।
नरमायाको लाश सिकुवामा लडाइएको छ
रित्तो हात फर्किएका छन्
कात्रो किन्नेहरू उधारोमा कात्रो नभेटेपछि
छातीमा राख्नु पर्ने एक मानो चामल छैन
बाटोमा छर्नु पर्ने बुर्की र टीला छैन
मान्छेहरू आँगनमा हरियो बाँस लडाएर
लाश राख्ने खाट बाँध्न
लाशको नाप लिन ताम्सिएका छन्
एकोहोरो शङ्ख फुकेको सुनेर
छोरा छोरी प्रश्न गर्छन्
के कार्जे छ बा हाम्रा घरमा ?
आमा किन बोल्दिनन् ?
मान्छेहरू किन भेला भएका हुन् यसरी ?
आमालाई उठाउन बा
भात तिहुन गर्नु पर्ने
स्कुल जान ढिला हुन्छ
तिमी पनि त मेला जानु पर्ने ।
नरबहादुर नि:शब्द छ
छोरा छोरीलाई के भन्ने ?
उसँग कुनै जवाफ छैन
नरमायाको असामयिक निधनले
नरबहादुरको छाती छियाछिया भएको छ ।
छोरा छोरीलाई अनाथ बनाएर
नरबहादुरलाई एकल पुरुष बनाई
घरजम गरेको दश वर्ष नपुग्दै
नरमायालाई कालले टपक्क टिपेर लग्यो
नरमायाको मृत्यु स्वाभाविक थिएन
नरमायाको मृत्युमा आकाश पनि आधा झुक्यो ।
नरबहादुर लाशको छेउमा
निर्निमेष उभिएको छ
छोराछोरी निराश छन्
नरमाया नउठेपछि ।
लाश बाध्ने कात्रो छैन
नरबहादुरको गरिबीले
उसलाई गिज्याइरहेको छ
नरबहादर एकोहोरिएर घरभित्र पस्छ
भर्याङ्ग छेउको सन्दुकबाट सिन्दुरको बट्टा निकाली
नरमायाको शिरमा राखी दिन्छ
मायाको चिनो किन राखी राख्ने ?
सम्झेर पछि रुनलाई
एकोहोरो सुस्ताउँछ नरबहादुर ।
लाशलाई सिनो पार्न भएन
पुरानो धुस्सामा लाश बाँधिदै छ
कात्रो नभएपछि
समय लाचार छ
मौन छन् मलामीहरू
नरबहादुरको जिन्दगी पढेपछि ।
नरमायाको लाशमा अवीर जात्रा गरिएन
फूलको गुच्छा अर्पण गर्न पनि
फूलहरू फूलेकै थिएनन् फूलबारीमा
शङ्ख एकोहोरो बजेपछि
लाश उठाएर मलामीहरू
जब दोबाटो काट्छन्
सम्हालिन नसकी नरबहादुर
छोरा छोरीलाई गम्लङ्ग अंगालो हाल्दै
डाको छोडेर रुन्छ
हृदयविदारक भएको छ यो क्षण
छोराछोरीको भविष्य सम्झेर
नरमायालाई बिदाइ गरेपछि
तर्सी बस्छ नरबहादुर ।
सुन्दरहरैँचा–०६, दुलारी मोरङ