२६ जेठ २०८३, मंगलबार
प्रहरीको फन्दामा ठग

अख्तियारको कर्मचारी हुँ भन्दै व्यापारी धम्क्याउने गिरोह– जब रविको केस समेत जोडेर म्यासेज आयो

भदौ २०, २०८२
काठमाडौं
अख्तियारको कर्मचारी हुँ भन्दै व्यापारी धम्क्याउने गिरोह– जब रविको केस समेत जोडेर म्यासेज आयो

झापाको हरिनगर गाउँपालिका– ७ घर भएर काठमाडौंको सुकेधारा बस्ने विनोद साह र डोटीको शिखर नगरपालिका– ९ घर भएर कीर्तिपुर बस्ने लक्ष्मण पनेरु आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।

‘अख्तियारको कर्मचारी हौं’ भन्दै टोखा बस्ने ठमेलका एक व्यापारीसँग एक करोड रुपैयाँ मागेको आरोप उनीहरूमाथि छ ।

गएको असार ४ गतेदेखि ती व्यापारीलाई ह्वाट्सएपमा म्यासेज तथा फोन सम्पर्क गरेर निरन्तर धम्की दिएपछि पीडितले गत आइतबार (भदौ १५) गते मात्रै प्रहरीमा उजुरी दिएका थिए । उजुरीकै आधारमा प्रहरीले साह र पनेरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकामध्ये साह र पीडित व्यापारीबीच पुरानो चिनजान थियो । कुलेश्वरमा रक्सीको डिलर सञ्चालन गरी बस्ने साहलाई ती व्यापारीको आर्थिक हैसियतबारे राम्रै जानकारी थियो ।

त्यही मौकामा उनले आफ्नो पसलमा आइरहने पनेरुलाई ती व्यापारीको पारिवारिक पृष्ठभूमिबारे अवगत गराउँदै ‘पैसा कमाउने भए नागरिकताको विषय लिएर धम्की देऊ, पैसा दिन्छ, आधा–आधा बाँडेर लिउँला’ भनेको खुलेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट पनेरु असार ४ मा ठमेलमै पुगेर ‘म अख्तियारको कर्मचारी हुँ । तपाईंको नागरिकतासम्बन्धी उजुरी परेको छ । मोबाइल नम्बर दिनू अनि मैले सोधेको कुरा बताउनू’ भन्दै हिँडेका थिए । तर, ती व्यापारीको नागरिकतामा कुनै कैफियत थिएन ।

पछि ती व्यापारीले पनेरुलाई फोन गरेर ‘हामीहरूको नागरिकता सबै ठीक छ, आइन्दा फोन गरेर धम्की नदिनू’ भन्दै फोन काटे ।

व्यापारीले त्यति भनेर फोन काटेपछि पनेरुले एकैपटक गत साउन ७ गते ह्वाट्सएपमा ‘तपाईंहरू भ्रममा पर्नुभएको छ । तपाईंहरूको नाममा निवेदन समेत तयार पारी अदालतमा पठाउँछौं । मूर्खताले तपाईंको नै क्षति हुन्छ । तपाईंले कहिले भेट्ने हो ?’ भन्दै म्यासेज पठाए । ती व्यापारीलाई धेरै तनाव भएपछि उनी अख्तियार पुगेर पनेरुको नाम लिँदै ‘यो नाम गरेको व्यक्ति आयोगको कर्मचारी हो वा होइन ? मलाई नागरिकता नक्कली छ भनेर धम्की दिई एक करोड मागेको छ’ भन्दै बुझे ।

अख्तियारका कर्मचारीले लक्ष्मण पनेरु नाम गरेको कोही पनि कर्मचारी काम नगर्ने बताएपछि ती व्यापारी ढुक्क भए । अख्तियारका एक प्रहरी उपरीक्षक (एसपी) ले उक्त घटनाको आन्तरिक छानबिन गर्दा अनुसन्धान गर्नुपर्ने देखिएपछि ती व्यापारीलाई टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जान सुझाए ।

अनि ती व्यापारी आफूलाई ह्वाट्सएपमा आएका म्यासेज र कल रेकर्ड लिएर अनुसन्धान कार्यालय पुगे । ती व्यापारीलाई पनेरुले पैसा नदिए मुद्दा दर्ता हुने र जेल जानेसम्मको धम्की दिएका थिए ।

null

पनेरुले व्यापारीलाई ‘तपाईंले चाइनाको वीच्याट समेत चलाउनु हुने रहेछ । अब तपाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा चलाउन सिफारिस गर्छौं,’ भन्दै धम्की दिएका थिए ।

पनेरुले व्यापारीलाई ह्वाट्सएपमा पठाएको म्यासेजमा ‘अब दशैं आउँदैछ, हेर तिमी दशैंमा भित्र जाने कि घरमा मासु र भात खाने हो, होश गर, तिम्रो अर्को सूचना पनि छ’ भन्दै धम्की दिएका थिए ।

अरू त अरू पनेरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता प्रकरणलाई समेत जोडेर म्यासेज पठाएका थिए ।

‘तपाईंलाई मौका पूरै छ, मौका नदिने भए सिधै प्रक्रियामा अघि बढ्थें, अझै तपाईंलाई लाग्छ कि यस्तै अल्झाऊँ, बेक्कारमा दु:ख पाइएला,’ पनेरुले व्यापारीलाई ह्वाट्सएपमा पठाएको म्यासेजमा भनिएको छ, ‘रविको प्रक्रियागत गल्ती थियो र त त्यो झमेला भोग्नुपर्‍यो, तपाईंहरूको त झन् वैधानिक नै छैन ।’

null

अनुसन्धान कार्यालयले सबै विवरण र व्यापारीलाई ह्वाट्सएपमा आएको म्यासेज हेरेर पनेरुलाई पक्राउ गर्ने रणनीति बनायो ।

पनेरुलाई फोन गर्न लगायो । पैसाको लेनदेन कलंकी खसीबजारस्थित भाटभटेनी सुपरमार्केट अगाडि गर्ने समझदारीअनुसार सोमबार व्यापारीलाई लिएर प्रहरी त्यहीँ पुग्यो ।

एक करोडमा भएको बार्गेनिङ २० लाखमा टुंग्याउँदै शुरूमा दुई लाख नगद दिने र बाँकी १८ लाख एक हप्ताभित्रै दिने सहमति अनुसार पैसा लिन भाटभटेनी पुगेका पनेरुलाई प्रहरीले पक्राउ गर्‍यो । पनेरुले आफूलाई व्यापारी धम्क्याउन र पैसा माग्न लगाउने व्यक्ति विनोद साह रहेको बताएपछि प्रहरीले साहलाई पनि लगत्तै नियन्त्रणमा लियो ।

अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ परेका साह र पनेरुलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

उनले भने,‘ अख्तियारको नक्कली कर्मचारी बनेर नक्कली नागरिकतामा मुद्दा चलाइदिन्छौं भन्दै एक करोड रुपैयाँ मागेको पाइयो । पीडितको उजुरीपछि हामीले पक्राउ गरेर परिसर पठाएका हौं ।’

पक्राउ परेका साह र पनेरुविरुद्ध आपराधिक लाभ (एक्सटर्सन) कसुरमा म्याद थप गरेर काठमाडौं परिसरले अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्