
काठमाडौंको बौद्धमा एक महिनाअघि एक युवकमाथि खुकुरी प्रहार गरेको घटनाका तीन आरोपीलाई प्रहरीले भारतको नयाँदिल्लीबाट पक्राउ गरी काठमाडौं ल्याएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यका अनुसार मगरलाई खुकुरी प्रहार गरेर भागेका तीन आरोपीलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका– १ बाँसखर्क घर भई जोरपाटी बस्दै आएका २५ वर्षीय लोप्साङ तामाङ तथा नुवाकोटको शिवपुरी गाउँपालिका– १ घर भई जोरपाटी बस्ने ३३ वर्षीय छुमन भनिने सुमन ब्लोन तामाङ र ३४ वर्षीय कुमार ब्लोन तामाङ छन् ।
उनीहरूमाथि अनुसन्धान भइरहेको आचार्यले बताए । प्रहरीले उनीहरूलाई कञ्चनपुरस्थित गड्डाचौकीबाट नियन्त्रणमा लिएको दाबी गरे पनि पक्राउ गर्न अनुसन्धान कार्यालयको टोली दिल्ली पुगेको थियो ।
दिल्लीमा तीनैजना साथीको फ्ल्याटमा बस्दै आएका थिए । पक्राउ परेका मध्ये लोप्साङले आफ्ना बुवासँग मगरको भनाभन परेको विषयलाई लिएर रिस फेर्न खुकुरी प्रहार गरेको बयान दिएका छन् ।
लोप्साङको बयान उद्धृत गर्दै अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘मेरो बुवालाई तथानाम भनेपछि मैले सहन सकिनँ र मार्ने उद्देश्यले नै खुकुरी प्रहार गरेको हो, तर बाँचेछ ।’
एसपी आचार्यका अनुसार मगरको परिवारले हाल पक्राउ परेका तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा उजुरी दिएपछि पक्राउ पुर्जी जारी भएको थियो ।
‘खुकुरी प्रहार गरेपछि उनीहरू तीनैजना सिधै कोठामा गएर लगेज प्याक गरी दिल्लीतिर लागेछन्,’ ती अनुसन्धान अधिकृतले भने, ‘हाम्रो सुराकीले उनीहरू दिल्लीमा रहेको थाहा पाएपछि टोली गएर पक्राउ गरी काठमाडौं ल्याएको हो ।’
लोप्साङका बुवा अशोक र खुकुरी प्रहारबाट घाइते भएका जीतबहादुर मोक्तान लगायत ओखर (जुवा) खेल्ने गरेको र सोही विषयमा विवादमा हुँदा मोक्तानले अशोकलाई पिटेको कुरा लोप्साङले बयानमा खुलाएका छन् ।
तर, प्रहरीले अन्य विषयलाई पनि ध्यानमा राखेर अनुसन्धान अघि बढाएको एसपी आचार्य बताउँछन् ।
अनुसन्धान अधिकारीका अनुसार लोप्साङ नेपाली कांग्रेसको भातृ संगठन तरुण दल सिन्धुपाल्चोकका सदस्य हुन् । उनी सिन्धुपाल्चोक तरुण दल अध्यक्ष सञ्जय लामा उर्फ झिंगेनिकट मानिन्छन् ।
लोप्साङले सञ्जयकै आडमा मोक्तानमाथि खुकुरी प्रहार गरेको आशंका प्रहरीको छ ।
कर्तव्य ज्यानसम्बन्धी अनुसन्धान गर्ने अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार लोप्साङले बौद्ध/जोरपाटी क्षेत्रमा गुण्डागर्दी गर्दै आएका थिए ।
उनले माकलबारीको एक स्नुकर हाउसमा एक जनामाथि हेल्मेट प्रहार गरेको प्रहरीले जनाएको छ ।
तर, ती व्यक्तिले लिखित नभई मौखिक उजुरी मात्रै गरेका थिए ।
‘यो घटना सिन्धुपाल्चोकका गुण्डागर्दी गर्ने समूहसँग पनि जोडिन्छ, उनीहरूकै बलमा लोप्साङले पछिल्लो समय जोरपाटीमा गुण्डागर्दी गर्दै आएको प्रहरीसँग सूचना छ,’ ती अधिकृतले भने, ‘हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं ।’
के थियो घटना ?
गएको साउन १२ गते राति ९ बजे बौद्धको बाहुनधारामा काभ्रेस्थित रोशी गाउँपालिका– १० घर भएका जीतबहादुर मोक्तानमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरिएको थियो ।
बौद्ध नयाँबस्तीमा सञ्चालित ‘डी क्याफे’ मा खाजा खाएर बाहिरिएका उनलाई मोटरसाइकल रोकेर अन्धाधुन्ध खुकुरी प्रहार भएको थियो ।
मोक्तानलाई लखेट्दै उनको ढाड, पेट र हातलगायतका ठाउँमा खुकुरी प्रहार गरिएको थियो ।
प्रहरीका अनुसार स्थानीयले नै उद्धार गरेर उनलाई उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज पुर्याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि मोक्तानलाई त्रिवि शिक्षण अस्पताल हुँदै ग्वार्कोस्थित बी एन्ड बी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
लामो समय बी एन्ड बीमै उपचार गराएपछि डिस्चार्ज भएर उनी घर फर्किएका छन् । तर, उनको दाहिने हात चलेको छैन ।