२६ जेठ २०८३, मंगलबार
प्रदर्शनको तयारीमा जेनजी

‘जेनजी’को प्रदर्शनलक्षित सुरक्षा तयारी– कडाइ गरिने, तर शान्तिपूर्ण हुँदा हस्तक्षेप नगर्ने

भदौ २२, २०८२
काठमाडौं
‘जेनजी’को प्रदर्शनलक्षित सुरक्षा तयारी– कडाइ गरिने, तर शान्तिपूर्ण हुँदा हस्तक्षेप नगर्ने

‘जेनजी’ (सन् १९९७–२०१२ भित्र जन्मिएको पुस्ता)ले सोमबार राजधानीमा विरोध प्रदर्शन गर्ने तयारी गरेपछि सरकारले सुरक्षा व्यवस्था कडा पार्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतबार जिल्ला सुरक्षा समितिको बैठक बसेर सुरक्षा व्यवस्था कडा पार्ने निर्णय भएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालको संयोजकत्वमा बसेको बैठकमा ‘जेनजी’ पुस्ताले सोमबार गर्ने भनिएको प्रदर्शनबारे गम्भीर छलफल भएको थियो ।

कुनै दल वा निश्चित नेतृत्वविना नै माइतीघरमा हुन लागेकाले प्रदर्शन कस्तो हुने भन्ने निश्चित भइसकेको छैन । सोही संवेदनशीलतालाई ध्यानमा राख्दै बैठकमा छलफल भएको थियो ।

शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप नगर्ने, तर सुरक्षा व्यवस्था कडा पारिने प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

‘शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दैन, हामी सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी राख्दैनौं,’ रिजालले लोकान्तरसँग भने, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त समन्वयमा सुरक्षाकर्मी परिचालन गर्छौं ।’

सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णय गरेपछि ‘जेनजी’ पुस्ता सडकमा ओर्लिन लागेको हो । भ्रष्टाचार अन्त्यसहितका विषयलाई प्रदर्शनको मुख्य नारा बनाइएको छ ।

प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका प्रमुख मेयर बालेन साहले समेत समर्थन जनाएका छन् । त्यस्तै, व्यवसायी दुर्गा प्रसाईंले पनि सोमबारको प्रदर्शनमा साथ दिने बताइरहेका छन् ।

सरकारले केही दिनअघि मात्रै सामाजिक सञ्जाल निर्देशिका, २०८० अनुरूप सूचीकरण नभएका फेसबूक लगायत सामाजिक सञ्जाललाई निष्क्रिय बनाउने निर्णय गरेको थियो ।

उक्त निर्णयपछि युवाहरूको ठूलो जमातले असन्तुष्टि व्यक्त गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्