
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोध प्रदर्शनमा उत्रिएका जेन–जीहरूले सुरक्षा घेरा तोड्दै नयाँ बानेश्वरस्थित संसद् भवनसम्मै पुगेका छन् ।
माइतीघरलाई प्रदर्शनको केन्द्र बनाइने बताइरहँदा उनीहरू सुरक्षा घेरा तोड्दै एकाएक संसद् भवनसम्मै पुगेपछि सुरक्षा निकायको गम्भीर चुक पुष्टि भएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकमा पनि प्रमुख जिल्ला अधिकारी र काठमाडौंका सुरक्षा प्रमुखहरूबीच ‘जेन-जी त हुन्, के नै गर्लान् र ? भन्ने निष्कर्षमा पुग्दा उचित सुरक्षा प्रबन्ध हुन नसकेको बुझिन्छ ।
यसअघिका प्रदर्शनमा प्रदर्शनको नेतृत्व तहमा सुरक्षा निकायले छलफल राख्थ्यो । यसपटक भने जेन–जीको प्रदर्शनको नेतृत्व कसले गर्ने भन्ने भेउसमेत प्रहरीले पाएको थिएन । जसका कारण, सुरक्षाकर्मी परिचालनको उचित ‘मोडालिटी’ बन्न सकेन ।
प्वाइन्ट तोकेर मात्रै संख्या गनेर सुरक्षाकर्मी परिचालित गरिएको थियो । ‘जेन–जीहरू संसद् भवनसम्म पुग्लान् भन्ने कल्पनै गरिएको थिएन’, जिल्ला प्रहरी परिसर काठमाडौंका एक सुरक्षा अधिकारीले लोकान्तरसँग भने,‘राजनीतिक दलको जस्तो तडकभडक होला भन्ने प्रहरीले कल्पना गरेको थिएन । विद्यार्थीकालका जेन–जीको यो खालको हर्कत होला भन्ने अनुमान थिएन ।’
राजनीतिक दलका प्रदर्शनमा जस्तो कमान्ड पोष्ट बनाउने, सादा पोशाकका सुरक्षाकर्मीलाई भीडभित्र प्रदर्शनमै खटाएर उनीहरूको सूचना संकलन गर्ने र संसद् भवनलाई सुरक्षित बनाउनेतर्फ सुरक्षा निकायको समन्वय अभाव देखिएको छ ।
प्रदर्शनमा कति आउलान् भन्ने यकिन जानकारी समेत प्रहरीसँग थिएन । प्रदर्शनमा घुसपैठ हुनसक्छ भन्ने अनुमान गरेपनि उक्त घुसपैठलाई कसरी ‘ट्याकल’ गर्ने भनेर सुरक्षा रणनीति बनाइएको थिएन ।
जिल्ला प्रहरी परिसरका प्रमुख, एसएसपी विश्व अधिकारीले प्रहरीले समन्वयात्मक हिसाबले काम गरिरहेको बताए । उनले भने, ‘अहिले म फिल्डमै छु । भौतिक एवं मानवीय क्षति हुन नदिन हाम्रो अधिकतम प्रयास रहिराख्छ ।’