
तन्त्रदर्शन ईशाको चारौँ/पाँचौँ शताब्दीतिर विकास भएको दर्शन मानिन्छ । यद्यपि कहीँकतै कुषाणवंशी सम्राट् कनिष्क (सन् ७८–१०८)को पालादेखि नै तन्त्रको प्रयोग हुँदै आएको छ भन्ने अभिमत पनि नपाइने होइन तर, तिनको आधिकारिक पुष्टि भने भएको पाइन्न । उदाहरणका लागि चिनियाँ यात्री फाहियान (करिब सन् ३९९–४१४) तथा हु एन साङ (करिब सन् ६३०–६४३)को यात्रा वृतान्तमा यसको उल्लेख नहुनुलाई नै लिन सकिन्छ । हुनत तन्त्रको बीज अथर्ववेदीय सूक्तहरूमै पनि भेटिने गर्दछ, जहाँ देहात्मवादी चिन्तनहरू भएका छन् । तथापि हालको तन्त्रशास्त्र वा दर्शनसित तिनको कुनै सम्बन्ध रहेको देखिँदैन । हामीमध्ये धेरैलाई लाग्न सक्छ तन्त्र भनेको डर लाग्दो साधनाविधि हो, जसले नकारात्मक शक्तिलाई जगाउने र खेलाउने गर्दछ तर, यथार्थ त्यस्तो होइन । बरू तन्त्र भनेको त्यस्तो शास्त्र वा दर्शनले हो, जसले चैतन्यको माध्यमबाट ब्रह्माण्डीय ऊर्जालाई जागृत गरी जीवन र जगतको हितमा लगाउने प्रयास गर्दछ । यस आलेखमा यसैबारे केही चर्चा गर्ने प्रयास गरिएको छ ।
पाणिनीय व्याकरणअनुसार तनु र त्रै धातुबाट तन्त्रशब्द बन्दछ, जसको अर्थ हुन्छ बिस्तार गर्नु र रक्षा गर्नु । किनकि तनुको अर्थ बिस्तार गर्नु हो भने त्रैको अर्थ त्राण वा रक्षा गर्नु हो । त्यसैले यसको व्युत्पत्तिजन्य अर्थ हुन्छ ‘तनोति विस्तारयति, त्रायति रक्षतीति तन्त्र अर्थात् जसले ज्ञानको विस्तार गरी सर्वकल्याणको मार्गदर्शन गराउँछ त्यही नै तन्त्र हो । प्रश्न उठन् सक्छ त्यो भनेको के हो ? विस्तार गर्नु भनेको के हो ? रक्षा गर्नु भनेको के हो र कसरी गर्छ ? यसका लागि भने केही व्यावहारिक उदाहरणलाई केलाउनुपर्ने हुन्छ, जसबाट सजिलै बुझ्न सकिन्छ ।
जस्तो बिस्तारको अर्थ विकास पनि हो । यसभित्र मनको विकास, बुद्धिको बिकास, समाजको विकास, राष्ट्र तथा राज्यको विकास आदि यावत पक्ष पर्दछन् । त्यस्तै विकास भन्नाले उन्नति तथा प्रगतिलाई पनि जनाउँछ । त्यसैले जुन साधन वा साधनाले शरीर तथा मन, बुद्धि, विवेक, ख्याति आदि व्यक्तिगत जीवन तथा धार्मिक, सामाजिक, आध्यात्मिक, भौतिक र आर्थिकअनुशासन कायम राखी राष्ट्र तथा राज्यको जीवनमा उन्नति र प्रगतिमा सहयोग पुर्याउँछ त्यही नै तन्त्र हो भनेर बुझ्नुपर्ने हुन्छ ।
त्यस्तै त्राण वा रक्षाको अर्थ पनि उत्तिकै व्यापक छ । यसभित्र शरीरको रक्षा, स्वास्थ्य, शिक्षाको रक्षा, ज्ञान र चेतनाको रक्षा, समाजको रक्षा, हावा, पानी, माटो, वन, जङ्गल, पशुपक्षी आदि वातावरणीय पक्षको रक्षा, राष्ट्र तथा राज्यको रक्षा आदि पक्षहरू पर्दछन् । त्यसैले समग्रमा भन्नुपर्दा यहाँ रक्षाको अर्थ मानवीय चेतनाको विकास गरी तिनलाई चरचर जगत्को रक्षा अर्थात् सदुपयोग र सद्व्यवस्थापनमा सहयोग गर्न सिकाउनु र लगाउनु भन्ने अर्थमा लिनुपर्ने हुन्छ । सारमा यति भन्न सकिन्छ जसले मानिसको आन्तरिक शक्ति जागृत गरी तिनलाई सर्वहितको पक्षमा लाग्न सिकाउँछ र लगाउँछ त्यही नै तन्त्रशास्त्र वा दर्शन हो । शायद त्यसैले होला यसलाई धर्म, दर्शन, शास्त्र, सिद्धान्त, आचार, विचार तथा व्यवहारसित सम्बन्धित प्राचीन विज्ञानको इन्साक्लोपिडिया भन्ने गरिएको पाइन्छ ।
तन्त्रशास्त्रमा शुरूदेखि नै वामाचार र दक्षिणाचार गरी दुई धार रहँदै आएको पाइन्छ । यिनमा वामाचार भनेको तन्त्रसाधनाको त्यस्तो प्रकार हो, जहाँ पञ्चमकार अर्थात् मांस, मत्स्य, मदिरा, मुद्रा र मैथुनलाई वैध मानिएको छ तर यो अत्यन्त कठिन मार्ग हो । किनभने यहाँ पञ्चमकारलाई वैध मान्नुको अर्थ इन्द्रिय तृप्तिका लागि नभएर आध्यात्मिक साधनामा प्रयोग गर्नु हो । वामाचारको उद्देश्य भनेकै शारीरिक इन्द्रियलाई नियन्त्रित गरी अन्तरात्मा तथा अद्वैत ब्रह्मसिद्धि गर्नु हो । भलै यो समामाजिक मापदण्डभन्दा परको विषय देखिन सक्छ तर उद्देश्य त्यस्तो छैन । किनभने यहाँ पञ्चमकारलाई प्रतिकात्मक वा आध्यात्मिकपक्षमा उपयोगगरी आत्मजागृत तथा अद्वैत ब्रह्मसिद्धि प्राप्तिको प्रयास भएको हुन्छ । त्यस्तै दक्षिणाचार भनेको तन्त्रसाधनका शुद्ध तथा पवित्र परम्परार हो, जसलाई शिवशक्तिको एकतामाथि केन्द्रित गरिएको हुन्छ । यसको उद्देश्य आध्यात्मिक उत्थान, आत्मसाक्षात्कार तथा कुण्डलिनी जागृतसित सम्बन्धित रहेको छ ।
तन्त्रको प्रयोग संसारभर जुनसुकै धर्म तथा सम्प्रदायमा हुने गरेको पाइन्छ, भलै नाम, रूप र तरिका फरक होलान् । हिन्दूपरम्परामा छ, बौद्ध, जैन, सिख परम्परा छ । बौद्धदर्शनको बज्रयानी सम्प्रदाय तथा आगम मठमा तन्त्रसम्बन्धी विचार कर्मकाण्ड र साहित्यमा प्रयोग भएको पाइन्छ । तिब्बतको बोनपरम्परा तथा दाओ परम्परा र जापानको शिन्तोपरम्परामा यसको प्रयोग भएको पाइन्छ भने जैनधर्मका गूढ वा गुह्यसाधनासित सम्बन्धित रहेको देखिन्छ । इस्लामिक परम्पारमा आफ्नै किसिमका होलान् इसाइपरम्परमा आफ्नै किसिमका होलान् । जहाँसम्म हिन्दूपरम्पराको कुरा छ त्यो भने खासगरी शाक्त परम्परासित सम्बन्धित रहेको छ । पछि गएर शैवपरम्परा र केही हदसम्म वैष्णवपरम्परासित पनि जोडिन पुगेको देखिन्छ ।
हिन्दूपरम्परामा तन्त्रलाई तीन भागमा विभाजन गरिएको छ, जसमा आगम, यामल र मुख्य तन्त्र पर्दछन् । यिनमा जहाँ सृष्टि, प्रलय, देवपूजन, सबै कार्यको साधना, पुरश्चरण, षट्कर्मसाधन, ध्यान, योग आदिको वर्णन भएको हुन्छ त्यसलाई आगम भनिन्छ । त्यस्तै जहाँ सृष्टितत्व, ज्योतिष, नित्यकर्म, वर्णधर्म तथा युगधर्मको विवेचन भएको हुन्छ त्यसलाई यामल र जहाँ, सृष्टि, मन्त्रनिर्णय, देवस्थान, तीर्थ, आश्रमधर्म, कल्प, ब्रतकथा, शौच, आशौच, राजधर्म, दानधर्म तथा सद्व्यवहार र आध्यात्मिक विषयको विवेचन त्यसलाई तन्त्र भनिन्छ ।
हिन्दूदर्शनका जति पनि ग्रन्थ छन् तिनलाई निगम र आगम भन्ने गरिएको छ । यिनमा निगमअन्तर्गत वेद, पुराण, उपनिषद् पर्दछन्, जहाँ ज्ञान, कर्म र उपासनाको वर्णन हुने गरेको छ । त्यस्तै निगमअन्तर्गत अभ्युदय (लौकिककल्याण) नि:श्रेयस (मोक्ष) पर्दछ । अर्थात् जसको माध्यमबाट इहलौकिक र पारलौकिक हितका कुरा भएको छ त्यसलाई आगम भनिन्छ, जसलाई मोटीरूपमा शैवागम, वैष्णवागम र शाक्त तन्त्र गरी तीनभागमा विभक्त गरिएको छ । यीमध्ये शैवागमअन्तर्गत चार विचारधारा विकास भएका पाइन्छन्, जसमा शैवसिद्धान्त, तमिलशैव, वीरशैव र कश्मीरीशैव पर्दछन् ।
यीमध्ये शैवसिद्धान्त शिवसूत्रमा आधारित देखिन्छ, जसले शिवलाई चेतनपुरुष र जड प्रकृतिलाई उसको शक्ति मानेको छ । यसअनुसार संसारमा जति पनि सृष्टिस्थिति र प्रलयका कार्य हुन्छन् यिनै शिव र शक्तिका कारण सम्भव भएका हुन्छन् । तमिलशैव भनेको तमिलनाडुतिर विकास भएको शैवमत हो, जसले शिवलाई द्वैत मानेको छ । अर्थात् यस विचारले शिव र जीवमा भेद हुन्छ भन्ने अभिमत राख्दछ । त्यस्तै वीरशैव भनेको कर्नाटकतिर विकास भएको शैवमत हो । शिवभक्तिमा आधारित यसमतलाई लिङ्गायत पनि भनिन्छ । यसमतका अनुयायीमा जातिभेद र लिङ्गभेद हुँदैन । भष्मधारण गरी उन्मुक्तसित शिवोऽहम् भावमा रमाउन खोज्नु यसमतको विशेषता हो । कश्मीरीशैव मतले भने अद्वैत शिवको कुरा गर्दछ । प्रत्यभिज्ञादर्शन पनि भनिने यसमतका अनुयायीहरू शिव र जीवमा कुनै भेद हुँदैन भन्ने गर्दछन् । त्रिकसमेत भन्ने गरिएको यसदर्शनले शिव, शक्ति र जीवलाई समन्वय गर्ने प्रयास गरेको छ ।
वैष्णवागमअन्तर्गत विष्णुभक्तिमा आधारित वैखानस र पाञ्चरात्र गरी दुई मत रहेको पाइन्छ । यिनमा वैखानसमतले तपस्या र साधनामा जोड दिने गर्दछ भने पाञ्चरात्रमतले विश्वको उद्भव र सृष्टिरचना आदि कुराको विवेचन गर्दछ । शाक्ततन्त्रअन्तर्गत भने सयौँ ग्रन्थहरू रहेका छन्, जसमा ६४ मुख्य मानिएका छन् । तिनमा पनि विशेषगरी कुलार्णवतन्त्र, कामधेनु, कुब्जिकातन्त्र, महानिर्वाणतन्त्र थप महत्वका पाइन्छन् । मोटामोटीरूपमा तन्त्रदर्शन वा शास्त्रको विशेषता यिनै हुन् तर यति नै हुन् भन्ने चाहिँ होइन । यसको क्षेत्र पनि व्यापक र विशेषता पनि व्यापक रहेको पाइन्छ ।