२६ जेठ २०८३, मंगलबार

भीमदत्तका वडाध्यक्षले ज्येष्ठ नागरिकलाई दिए आफ्नो तलब-भत्ता

असोज ६, २०८२
कञ्चनपुर
भीमदत्तका वडाध्यक्षले ज्येष्ठ नागरिकलाई दिए आफ्नो तलब-भत्ता

कञ्चनपुरको भीमदत्त नगरपालिका– १ का वडाध्यक्ष आशिफ कुँवर (भुन्टु)ले आफूले पाएको तलब–भत्ता बापतको रकम वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई वितरण गरेका छन् ।

वडाध्यक्ष कुँवरले घटस्थापनाको अवसरमा आज वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई दुई लाख ६२ हजार रुपैयाँ वितरण गरेका हुन् । उनका अनुसार १४२ ज्येष्ठ नागरिक र अपाङ्गता भएका २० जनालाई जनही एक हजार ५०० रुपैयाँका दरले रकम वितरण गरिएको हो ।

पहिलोपटक २०७४ सालमा वडाध्यक्षमा निर्वाचित भएपछि कुँवरले राज्यबाट पाउने सेवा सुविधा नलिने घोषणा गरेका थिए । उनी दोस्रो कार्यकालमा समेत नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

'मैले राज्यबाट सेवा सुविधा बापत पाउने सबै रकम सामाजिक कार्य र विपन्न तथा असहाय नागरिकलाई वितरण गर्दै आएको छु,' वडाध्यक्ष कुँवरले भने, 'यसपालि पनि दशैं मनाउन सहयोग पुगोस् भनेर वृद्ध आमा-बुवाहरूलाई रकम वितरण गरेको छु ।'

उनले लगातार आठ वर्षदेखि आफूले पाएको सुविधाको रकम वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्दै आएको बताए ।

उनले आफूले पाउने २२ हजार ४७० रुपैयाँ पारिश्रमिक जम्मा गरेर दशैंका बेला वितरण गर्ने गरेका हुन् ।

वडाध्यक्ष कुँवरले कतिपय ज्येष्ठ नागरिकको औषधि उपचार खर्च समेत आफैंले बेहोर्दै आएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्