
केही दिन अघिसम्म सञ्चालनमा रहेको ठानिएको एउटा शंकास्पद वेबसाइट ‘नेताखोर डट भर्सेल डट एप’मा अहिले एउटा म्यासेज मात्र देख्न सकिन्छ ।
‘प्रिय नागरिकहरू, कृपया सार्वजनिक सम्पत्ति तोडफोड नगर्नुहोस् । हामीले पहिले नै सफलता हासिल गरिसकेका छौं । अब समय आएको छ कि हामी संयमता अपनाई, सुविचारित योजना बनाएर, सभ्य र शान्तिपूर्ण तरिकाले अघि बढौं,’ उक्त वेबसाइटमा लेखिएको छ, ‘तोडफोड जस्ता कार्यले हामीलाई केवल पछि धकेल्नेछ । हामी सबै मिलेर सहकार्य र संवादमार्फत सकारात्मक परिवर्तन ल्याउन सक्छौं । एकता नै हाम्रो ठूलो शक्ति हो, जसका आधारमा हामीले उज्ज्वल भविष्य निर्माण गर्नुपर्छ । तपाईंको सहकार्यका लागि धन्यवाद !’

यो वेबसाइट केका लागि प्रयोगमा ल्याइएको थियो ? अहिले त्यहाँ उल्लेख भएका शब्दबाट कसलाई सन्देश दिन खोजिएको हो ? यसबारे प्रहरीले अनुसन्धान थालेको छ ।
नेताका घर तथा आवास तोडफोड र आगजनीका लागि एप नै बनाएर लोकेशन शेयर गरेको भन्ने चर्चाका बीच प्रहरीले यस्ता शंकास्पद् वेबसाइट तथा एपहरूमाथि निगरानी थालेको हो ।
यति मात्रै होइन, सामाजिक सञ्जाल फेसबूक, ट्वीटर, इन्स्टाग्राम, टिकटक लगायतका प्लेटफर्ममा हिंसात्मक र भड्काउ अभिव्यक्त गरेका भिडियो संकलन गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई निर्देशन दिएसँगै ब्यूरोले आफू र साइबर ब्यूरोलाई कार्य विभाजन गरेर अनुसन्धान थालेको हो ।
प्रहरी मुख्यालयका एक उच्च अधिकृतले लाकोन्तरसँग भने, ‘अहिले हामीले के छानबिन र अनुसन्धान गर्दैछौं भन्ने कुरा सार्वजनिक गर्न मिल्दैन, तर छद्म भेषमा डिस्कोर्ड चलाएर भड्काउ अभिव्यक्ति दिने, सामाजिक सञ्जाल प्रयोग गरेर सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी र लुटपाट गर्नेलाई धमाधम भिडियो फूटेजका आधारमा पक्राउ गरी अनुसन्धान अघि बढाएका छौंं ।’
फरक–फरक अनुसन्धान टोली बनाएर खटाइएको छ । प्रहरीका हतियार लुट्ने समूह पक्राउ गर्न छुट्टै टोली, तोडफोड र आगजनी गर्ने समूह पक्राउ गर्न छुट्टै टोली र सामाजिक सञ्जालमा उत्तेजनात्मक अभिव्यक्ति दिएर भड्काउने समूहमाथि अनुसन्धान गर्न छुट्टै टोली परिचालित भएको प्रहरी मुख्यालयले जनाएको छ ।
उच्च स्रोतका अनुसार भदौ २४ गतेको प्रदर्शनमा फ्री तिब्बत लेखिएका टिसर्ट र जर्सी लगाएका केही युवामाथि समेत प्रहरीले अनुसन्धान थालेको छ । उनीहरू किन प्रदर्शनमा सहभागी हुन पुगे र यो प्रदर्शनसँग उनीहरूको साइनो के थियो भन्ने पत्ता लगाउन प्रहरीले सीसीटीभी फुटेज र मिडियामार्फत सार्वजनिक भएका भिडियो सामग्रीलाई आधार बनाएर खोजी गरिरहेको छ ।
‘हामीले सार्वजनिक भएका भिडियो केलाउँदै जाँदा तिब्बत लेखिएका टिसर्ट लगाएका केही युवा पनि प्रदर्शनमा देखिए, उनीहरूको भूमिकाका विषयमा पनि अनुसन्धान गर्नुपर्ने देखियो,’ एक अनुसन्धान अधिकृतले भने, ‘प्रदर्शनको फाइदा उठाएर लुटपाट गर्नेमाथि विशेष अनुसन्धान भइरहेको छ ।’
सिंहदरबार जलाउन जाने, संसद् भवन जलाउन जाने, प्रहरीका हतियार लुटेर प्रदर्शन गर्ने, प्रहरीका युनिट जलाउने तथा ढुंगामुढा गर्नेलाई प्रहरीले पक्राउ गरिरहेको छ ।
प्रहरीलाई प्राप्त सूचना अनुसार जेन–जीको प्रदर्शनमा माओवादी, राप्रपा, रास्वपा र दुर्गा प्रसाईंका कार्यकर्ताको समेत घुसपैठ भएको देखिन्छ ।
मंगलबार मात्रै कलंकीस्थित मालपोत कार्यालय र नापी कार्यालयमा आगो लगाउने तथा प्रहरीलाई कलंकीदेखि ढुंगामुढा गरेर लखेट्ने कार्यमा अग्रपंक्तिमा रहेका एमाले युवा संघका केन्द्रीय सदस्य भुवन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मात्रै २० जनाभन्दा बढीलाई पक्राउ गरिसकेको छ । गत भदौ २४ गते सरकारी कार्यालयमा तोडफोड र आगजनी गर्न अग्रपंक्तिमा रहेकाहरूलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्न थालेको हो ।
‘हामीले जति पनि पक्राउ गरेका छौँ, सप्रमाण गरेका छौं,’ अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले लोकान्तरसँग भने, ‘सार्वजनिक गर्ने बेला अझै भइसकेको छैन ।’