२६ जेठ २०८३, मंगलबार
जेनजी आन्दोलन

दर्जन बढी मालपोत र नापीको हाल: न रह्यो जग्गाको स्रेस्ता, न रोक्काको विवरण

​डिजिटाइज हुन बाँकी र हातमा पुर्जा नभएकाको हकमा ठूलो समस्या
असोज १०, २०८२
काठमाडौं
दर्जन बढी मालपोत र नापीको हाल: न रह्यो जग्गाको स्रेस्ता, न रोक्काको विवरण

जेनजी आन्दोलनका क्रममा आगजनी भएका एक दर्जनभन्दा बढी मालपोत तथा नापी कार्यालयको अभिलेख पूर्णरूपमा जलेका कारण अब स्रेस्ता कायम गर्न कठिनाइ हुने भएको छ ।

त्यति मात्र होइन, न्यायिक र अर्धन्यायिक निकाय एवं बैंक तथा वित्तीय संस्थाले रोक्का राखेको जग्गाको समेत अभिलेख जलेका कारण निकै समस्या उत्पन्न भएको छ ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले देशभरका मालपोत तथा नापी कार्यालयहरूमा गरेको आगजनीका कारण नियमनकारी निकायले रोक्का राखेको जग्गाको अभिलेख पत्ता लगाउन मुस्किल हुने अवस्था आएको छ ।

मालपोत कार्यालय चितवन भरतपुरका सूचना अधिकारी टीकाराम अधिकारीका अनुसार आगजनीबाट कार्यालयको  भवन पूर्णरूपमा नष्ट भएको छ ।

‘भवनमा बस्न नमिल्ने भनेर रातो स्टिकर टाँसिएको छ,’ उनले लोकान्तरसँग भने, ‘अहिले लेखापढी व्यवसायीको भवनमा मर्मत सम्भार गरेर कार्यालय सञ्चालन गर्ने प्रयास गरिरहेका छौं ।’

अहिले रोक्का राखिएको विवरण अद्यावधिक गर्न प्रकाशित गरिएको सूचनाबमोजिम बैंक तथा वित्तीय संस्थाले पत्राचार गरेपछि सोहीबमोजिम रोक्का राख्ने काम भइरहेको उनले बताए ।

बैंक तथा वित्तीय संस्थाले अद्यावधिक गराए पनि न्यायिक निकाय र अर्धन्यायिक निकायले रोक्काको विषयमा अद्यावधिक गराउन बाँकी रहेको उनले खुलाए ।

‘न स्रेस्ता बाँकी छ, न त तामेली नै । सबै जलेर पूर्णरूपमा नष्ट भएको हुनाले अब कारोबार गर्न निकै समस्या उत्पन्न हुने देखिन्छ,’ अधिकारीले थपे, ‘२०७४ साउन १ गतेपछि अनलाइन कारोबार भएकाको हकमा अनलाइन सिस्टममा नै अभिलेख रहेको हुनाले त्यसमा कुनै समस्या छैन ।’

तर, कुनै व्यक्तिसँग जग्गाको पुर्जा पनि छ, अनलाइन इन्ट्री पनि भएको छ, तर कारोबार भएको छैन भने त्यस्ताको हकमा बढी कडाइ गर्नुपर्ने स्थिति रहेको उनले बताए ।

‘त्यस खालका केसमा नै चलखेल हुने समस्या बढी हुन्छ । त्यसैले अब बढी कडाइ गर्नुपर्ने देखिन्छ,’ उनले थपे, ‘त्यसबाहेक आफ्नो हातमा पुर्जा नरहेको र कार्यालयमा समेत स्रेस्ता नरहेको अवस्था भएका व्यक्तिको हकमा त कारोबार गर्न झन् बढी समस्या हुन्छ ।’

व्यक्तिसँग स्रेस्ता रहेकाको हकमा स्थानीय तहको सिफारिस लिएर आए नयाँ स्रेस्ता कायम गर्न सकिने उनले बताए । ‘तर, स्रेस्ता व्यक्तिसँग पनि नरहेकाको हकमा भने सूचना नै प्रकाशन गर्नुपर्ने हुन्छ । स्थलगत मुचुल्कादेखि भोग गर्दै आएको भनेर स्थानीय तहको मुचुल्का सिफारिससहितको उपाय अवलम्बन गर्नुपर्ने हुन्छ ।’

मालपोत कार्यालय चितवन जस्तै देशका दर्जनौं मालपोत कार्यालयहरूमा स्रेस्तासहितका अभिलेख जलेर पूर्णरूपमा नष्ट भएका छन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता खिमानन्द आचार्यका अनुसार १ दर्जनभन्दा बढी मालपोत कार्यालयहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

काठमाडौंको कलंकी, चितवनको भरतपुर, मकवानपुरको हेटौंडा, बाँकेको नेपालगञ्ज, कास्कीको पोखरा, कैलाली, मोरङ, दाङको तुलसीपुर र घोराही तथा रुपन्देहीको बुटवल मालपोत कार्यालय आगजनीका कारण पूर्णरूपमा क्षतिग्रस्त भएको आचार्यले बताए ।

त्यसैगरी, सिरहाको सिरहा र लहान, मोरङको रंगेली, चितवनको खैरहनी, रौतहटको चन्द्रनिगाहपुर, डडेल्धुरा, बाँकेको कोहलपुरसहितका मालपोत कार्यालयहरूमा आंशिक क्षति पुगेको उनले बताए ।

‘काठमाडौंको कलंकीस्थित मालपोत कार्यालयमा तामेलीको अभिलेख मात्र बाँकी छ । बाँकी सबै स्रेस्तासहितका कागजात पूर्ण रूपमा जलेर नष्ट भएको छ,’ आचार्यले लोकान्तरसँग भने, ‘सबैभन्दा ठूलो समस्या भने रोक्का राखिएको जग्गाको अभिलेख छैन । त्यो सबै डढ्यो ।’

विभिन्न अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल प्रहरी, राजश्व अनुसन्धान विभाग, विभिन्न बैंक तथा वित्तीय संस्थाले रोक्का राखेको जग्गाको स्रेस्ता जलेर नष्ट भएको छ ।

त्यसैकारण, विभागले रोक्काको अभिलेख अद्यावधिक गर्नका लागि असोज ८ गते सूचना नै प्रकाशित गरेको छ ।

बैंक तथा वित्तीय संस्था, सहकारी संघ–संस्था, अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी, आन्तरिक राजश्व कार्यालय, स्थानीय तह, ऋण असुली न्यायाधीकरण, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, बिमा, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयलगायत विभिन्न निकाय तथा संघ–संस्थालाई रोक्काको अभिलेख अद्यावधिक गर्न भनिएको छ ।

‘धितो बन्धक लिखत पारित गरी वा पत्रमार्फत तततत् कार्यालयमा यसअघि घरजग्गा रोक्का गरिएको भए त्यस्तो घरजग्गाको रोक्कासम्बन्धी अभिलेख सम्बन्धित मालपोत कार्यालयमा उपलब्ध गराइ रोक्काको अभिलेख अद्यावधिक गर्ने कार्यमा सहयोग गरिदिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

सोही सूचनाबमोजिम घरजग्गा रोक्का राख्ने निकायले पुनः पत्राचार गरेर अभिलेख अद्यावधिक गराए मात्र रोक्का राख्न सकिने विभागका प्रवक्ता आचार्य बताउँछन् ।

‘अब पुनः ती सबै निकायले नै पत्राचार गरेर कुन–कुन व्यक्तिको जग्गा रोक्का राखेको हो भनेर भनेपछि पुनः रोक्का गर्न सकिएला,’ आचार्यले लोकान्तरसँग भने, ‘यसमा सम्बन्धित व्यक्तिलाई नै जिम्मेवार बनाएर जानु बाहेकको विकल्प छैन । त्यस्तो केसमा कारोबार गर्ने व्यक्तिसँग नै कागज गराएर पछि रोक्का रहेको पाइए सम्बन्धित व्यक्तिले नै ब्यहोर्नुपर्ने हिसाबले जानु पर्ला । ’

स्रेस्तादेखि जग्गाको  कारोबारबारे अनलाइन इन्ट्री भएकाको हकमा भने केही समस्या नहुने उनले बताए । ‘तर, २०७२ सालदेखिको मात्र अनलाइन इन्ट्री भएको छ । त्यसअघिको कारोबारको वा स्रेस्ताको अनलाइन इन्ट्री नभएका कारण समस्या हुन्छ,’  आचार्यले थपे, ‘कतिपयले जग्गाको हाल साविक गराए पनि बेच्ने वा किन्ने आवश्यकता नै नपरेकाले अनलाइन इन्ट्री नगराएका कारण त्यस्ता व्यक्तिको हकमा पनि स्रेस्ता नै कायम गर्न अब कठिन हुन्छ ।’

मालपोत कार्यालयमा जस्तै देशभरका दर्जनौं नापी कार्यालयहरूमा समेत प्रदर्शनकारीहरूले आगजनी गरेका थिए । नापी विभागका सूचना अधिकारी टंकप्रसाद दाहालका अनुसार सुर्खेत, काठमाडौंको कलंकी, चितवनको भरतपुर, कास्की, धनगढी, दाङको घोराही, नेपालगञ्ज, सिरहा, विराटनगर, सिरहाको लहान, सप्तरीको राजविराज, चितवनको खैरहनी नापी कार्यालयमा भएको आगजनीमा कागजात पूर्ण रूपमा नष्ट भएको छ ।

मालपोत कार्यालयजस्तै रिकभर नै गर्न नसक्ने स्थिति नापी कार्यालयमा नरहे पनि तत्काल सेवा प्रदान गर्न भने चुनौती रहेको दाहाल बताउँछन् ।

‘नापी कार्यालयमा सबै नक्सा अभिलेखको डिजिटाइजेसन गरिएको भए पनि रियल टाइम स्क्यान हुन नसक्ने हुँदा समस्या हुन्छ,’ उनले लोकान्तरसँग भने, ‘पब्लिकले अब समयमै अभिलेख पाउन कठिन छ । कित्ताकाट भएको विवरण रियल टाइममा पाउन कठिन छ ।’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगजनी, तोडफोड तथा लुटपाट भएका मालपोत र नापी कार्यालयहरूमा तत्काल कुनै पनि कर्मचारीको सरुवा नगर्ने रणनीति अख्तियार गरेको छ ।

भूमि मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख मदन कोइरालाका अनुसार आगजनी भएको कार्यालयमा पुरानै कर्मचारीबाट काम गराउन सहज हुने हुनाले ती कार्यालयका कुनै पनि कर्मचारीको सरुवा नगर्ने मन्त्रालयको रणनीति तय भएको छ ।

‘एक त आगजनीबाट पूर्णरूपमा ध्वस्त भएका कार्यालयहरूमा तत्काल काम गर्न नै कठिनाइ छ,’ कोइरालाले लोकान्तरसँग भने, ‘तैपनि पालमुनिबाट नै भए पनि तत्काल प्रदान गर्न सकिने सेवाहरू प्रदान गर्न निर्देशन दिइसकेका छौं ।’

आजगनीबाट क्षति भएका ती मालपोत तथा नापी कार्यालयका कार्यालय प्रमुखहरूलाई कार्यालय नछाड्न समेत निर्देशन दिइएको उनले बताए ।

‘अत्यावश्यक काम परे मात्र त्यो पनि जानकारी दिएर कार्यालय छाड्न भनिएको छ,’ उनले थपे, ‘अन्यथा कुनै पनि बहानामा कार्यालय नछाड्न सख्त निर्देशन दिइएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्