
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा जाहेरी आएपछि सोमबार प्रधानमन्त्री निवासमा मध्यरातसम्म छलफल भएको छ ।
भदौ २३ गतेको आन्दोलन दबाउन मुख्य भूमिका खेलेको भन्दै जेनजी आन्दोलनको नेतृत्व दाबी गरेका हामी नेपाल अभियानका संयोजक सुदन गुरुङले सोमबार भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी लिएर गएका थिए ।
प्रहरीले ओली–लेखकविरुद्धको जाहेरी दर्ता गर्न इन्कार गरेपछि उनी गृहमन्त्री ओम प्रकाश अर्याललाई भेट्न पुगे । अर्यालसँग प्रहरी प्रमुख चन्द्र कुबेर खापुङ, काठमाडौं उपत्यका प्रहरी प्रमुख दानबहादुर कार्की, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख मनोज केसी लगायत सुरक्षा अधिकारी थिए ।
गृहमन्त्रीकै कार्यकक्षमा छिरेर गुरुङले ओली र लेखकविरुद्ध जाहेरी प्रहरीले दर्ता नगर्ने हो भने मंगलबारबाट पुन: आन्दोलन चर्काउने अभिव्यक्ति दिएका थिए । त्यसो त सुदन गुरुङ र रक्षा बम समूहले सोमबारदेखि एरेस्ट ओली–लेखक भनेर सामाजिक सञ्जालमा अभियान नै चलाएका थिए ।
ओली–लेखकमाथि पक्राउ गर्न जेनजी समूहले दबाब बढाएपछि गृहमन्त्री अर्यालले प्रधानमन्त्री सुशीला कार्कीसँगै छलफल गर्नुपर्ने भन्दै राति अबेर बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरक्षा प्रमुखलाई लिएर पुगे । छलफलमा प्रहरी प्रमुख खापुङले सिंहदरबार जलाउने अभिव्यक्ति दिने र भीडलाई उकासेर व्यक्तिका घर जलाउने, तोडफोड गर्ने र लुटपाट गर्न लगाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध जाहेरी पर्यो भने उनलाई पक्राउ गर्ने कि नगर्ने भनेर प्रधानमन्त्री र गृहमन्त्रीसामु प्रश्न गरेका थिए ।
जवाफमा प्रधानमन्त्रीले ‘अहिल्यै विना प्रमाण नेताहरूलाई पक्राउ गर्दा त्यसले गलत सन्देश जाने र गौरीबहादुर कार्कीको आयोगले नै बयान लिने, पक्राउ गर्नुपर्ने भए सरकारलाई सिफारिस गर्ने हुनाले अहिले रोक्नुपर्ने’ भनेकी थिइन् । तर, गृहमन्त्री अर्यालले जेनजी युवाले कुनै पनि हालतमा ओली र लेखकलाई पक्राउ गर्नुपर्ने दबाब बढाएकाले तत्काल पक्राउ नगरे पुन: आन्दोलन चर्कने बताएका थिए ।
अर्यालको भनाइमाथि सुरक्षा निकायले तत्कालै प्रतिवाद गरेको थियो । ‘ ओली र लेखकलाई पक्राउ गर्न लिखित अनुमति दिनुहोस्, हामीलाई पक्राउ गर्न कुनै आपत्ति छैन, तर, यसरी जाहेरी आएकै आधारमा पक्राउ गर्ने हो भने भोलि सुरक्षा निकायबाटै भिडियोसहित प्रमाणमा उजुरी दर्ता गरे भने कतिलाई पक्राउ गर्नुहुन्छ?’, सुरक्षा अधिकारीले प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालसमक्ष राखेको अडान उदृत गर्दै स्रोतले भन्यो,‘ त्यसैले अहिले निकै सुझबुझसँग अगाडि बढ्नुपर्छ ।’
प्रहरी अधिकृतहरूले जेनजी प्रदर्शनमा प्रहरीका हतियार र पोशाक लुटिएकाले भोलि प्रदर्शन हुँदा घुसपैठ हुने र गोली चल्दा सक्कली वा नक्कली प्रहरी को भनेर चिन्न अप्ठ्यारो हुने भएकाले जेनजीको प्रदर्शन रोक्नका लागि गृहमन्त्री अर्याललाई मार्गप्रशस्त गर्न अनुरोध गरेका थिए । जवाफमा अर्यालले आफूले चाहेर पनि जेनजीको प्रदर्शन रोक्न नसक्ने जवाफ दिएको उच्च स्रोतले बतायो ।
राति अबेर बसेको बैठकमा अब भोलि नै टुंग्याउने भनेपछि बालुवाटारबाट गृहमन्त्री र सुरक्षा निकायका अधिकृतहरू बाहिरिएका थिए ।