२६ जेठ २०८३, मंगलबार

उत्कृष्ट प्रथम लघु फिल्म ‘संगिनी’, उत्कृष्ट निर्देशकमा ‘कलर अफ टी’का निर्देशक राज सरगम

असोज ३०, २०८२
काठमाडौं
उत्कृष्ट प्रथम लघु फिल्म ‘संगिनी’, उत्कृष्ट निर्देशकमा ‘कलर अफ टी’का निर्देशक राज सरगम

हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय लघुत्तम चलचित्र महोत्सव’मा उत्कृष्ट प्रथम लघु फिल्म ‘संगिनी’ र उत्कृष्ठ निर्देशकमा ‘कलर अफ टी’का निर्देशक राज सरगम भएका छन् ।  

बिहीबार राष्ट्रिय नाचघरमा रेडियो नेपालका प्रथम गायक रंगकर्मी, अभिनेता तथा गीतकार स्वर्गीय हरिप्रसाद रिमालको १०१ औं जन्मजयन्तीको अवसरमा हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले कार्यक्रम आयोजना गरेको हो । 

महोत्सवमा नौ लघु चलचित्र प्रतिस्पर्धी थिए । प्रतिष्ठानका सदस्य सचिव सम्राट सापकोटाका अनुसार दुई दर्जन लघु चलचित्रमध्ये प्रतिस्पर्धाका लागि नौ चलचित्र छानिएको हो । उनले भने, ‘गुरू हरिप्रसाद रिमाल अभिनेता पनि भएकाले छोटो चलचित्रको महोत्सव पनि आयोजना गरेका हौं । र, यो महोत्सवले नयाँ भाइबहिनीलाई इनकरेज गर्ने छ ।’

उत्कृष्ट तीन चलचित्रमा विनोद लोहार निर्देशित ‘संगिनी’, राज सरगम निर्देशित ‘कलर अफ टी’, सुरेश पोर्तेल निर्देशित ‘अन्तिम राप’ भएका छन् । जसलाई प्रतिष्ठानले क्रमश: नगद १ लाख, ५० हजार र २५ हजार र सम्मानपत्रले सम्मान गरेको छ ।

त्यस्तै, व्यक्तिगततर्फ उत्कृष्ट सम्पादन, उत्कृष्ट लेखक, निर्देशक, अभिनेता, अभिनेत्री, क्यामेराम्यान र सम्पादक गरी ६ विधाकाले जनही १५ हजार रूपैयाँ र सम्मानपत्र प्राप्त गरेका छन् । 

निर्णायमा रंगकर्मी, कलाकार तथा निर्देशक हरिहर शर्मा, पहिलो नेपाली नायिका भुवन चन्द र रेडियोकर्मी तथा कलाकार मदनदास श्रेष्ठ थिए । 

त्यसैगरी, प्रतिष्ठानले नाट्यसंगीत तथा पत्रकारितामा योगदान पुर्‍याउन स्रष्टालाई सम्मान गरेको थियो ।

प्राध्यापक डाक्टर बासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गायिका मिरा राणा, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र गायक धिरज राईलाई जनही एक लाख र सम्मानपत्रले सम्मानित गरिएको आयोजकले जनाएको छ । 

कार्यक्रममा मन्त्री खरेलको व्यक्तित्वमाथि लेखक निबन्धकार दीपक सापकोटाले व्यक्तित्व, योगदान र प्रेरणादायी जीवनका विविध पक्षबारे चर्चा गरे । उनले भने, ‘पत्रकार जगदीश खरेलज्यूले चलाउने ‘हट सिट’ कार्यक्रमले नेपाली समाजमा बहस सिर्जना गरेको थियो । राज्य सञ्चालन गर्नेहरूलाई गम्भीर तयारी गर्न बाध्य बनाउँदै आएको थियो । 

त्यसैगरी, गायक धिरज राई, गायिका मिरा राणाको व्यक्तित्वमाथि कलाकार तथा प्रतिष्ठानका सदस्य सचिव सम्राट सापकोटा र कलाकार रविन्द्र खड्काले प्रस्ट्याएका थिए । गायक राई युरोपका शहरमा ‘बुद्ध वाज बर्न’ भन्दै विश्वमा बुद्ध चिनाउन हिँडिरहेका अभियन्ता हुन् । उनका दर्जन गीत हिट छन् । पाँच दशकदेखि सांगीतिक क्षेत्रमा बिताएकी राणाले विभिन्न भाषा र नेपाली चलचित्रका लागि पनि गाएकी छन् । 

पुरस्कार ग्रहण गरिसकेपछि मन्त्री खरेलले आफूले गलत काम नगर्ने प्रतिबद्धता गरे । उनले भने, ‘मैले जानेर बुझेर कुनै काम गर्ने छैन । तेरो कारणले खराब काम भयो भन्ने बनाउने छैन । मलाई नागरिक सरकारले मन्त्री बनाएको हो । तपाईंहरूले डोर्‍याएको बाटो हिँड्ने छु ।’

मन्त्री खरेललाई प्रतिष्ठानले सम्मान गर्ने निर्णय मन्त्री हुन अगाडि नै गरेको थियो । असोजको २ गते गरिने भनिएको कार्यक्रम जेनजी आन्दोलनका कारण पछाडि सरेको थियो ।

भाषा साहित्य क्षेत्रमा लामो योगदान पुर्‍याएका प्रध्यापक डा। बासुदेव त्रिपाठीले यस्ता प्रतिष्ठानहरूलाई बचाइराख्न नयाँ पुस्तालाई पनि सँगसँगै लैजानु पर्ने बताए । 

उनले पुरस्कृत स्रष्ठा तथा प्रतिस्पर्धाका लागि सहभागी चलचित्र निर्देशक कलाकारलाई शुभकामना तथा बधाई दिए । उनले भने, ‘हरिप्रसाद रिमाल र कल्याणी रिमालको नाममा स्थापित यो प्रतिष्ठानले नयाँ पुस्तालाई हौसला दिने काम गरेको छ ।’

कार्यक्रममा ९४ वर्ष लागेकी हरिप्रसाद रिमालकी धर्मपत्नी कल्याणी रिमालको पनि उपस्थिति थियो ।

salt training

कमेन्ट गर्नुहोस्