२६ जेठ २०८३, मंगलबार
जीवनदर्शन

सूर्यवंशी र चन्द्रवंशीहरूको इतिहास : कहाँदेखि कहाँसम्म ?

कात्तिक १, २०८२
काठमाडौं
सूर्यवंशी र चन्द्रवंशीहरूको इतिहास : कहाँदेखि कहाँसम्म ?

हालका मनु वैवस्वत हुन्, जसको जन्म काश्यपसागरको तटवर्ती भूमिमा ई. पू. २७०० को आसपासतिर भएको अनुमान गरिएको छ । उनका बाबु सूर्य मानिएका छन् । सूर्यलाई विवस्वान् पनि भनिन्छ । यसै अर्थमा उनलाई वैवस्वत भनिएको हो ।

उनको विमाताको नाम सवर्णा थियो । यसैको आधारमा उनलाई सावर्णि पनि भन्ने गरिएको पाइन्छ तर, यसमा भने व्यापक मतभेद भेटिन्छ । किनभने प्राय: हिन्दूपुराणले सावर्णिलाई आठौँ मनु भनेको छ तर, उनी थिए सातौँ मनु । उनैलाई सावर्णि नाम दिएर आठौँ मनु मान्ने हो भने हाल आठौँ मन्वन्तर शुरू भइसकेको मान्नुपर्ने हुन्छ । यदि त्यसै हो भने अन्य धेरै कुरामा संशोधन आवश्यक देखिन्छ, जुन कुरा हिन्दूधर्मशास्त्रमा उल्लेख गरिएको छ ।

भो छाडौँ यी कुरा । हाललाई यति भन्न सकिन्छ वेदर्षि मनु मानवधर्मशास्त्रका लेखक पनि हुन्, जसलाई हाल मनुस्मृति भन्ने गरिएको छ । यद्यपि मनुस्मृतिबारे व्यापक मतान्तर नभेटिने होइन । समयसापेक्ष छैन भन्ने पनि त्यति नै छन्, समयसापेक्ष मानेर श्रद्धा गर्ने पनि त्यति नै छन् । तथापि के चाहिँ सत्य हो भने त्यतिबेला समयसापेक्ष नै थियो, जतिबेलो यो लेखिएको थियो । जहाँ पनि र जहिले पनि शास्त्र वा नियमकानून बन्ने वा लेखिने भनेको तत्कालीन समाजको आवश्यकता हेरेर नै हो ।

मनुका श्रद्धा नामकी पत्नीबाट सर्वप्रथम एकपुत्री भएकी थिइन्, जसको नाम ईला थियो । उनी चन्द्रपुत्र बुधसित विवाह गरेपछि ईलावर्ततिर आएर रहन लागिन्, जसका सन्तानलाई त्यतिबेला ऐल भन्ने गरिएको थियो । ईलापछि मनुका ईक्ष्वाकु आदि नौ पुत्र भएका थिए तर भागवतमा व्यासजीले भने यसको सङ्ख्या दश उल्लेख गरेका छन् ।

उनीहरूका वंशमा नौवटा मूल शाखा चलेको पाइन्छ, जसका मूल पुरुषमा यिनै मनुपुत्र नौ भाइ रहेका छन् । कर्मअनुसार उनीहरूमध्ये कुनै भाइका सन्तान वेदर्षि ब्राह्मण बनेका थिए भने कुनै भाइका सन्तान क्षत्रिय राजन्य तथा कुनै भाइका सन्तान वैश्य र कुनै भाइका सन्तान शूद्र बन्न पुगेका देखिन्छन् । (श्रीमद्भागवत ९.२) शायद उनीहरूकै कर्मव्यवस्थापन गर्न पुर्खा मनुले मनुस्मृति नामक मानवधर्मशास्त्र लेखेका हुनुपर्दछ ।

मनुका नौपुत्रमध्ये ईक्ष्वाकु, शर्याति, प्रांशु आदि केहीका कुलले अन्यको भन्दा बढी नै प्रशिद्धि पाएको देखिन्छ । जस्तै जेठा ईक्ष्वाकुले अयोध्यामा राजधानी बसाई राज्य गरेका थिए । इतिहासमा उनका कुलमा विकुक्षी, ककुत्स्थ, शशाद, युवानाश्व, मान्धाता, पुरुकुत्स, रघु, अज, दशरथ आदि एकसेएक राजन्यको नाम उल्लेख भएको पाइन्छ । हिन्दूधर्मशास्त्रले भगवान्को सातौँ अवतार मानेको रामको जन्म यसै कुलमा भएको थियो, जो ३९ औँ पुस्ताका सन्तति मानिएका छन् । यसै कुलको ३०औँ पुस्तामा अनरण्य नामका राजा भएका थिए । उनले उत्तरकोशल (छत्तीसगढ) मा छुट्टै राज्य स्थापित गरेका थिए । यस कुलमा त्रैयारुण, सत्यव्रत, हरिश्चन्द्र आदि राजन्य भएका थिए ।

यसै कुलका बाहुकले उत्तरकोशल राजवंशको तेस्रो शाखा स्थापना गरेका थिए, जसका कुलमा सगर, भगीरथ आदि एकसेएक राजन्य भएका थिए भने ३५ औँ पुस्ताका अयुतायुसले दक्षिणकोशल राजवंश स्थापित गरेका थिए, जसमा ऋतुपर्ण, सुदास, कल्मषपाद आदि प्रशिद्ध राजा भएका थिए । यिनै ऋतृपर्णको दरबारमा महाभारतका पात्र नलले केही समय गुप्तवास लिएका थिए, जसको पुत्री इन्द्रसेनालाई पाञ्चाल नरेश मुद्गलले विवाह गरेका थिए ।

ईक्ष्वाकुवंशकै अर्का एक भाइले विदेहवंशमा मैथिलशाखा स्थापित गरेका थिए, जहाँ निमि, मिथि, जनक, शिरध्वज, वीतहव्य आदि राजा भएका थिए । उनीहरूका भोगभूमिलाई मिथिला भन्ने गरिएको छ, जुन भूमि हालको राजनीतिक भूगोलअनुसार नेपाल र भारतमा विभाजित हुन पुगेको छ । त्यस्तै मूल शाखाकै ३७ औँ पुस्तामा मैथिलको एक नयाँ शाखा शुरू भएको पाइन्छ, जसमा कुशध्वज, कृतध्वज आदि राजा भएका थिए । यसै वंशबाट तेस्रो शाखा छुट्टिएको पाइन्छ, जसमा शिरध्वज जनक भएका थिए । यी शिरध्वज जनक तिनै जनक हुन्, जो रामको ससुरा थिए ।

मनुका तृतीयपुत्र शर्यातिका राजधानी भने आनर्त देश (गुजराँत) तिर रहेको पाइन्छ । उनकी छोरी सुकन्यालाई भृगुपुत्र च्यवनले विवाह गरेका थिए । त्यस्तै उनका अर्का पुत्र प्रांशुको राज्य वैशालीतिर रहेको देखिन्छ । शायद लिच्छविहरू उनकै वंशधर हुनुपर्छ, जो इतिहासको एउटा कालखण्डमा नेपालमा समेत राज्य गर्न आइपुगेका थिए । थाहा छैन हाल उनीहरूका वंशज इतिहासको कुन कुनामा विलुप्त हुन पुगेका छन् । यो छुट्टै कुरा हो कि कतिले लिच्छविपछि राज्य गर्र्ने मल्लजातिमै उनीहरूका कुलवंश रूपान्तरित हुन पुगेको अनुमान गरेका छन् । यदि त्यसै हो भने हाल उपत्यकाका नेवारजातिहरूलाई पनि उनीहरूकै वंशधर मान्नुपर्ने हुन्छ तर यो विशुद्ध अनुमानको कुरा भएकाले थप अध्ययन विना यसै भन्न सकिने अवस्था भने छैन ।

सारमा यति भन्न सकिन्छ हालका सूर्यवंशीहरूमा उनै मनुपुत्रहरूका वंशधर ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र तथा उनीहरूकै कुलमा जन्मेका वैदिक ऋषि र तिनका सन्ततिहरूलाई लिन सकिन्छ भने चन्द्रवंशीहरूमा मनुपुत्री ईलाको सन्ततिलाई लिन सकिन्छ, जहाँ एकसेएक क्षत्रिय राजन्य र वेदर्षिहरू भएका छन् । किनभने ईलाले चन्द्रपुत्र बुधसित विवाह गरेपछि उनको तर्फबाट पुरुरवा नामका पुत्र भएका थिए, जसको राजधानी प्रतिष्ठाननगरी (गङ्गायमुनाको सङ्गम प्रयागराजको निकट) रहेको थियो । उनले उरपुर (इराक) की सौन्दर्य उर्वशी अप्सरासित विवाह गरी आयु आदि छ पुत्रलाई जन्म दिएका थिए । उनकै कुलमा पछि गएर भगवान् कृष्णलगायत महाभारतका प्राय: सबै मूलपात्र र विश्वामित्र, भरद्वाज आदि वेदर्षिहरूको जन्म भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्