
नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लामा रगतको अभाव भएको जनाएको छ । जिल्लामा रहेका छवटा रक्तसञ्चार केन्द्रमा हाल २०० पिन्ट मात्र रगत मौज्दात रहेको भन्दै रगत दान गरेर सहयोग गरिदिन व्यक्ति र सङ्घसंस्थालाई आग्रह गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले लगातार भएका चाडपर्व र विपद्का कारण रगत अभाव भएकाले रक्तदानका लागि अपिल गरिएको बताए ।
'रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात निकै कम भइसकेको छ । अस्पतालमा मिर्गौलाको डायलाइसिस गर्ने र अन्य बिरामीका लागि मात्र दैनिक एक सय पिन्ट रगत चाहिन्छ । हामीसँग दुई दिनलाई पुग्ने रगत मात्रै छ । त्यसैले रगत दानका लागि सबैलाई आग्रह छ,' उनले भने ।
अध्यक्ष ढकालले दशैं, तिहार, छठलगायत चाडपर्व र असोज १८ देखि २० गतेसम्मको वर्षा र विपद्ले निम्त्याएपछि रक्तदान कार्यक्रम हुन नसक्दा जिल्लामा रगतको अभाव भएको बताए ।
उनले जिल्लामा रगतको माग उच्च देखिएको बताउँदै १८ वर्षमाथिका रक्तदान गर्न योग्य व्यक्तिलाई नजिकै रहेका रक्तसञ्चार केन्द्रमा गएर स्वःस्फूर्त रगत दानका लागि आग्रह गरे ।
अध्यक्ष ढकालले भने, 'रगत माग्ने, खोज्ने मात्र होइन, आफूले पनि रक्तदान गरौं र बिरामीलाई रगत लिन जाँदा जुनसुकै रक्त समूहको भए पनि दुई/तीन जना व्यक्ति रक्तदानका लागि लिएर जाने गरौं । हामीसँग सबै रक्त समूहका हजारौं दाताको सम्पर्क नम्बर छ । त्यसैले रगत चाहिने बिरामीका आफन्तलाई आफैं सम्पर्क गरेर पनि दाता खोज्न हाम्रो आग्रह छ ।'
उनले जेनजी प्रदर्शनका क्रममा एक हजार ५०० पिन्ट रगत काठमाडौं पठाएको पनि जानकारी दिए ।