
अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रममा यसपटक ज्ञानु राणा प्रस्तुत हुने भएकी छन् ।
कार्यक्रम आउँदो शुक्रबार र शनिबार नेपालयको ‘आर’शालामा आयोजना हुँदैछ । यो पलेँटीमा प्रसिद्ध लोक कलाकार धर्मराज थापाको सम्झना पनि गरिने भएको छ । ज्ञानु राणा कलाकार धर्मराज थापाकी सुपुत्री हुन् ।
आफ्नो पिताजीको प्रेरणाले नै गायनमा लागेको बताउने ज्ञानु राणाले आफ्ना सुपुत्र विकास जङ्ग राणालाई समेत पलेँटीमा सहभागी गराउने भएकी छन् । विकास जङ्गले धर्मराज थापाका लोकप्रिय गीत सुनाउने भएका छन् । त्यसैले यसपालिको पलेँटीलाई तीनपुस्ते सृजनात्मक संगमको रूपमा पनि लिन सकिने नेपालयले जनाएको छ ।
ज्ञानु राणाले गाएका अनगन्ती गीतहरूले लोकप्रियताको शिखर चुमेका छन् । उनी मुख्यगरि लोक गायनमा भिजेकी कण्ठ-शिल्पी हुन् तर उनले गाएका आधुनिक गीत, गजल र भक्ति गीत पनि उत्तिकै प्रभावशाली छन् ।
उनले प्रसिद्ध गायक नारायण गोपालसँग सहगायन गरेका ‘मान्छेको माया यहाँ’ र ‘सिरीमा सिरी नि कान्छा’ आजसम्म पनि उत्तिकै रुचाइएका गीतको लहरमा पर्छन् । त्यस्तै, गोपाल योञ्जनले बुनेको अद्भूत तामाङसेलो ‘च्याङ्बा होए च्याङ्बा’ गीतलाई त अहिलेको पुस्ताले पनि उत्तिकै माया दिएको पाइन्छ ।
नारायण गोपाल र गोपाल योञ्जनका साथै उनले अनेकौं लोक गायकसँग पनि सहगायन गरेकी छन् । पलेँटीमा प्रस्तुत हुने ज्ञानु राणाका युगल गीतमा गायक रूपक चौधरीले साथ दिने भएका छन् ।
यसपालिको कार्यक्रमले नेपाली संगीतको स्वर्णिमकाल सम्झाउने कुरा पलेँटीका संयोजक आभासले बताएका छन् । उनी भन्छन्, ‘ज्ञानु दिदी नेपाली लोक गायन र आधुनिक गायनकी दोभान हुन् । यसपालिको पलेँटीमा पुरानो पुस्तालाई ‘नोस्टाल्जिक’ बन्ने अवसर जुट्नेछ र नयाँ पुस्तालाई लोकप्रियताको ‘अर्ग्यानिक’ सौन्दर्यको अनुभूति गर्ने अवसर ।’
आयोजकका अनुसार यसपालिको पलेँटीमा ‘चौतारीमा मै बसे होला कि’, ‘भिज्यो तिम्रो रातो पछ्यौरी’, ‘आज मादल बजेको किन’, साइँली रिमै चौँरी गाई’, ‘हरियो डाँडामाथि’ जस्ता झण्डै डेढ दर्जन गीत प्रस्तुत हुनेछन् ।
दशैँभन्दा पहिलेदेखि नै पलेँटीको तयारीमा जुटेकी ज्ञानु राणा निक्कै उत्साहित देखिन्छिन् । आउँदो पलेँटीबारे राणा भन्छिन्- ‘मैले १४ वर्षको उमेरमा गीत गाउन थालेकी हुँ, बुवाले हात समातेर रेडियो नेपाल पुर्याएको हिजो जस्तो लाग्छ । युग पो बितिसक्यो ।’
भावुक देखिएकी ज्ञानु राणा अगाडि भन्छिन्, ‘गीत धेरै गाइयो । श्रोता, दर्शकसँग अगाध माया पाइयो । गलाले साथ दिउञ्जेल गाइरहने हो । पलेँटीका श्रोता, दर्शकले पनि अवश्य माया दिनुहुनेछ ।’
यसपालिको पलेँटीदेखि कार्यक्रम स्थलमा आएर प्रत्यक्ष कार्यक्रम हेर्न अनुकूल नहुने संगीत प्रेमीका निम्ति नयाँ व्यवस्था गरिएको छ । विभिन्न कारणले नेपालकै अन्य क्षेत्रमा वा देशभन्दा बाहिर रहेर कार्यक्रममा प्रत्यक्ष आउन सम्भव नहुनेहरूका लागि पलेँटीको ‘पे पर भ्यू प्ल्याटफर्म’ शुरू गरिएको छ ।
जसअन्तर्गत संगीतप्रेमीले अनलाइनबाटै निश्चित रकम तिरेर आफ्नो फोन, कम्प्युटर वा टेलिभिजनमा पलेँटीको प्रत्यक्ष प्रसारण (लाइभ) हेर्न पाउनेछन् । त्यसका निम्ति पलेँटीको वेबसाइट www.paleti.com.np मै प्रवेश गरेर निर्धारित शुल्क तिरेपछि ‘लाइभ’ अवलोकन गर्न मिल्ने लिंक उपलब्ध गराइने व्यवस्था गरिएको छ ।