
राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा लेखक रवीन्द्र मिश्रले प्रहरी हिरासतमा रहँदा लेखेका कविताहरूको सङ्ग्रह ‘माथिको आदेश छ’ सार्वजनिक गरिएको छ। शनिबार काठमाडौंको प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा जेनजी युवाहरू र कवि मिश्रले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे।
५० दिन हिरासतमा बस्दा लेखिएका ३५ वटा कविताहरू समेटिएको उक्त सङ्ग्रहलाई मिश्रले आफ्नो जीवनको विशेष र आत्मपरक दस्तावेजका रूपमा वर्णन गरे। उनले भने, “नेपालमा हिरासतमा बसेर दैनिकी वा आत्मसंस्मरण लेखिएका छन्, तर यसरी कविता लेखिएको मैले सुनेको छैन। यो नयाँ प्रयोग हो।”
कार्यक्रममा मिश्रले ‘माथिको आदेश छ’ र ‘म राज्यविरुद्धको कसुर भएँ’लगायत केही कविता वाचन पनि गरे। उनका अनुसार यी कविताहरू “हिरासतको ‘म’ का आवाज, आवेग र आर्तनाद” हुन्।
मिश्रको यो दोस्रो कविता सङ्ग्रह हो। उनको पहिलो पुस्तक ‘रवीन्द्र मिश्रका कविता’ सन् २०७१ मा प्रकाशित भएको थियो।
‘माथिको आदेश छ’ कवितासङ्ग्रह फाइनप्रिन्ट प्रकाशनले बजारमा ल्याएको हो।