
सभापतिज्यू, उपसभापतिज्यूहरू, महामन्त्रीज्यूहरू, पूर्व पदाधिकारीहरू, हाम्रा आदरणीय केन्द्रीय सदस्य साथीहरू, सातै प्रदेशका प्रदेश सभापतिज्यूहरू, नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिवजीलगायत सबै कर्मचारी साथीहरू हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । समयको अभाव छ, म के मात्रै आग्रह गर्न चाहन्छु भने, मेरो धेरै लामो कुरा छैन, बुँदागत रूपमा नै प्रस्तुत हुनेछु । तथापि तीनवटा विषयमा मैले केही निवेदन गर्नुपर्ने भएको हुनाले समयको थोरै अभाव नहोला भन्ने कोशिश त गर्छु, समयभित्र सकाउँछु, अभाव भयो भने पुन: निवेदन गरूँला ।
आदरणीय सभापतिज्यू, मुलुक अत्यन्त विषम परिस्थितिमा छ । त्यस्तो असहज परिस्थितिमा नेपाली कांग्रेसका आदरणीय सभापति, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले बडो आशा र भरोसाका साथ तपाईंलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको छ । र, अहिले मुलुकको परिस्थितिका बारेमा अत्यन्त सूक्ष्म विश्लेषण, छलफल गरेर एउटा निष्कर्षमा पुग्नुपर्ने ऐतिहासिक घडीमा यो बैठकमा तपाईंको लागि यो चुनौती होइन, एउटा अवसर पनि हो । त्यसकारण यो अवसरले तपाईंलाई योग्यतम नेताका रूपमा स्थापित गर्न सकोस्, तपाईंको कार्यकाल सफल हुन सकोस्, पार्टीले एउटा राम्रो दिशानिर्देश गर्न सकोस् भन्ने म शुभकामना व्यक्त गर्न चाहन्छु ।
मैले निवेदन गरेँ, मुलुक विषम परिस्थितिमा छ । मुलुक विषम परिस्थितिमा भएको बेला नेपाली कांग्रेस सहज परिस्थितिमा हुने प्रश्नै भएन । पार्टी पनि त्यत्तिकै अप्ठ्यारो अवस्थामा छ । तर, नेपाली कांग्रेसको एउटा इतिहास सम्झनुपर्छ भन्ने मलाई लाग्दछ । झन्डै आठ दशक लामो इतिहासमा नेपाली कांग्रेस आजसम्म जीवन्त, आजसम्म सबैभन्दा ठूलो, संसारभरि विश्वासयोग्य पार्टीका रूपमा स्थापित भएको छ । यो हुनुपर्ने धेरै विशेषताहरूमध्येको एउटा पहिलो विशेषता भनेको मुलुकमा जब–जब अप्ठ्यारो भयो, मुलुकमा जब–जब समस्या भयो, विषमता भयो, अनिश्चितता भयो, अन्योल भयो, नेपाली कांग्रेसले मुलुकको अप्ठ्यारोलाई ठीकसँग पहिचान गरेर त्यसलाई सम्बोधन गरी राष्ट्रलाई कसरी निकास दिने भनेर ठीक राष्ट्रिय एजेन्डाहरूको पहिचान गर्ने र त्यसको कार्यान्वयनका निमित्त नेतृत्वदायी भूमिका निर्वाह गर्ने भएकै कारणले नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टीका रूपमा छ । आज पनि यो बैठकका प्रति देश–विदेशमा रहेका सबै नेपाली र नेपालका मित्रहरूले त्यो भरोसा र त्यो आशाका साथ हेरेका छन् भन्ने मलाई लाग्दछ । त्यसो भएको हुनाले आजको आवश्यकता एकता तथा एकताबद्ध, एकीकृत र संगठित कांग्रेस नै हो भन्ने म आग्रह गर्न चाहन्छु । र, यो बैठकले त्यो स्थिति निर्माण गर्न सक्नेछ भन्ने पनि म अनुरोध गर्न चाहन्छु ।
यसैबीचमा देशमा पछिल्लो समयमा अत्यन्त असहज परिस्थिति उत्पन्न भयो । धेरै साथीहरूले, आदरणीय नेताहरूले भदौ, भाद्र २३ र २४ गतेको घटना र तत्पश्चातका अवस्थाहरूका बारेमा धेरै कुरा यहाँ राखिसक्नुभएको छ । म के आग्रह गर्न चाहन्छु भने केही समयदेखि युवा पुस्ताले, जसलाई हामीले जेनजी पनि भन्ने गरेका छौँ, केही मागहरू राखेर सामाजिक सञ्जालहरूमार्फत आफ्ना विचारहरूलाई सम्प्रेषण गरिराख्नुभएको थियो, जनमत बनाइराख्नुभएको थियो । र, उहाँहरूका जुन मागहरू थिए, ती जायज थिए, आवश्यक थिए । र, उहाँहरूका मात्रै होइन, समग्र नेपालीहरूकै चाहनासँग जोडिएका विषयहरू थिए, सुशासनको विषय, भ्रष्टाचार नियन्त्रणको विषय, वाक स्वतन्त्रता, सामाजिक सञ्जालहरूको निर्बाध प्रयोग, उपयोगको विषय लगायतका विषयहरू थिए । र, यसै सन्दर्भमा २३ गतेका दिनमा उहाँहरूले प्रदर्शन गर्नका लागि समय माग्नुभएको थियो । उहाँहरूले समय माग्नुभएको माइतीघर मण्डलामा प्रदर्शन गर्ने भनेर समय माग्नुभयो, स्थानीय प्रशासनले माइतीघर मण्डलामा नै प्रदर्शन गर्नका लागि उहाँलाई समय दिएको अवस्था थियो । र, प्रारम्भमा नै बिहान साढे नौ, दश बजेतिर उहाँहरू माइतीघर मण्डलामा भेला, एकत्रित भइरहनुभएको थियो । र, त्यसपछि अचानक त्यो प्रदर्शन बानेश्वर, प्रतिनिधि सभा, हामीले संसद् सञ्चालन गर्ने भवनतर्फ गयो र त्यहाँ अत्यन्त दु:खद घटना घट्यो ।
म सबैभन्दा पहिला जुन दु:खद् घटना २३ गतेका दिन भयो, जेन–जीको प्रदर्शन, त्यसक्रममा भएको दु:खद घटनाका बारेमा गहिरो दु:ख व्यक्त गर्न चाहन्छु । २३ र २४ गते मृत्युवरण गर्ने सबैमा म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्न चाहन्छु । र, अहिले पनि अस्पतालमा घाइतेहरू हुनुहुन्छ, ती घाइतेहरूको छिटो स्वास्थ्यलाभको कामना गर्न चाहन्छु । र, सरकारले ती सबै घाइतेहरूको उपचारको उचित प्रबन्ध गरोस् भन्ने पनि म आग्रह गर्न चाहन्छु ।
यो दु:खद घटना कसरी भयो भन्ने बारेमा धेरै कुरा बाहिर आइसकेको छ, धेरै साथीहरूले पनि धेरै कुराहरू राखिसक्नुभएको छ । तर, म के आग्रह गर्न चाहन्छु भने २३ र २४ गतेको घटनाको सुक्ष्म, स्वतन्त्र र सन्तुलित अध्ययन, विश्लेषण गरेर हामी निष्कर्षमा पुग्नुपर्छ भन्ने म आग्रह गर्न चाहन्छु । २३ गतेको घटना, मैले निवेदन गरेँ, जेन–जीको प्रदर्शनबाट प्रारम्भ भयो तर त्यसमा घुसपैठ भयो । र, घुसपैठको खास गरेर परिणाम, प्रकृति र प्रवृत्ति हेर्दाखेरि अत्यन्त भयानक थियो । संगठित तवरले, प्रायोजित ढंगले जेन–जीको आन्दोलनलाई घुसपैठ गरेर, आम बोलचालको भाषामा भन्दा हाइज्याक भनिएको छ । त्यसरी संसद् भवन र विभिन्न ठाउँमा आक्रमणहरू गर्ने कामहरू भए । त्यसो भएको हुनाले यसलाई हामीले जेन–जीको प्रदर्शन र जेन–जीले उठाएका जायज मागहरूबाट उत्पन्न परिणामका रूपमा मात्रै बुझ्यौं भने पनि हामी ठीक ठाउँमा पुग्दैनौं । नयाँ पुस्ताले केही मागहरू राखे, मैले निवेदन गरिसकेँ, ती जायज थिए, उचित थिए, तिनलाई सम्बोधन गरेरै अगाडि बढ्नुपर्छ, यो पनि आजको आवश्यकता छ ।
जुन नयाँ युवा पुस्ताहरूलाई दुरुपयोग गरियो र जुन ढंगले मुलुकमा वितण्डा मच्चाउने काम भयो, यो अत्यन्त दु:खदायी र भर्त्सनायोग्य कार्य भएको छ । स्वयं नयाँ पुस्ताका मानिसहरूले तीनकुने मण्डलाबाट बीआईसीसी बानेश्वर पुगिसकेपछि आफैँले सामाजिक सञ्जालबाट आह्वान गर्नुभएको छ– हाम्रो आन्दोलन हिंसात्मक भयो, हाम्रो आन्दोलन हाइज्याक भयो । यो अरू मानिसको हातमा गयो, त्यसकारण जेनजी साथीहरू सबै घर फर्किनुस्, यो आन्दोलनबाट पछाडि हट्नुस् भनेर उहाँहरू आफैंले भन्नुभएको छ । त्यो कुरा तत्काल कुनै सञ्चार माध्यममा आएको छ । त्यसो भएको हुनाले यी कुरालाई पनि हामीले गहिरोसँग हेर्न जरुरी छ भन्ने म आग्रह गर्न चाहन्छु ।
२४ गतेका दिनको कुरा त धेरै साथीहरूले भनिसक्नुभएको छ । २३ गतेका दिनमा संसद् भवनमाथिको आक्रमण, त्यसपछि सिंहदरबारमाथिको आक्रमण २४ गते सर्वोच्च अदालतमाथिको आक्रमण, यी सबै कुराहरूले यसलाई सामने राखेर हामीले यसको अध्ययन, विश्लेषण र सन्तुलित निष्कर्षमा पुग्नुपर्छ भन्ने म आग्रह गर्न चाहन्छु ।
२४ गतेको घटनामा हाम्रा आदरणीय सभापति, पूर्वप्रधानमन्त्री, आदरणीय शेरबहादुर देउवाजी, पूर्वपरराष्ट्रमन्त्री, केन्द्रीय सदस्य डा. आरजु राणामाथि जुन सांघातिक आक्रमण गरियो, जुन बर्बर र अमानवीय आक्रमण गरियो, त्यो भर्त्सनायोग्य छ, खेदयोग्य छ । त्यसरी नै विराटनगरमा कोइराला निवास, काठमाडौं चाक्सीबारीमा गणेशमानजीको निवास, बाँडेगाउँमा किसुनजीको आश्रममाथिको आक्रमण, पार्टीको केन्द्रीय कार्यालयलगायत तमाम नेता साथीहरू, कार्यकर्ता साथीहरूका घरमा भएका तोडफोड, आगजनी, आक्रमण, यी सबै भर्त्सनायोग्य कार्यहरू भए । जति पनि साथीहरू यसबाट पीडित हुनुभयो, भौतिक रूपले, मानसिक रूपले, शारीरिक रूपले, सबै घटनाप्रति गहिरो दु:ख व्यक्त गर्न चाहन्छु, साथीहरूमा म समवेदना पनि व्यक्त गर्न चाहन्छु ।
मैले अघि नै आग्रह गरिसकेँ, २३ गतेको घटना, जेनजीको आवरणमा गरिएको घुसपैठ र अत्यन्त प्रायोजित ढंगले, संगठित रूपले त्यसको परिणाम, प्रकृति र प्रवृत्तिका बारेमा पनि मैले निवेदन गरेँ । विद्यार्थीहरूलाई कलेज–कलेजबाट उक्साएर माइतीघर मण्डलाबाट बानेश्वरसम्म पनि पुर्याइयो । विद्यार्थीहरू आफैँले हाम्रो यो प्रदर्शन हाइज्याक भयो, अब यो जेनजीको प्रदर्शन रहेन, यो हिंसात्मक हुन थाल्यो भनेर भनिसकेपछि पनि विद्यार्थीहरूलाई त्यहाँ रोकिराखेर, विद्यार्थीहरूलाई अगाडि राखेर त्यसको आवरणमा आक्रमण गर्ने काम कसले गर्यो ? तोडफोड, आगजनी गर्नका लागि कसले उक्सायो ? यी सबै कुराहरूको पनि समग्रमा अध्ययन हुनुपर्छ । यसका बारेमा सरकारका तर्फबाट, तत्कालीन सरकारका तर्फबाट, म स्वयं गृहमन्त्रीको जिम्मेवारी रहेको नताले के आग्रह गर्न चाहन्छु भने २३ गतेको जेनजीको अथवा नयाँ पुस्ताको प्रदर्शनका बारेमा पूर्वजानकारी थियो । २२ गते साँझ ६ बजे मैले गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक राखेँ । केन्द्रीय सुरक्षा समितिको बैठकमा नेपाली सेनाको उपल्लो तहको पदाधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको महानिरीक्षक आईजीपी, राष्ट्रिय अनुसन्धान विभागको चिफ, गृहसचिव, रक्षासचिव र गृह मन्त्रालयको शान्ति र समन्वय महाशाखाको प्रमुख सहसचिव समेत रहनुहुन्छ । यो बैठक हामीले ६ बजे, २२ गते गर्यौँ । त्यसमा युवा पुस्ताको आन्दोलनका बारेमा, उपस्थितिका संख्याका बारेमा, सुरक्षा निकायहरूको तयारीका बारेमा, सम्भावित दुर्घटनाहरूका बारेमा निकै छलफलहरू भएका थिए । त्यो बैठकमा पनि मैले प्रस्ट रूपले पछिल्लो समयमा नेपाल प्रहरीका आईजीपीले पनि केही कुरा बोल्नुभएको छ । सार्वजनिक सञ्चार माध्यममा आएको छ । मैले प्रस्ट रूपले क्याजुअल्टी नहोस्, त्यो कुरामा विशेष ध्यान दिनुहोला, मान्छे मर्नुहुन्न, क्याजुअल्टी गर्नुहुन्न र शान्ति सुरक्षाको सुव्यवस्था गर्नुहोला तर, क्याजुअल्टी नहुने व्यवस्था गर्नुहोला भनेको थिएँ । सुरक्षा निकायहरूले पनि तदनुरूप नै काम गर्ने आश्वासन दिएका थिए ।
केन्द्रीय सुरक्षा समितिको बैठकपछि मैले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई फोन गरेँ । त्यो सुरक्षा, केन्द्रीय सुरक्षा समितिको पूरै टीम लिएर म बालुवाटार गएँ । सम्माननीय तत्कालीन प्रधानमन्त्रीजीका सामनेमा पनि पुन: हामीले सुरक्षाका बारेमा समीक्षा गर्यौँ । सुरक्षाका बारेमा कुराकानी गर्यौँ । त्यहाँ पनि त्यही कुरा भयो क्याजुअल्टी नहोस् र राम्रोसँग तपाईंहरू काम गर्नुहोला भन्यौं । राति अबेरसम्म चारै सुरक्षा निकायका प्रमुख, नेपाली सेनाको सेकेन्ड म्यान, तीनवटा सुरक्षा निकायका प्रमुखहरूलाई ल तपाईंहरू भोलिको सबै व्यवस्थापन राम्ररी गर्नुस् भनेर हामीले पठाएको स्थिति हो । तर, जुन प्रकृतिको, जुन परिणामको घुसपैठ भयो, त्यो वास्तवमा मैले यति भन्नुपर्ने हुन्छ, हाम्रो सुरक्षा प्रणाली, नेसनल सेक्युरिटी सिस्टम भनेको सम्पूर्ण सुरक्षा प्रणालीले अनुमान गरेको भन्दा पनि बाहिर, सूचनाभन्दा पनि बाहिर र उहाँहरूले गर्न चाहनुभएको व्यवस्थापनभन्दा पनि फरक खाले भयो । त्यसो भएको हुनाले यो सामान्य किसिमले घटाइएको घटना होइन भन्ने कुरा म आग्रह गर्न चाहन्छु ।
२३ गतेको घटना भइसकेपछि म लगत्तै माननीय सभापतिजीकहाँ म गएँ । त्यहाँ अरू पदाधिकारी र आदरणीय नेताहरू हुनुहुन्थ्यो । त्यहाँ घटनाका बारेमा थोरै विश्लेषण भो, विवेचना भो । र, त्यहाँनेर नेताहरू समेतको कुराकानी सुनिसकेपछि मैले, मलाई अत्यन्त पीडा भो, अत्यन्त दु:ख भो, बानेश्वरको घटनालाई लिएर म राजीनामा गर्छु भनेर प्रस्ताव गरेँ । त्यहाँ राजीनामा गर्ने वा नगर्ने भन्ने पनि कुराहरू उठेका थिए । गृहमन्त्रीको राजीनामा मात्रै होइन, कांग्रेस सरकारबाटै फिर्ता हुनुपर्छ भन्ने कुरा पनि उठेका थिए । ती सबै कुराहरूमा त हामी निष्कर्षमा पुग्न सकेनौँ । मैले म राजीनामा गर्छु भनेर त्यहाँबाट आएँ । क्याबिनेट बसेको थियो बालुवाटारमा, क्याबिनेट अन्तिम अन्तिम समयमा पुगेको थियो, म पुगेँ । मैले पुगिसकेपछि सम्माननीय प्रधानमन्त्रीजीलाई दुइटा आग्रह गरेँ । एउटा, आज जुन घटना भयो, यो मेरो कल्पना, मेरो अनुमानभन्दा बाहिर भयो । अत्यन्त दु:खद र पीडादायी घटना भयो । यो घटनाले म धेरै पीडित भएको छु, म दु:खित भएको छु । यत्रो क्याजुअल्टी हुनुहुँदैनथ्यो, भयो । मैले गृह मन्त्रालयमा मिटिङ गरेँ, मैले तपाईंकहाँ आएर तपाईंको निवासमा मिटिङ गरेँ । त्यत्रो सुरक्षा निकायहरूसँग त्यति छलफल, विमर्श भयो, त्यसका बाबजुद यो घटना भयो । मलाई अत्यन्त पीडा भएको छ । त्यसकारण म यो घटनाप्रति दु:ख व्यक्त गर्दै नैतिकताका आधारमा राजीनामा गर्छु भनेर मैले क्याबिनेटमा प्रस्ताव गरेँ ।
प्रधानमन्त्रीले यस्तो स्थितिमा गृहमन्त्रीले राजीनामा गर्नुहुन्न, तपाईंले राजीनामा नगर्नुस् भन्दै हुनुहुन्थ्यो, यहाँ स्वयं क्याबिनेटमा भएका साथीहरू हुनुहुन्छ । मैले होइन, मैले पदमा बस्न मिल्दैन, हुँदैन । यो नैतिक धरातलमा पनि उचित देखिँदैन । त्यसो भएको हुनाले मैले राजीनामा गर्छु । र, मैले उभिएरै के भनेँ भने, यो मेरो अन्तिम क्याबिनेट हो । अन्तिम क्याबिनेट भएको हुनाले मेरो एउटा प्रस्तावचाहिँ त स्वीकार गर्दिनुस्, त्यो भनेको अहिले तुरुन्तै सामाजिक सञ्जालमा गरेको प्रतिबन्ध हटाउने गरेर एउटा निर्णय गर्दिनुस् । यो राजीनामा गरेको गृहमन्त्रीको क्याबिनेटमा अन्तिम आग्रह हो । र, यति गर्दिनुस् भनेर मैले त्यहाँ आग्रह गरेँ । त्यसका बारेमा थोरै एकछिन छलफल भयो । तर, अब त्यो तत्कालचाहिँ त मान्य भएन । त्यसपछि म त्यो क्याबिनेटबाट बाहिर निस्केको हुँ ।
मैले २३ गते साँझ नैतिकताका आधारमा राजीनामा गरेको हुँ । यो कुरा पनि म साथीहरूलाई आग्रह गर्न चाहन्छु । पार्टीमा, मैले यो कुरा सार्वजनिक रूपले यसरी बोलेको छैन किनभने केन्द्रीय कार्यसमिति बस्ला, केन्द्रीय कार्यसमितिमा आफ्ना कुरा, तत्कालका विषय राखुँला र त्यसपछि मात्रै बाहिर बोलुँला भनेर पार्टी र केन्द्रीय कार्यसमितिको मर्यादा तथा मेरो आफ्नो दायित्व र जिम्मेवारीका कारणले पनि मैले यहाँ यति कुरा निवेदन गरेँ ।
प्रधानमन्त्री र तत्कालीन गृहमन्त्रीले आदेश दिएको हो कि भन्ने पनि चर्चाको विषय बनेको छ । मैले निवेदन गरिसकेँ, योभन्दा पहिला पनि गरेको हुँ, मैले केन्द्रीय समितिमा भन्नैपर्छ । प्रधानमन्त्री र मन्त्रीले आदेश दिने त्यो विषय पनि होइन, दिनु पनि पर्दैन । र, मैले भनेँ, क्याजुअल्टी नहोस् भनेर मैले २२ गते साँझ पनि मिटिङमा भनेको छु, तत्कालीन गृह मन्त्रालयको मिटिङमा, सम्माननीय तत्कालीन प्रधानमन्त्रीजीको निवास बालुवाटारको मिटिङमा र दोस्रो दिन बिहान पनि मैले गृहसचिव र दुईटै प्रहरीको आईजीपीहरूलाई क्याजुअल्टी नहोस् है, क्याजुअल्टी हुने स्थिति कुनै हालतले हुनुहुन्न भन्ने कुरा पटक–पटक भनेको छु । त्यो कुरा स्वयं नेपाल प्रहरीका आईजीपीले सञ्चार माध्यममा पनि व्यक्त गर्नुभएको छ । त्यसकारण यसका बारेमा पनि केही उठेको कुरा भएको हुनाले मैले यति निवेदन गर्न वाञ्छनीय हुन्छ, मैले यति निवेदन गरेँ, साथीहरूका बीचमा अन्योल नरहोस्, कन्फ्युजन नहोस् भन्ने मेरो आग्रह हो ।
अर्को विषय, मैले अघि नै भनिसकेँ, युवा पुस्ताको आन्दोलनका मागहरू जायज थिए, तर घुसपैठ भयो । र, यो समग्र घटनालाई महिमामण्डन पनि गर्न आवश्यक छैन भन्ने मेरो आग्रह छ । किनभने यो घटना सरकार परिवर्तनका लागि मात्रै भएको हो भने मैले राजीनामा दिइसकेको थिएँ, स्वयं प्रधानमन्त्रीले राजीनामा दिइसक्नुभएको थियो, त्यसपछि अर्को सरकार बनाएर गएको भए पनि हुन्थ्यो नि ! तर त्यहीँनेर रोकिएन नि ! त्यसकारण यो सामान्य घटना होइन ।
यो वास्तवमा संविधान, व्यवस्था, प्रणाली र नेपाली कांग्रेसका विरुद्धकै गतिविधि हो । कांग्रेसले सही ढंगले विश्लेषण गर्नुपर्छ भन्ने मलाई लाग्छ । किनभने विराटनगरको घटना, कोइराला निवासको घटना, चाक्सीबारीको घटना, किसुनजीको आश्रमको घटनाले यो नेपाली कांग्रेसका विरुद्ध लक्षित थियो, संविधान र व्यवस्थाविरुद्ध लक्षित थियो, जसले पनि गर्यो, जसरी पनि गरायो, जेनजीको आवरणमा, जेनजीका सही मागहरूलाई दुरुपयोग गरेर यो घटना घटाइएको छ । त्यसकारण यसलाई सही ढंगले बुझ्यो, सही ढंगले व्याख्या गर्यो भने कांग्रेस ठीक ठाउँमा पुग्छ । होइन भने, अहिले यसलाई धेरै महिमामण्डन गर्यौँ भने भोलि हामी आफैँ पनि अप्ठ्यारोमा पर्न सक्छौं, कुनै बेला इतिहासमा गएर, म यति मात्रै निवेदन गर्न चाहन्छु ।
(गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे तत्कालीन गृहमन्त्री रमेश लेखकले बुधबार कांग्रेस केन्द्रीय समितिको बैठकमा राखेको धारणा)