
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका नेतृत्वकर्ता दुर्गा प्रसाईं पत्रकार सम्मेलनमा गरेर चौतर्फी फायर खोलेकै दिन सोमबार मध्यरातमा पक्राउ परे ।
आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्यालदेखि प्रहरीविरुद्ध समेत फायर खोलेका थिए ।
आफ्नो घरबाट पर्चा खोसेर लगेको भन्दै प्रहरीप्रति आक्रामक बनेका प्रसाईंले भनेका थिए, ‘भक्तपुरका पुलिसको मति छैन । यिनलाई त्यसै खोलामा खेदेका हुन् र ? यिनलाई नांगै बनाएर खेदेका थिए नि ! गेटमा आएर हाम्रो पर्चा लिएर गएछन् । यिनीहरूको तलब महिनामा एक लाख पुर्याउने भनेर म लागेको छु । यिनीहरूलाई त तलबविनै लादो तानिने गरी पेल्नुपर्ने रहेछ ।’
भक्तपुरमै बस्ने प्रसाईं यतिमै रोकिएनन्– ‘यिनीहरूलाई अझै पुगेको छैन । त्यो इन्सपेक्टरले भात खान्छ कि के खान्छ ? यहाँको डीएसपीले के खान्छ ?’
उनले प्रहरी र सशस्त्र प्रहरीलाई हतियार थन्क्याएर घर बस्न आग्रह गरेका थिए । ‘तपाईंहरू हतियार थन्क्याएर घरमै आरामले बस्नुस्, फिल्डमा आउनुभएन भने कसैसँग भिडन्त हुँदैन,’ उनले भनेका थिए, ‘तपाईंहरूले पनि मूर्खता नदेखाउनुस् । अचम्म छ, गणतन्त्रमा पर्चा बाँड्न पाइँदैन ? लोकतन्त्र भनेको छ, गणतन्त्र भनेको छ । म त्यो पुलिस र अहिलेको आईजीपीलाई के भन्छु भने– दम छ र साँच्चै म जत्तिको हिम्मतिलो छोरो हो भने नि, अहिलेको प्रधानमन्त्री र अहिलेको गृहमन्त्रीलाई समातेर थुन्नुपर्ने हो । त्यो प्रमाण छ मसँग ।’
प्रसाईंले अभिव्यक्ति स्वतन्त्रताका नाममा शान्तिपूर्ण वातावरणमा खलल पार्ने, भाँड्ने र उकास्ने काम गरेपछि उनलाई नियन्त्रणमा लिएको दाबी प्रहरीले गरेको छ । तर, यो मात्रै एउटा कारण होइन । प्रसाईंले जुन दिन विरोध प्रदर्शनको आह्वान गरेका थिए, त्यतिबेलैदेखि प्रहरीले उनको निगरानी बढाएको थियो ।

उनले काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीमा गएर आफ्नो आन्दोलनलाई सघाएमा जग्गा र घर सित्तैमा बनाइदिने आश्वासन बाँडेका थिए । प्रहरीको सूक्ष्म निगरानी र विश्लेषणमा केही सुकुम्बासी बस्तीमा धारिलो हतियार समेत बनाइरहेको सूचना थियो ।
प्रसाईंले एकातिर शान्तिपूर्ण आन्दोलन पनि भन्ने र भित्र–भित्र आन्दोलन हिंस्रक बनाउन गतिविधि बढाउने काम गरेको निष्कर्षपछि उनलाई नियन्त्रणमा लिनुपरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले जानकारी दिए ।
प्रसाईंको गिरफ्तारीका लागि गृहमन्त्री ओमप्रकाश अर्याल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच पनि कुराकानी भएको थियो ।
त्यसपछि कार्कीले प्रसाईंलाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतलाई निर्देशन दिएका थिए ।
दिउँसो पक्राउ गर्दा प्रसाईंको पक्षमा समर्थकले नाराजुलुस गर्ने र स्थिति ‘कन्ट्रोल’मा लिन सजिलो हुने स्थिति नदेखिएकै कारण उनलाई राति पक्राउ गरिएको प्रहरी स्रोतले बतायो ।
सोमबारको पत्रकार सम्मेलनमा प्रसाईंले प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र नेपाली सेनाका एक जना कर्नेल (नाम उल्लेख गरेनन्)विरुद्ध पनि अभिव्यक्ति दिएका थिए ।
बानेश्वरमा जेनजी अपरेसन सेन्टर खोलेको र त्यो सेन्टरबाट कार्की, अर्याल लगायतले जेनजीलाई परिचालन गरेको आरोप प्रसाईंले लगाएका थिए ।
उनले प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालविरुद्ध अभिव्यक्ति दिँदै भनेका थिए, ‘डलरको मात र सत्ताको केन्द्रमा बसेर सिंहदरबार जलाउने यिनीहरू देशद्रोही हुन् । यिनीहरूलाई कुनै पनि नेपाली जनताले क्षमा दिँनुहुँदैन ।’
उनले भदौ २३, २४ र २५ गतेको कल डिटेल अनुसन्धान गर्दा गृहमन्त्री, सेना र प्रहरीको भूमिका खुल्ने दाबी समेत गरेका थिए ।

‘उत्तेजित अभिव्यक्ति दिएर सर्वसाधारणको ध्यान आफूतिर खिच्ने र पुन: हिंस्रक आन्दोलन मच्चाउने प्रसाईंको रणनीतिबारे हामी जानकारी थियौं,’ काठमाडौं उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतले लोकान्तरसँग भने, ‘यतिसम्म कि सुकुम्बासी, मिटरब्याजी पीडित, सहकारीपीडित, लघुवित्त पीडित र सीमान्तकृतहरूलाई समेत प्रसाईंले उपयोग गर्ने रणनीति बनाइरहेका थिए ।’
ती प्रहरी अधिकृतका अनुसार प्रसाईंले २०८० मंसिरमा आफ्नो पैसा खर्च गरेर गौशालामा, आफ्नै निवास भक्तपुरमा सर्वसाधारणलाई आन्दोलनका लागि राखेका थिए ।
त्यतिमात्रै होइन, उनले केही ट्याक्सी व्यवसायीलाई समेत प्रभावमा पारेर बाटो अवरुद्ध हुने गरी प्रदर्शन गर्न लगाएका थिए ।
‘प्रसाईँले यतिसम्म गर्न थाले कि उनले हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीहरूलाई समेत प्रभावमा पार्ने गरी अभिव्यक्ति र प्रशिक्षण दिन थालेपछि धार्मिक हिंसा भड्काउनेतर्फ उनको कार्यशैली अघि बढ्ने देखिएकै कारण नियन्त्रणमा लिनुपर्यो,’ स्रोतले भन्यो, ‘मंसिर ७ गतेबाट शुरू हुने भनिएको आन्दोलनलाई प्रसाईंले अन्तिम अस्त्रको रूपमा प्रयोग गर्ने रणनीति बनाएको सूचना हामीसँग छ ।’
परिसरका प्रवक्ता भट्टराईका अनुसार प्रसाईंले सार्वजनिक शान्तिविरुद्धको कसुर गरेकाले उनलाई कारबाही गर्न आजै अदालतमा म्याद थप्ने तयारी छ ।
‘अभिव्यक्ति स्वतन्त्रताका नाममा प्रसाईंले भीडलाई भड्काउने र उकास्ने खालका अभिव्यक्ति दिएपछि उनलाई पक्राउ गरिएको हो,’ उनले भने, ‘शान्ति–सुरक्षामा खलल पार्ने अभिव्यक्ति र क्रियाकलाप गरेपछि प्रसाईंलाई कारबाही हुन्छ ।’