२६ जेठ २०८३, मंगलबार
भदौ २४ को अराजकता

सर्वोच्चमा आगो लगाउनेको बयान– ‘छानीछानी फैसला गर्न थाल्यो भनेर जलाएका हौं’

मंसिर ९, २०८२
काठमाडौं
सर्वोच्चमा आगो लगाउनेको बयान– ‘छानीछानी फैसला गर्न थाल्यो भनेर जलाएका हौं’

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदबारसँगै न्यायको मन्दिर सर्वोच्च अदालतमा पनि आगजनी भयो ।

सर्वोच्चमा आगजनी र हतियार लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको क्षेत्रपाटी घर भएर ललितपुर बस्ने ३७ वर्षीय सम्राट भन्ने राजु परियार, काभ्रेपलाञ्चोक मन्डनदेउपुर घर भएर काठमाडौं गल्कोपाखा बस्ने एलेक्स भन्ने कुमार पराजुली, ललितपुर महालक्ष्मीस्थान बस्ने ब्राउन भन्ने सुशील श्रेष्ठ र झापा भद्रपुर घर भएर कलंकी बस्ने ज्योती थापा घताने छन् ।

सम्राटलाई जिल्ला प्रहरी परिसर काठमाडौंले गत असोज २६ मै आपराधिक उपद्रव मुद्दामा पक्राउ गरेको थियो । उनी पुर्पक्षका लागि जेल गएका छन् । सर्वोच्च अदालतमा आगजनी गर्ने समूहको खोजी गर्दा उनको भूमिका समेत देखिएपछि प्रहरीले यो घटनामा समेत मुद्दा चलाउने भएको छ । सम्राटले सर्वोच्चको गेटअगाडि हतियार प्रदर्शन गरेको र अदालतबाट कुर्सी समेत चोरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरी अनुसन्धानमा उनी आपराधिक पृष्ठभूमिका अभियुक्त रहेको तथ्य खुलेको छ ।

सम्राटविरुद्ध यसअघि विभिन्न प्रहरी युनिटमा ठगी, बैंकिङ कसुरजस्ता पाँचवटा मुद्दा चलेका थिए । पक्राउ पर्नेमध्येकै एलेक्स भने गल्कोपाखामा रहेको ‘द कुल बार’का म्यानेजर हुन् । उनले प्रहरीबाट लुटेको हतियार सर्वोच्चभित्र लगेर प्रदर्शन गरेका थिए । प्रहरीले एलेक्सको पनि आपराधिक पृष्ठभूमि खोतलिरहेको छ ।

ब्राउनको पनि भूमिका एलेक्सको जस्तै छ । प्रहरीबाट लुटिएको हतियार सर्वोच्च अदालतभित्र लगेर प्रदर्शन गरेको भिडियो र फोटोको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

अर्की आरोपी ज्योतीले ‘सर्वोच्च अदालत र सिंहदरबार हामीले जलायौं’ भन्दै सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको प्रहरीले जनाएको छ । प्रहरीले ज्योतीलाई असोजको पहिलो सातादेखि नै खोजिरहेको थियो । केही दिनमा पक्राउ पनि गर्‍यो ।

बयान प्रमाणित गराएर सरकारी वकिलमा टेकाएपछि गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा पक्राउ परेकालाई छाड्न निर्देशन दिएकाले प्रहरीले हाजिरी जमानीमा ज्योती लगायतलाई छाडेको थियो । हाजिरी जमानीमा छुटेपछि ज्योती दशैैं र तिहार मान्न झापा गइन् । झापाबाट फर्किएपछि प्रहरीले उनलाई पुन: पक्राउ गरेको हो ।

पक्राउ परेका अधिकांशले उस्तै व्यहोराको बयान दिएका छन् ।

उनीहरूले प्रारम्भिक बयानमा भनेका छन्, ‘त्यतिबेला भीड नै त्यस्तै थियो । आन्दोलनमा जाउँ–जाउँ भएर आयो । कसैले आगो लगाउन थाले । कसैले प्रहरी कुट्न थाले । कसैले प्रहरीका हतियार लुट्न थाले । हामीले पनि सबैले लुट्न र आगो लगाउन थालेपछि आफूलाई सम्हाल्न सकेनौं ।’

ज्योतीले भने सर्वोच्च अदालतले राजनीतिक आस्थाका आधारमा छानीछानी फैसला गर्न थालेपछि सर्वोच्चको पनि पुनर्संरचना गर्नुपर्ने भनेर आगो लगाउन गएको बयान दिएकी छन् ।

प्रहरीले पक्राउ गरेकामध्ये सम्राट, एलेक्स र ब्राउनबाट हतियार भने बरामद भएको छैन । प्रहरीसँगको बयानमा उनीहरूले सेनालाई हतियार बुझाएको उल्लेख गरेका छन् । परिसरले सेनासँग समन्वय गर्दा उनीहरूले हतियार बुझाएको तथ्य खुलेको छैन ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकाहरूको बयान लिने क्रम जारी छ । भदौ २४ मा सर्वोच्च अदालत जलाउने अरू व्यक्तिको पनि पहिचान भएको र खोजी कार्य जारी रहेको जानकारी भट्टराईले दिए ।

‘यी चार जनाको पहिचान गर्न पनि प्रहरीलाई धेरै समय लाग्यो, भिडियो मात्रै भएर हुँदैन, त्यो समयमा यो समूह सर्वोच्चमा थियो/थिएन भन्ने खुलाउन लोकेसन हेर्नुपर्‍यो,’ उनले लोकान्तरसँग भने, ‘सिंहदरबार जलाउन जानेहरू नै सर्वोच्चतिर डाइभर्ट भएको देखिन्छ । हामीले खोजतलास गरिरहेका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्