२६ जेठ २०८३, मंगलबार

दुर्लभ रोग सामान्यीकृत पस्टुलर सोरायसिस भएकी महिलाको नेपाल मेडिकल कलेजमा सफल उपचार

मंसिर १४, २०८२
काठमाडौं
दुर्लभ रोग सामान्यीकृत पस्टुलर सोरायसिस भएकी महिलाको नेपाल मेडिकल कलेजमा सफल उपचार

दुर्लभ रोग सामान्यीकृत पस्टुलर सोरायसिस भएकी एक महिलाको नेपाल मेडिकल कलेजमा सफल उपचार भएको छ । विगत सात/आठ वर्षदेखि पस्टुलर सोसायसिसबाट आक्रान्त नुवाकोटकी ४० वर्षीय भावना लामाको कलेजमा सफल उपचार भएको हो ।

गत कात्तिक २१ गते सामान्यीकृत पस्टुलर सोरायसिस भएर आएकी उनको सफल उपचार भएको कलेजले जनाएको छ । पस्टुलर सोरायसिस दुर्लभ रोग मध्येमा पर्दछ ।

कलेजको छाला रोग विभागकी विभागीय प्रमुख प्राडा दीपतारा पाठकका अनुसार बिरामी कलेजको इमरजेन्सीमा आइपुग्दा उनको अवस्था अत्यन्तै गम्भीर थियो ।

‘उहाँलाई सामान्यीकृत पस्टुलर सोरायसिस भएको थियो । पूरै शरीरमा पीपयुक्त साना–साना फोकाहरू देखिन्थे, साथै एरिथ्रोडर्मा (सामान्यीकृत रातोपन र छालाको स्केलिङ) पनि थियो । यसका अलावा बिरामीमा सेप्टिक शक (पूरै शरीरमा संक्रमण फैलिएकाले रक्तचाप खस्किने गम्भीर अवस्था), मिर्गौलाले अचानक काम गर्न नसक्ने अवस्था, निमोनिया, हाइपोथाइराईडिज्म, मुटुको गडबडी, रक्त–सम्बन्धी असामान्यता, इलेक्ट्रोलाइट असन्तुलन, लो अल्बुमिन जस्ता धेरै प्रकारका समस्या थियो,’ उनले भनिन् ।

डा. पाठकका अनुसार बिरामीमा धेरै असमान्यता भएकोले उपचार निकै चुनौतीपूर्ण थियो । विभिन्न औषधिहरूले पनि धेरै साइड–इफेक्ट दिएको पाइएको उनले बताइन् ।

बिरामीको अवस्थाअनुसार शुरूमा आईसीयूमा राखेर उपचार गरिएको र त्यसपछि वार्डमा सारेर ३ हप्तापछि डिस्चार्ज गरिएको पाठकले जानकारी दिइन् ।

अस्पताल बसाइका क्रममा बिरामीलाई स्त्रीरोग, नाक, कान, घाँटी (कानको रोग) तथा लुकेर रहेको टीबी पनि निदान गरिएको र त्यसका लागि सम्बन्धित विभागहरूसँग परामर्श गरी उपचार शुरू गरिएको उनको भनाइ छ ।​ 

सामान्यीकृत पस्टुलर सोरायसिस एक दुर्लभ रोग हो । जसमा पूरै शरीरभरि फोकाहरू देखा पर्छन् र बारम्बार फ्लेयर (आउन–जान) हुनसक्छ । यो एरिथ्रोडर्मासँग पनि जोडिन सक्छ । यस रोगका कारण संक्रमण, छालाको असफलता, फोक्सो, मिर्गौला, मुटु, पेट तथा मेटाबोलिक समस्याजस्ता धेरै गम्भीर जटिलताहरू हुन सक्छन्, जसले गर्दा रोग प्राण घातक समेत हुन सक्छ र मृत्यु जस्ता जोखिमहरू पनि रहन्छन् ।

लामो समयदेखि छालाको संक्रमण भोग्दै आएकी भावनालाई कार्तिक तेस्रो साता शरीर रातो हुने समस्या देखा परेको थियो ।

यो समस्या घाँटीबाट शुरू भएर ढाड र हात–खुट्टामा १/२ दिनभित्र फैलिएसँगै शरीरभरि पहेंलोपन भरिएका फोकाहरू देखा परेको बिरामीका परिवारले बताए । ‘फोका शुरूमा घाँटीमा देखियो, त्यसपछि १/२ दिनभित्र ढाड र हात–खुट्टामा नयाँ–नयाँ फोका देखियो, पछि त प्रत्येक दिन १०० भन्दा बढी फोकाहरू देखा पर्दै लगातार बान्ता समेत हुन थाल्यो । त्यसपछि तत्कालै त्रिवि शिक्षण अस्पताल ल्यायौं । डाक्टरले आईसीयूमा राखेर उपचार गर्नुपर्छ भन्नुभयो । तर, त्यहाँ आईसीयू खाली रहेनछ । त्यसपछि तत्कालै नेपाल मेडिकल कलेजमा सम्पर्क गरेर ल्यायौं,’ बिरामी भावनाका आफन्तले भने ।

विगत १९ दिनसम्मको लामो उपचारपछि पूर्णरूपमा निको भएकी बिरामी भावनाले नयाँ जीवन पाएकोमा उपचारमा संलग्न डाक्टर नर्सहरूलाई विशेष धन्यवाद दिइन् । ‘मलाई नवजीवन दिनुभयो । बाँच्ने रहर नै मरिसकेको अवस्थामा बचाउनुभयो । हिम्मत नहार्नु भन्दै हौसला दिनुभयो,’ अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा भावनाले भनिन् ।

के हो सामान्यीकृत स्टुलर सोरायसिस ?

सामान्यीकृत स्टुलर सोरायसिसलाई नेपालीमा पिप भरिएका फोका आउने रोग भनिन्छ । यो सोरायसिसको एउटा गम्भीर र दुर्लभ प्रकार हो, जसमा छालामा पीप भरिएका सेता–पहेंला फोका देखिन्छन् ।

यो यस्तो छाला रोग हो जसमा शरीरमा धेरै संख्यामा साना–साना पीप भरिएका फोका देखिन्छन् । फोका वरिपरि छाला रातो, तातो र दुख्ने हुन्छ ।

कहिलेकाहीँ यी फोका छिट्टै फुटेर फेरि नयाँ फोका बन्ने क्रम जारी रहने भएकाले बिरामीलाई अत्यन्त पिडा हुने गर्दछ ।

लक्षणहरूः

छालामा धेरै सेता/पहेंला पिप भरिएका फोका आउने गर्दछ । छाला अत्यधिक रातो र सुन्निएको हुने, शरीर तातो महसुस हुने, कतिपय अवस्थामा ज्वरो आउन सक्छ ।

त्यस्तै, अत्यधिक दुखाई हुने, दाना/फोका एकैचोटी एक सयभन्दा बढी आउने, शरीरको ठूलो भाग ढाकिने, कहिलेकाहीँ मुख, औंला, नङमा पनि प्रभाव पर्ने हुन्छ ।

गम्भीर अवस्थामा पानीको कमी हुने, इलेक्ट्रोलाइट असन्तुलन हुने, सेप्सिस (रगतमा संक्रमण) को जोखिम बढ्ने हुन सक्छ ।

salt training

कमेन्ट गर्नुहोस्