
क. निवर्तमान अध्यक्ष अभिवादन!
सर्वप्रथम त धरौटी, विगो र जरिवानाको हिसाबकिताबसँगै अख्तियारको नीलडामसहितको समाजवाद बोक्ने आँट गर्नुभएकोमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक र यहाँप्रति कृतज्ञ केन्द्रीय समितिका कमरेडहरूलाई शुभकामना । सुशासनको नारामुनि बालुवाटार र अन्य विवादित जग्गाको तस्बिर राखेर देश दौडाहामा जाँदा पारदर्शिता, सुशासन र भ्रष्टाचारविरोधी आवाज अझै शक्तिशाली बन्ने आशा र विश्वासका साथ नै जीवनको उत्तरार्धमा यो जोखिम उठाउनुभएको होला । त्यसले सार्थकता पाओस्, यो शुभेच्छा हो ।
यहाँहरूको ४० वर्ष लामो सम्बन्धबारे त थाहा भएन, तर गएका २० वर्षका घटनाक्रम र उतारचढावबारे पूरै देश जानकार छ । माधव नेपालको नेतृत्वमा एमाले हुँदा 'नेकपा एमाले- न पोथी, न भाले' भन्ने टुक्कालाई प्रचण्ड नेतृत्वकै पार्टीमा रहेका हामीहरूले देशव्यापी बनायौं । पहिलो संविधानसभाको चुनावमा उपत्यकामा माधव नेपालले १ सिटमा पनि तालमेल गर्न मानेनन् भन्ने कुराको जानकारी त्यतिबेला यहाँले नै गराउनुभएको थियो । कटवाल प्रकरणपछिको यहाँहरूको सम्बन्धबारे त चर्चा गरिसाध्य छैन । चर्चा नगर्ने हो भने सम्बन्धको आयामले पूर्णता पनि पाउँदैन ।
मलाई सम्झना छ, यहाँहरूकै निर्देशनमा हामीले राजालाई दाम चढाएको एउटा फोटो प्रिन्ट गरेर माधव नेपालको निर्वाचन क्षेत्रमा वितरण गर्न लगायौं । त्यो कति नैतिक थियो अनि कति राजनीतिक संस्कार ? त्यतातिर म जान चाहन्नँ । माधव नेपालहरूले चुनाव जिते फेरि सक्रिय राजतन्त्र ल्याउने कोशिश गर्छन् भन्ने यहाँहरूको गम्भीर विश्लेषणकै आधारमा हामीले त्यो फोटो वितरण गर्ने यहाँको निर्देशनलाई अनामनगरको घुम्तीमा अड्डा जमाएर दृढतापूर्वक कार्यान्वयन गर्यौं । माधव नेपाल चुनावमा पराजित भए ।
हामीले झक्कुप्रसाद सुवेदीलाई प्रदर्शनी मार्गअघि अवीर र फूलमालाले ढाक्यौं । शायद क. झक्कु सुवेदीलाई अवीर पखाल्न मात्रै एक साता लाग्यो होला । आममान्छेको बुझाइ थियो, माधव नेपाल हराउने झक्कु गणतन्त्रको पहिलो सरकारमा मन्त्री बन्नेछन् । त्यसो हुन सकेन । बरु जस्केलाबाट ल्याइएका माधव नेपाल १९ महिना प्रधानमन्त्री बने । त्यसपछि हामीले उपत्यकामा हाम्रो प्रभाव गुमायौं । क. झक्कु गएको डेढ दशकमा मन्त्री त बन्न सकेनन् अस्ति भर्खरै राष्ट्रियसभा अध्यक्ष हुने सम्भावना थियो, त्यो पनि भएन । बरु फेरि तिनै माधव नेपाल यस पार्टीको सहसंयोजक हुँदा कुनै विभाग वा भूगोलमा झक्कु सुवेदीलाई सोझै आदेशपालक बन्नुपर्ने गरी दण्डित नगरियोस् । माधव नेपाल पुरस्कृत र झक्कु सुवेदी दण्डित हुने कुरा नै माओवादी आन्दोलनको कान्तविजोगको एउटा अन्तिम प्रहसन थियो ।
पार्टीको आदेशअनुसार भन्न त हामीले त्यतिबेला उनी संविधानसभामा चाहिने मान्छे हुन् पनि भन्यौं । यहाँले फेरि काँधमा बोक्नुभयो र संविधानसभामा प्रवेश गराउनुभयो । हामीसँग औपचारिक समर्थनको विकल्प थिएन, हामीले चिया चोक र चौतारीमा फेरि भन्यौं– एमाले जत्तिको जिम्मेवार पार्टी र माधव नेपाल जत्तिको परिपक्व नेतालाई बाहिर राखेर नयाँ बन्ने संविधानमा आमसहमति नहुनसक्छ, त्यसैले उनको आवश्यकता महसुस गर्यौं । मानिसहरूले इशारामा बोले अस्ति चुनावताका राजावादी भनेको होइन ?
यहाँको नेतृत्वमा गणतन्त्रको पहिलो सरकार बन्यो । एक वर्ष पूरा हुन नपाउँदै कटवाल प्रकरणको जगमा सत्ता समीकरण बदलियो र माधव नेपाल प्रधानमन्त्री बने । यहाँले ६ दिने आमहड्तालको घोषणा गर्नुभयो । देशभरका लाखौं कार्यकर्ता राजधानी आए । ती रित्तो हात फर्के । पहिलोपटक माओवादी कार्यकर्तामा व्यापक निराशा शुरू भयो । त्यसैको समीक्षाबाट शुरू भएको कचकचले यो पार्टी विभाजनको अनन्त शृङ्खला शुरू भयो र अहिले दर्जनौं टुक्रामा छ ।
६ दिने आम हड्तालको असफलतापछि यहाँ माधव नेपालजीको कुनै रहस्यमय शक्तिसँग पराजित मनोविज्ञानमा पुगिसक्नुभएको थियो र सहकार्यको खोजीमा हुनुहुन्थ्यो भने कुरा बेग्लै हो । समयले कोल्टो फेरेसँगै एमालेको सत्तामा ओली आउँदा असन्तुष्ट र कुण्ठा बोकेर बसेका माधव नेपाल निराश बनेको थाहा पाएर सहकार्यको हात बढाउनुभयो होला यो आमबुझाइ हो । यतिसम्म ठीकै हो । यदि केपी ओलीबाट विक्षिप्त भएका नेपाललाई ओलीविरुद्ध प्रयोग गर्न सकिने हतियार बुझ्नुभयो । अर्थात्, वामपन्थी आन्दोलनको लामो विरासत बोकेको परिपक्व नेता हो भन्ने बुझाइ पनि हुनसक्ला । तर, यतिबेला उनीसँग त्यस्तो शक्ति, परिपक्वता र इमान बाँकी छैन भन्ने कुरा कानूनी र राजनीतिक घटनाक्रमले पुष्टि गरेकै छन् । क. निवर्तमान अध्यक्ष मेरो एउटा सानो विनम्र निवेदन छ माधव नेपालजीको भ्रष्टाचारको भारी बोक्ने बाचा र राप्रपा सभापति रवि लामिछानेप्रतिको सहानुभूतिसँगै क. कृष्णबहादुर महरा र उहाँको परिवारबारे पनि सोच्नुहोला ।
यो देशको पहिलो र अन्तिम भ्रष्ट मान्छे माधव नेपाल मात्रै हुन् भन्ने मेरो आशय होइन । यति लामो राजनीतिक जीवनमा उहाँलाई आइकन मान्नेहरू पनि होलान्, उहाँ र उहाँका समर्थकहरूमाथि जोडदार प्रहार गर्ने मेरो कुनै अभिप्राय छैन । क. निवर्तमान अध्यक्ष तपाईंले, मैले वा अरू कसैले लुकाउन चाहेर पनि अख्तियारले उहाँलाई डामेको कुरा अब गोप्य रहेन । झलनाथ र रामकुमारीलगायतले भ्रष्ट बोक्न सकिँदैन भन्दै वक्तव्य निकालेको दुनियाँलाई थाहा छ । एउटै झण्डामुनि रहेकाहरूले बोक्न अस्वीकार गरेको त्यो भारी जीवन कुर्बानीको सङ्कल्प बोकेर आएकाहरूले बोक्ने कि नबोक्ने? त्यो त्यही डाइनोसरजस्तो केन्द्रीय समितिले भन्नुपर्ने हो । यहाँ वर्तमान र विगत स्मरण गराउनुबाहेक माधव नेपालसँग कुनै व्यक्तिगत ईर्ष्या नभएकाले यसभन्दा धेरै बोलिरहन जरुरी छैन ।
अब दोस्रो विषय प्रवेश गरौं । क. निवर्तमान अध्यक्ष छातीमा हात राखेर बढो इमानका साथ हामीले माओवादी आन्दोलनको समीक्षा गर्नुपर्ने समय त गुजारिसक्यौं । उत्साह र उल्लासपूर्ण ढङ्गले होस् वा उदास र निराशामा त्यस आन्दोलनले आफ्नो मुख्य कार्यभार पूरा गरिसक्यो, तर त्यस आन्दोलनमा निस्वार्थ योगदान गर्नेहरूले अस्तित्व नामेट भएर समीक्षा गर्ने वा त्यसअघि कुनै समय मिलाएर अतीतको टाइम ट्राभलको भावसहित समीक्षा गर्ने त्यो हाम्रो महसुस गर्ने तीव्रतामा भर पर्ने कुरा हो । खासगरी शान्तिपूर्ण राजनीतिको दुईदशक पूरा हुने बेलासम्म माओवादी आन्दोलनलाई मैले केन्द्रित गर्न सकिनँ र नेतृत्वमा मेरा अनवरत उपस्थिति नै यस अराजकता र विग्रहको कारक हो भन्ने बुझ्नुपर्थ्यो, त्यो भएन ।
खासगरी जीवनको उत्तरार्धमा आइपुग्दा यहाँले निषेध गरेको माओवादी पङ्क्ति निकै ठूलो छ । अन्तरपार्टीमा हामी मत्स्य न्यायको सिद्धान्तमा थियौं । बलियोले कमजोरलाई निल्ने । बाहिर हेर्दा समानुपातिक, समावेशी, विशेषाधिकार आदिको व्याख्या गर्ने भित्रका कमजोरीहरूलाई किनाराकृत गर्ने हाम्रो प्रवृत्ति निरन्तर कायम रह्यो । क. मोहन वैद्य किरण, क. बाबुराम भट्टराई, क. रामबहादुर थापा बादल, क. विप्लव, र क. प्रभाकरसम्म आइपुग्दा यहाँको नेतृत्वबाट टाढिएका यहाँकै नेतृत्वमा केन्द्रीय समितिमा जिम्मेवार र प्रभावशाली भूमिकामा देखिने कमरेडहरूको सङ्ख्या ४० को आसपास पुग्छ ।
प्रश्न उठाएपछि पार्टीभित्र उत्तेजित माहोल निर्माण गर्ने र कठोर प्रहारको शिलशिला निकै तलबाट शुरू गर्न लगाउने प्रवृत्तिले यहाँ त आजीवन बहुमतमा रहँदै आउनुभयो, तर यो पार्टी दिनप्रतिदिन जनताबाट सुक्दै गयो भन्ने यहाँका समकक्षीहरूको लामो समयदेखिको आरोप गलत सिद्ध हुनेगरी नेतृत्वमा टाँसिरहने कुरा छोडिदिए हुन्थ्यो भन्ने थियो, अब त्यो अपेक्षा नै अर्थहीन भइसक्यो । भित्र बाँकी रहेकाहरूसँग सधैँ बहुमतमा रहेपनि जनताको पङ्क्तिमा पुग्दा अल्पमत र अलगावको सामना गर्नुपरेको यथार्थले यहाँलाई कहिल्यै नछुने भयो उफ्! भन्ने लागिरहेकै थियो । असहमतिमाथि निषेधाज्ञाको जुन प्रक्रिया विगतमा अपनाइयो विभिन्न पात्रहरूमाथि, आजसम्म पनि त्यो जारी छ, वास्तवमा त्यो निकै चिन्ताको विषय हो ।
यदि यहाँले संगठनमा हमेशा दाउपेच नगरी नेतृत्वको शृङ्खलाबद्ध विकास र पार्टी सन्तुलन अगाडि बढाएको भए शायद माओवादी आन्दोलन आज यो देशको निर्णायक शक्तिका रूपमा रहिरहने थियो । किरण, बाबुराम, बादल, नारायणकाजी, जनार्दन, वर्षमानलगायत त्यसपछिका सबै कमरेडहरू जीवनमा एक कार्यकाल र त्यो दुई तीन वर्षको बनाउँदा पनि शायद तयार रहने थिए । तपाईंले सर्वोच्च नेताका रूपमा ती सबैको व्यवस्थापन गर्दै नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषयलाई एउटा विधिमा टुङ्ग्याउन सक्नुहुन्थ्यो । तर, आजीवन अध्यक्ष र असीमित शक्तिको यहाँको चाहनाले धेरै कमरेडहरूको भावनामा ठेस लाग्यो । धेरैलाई उकुसमुकुस भयो र नेतृत्व हस्तान्तरणको सङ्केत मात्रै कसैले गर्यो भने त्यसका विरुद्ध मोर्चाबन्दी र घेराबन्दी भइहाल्यो । यो समाजवादी र कम्युनिस्ट आन्दोलनको स्वयंसेवी चरित्र हो कि होइन, यहाँले नै समीक्षा गरे सबैभन्दा उत्तम ।
सत्ताको प्रश्नमा यहाँको मोनोपोलीकै कारण थुप्रै साथीहरू आज माओवादी आन्दोलनको विघटन र विसर्जनका साक्षी बन्ने ठाउँमा पुगे भन्ने आरोप तपाईंमाथि छ । गएकाहरूले लगाएको आरोपलाई भगौडा भन्न त सकिएला, त्यही पूर्ण सत्य पनि होइन, तर त्यो अधिकतम सत्य हो । मूल नेता तपाईं भएपछि संगठनभित्रको सन्तुलन, गति र परिणामका लागि सबैभन्दा बढी जिम्मेवार तपाईं नै हुने कुरा सही हो । हामीले शुरू गरेको सबैभन्दा खराब प्रचलन के हो भने अध्यक्ष, उहाँका समकक्षी, उहाँलाई नेता मान्ने दोस्रो पुस्ता जसले प्रश्न उठाए, ती सबै अराजकतावादी, व्यक्तिवादी, होक्जावादी, लिनप्याओवादी, जडसूत्रवादी, बुर्जुवापन्थी, दक्षिणपन्थी अनि अध्यक्ष मात्रै सही र क्रान्तिकारी । यो कुनैपनि कोणबाट तर्कसङ्गत देखिँदैन । जिन्दगीमा एक कार्यकाल नेतृत्वको अपेक्षा राख्नेहरू व्यक्तिवादी र महत्त्वाकाङ्क्षी हुन् भने आजीवन नेतृत्व हत्याइरहने व्यक्ति त्यागी र समाजवादी कस्तो खालको भाष्य हो यो?
राजनीतिको चारघुम्तीनेर उभिएर हामी आज पनि त्यही पुरानै प्रश्नतर्फ फर्किएका छौं, हाम्रो वर्तमानको वजन कति हो र भविष्यको अस्तित्व कति क्लियर छ? प्रश्नरहित त संसार छैन, हामी पनि छैनौं, तर एउटै प्रश्नले लखेट्न थालेको दुई दशक पुग्यो । खासगरी नेतृत्वको प्रश्न । २१ औं शताब्दीको जनवादले मूल नेतृत्व सरकारमा नजाने प्रतिबद्धता पारित गर्यो । शान्ति प्रक्रियालगत्तै त्यो घाममा सुक्यो । ६ दिने हड्तालको नैतिक जिम्मा लिनुपरेन । पार्टी विभाजनको जिम्मा लिनु परेन । लगातार तीनवटा निर्वाचनमा भएको लज्जाजनक पराजयको नैतिक जिम्मा लिनुपरेन ।
हामीले सफलताको जस आफ्नो टाउकोमा र असफलताको अपजस अरूमाथि खन्याउने प्रवृत्तिलाई प्रोत्साहन गरेकै कारण हामी आदर्शमात्र होइन, आफ्ना आचरणहरूबाट समेत विचलित हुँदै गयौं । कम्युनिस्ट आन्दोलन यदि स्वयंसेवी हो भने त्यसमा एकजना व्यक्ति आजीवन किन टाँसिइरहने भनेर प्रश्न गर्न मिल्दैन? यदि समाजवाद अधिकार, सेवा र वस्तुको न्यायोचित वितरण गर्ने प्रणाली हो भने हामी कहिल्यै पावर शेयरिङका लागि किन तयार हुँदैनौं ? आफूलाई हमेशा विशेष र विशिष्ट अधिकारको सुनिश्चितता गरेर मात्र कदम चाल्ने कुरालाई समाजवादको आधारका रूपमा कसरी परिभाषित गर्ने? यही आजको जटिलता हो । कतिपय साथीहरूले प्रचण्डको विकल्प छैन भन्नुहुन्छ, त्यसलाई घटनाक्रमले पुष्टि गर्दैनन् र समकालीन सत्ता राजनीतिले त्यसलाई कतैबाट सही ठहर्याउँदैन ।
विश्व वामपन्थी इतिहासमा पनि त्यस्तो अजम्बरी कोही छैन र निर्विकल्प कोही छैन । लेनिनविना ६२ वर्ष र स्टालिनविना पनि ४० वर्ष सोभियत सत्ता चल्यो । माओविनाको चीन कम्युनिस्ट पार्टीको स्वर्ण जयन्तीको तयारीमा छ । फिडेल क्यास्ट्रोविनाको क्युवाली शासन र ह्युगो चाभेजविनाको भेनेजुएला कम्युनिस्ट शासनमै छन् । बरु साथीहरूले निर्विकल्प दाबी गर्ने प्रचण्डले लगातार ९ महिना शासन सत्ता चलाउन पाएका छैनन् । नेपालमा पनि बीपीविना कांग्रेस बाँचेकै छ र मदन भण्डारीविनाको एमाले सशक्त नै छ । प्रचण्डसहितको माओवादी दुईचोटी विधिवत र घोषितरूपमा अन्त्य भइसक्यो । सैद्धान्तिक र वैचारिक मूल आत्मा हेर्ने हो भने त त्यो पलपल मृत्युवरणको नजिक पुगेर कोमामा घरीघरी कृत्रिम श्वास धानिरहेको अवस्थामा थियो । अब त्यसैको पनि अवसान भयो ।