
माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्य नडेल्लाले भारतको एआई–केन्द्रित भविष्यलाई सघाउने उद्देश्यसहित १७.५ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेका छन्। एआई पूर्वाधार, सीप विकास र सार्वभौम क्षमताको विस्तारमा केन्द्रित यो लगानी पछिल्ला दुई महिनामा भारतमा घोषणा भएको तेस्रो ठूलो एआई–सम्बन्धी लगानी हो।
माइक्रोसफ्टका अनुसार यो १७.५ अर्ब डलर (झन्डै १.५८ लाख करोड रुपैयाँ) को लगानी यस वर्षको शुरूआतमा घोषणा गरिएको ३ अर्ब डलर (झन्डै २६,९५५ करोड रुपैयाँ) को थप निरन्तरता हो। कम्पनीले उक्त ३ अर्ब डलर सन् २०२६ को अन्त्यसम्म खर्च गरिसक्ने लक्ष्य लिएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटपछि सामाजिक सञ्जाल ‘एक्स’मा प्रतिक्रिया दिँदै नडेल्लाले लेखेका छन्, 'भारतको महत्त्वाकांक्षालाई समर्थन गर्न माइक्रोसफ्टले एसियामा अहिलेसम्मकै सबैभन्दा ठूलो १७.५ अर्ब डलरको लगानी गर्दैछ, जसले भारतको एआई–केन्द्रित भविष्यका लागि आवश्यक पूर्वाधार, सीप र सार्वभौम क्षमताको निर्माणमा मद्दत गर्नेछ।'
माइक्रोसफ्टले आगामी चार वर्ष (२०२६–२०२९) मा यो लगानी चरणबद्ध रूपमा खर्च गर्दै जनसंख्याको ठूलो हिस्सामा एआई प्रविधिको पहुँच विस्तार गर्ने जनाएको छ। नडेल्लाको मोदीसँगको भेट माइक्रोसफ्ट इन्डिया एआई टुरको पूर्वसन्ध्यामा भएको हो, जहाँ दुवै पक्षबीच भारतको एआई रोडम्याप र विकास प्राथमिकताबारे छलफल भएको कम्पनीले जनाएको छ।
पछिल्ला महिनाहरूमा भारतमा एआई क्षेत्रमा ठूला अन्तर्राष्ट्रिय लगानी बढिरहेका छन्। अक्टोबर १४ मा गुगलले अदानी समूहसँगको सहकार्यमा भारतकै सबैभन्दा ठूलो डेटा सेन्टरसहित एआई हब स्थापना गर्न पाँच वर्षमा १५ अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो। त्यसपछि ब्रुकफिल्ड, रिलायन्स इन्डस्ट्रिज र अमेरिकी कम्पनी डिजिटल रियाल्टीको संयुक्त लगानीमा बनेको डिजिटल कनेक्सनले ११ अर्ब डलर लगानी योजना सार्वजनिक गरेको थियो। यसअघि, अमेजनले सन् २०३० सम्म भारतमा क्लाउड र एआई पूर्वाधारमा १२.७ अर्ब डलर लगानी गर्ने घोषणा गरिसकेको छ।
माइक्रोसफ्टले हैदराबादमा निर्माणाधीन ‘इन्डिया साउथ सेन्ट्रल’ क्लाउड क्षेत्र सन् २०२६ को मध्यतिर सञ्चालनमा ल्याउने जनाएको छ। यो भारतमा माइक्रोसफ्टको सबैभन्दा ठूलो हाइपरस्केल क्षेत्र हुने र तीनवटा ‘एभेलेबिलिटी जोन’ समेट्ने बताइएको छ, जसको आकार दुईवटा इडन गार्डेन्स स्टेडियम बराबर हुनेछ।
कम्पनीले भारतमा एआई सीप विकाससम्बन्धी प्रतिबद्धता पनि दोब्बर पारेको छ। अब सन् २०३० सम्म २ करोड भारतीयलाई एआई सीप प्रदान गर्ने लक्ष्य लिइएको छ। माइक्रोसफ्टका अनुसार ‘एडभान्टा(आई)ज इन्डिया’ पहलअन्तर्गत जनवरी २०२५ यता ५६ लाख मानिसलाई तालिम दिइसकिएको छ, जुन प्रारम्भिक लक्ष्यभन्दा धेरै अघि हो।
केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले माइक्रोसफ्टको यो लगानीले विश्वसनीय प्रविधि साझेदारका रूपमा भारतको हैसियत थप मजबुत बनाउने बताएका छन्। 'यो साझेदारीले डिजिटल सार्वजनिक पूर्वाधारबाट एआई सार्वजनिक पूर्वाधारतर्फ भारतको फड्को मार्ने यात्रामा नयाँ मानक स्थापित गर्नेछ,' उनले भने।
माइक्रोसफ्ट इन्डिया तथा दक्षिण एसियाका अध्यक्ष पुनीत चन्दोकका अनुसार यो लगानी क्लाउड र एआई पूर्वाधार विस्तार, सीप विकास कार्यक्रम र भारतभर सञ्चालन भइरहेका गतिविधिमा प्रयोग गरिनेछ। हाल माइक्रोसफ्टका २२ हजारभन्दा बढी कर्मचारी बेंगलुरु, हैदराबाद, पुणे, गुरुग्राम, नोएडा लगायत शहरमा कार्यरत छन्।
डिजिटल पर्सनल डेटा प्रोटेक्सन व्यवस्था कार्यान्वयनतर्फ भारत अघि बढिरहेका बेला माइक्रोसफ्टले भारतीय ग्राहकका लागि ‘सार्वभौम सार्वजनिक क्लाउड’ र ‘सार्वभौम निजी क्लाउड’ सेवा शुरू गर्ने घोषणा गरेको छ। साथै, माइक्रोसफ्ट ३६५ कोपाइलटमा सन् २०२५ को अन्त्यसम्म भारतमै डेटा प्रशोधन सुविधा उपलब्ध गराउने तयारी पनि गरिएको छ।
यसैबीच, श्रम तथा रोजगार मन्त्रालयका दुई प्रमुख डिजिटल प्लेटफर्म—ई–श्रम र राष्ट्रिय करिअर सेवा (एनसीएस)—मा उन्नत एआई क्षमताको एकीकरण गरिने माइक्रोसफ्टले जनाएको छ। यस पहलबाट ३१ करोडभन्दा बढी असंगठित क्षेत्रका कामदारले एआईको लाभ लिन सक्ने अपेक्षा गरिएको छ।