
यही पुस १ गते हाम्रो केन्द्रीय समितिको पहिलो पूर्ण बैठक । यस बैठकले पार्टीको आगामी बाटो त तय गर्ने छ नै, साथै हामीमाथि हाम्रो पृष्ठभूमि, आजको आवश्यकता र हाम्रो दृष्टिकोणको कित्ता क्लियरसम्बन्धी पनि केही प्रश्नहरू उठेकाले वा उठाइएकाले त्यसबारे प्रस्ट पार्न सान्दर्भिक देखिन्छ । पहिलो कुरा प्रलोपा वाम पार्टी हो कि होइन? दोस्रो कुरा यति धेरै कम्युनिस्ट घटकहरूसँगै अर्को वाम पार्टी आवश्यक छ कि छैन? तेस्रो कुरा वाम पार्टी लोकतान्त्रिक हुन्छ कि हुँदैन? नेपालको वाम मतभित्र उठेको र आमपङ्क्तिमा पनि प्रलोपाको वैचारिक पहिचानबारेको जिज्ञासा वा संशयको जवाफ जरुरी छ ।
देशको मतदाताको विशाल संख्या ओगटेको मध्यवाम चरित्र र कम्युनिस्ट नामको विरासतमा उभिएको ने.क.पा. एमालेको एघारौं महाधिवेशनबारे सकारात्मक र नकारात्मक सबै कोणबाट बहस भइरहेका छन् । अर्को एउटा नेपाली कम्युनिस्ट पार्टी छ । १५ वटा घटक मिलेर बनेको उसको दाबी एमालेलाई आगामी निर्वाचनमा चौथो स्थानमा झार्ने छ र त्यसको एकता महाधिवेशन पनि चाँडै हुँदै छ । अर्को प्रचण्डले सीमान्त उपयोगिताको ह्रास नियम बुझेर रछ्यानमा मिल्काइदिएको माओवादी नेम प्लेट ल्याएर धोइपखाली गरि पुनः उपयोग गर्ने रणनीतिमा जुटेका विप्लव सीको कम्युनिस्ट पार्टी पनि निर्वाचनकेन्द्रित नै छ । निर्वाचनमा भाग नलिने वा भाग लिने अवस्था नरहेका केही घटकहरू बहिष्कार कि उपयोग भन्ने पुरानै बहसको वरिपरि छन् । यी सबै घटकको एउटा समान विशेषता हो औपचारिक केन्द्रीयता । यस्तो परिवेशमा अर्को नयाँ वाम पार्टीका रूपमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को जन्म भएको छ, जो प्रत्यक्ष जनवाद (डाइरेक्ट डेमोक्रेसी) को चरणबाट आफ्नो नयाँ र फरक पहिचान खोज्दै छ । साथै, यसले पहिलोपटक निर्वाचनमा भाग लिँदै आफ्नो सशक्त उपस्थितिको रणनीतिमा काम गर्दै छ ।
पेरिस कम्युनको चुनावी शुरूआत एक आदर्श क्रान्तिकारी मोडेल हो, यो नेतृत्व चयनको एक दुर्लभ तररोमाञ्चक नयाँ रूप थियो । जो भविष्यको समाजका लागि एक गौरवमय सन्देश बोकेर आएको छ: कार्ल मार्क्स
लोकतन्त्र र क्रान्ति टकरावका रूपमा होइन बरु आपसी समन्वय र पूरक भूमिकामा हेरिनुपर्छ: रोजा
जहाँ कार्यस्थल र युनियनद्वारा लोकतान्त्रिक परामर्श र कार्यकारी निर्णय लिइन्छ र विजयी समाजवादका लागि पूर्ण लोकतन्त्रको अभ्यास गरिन्छ त्यही सोभियत मोडेलको डेमोक्रेसी हो, यान्त्रिक र औपचारिक केन्द्रीयता कम्युनिस्टहरूको शत्रुले मात्र सोच्न सक्छ: लेनिन
लोकतन्त्र केवल राजनीतिक व्यवस्था मात्र होइन यो मानव सम्मान, समानता, प्रभावकारी जनसहभागिता र पारदर्शिताको एक सम्पूर्ण मोडल हो: नेल्सन मण्डेला
पार्टीको आन्तरिक लोकतन्त्रमा शिक्षा र आलोचना समान रूपले जरुरी छ: माओ
यस आलेखमा उल्लेखित शब्द जनवाद लोकतन्त्रको पर्यायवाची शब्द हो । जनवाद (लोकतन्त्र) को अर्थ जनताको व्यापक सहभागितामूलक शासन हो । खासगरी राजतन्त्र, कुलीनतन्त्र र नायकतन्त्रविपरीत जनताले आफ्नो शासन आफैं गर्ने प्रणाली हो, लोकतन्त्र । जनवादका तीन चरणमध्ये पहिलो हामी ग्रिक सभ्यताको आदिम लोकतन्त्र फिर्ता ल्याउने छैनौं । दोस्रो, विगत केही सय वर्षदेखि उही प्रकृतिका वा सामान्य सुधार गर्न खोजिएका प्रतिनिधिमूलक लोकतन्त्रका अभ्यासहरूलाई निरन्तरता दिएर सामाजिक असन्तोषको लहर थेग्न सक्ने अवस्थामा छैनौं । यसर्थ, हामीलाई अब तेस्रो चरणको प्रत्यक्ष लोकतन्त्रमा प्रवेश नगरी सुखै छैन । अब प्रत्यक्ष लोकतन्त्रअर्थात आमअभिमत इतिहासको अनिवार्य मागका रूपमा आइसकेको छ । प्रत्यक्ष लोकतन्त्रका लागि यो समय इतिहासकै सर्वाधिक मलिलो समय पनि हो, किनकि यस युगमा हामीलाई सूचना प्रविधिको व्यापक इनोभेसन र उपयोगको सहजताले डाइरेक्ट डेमोक्रेसीको अभ्यास गर्ने महान अवसर पनि प्रदान गरेको छ ।
शक्तिको विकेन्द्रीकरण र राजकीय कार्यको सरलीकरणका लागि पनि प्रत्यक्ष लोकतन्त्रको विकास आजको अपरिहार्य आवश्यकता हो । हामीकहाँ जनवाद (लोकतन्त्र) साँघुरिनुका तमाम कारणहरूमध्ये मुख्य कारण कथनी र करणीमा रहेको डरलाग्दो द्विविधा हो । राजनीतिक प्रणालीलाई समाजवादतर्फ डोहोर्याउने मूल चुनौती एकातिर छ भने स्व–घोषित प्रतिनिधिमूलक संरचनाको परम्परागत मान्यतालाई धान्दै आफ्ना पद र प्रतिष्ठाहरू सुरक्षित राखिराख्नुपर्ने बाध्यता अर्कोतिर छ । विगत केही समय हामीले यसलाई पार्टीभित्रको प्रणालीगत संक्रमणका रूपमा लियौं, तर अब यो द्विविधा र अन्योल प्रणाली संक्रमणबाट प्रणाली संकटका रूपमा देखा पर्दैछ ।
शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोमा आइसकेपछि कम्युनिस्ट पृष्ठभूमिका दलहरूमा पनि अन्तरपार्टी लोकतन्त्र निर्णायक बन्नु स्वभाविकै हो । जनवाद राजनीतिक स्वतन्त्रताको त्यो जग हो, जसले पारदर्शी र प्रतियोगी समाजको ढाँचा तय गर्छ । उन्नत जनवादले मात्रै विनयी तर बलियो केन्द्रीयतालाई अनुमोदन गर्न सक्छ । जनवादको सामना गर्न नसक्ने केन्द्रीयता र केन्द्रीयतालाई अनुमोदनको ल्यकत नराख्ने जनवाद दुवै पङ्गु हुन पुग्छन् । जनवादबारे यही वैज्ञानिक मान्यतालाई कुनै हालतमा व्यवहारमा लागू गर्न नचाहने प्रवृत्तिकै कारण वर्षैपिच्छे कम्युनिस्ट पार्टी विभाजन हुने गर्छन् ।
पङ्गु जनवादले स्वेच्छाचारी शासक जन्माउँछ र पङ्गु केन्द्रीयताले अराजकताको विस्फोटक परिस्थितिलाई सम्हाल्न सक्दैन, यसर्थ जनवाद र केन्द्रीयता दुवैलाई सन्तुलनकारी–कार्यकारी बनाइराख्न पार्टी संगठनमा व्यापक जनवाद र विनयी एवं स्वीकार्य केन्द्रीयता जरुरी हुन्छ । यही जनवाद र केन्द्रीयताको सैद्धान्तिक एवं सांगठनिक छिनोफानो गर्ने प्रणाली वा विधि निर्वाचन हो । प्रतिस्पर्धाद्वारा हासिल श्रेष्ठता जनवादबाट अनुमोदित हुन्छ । जनवादद्वारा अनुमोदित श्रेष्ठतालाई विनयी र स्वीकार्य केन्द्रीयताको रूपमा बुझ्दा त्यो प्रगतिशील लोकतान्त्रिक हुन्छ ।
संगठनको स्थायित्व र नीतिगत तथा व्यवहारिक कामकारवाहीका लागि यसको एउटा निश्चित अवधि तय हुन्छ । त्यस अवधिसम्म त्यो श्रेष्ठता प्राधिकारयुक्त हुन्छ । त्यस निर्धारित समयभित्र त्यसले गडबडी र मनपरी गर्दा त्यहाँ रि–कलको व्यवस्था हुन्छ । यसरी प्रत्यक्ष निर्वाचन र रि–कलको व्यवस्थाले हामीलाई हरेक दिन आफैँलाई नवीकरण र पुनर्ताजगीकरण गर्छ । जब हामीलाई नैतिकताका अतिरिक्त दण्ड र पुरस्कार तय गर्ने संयन्त्रको आश र त्रास हुन्छ, त्यसपछि हामी कुनै शक्तिको कृपाले बेलगाम बन्न सक्दैनौं र अनावश्यक भयको छायाँमा खुम्चिनु पनि पर्दैन ।
प्रत्यक्ष निर्वाचनले पार्टीको बुर्जुवाकरण हुन्छ कि समाजवादीकरण?
कार्ल मार्क्सले सन् १८७१ मा पेरिस विद्रोहबाट बनेको कम्युनले त्यसपछि अभ्यास गरेको आम मताधिकारमा आधारित निर्वाचन प्रणालीलाई कम्युनको प्राण भनी उच्च प्रशंसा गरेका छन् । (मार्क्स १८७० पेज २८७, २८९)
कम्युन नगरपरिषदका सदस्यहरूबाट बनेको थियो, जो नगरका विभिन्न वडाहरूबाट सार्विक मताधिकारद्वारा निर्वाचित भएका थिए, जो जनताप्रति उत्तरदायी थिए र जसलाई कुनै पनि बेला पदबाट हटाउन सकिन्थ्यो । (मार्क्स १८७७)
पेरिस कम्युनकै पालादेखि हुर्काउन खोजिएको आमजनवाद अर्थात् डाइरेक्ट डेमोक्रेसीलाई फलो गर्न प्रत्यक्ष निर्वाचन नै मुख्य विकल्प हो भन्ने कुरा कार्ल मार्क्सका माथि उल्लेखित धारणाहरूबाट स्पष्ट छ । १९८९ मा बीबीसी पोलको एउटा सर्वेक्षणमा गएको एक हजार वर्षको ग्रेटेस्ट थिङ्कर घोषणा गरिएका कार्ल मार्क्ससँग पाँचवटा मूल विशेषताहरू छन् । समानता, स्वतन्त्रता, वैज्ञानिक अन्वेषण, बहुसंख्यकको आवाज र भविष्यद्रष्टा । विश्व कम्युनिस्ट आन्दोलन र समाजवादी विचारधाराका आधार र आदर्श तिनै कार्ल मार्क्सले प्रत्यक्ष निर्वाचनलाई जनवादको मूल पक्ष मानेका छन् भने हामीकहाँ पार्टीभित्र प्रत्यक्ष निर्वाचन र आमअभिमत जरुरी छ भन्दा हामी कसरी गैरमार्क्सवादी र बुर्जुवाकरण हुन्छौं ?
निर्वाचनका सन्दर्भमा एङ्गेल्स भन्छन्- कम्युनिस्ट घोषणापत्रले नै लोकतन्त्र र आम मताधिकारको लडाइँ जित्नुलाई सर्वहारावर्गको पहिलो र सार्विक महत्त्वपूर्ण कार्यभारमध्येको एक कार्यभार हो भन्ने घोषणा गरेको छ । (एङ्गेल्स १८९५ पृष्ठ ६४५) आम मताधिकारलाई मजदुरवर्गले पुरानो सत्ताको छलकपटको साधनबाट मुक्तिको साधनमा रूपान्तरण गरेको छ । सोही पुस्तकको पृष्ठ ६४९ ।
असचेत बहुमतको टाउकोमाथि बसेर सानो सचेत समूहले क्रान्ति गर्ने दिन गइसकेको विश्लेषण गर्दै फ्रान्समा वर्ग संघर्षहरूको परिचयमा एङ्गेल्स भन्छन्– जहाँ सामाजिक संरचनाको पूर्ण रूपान्तरणको प्रश्न आउँछ, आम मानिसहरू यस प्रक्रियामा तनमनले सहभागी हुनैपर्छ । उनीहरूलाई थाह हुनुपर्छ- मुद्दा के हुन् र उनीहरूले के गर्नुपर्छ ? (एङ्गेल्स १८९५, पृष्ठ ६५४) एङ्गेल्सका उपर्युक्त विचारहरूबाट प्रस्ट छ कि आमअभिमतबाट आउने बहुमतले लिने निर्णय नै सामाजिक रूपान्तरणको पक्षमा हुन्छन् । एङ्गेल्सले प्रत्यक्ष निर्वाचन बुर्जुवा होइन, समाजवादको पक्षमा हुन्छ भन्ने स्पष्ट पारेका छन् ।
हामीकहाँ बडो अचम्मको तर्क छ- हामी लेनिनवादी संगठनात्मक सिद्धान्तमा चल्छौं यसर्थ प्रत्यक्ष निर्वाचन गर्न सकिँदैन भन्ने । वास्तवमा यो तर्क लेनिनवादी संगठनात्मक सिद्धान्तका नाममा गरिने गलत व्याख्याको सहारा मात्रै हो । हामी अहिलेसम्म लेनिनवादी संगठनात्मक सिद्धान्तलाई भट्याउँदै प्रत्यक्ष निर्वाचनलाई किनारा लगाउन जनवादी केन्द्रीयताको व्याख्याको कोशिश गरिरहेका छौं, यो त झन भ्रमपूर्ण छ । पहिलो कुरा संगठनसम्बन्धी लेनिनवादी सिद्धान्त एउटा सेट एन्ड सिक्वेन्समा छ । त्यसको अभिव्यक्त रूप सोभियत सत्ता थियो । सोभियतहरू संसदका विकल्प थिए । त्यसमा राज्य नियन्त्रित अर्थतन्त्र, जननियन्त्रित सोभियत र सोभियत नियन्त्रित राज्यसंयन्त्र थिए । लेनिनले सोभियतलाई ३ समूहमा बाँडेका थिए । मजदुर सोभियत, किसान सोभियत र सैनिक सोभियत । ती सोभियतहरूलाई नयाँ सत्ताको भ्रूण मानिएको थियो र तिनका हातमा सम्पूर्ण अधिकार सुम्पनुपर्छ भन्ने लेनिनको मान्यता थियो । सोभियतहरू तलबाटै निर्वाचित भएर आउँथे । अझ लेनिनकै कुरा गर्ने हो भने उनले विशेषाधिकार प्राप्त र जनताभन्दा माथि रहने संयन्त्रहरूकै कारण पूँजीवादी लोकतन्त्र र संसदीय व्यवस्था असफल भएको निष्कर्ष निकालेका थिए ।
पूँजीवादी राज्यहरूमा सबभन्दा पूर्ण, सबभन्दा उच्च संसदीय व्यवस्था हो, जसमा सत्ता संसदको हातमा हुन्छ र राज्ययन्त्र, कार्यतन्त्र र प्रशासनतन्त्र परम्परागत हुन्छन् । स्थायी सेना, पुलिस र कर्मचारीतन्त्र जसलाई सामान्यतया हटाउन सकिँदैन । ती विशेषाधिकार प्राप्त र जनताभन्दा माथि रहेका हुन्छन् । (लेनिन संकलित रचना १९८३)
निर्वाचनका सन्दर्भमा रोजा भन्छिन् जहाँसम्म आम मताधिकारको प्रश्न हो । यो लडिरहेका दुवै वर्ग बुर्जुवा र सामन्तका लागि उपयोगी थियो । बुर्जुवाका लागि सामन्तवादविरोधी लडाइमा आम जनतालाई नेतृत्व गर्न र सामन्तका लागि गाउँलाई शहरविरुद्ध प्रयोग गर्न । तर, जब सामन्त र बुर्जुवाको लडाइँ सम्झौतामा टुङ्गियो, तब उनीहरूका लागी आमबालिग मताधिकार अर्थहीन भयो । यद्यपि यो ऐतिहासिक बिन्दुमा संसद् सामाजिक जनवादीहरूका लागि गाउँदेखि संसदसम्म आन्दोलन गर्ने अर्थपूर्ण माध्यम भएको छ । वैश्विक परिप्रेक्ष्यमा संसद बुर्जुवाका लागि वर्गसंघर्षको सर्वाधिक शक्तिशालीमध्येको एक र अपरिहार्य साधन हो । (लक्जम्बर्ग १९०४) कुरा क्लियर छ, निम्न भनाइका आधारमा रोजा बालिग मताधिकार र निर्वाचन प्रक्रियाको पक्षमै दृढ थिइन् ।
सामाजिक जनवादी पार्टीको कार्यभार मजदुरवर्गलाई राजनीतिक रूपले संगठित गर्नु, उनीहरूलाई लोकतान्त्रिक शक्तिका रूपमा विकास गर्नु र राज्यभित्र ती सबै सुधारका लागि लड्नु हो, जसले मजदुरवर्गलाई माथि उठाउँछन् र राज्यलाई लोकतन्त्रको दिशामा रूपान्तरण गर्छन् । (बर्नस्टिन १८९९, पृष्ठ ६६७)
जनवादको व्याख्या गर्ने क्रममा माओले सयौं फूल फुल्नदेऊ भन्ने कुरामा जोड दिएका छन् र आफ्नो नौलो जनवादमा साम्यवादी विशेषता बोकेको कम्युनिस्ट पार्टीको नेतृत्वमा सर्ब वर्ग सम्मिलित एक संयुक्त मोर्चा र मिश्रित अर्थतन्त्र रहेको संक्रमणकालीन समयलाई विस्तारै समाजवादतिर मोड्नुपर्ने उनको निष्कर्ष छ ।
माथिका सम्पूर्ण कुराहरूको सार कम्युनिस्टहरू आम-अभिमत र प्रत्यक्ष निर्वाचनविरोधी कहिल्यै हुँदैनन् भन्ने हो । निर्वाचनबाट पन्छिनु क्रान्तिकारी कदम नभई समाजवादको फिजिकल फाउन्डेसन र मार्क्सवादको मूल उत्साहविरुद्ध उभिनु हो ।
संगठनमा प्रत्यक्ष लोकतन्त्रको अभ्यास : नेपालका वाम पार्टीहरूभित्र गरिएको यो पहिलो, औपचारिक र नीतिगत परिवर्तनको स्वीकारोक्ति हो । नि:सन्देह प्रलोपा नेपालको उन्नत वाम पार्टी हो । यसले ऐतिहासिक द्धन्द्धात्मक भौतिकवाद र मानवजातिले आजसम्म विकसित र समृद्ध गरेका सम्पूर्ण वैज्ञानिक विचारहरूको फलो गर्दै सामाजिक न्याय, समानता, विभेदविरोधी र पूँजीको संकलन तथा न्यायोचित वितरणमा सन्तुलन ल्याउने उद्देश्यसहित गठित यो पार्टी कुनै दक्षिणपन्थी विचारधारा, ईश्वरीय कृपा र पूर्खा एवं परम्परागत सोचलाई आफ्नो विधि पद्धतिको केन्द्रीय विचार आस्था र आदर्श ठानेर अघि बढ्दैन ।
जहाँसम्म यसको आवश्यकता र औचित्यतताको कुरा छ । जेनजी विद्रोहको विस्फोटसँगै राजतन्त्रकालीन अवस्थाको सामना गर्न बनाइएका दर्शन र विचारधाराद्धारा निर्देशित नेपालका वाम र दक्षिणपन्थी विचारका सबै पार्टीहरूको आवश्यकता, औचित्य र कार्यभार सकिएको छ । अब दक्षिणपन्थमा पनि नयाँ पार्टीहरूको उदय हुँदैछ र वामपन्थी पार्टीका रूपमा हामीले पनि आफूलाई आजको परिवेशमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरी तयार गर्दैर्छौं । वर्तमानमा हामी प्रतियोगितामा आफूलाई कति सही सावित गर्न सक्छौं, त्यो एउटा पक्ष हो । तर, हामी निर्विवाद भविष्यको वाम केन्द्र हो । हामी आफूलाई निरन्तर परिमार्जित गर्दै जाने छौं । त्यो नेतृत्वको अनुहारमा, संगठनको स्वरुपमा, नीति, विधि र पद्धतिको दस्तावेजमा अनि हाम्रा आचरण, व्यवहार र कार्यशैलीमा देखिने छ ।
हामीले आफूलाई कम्तीमा अल्फा र गामाको युगका लागि तयार गर्ने छौं । फागुन २१ वा त्यसपछिका लागि सर्न सक्ने निर्वाचन वा हरेक पाँच वर्षमा आउने निर्वाचनका लागि दल गठन गर्नु हाम्रो उद्देश्य होइन । हाम्रो अन्तिम लक्ष सरकारको नेतृत्वका लागि तयारी गर्नु, सरकारको नेतृत्व हातमा लिनु र त्यसपछि पनि लगातार सरकारको नेतृत्व लिइरहनु होइन, सरकारमा गएपछि के गर्ने भन्ने हो । अहिले त्यो व्याख्या हाम्रो हकमा अण्डा पार्नुअघि चल्ला गिन्ती गर्नुजस्तै हुने भएकाले समयक्रममा हामी हाम्रा भविष्यदर्शी रोडम्यापहरू अगाडि सार्नेछौं ।