२६ जेठ २०८३, मंगलबार
जीवनदर्शन

बुद्धदर्शन र गीतादर्शन : रूपमा भिन्नता, सारमा एकता

पुस ५, २०८२
काठमाडौं
बुद्धदर्शन र गीतादर्शन : रूपमा भिन्नता, सारमा एकता

बुद्धदर्शन र गीता दर्शन दुवै पूर्वीयदर्शन अर्थात् पूर्वीय गोलार्धमा विकास भएका दर्शन हुन्  । यिनीहरू समकालीन नभए पनि उनीहरूबीच धेरै कुरामा समानता पाउन सकिन्छ । 

बुद्धदर्शनको उत्पत्ति ईपू. छैटौं शताब्दीतिर नेपाली भूमिबाट भएको हो । गीतादर्शन सोभन्दा धेरै अघिको हो, जो महाभारतको युद्धभूमिबाट प्रकट भएको थियो । यस आलेखमा यी दुई दर्शनमा भेटिएका समानतालाई केलाउने प्रयास गरिएको छ ।

यद्यपि रूपमा यी दुई दर्शनबीच आकाश र जमिनजत्तिकै भिन्नता भेटिन्छ । बुद्धदर्शनलाई नास्तिकदर्शन भन्ने गरिएको छ, जसले ईश्वरीयसत्तालाई मान्दैन । गीतादर्शन आस्तिकदर्शन हो, जसले सारा संसार ईश्वरको खेल मानेको छ । 

बुद्धदर्शनले आत्माको अमरतालाई मान्दैन भने आत्माको अमरतावर्णन नै गीतादर्शनको विशेषता हो । बुद्धदर्शनले कुनै पनि ग्रन्थलाई स्वत: प्रमाण मान्दैन । गीतादर्शन यसको विरुद्धमा देखिन्छ । खोज्दै जाने हो भने यी दुई दर्शनबीच यस्तैयस्तै धेरै कुरामा भिन्नता पाउन सकिन्छ ।

तथापि सत्य के हो भने यी सबै भिन्नता रूपगत मात्र हुन् सारमा होइनन् । सारको कुरा गर्ने हो भने यिनीहरू निकटमात्र छैनन् उनीहरूबीच धेरै कुरामा समानता पनि पाउन सकिन्छ । उदाहरणका लागि बुद्धदर्शनको प्रतित्यसमुत्पाद (कारण–कार्य–कारण) को नियमलाई नै लिन सकिन्छ, जुन कुरा बुद्धदर्शनको महासतिपठ्ठान सुत्त र धर्मचक्र प्रवर्तन सुत्तमा उल्लेख भएका छन् । 

प्रतीत्यसमुत्पाद भनेको प्रकृतिको त्यस्तो महानियम हो, जस अन्तर्गत संस्कार वा बीजसङ्ग्रहको नियम, संस्कार वा बीजबिस्तारको नियम, संस्कार वा गुणप्रकटीकरणको नियम, संस्कार वा गुणआकर्षणको नियम, संस्कार वा गुणउच्छेदको नियम र कारण–कार्य–कारणको नियम जस्ता जीवन सञ्चालनको ६ वटा शाश्वत नियम पर्दछ ।

प्रकृतिको यही छवटा शाश्वत नियमअनुसार नै मानिसको जन्मचक्र र मोक्षचक्र निर्धारित भएको हुन्छ  । अर्थात् यस नियमको अनुलोम चक्रअनुसार मानिसको जन्म तथा जीवनधाराको शृङ्खला चलेको हुन्छ भने प्रतिलोमचक्रअनुसार उसले मोक्षमार्गमा जाने आधार प्राप्त गर्दछ ।

अनुलोम चक्रको नियमअनुसार सर्वप्रथम मानिसलाई इन्द्रीय र विषयको मिलनबाट जुन सुखद वा दु:खद् संवेदना प्राप्त हुने गर्दछ त्यसलाई अविद्या वा अज्ञान भनिन्छ । किनभने  तरङ्गैतरङ्गको पुञ्ज भएकाले यसको आफ्नो कुनै सत्ता छैन । यसै अर्थमा यसलाई अविद्या वा अज्ञान भनिएको हो । 

ज्ञान नहुँदासम्म यो प्रतिभाषित भइरहन्छ, ज्ञान हुनासाथ स्वत: समाप्त हुन पुग्दछ । यही अज्ञान वा अविद्याको कारण नै चित्तको तहमा त्यसलाई भोग गर्ने संस्कार उत्पन्न हुन्छ । अनि संस्कारका कारण विज्ञान वा चित्तको आहार उत्पन्न हुन पुग्दछ भने विज्ञान वा चित्तको आहारका कारण नामरूप उत्पन्न हुन पुग्दछ । 

जब नाम र रूप उत्पन्न हुन्छ तब त्यसैको कारण मनसहित ६ वटा इन्द्रीयहरू उत्पन्न हुन्छन् र यिनै ६ वटा इन्द्रीयका कारण रूप, रस, स्पर्श आदि तिनका विषय उत्पन्न हुन पुग्दछन् । त्यस्तै, इन्द्रीयहरूका विषयका कारण संवेदना उत्पन्न हुन्छ भने संवेदनाका कारण तृष्णा उत्पन्न हुन पुग्दछ । 

फलत: सोही तृष्णाका कारण आशक्ति र आशक्तिका कारण भव अर्थात् संसारचक्र उत्पन्न हुन पुग्दछ भने भव वा संसारचक्रका कारण जन्म तथा जन्मका कारण जराव्याधी, शोक, भय आदि दु:ख उत्पन्न हुन पुग्छ । यिनीहरू भनेका प्रकृतिका यस्ता शाश्वत नियम हुन्, जसले मानिसलाई अनन्तकालसम्म संसारमा भट्काइहन्छ ।

तथापि, स्मरणीय के छ भने यसको प्रतिलोमचक्रअनुसार भने यो क्रम उल्टिँदै जान्छ र मानिस क्रमश: मुक्तिमार्गको अनुयायी बन्दै जान्छ । जस्तै; अविद्या वा अज्ञानलाई निरोध गर्न सके त्यसैको कारण संस्कार निरोध हुन पुग्छ भने संस्कार निरोध भएपछि वा संस्कार निरोधका कारण विज्ञान वा चित्तको आहार निरोध हुन पुग्दछ । त्यस्तै, विज्ञान वा चित्तको आहार निरोध भएपछि त्यसैको कारण नामरूप निरोध हुन पुग्दछ भने नामरुप निरोध हुनासाथ त्यसैका कारण मनसहित ६ वटा इन्द्रीय निरोध तथा मनसहित ६ वटा इन्द्रीय निरोध भएपछि यसैका कारण रूप, रस, स्पर्श आदि उसका विषयहरू निरोध हुन पुग्दछन् । 

त्यस्तै, इन्द्रीयका विषय निरोध भएपछि त्यसैका कारण संवेदना निरोध हुन पुग्दछ भने संवेदना निरोध भएपछि यसैका कारण तृष्णा निरोध र तृष्णा निरोध भएपछि यसैका कारण आशक्ति निरोध हुन पुग्दछ । फलत: यही अशक्ति निरोधका कारण भव वा संसार निरोध तथा भव वा संसार निरोधका कारण पुनर्जन्म निरोध र पुनर्जन्म निरोधका कारण जराव्याधी आदि दु:ख निरोध हुन पुग्दछ र उसको पुनर्जन्म हुँदैन । अर्थात् उसले मोक्ष प्राप्त गर्दछ । (बुद्धदर्शनको महासतिपठ्ठान सुत्त तथा धर्मचक्रप्रवर्तन सुत्त, नेपाली अनुवाद डा. मुरली अधिकारी, शिखाबुक्स, २०७९)

यस्तै कुरा गीतामा कृष्णले पनि गरेका छन् । थाहा छैन बुद्धले गीता पढेका थिए, थिएनन् तर गीतामा कृष्णले हजारौं वर्षपूर्व जुन कुरा गरेका थिए बुद्धले पनि त्यस्तै कुरा गरेका छन् । मात्र फरक गीतामा यस्ता प्रसङ्ग शिलशिलाबद्ध भएर आएको छैन । अर्थात् विभिन्न अध्याय र श्लोकहरूमा छरिएर रहेका छन् भने बुद्धले शिलशिलाबद्ध गरी एकै स्थानमा प्रस्तुत गरेका छन् । (डा. मुरली अधिकारी, सत्यगीता, शिखाबुक्स, २०८२)

उल्लिखित प्रसङ्गहरूबाट के सिद्ध हुन्छ भने बुद्धदर्शन भन्नु र गीता दर्शन भन्नु नाम र रूपमा मात्र अलग हुन्, सारमा होइनन् । जुन कुरा कृष्णले गरेका थिए बुद्धले पनि त्यही कुरा गरेका छन् । यद्यपि कतिलाई यो कुरा मन नपर्न सक्छ । तथापि सत्य के हो भने दर्शनको दृष्टिले यी दुवै दर्शन एउटै हुन् । मात्र के हो भने गीतामा कृष्णले प्रसङ्गअनुसार सैद्धान्तिक रूपमा बोलेको छन् भने बुद्धले सटीक र वैज्ञानिक ढङ्गले एकै स्थानमा भनेका छन् । अस्तु ।   

salt training

कमेन्ट गर्नुहोस्