
मदनराज ताम्राकारद्वारा लिखित अतीतको झझल्को शीर्षकको निबन्ध सङ्ग्रह गत शनिबार एक समारोहबीच विमोचन भएको छ ।
भूमिका खण्डबाहेक कुल २९३ पृष्ठको यस कृतिलाई प्रकृति ताम्राकार र कीर्तनराज ताम्राकारले प्रकाशित गरेका हुन् । करिब डेढ दर्जन हाराहारीका निबन्धहरू रहेका कृतिको मूल्य ४९५ रुपैयाँ रहेको छ ।
लामालामा निबन्धहरूले कृतिलाई गहकिलो बनाएको भए पनि रोचक वर्णन शैलीका कारण पढ्नलाई पट्यार लाग्दैन ।
प्राय: सबै निबन्धहरू लेखकले निजी जीवनमा देखेको र भोगेको विषयवस्तुसित सम्बन्धित छ, जसमा केही बाल्यकालमा देखे भोगेको र केही वयस्क भएपछि अनुभव गरिएका विषयहरू पर्दछन् ।
निबन्धहरू लेखकको निजी जीवनसित सम्बन्धित भए पनि यसबाट पाठकले तत्कालीन मध्यम परिवारको परिवेशलगायत देश विदेशमा भएका घटनावलीको राम्रै स्वाद लिन सक्छन् ।
नेपाल बैङ्क र एभरेष्ट बैङ्कको गरी लामो समय बैङ्किङ सेवामा व्यतीत गरेका ताम्राकारले खास गरी जागिरबाट अवकाश लिएपछि नै साहित्यिक क्षेत्रमा प्रवेश गरेको बुझिन्छ ।
तथापि लेखन शैली प्रखर रहेकाले उनको साहित्यिक भविष्य उज्वल देखिन्छ ।