२७ जेठ २०८३, बुधबार
कांग्रेस महाधिवेशन विवाद

विशेष महाधिवेशन नरोक्ने गगन–विश्वको घोषणापछि जटिल मोडमा कांग्रेस, देउवालाई धर्मसंकट !

पुस १८, २०८२
काठमाडौं
विशेष महाधिवेशन नरोक्ने गगन–विश्वको घोषणापछि जटिल मोडमा कांग्रेस, देउवालाई धर्मसंकट !

कार्यसम्पादन समिति बैठकको बहुमतबाट पार्टीको १५ औं महाधिवेशन २०८३ वैशाख २८ देखि ३१ सम्म गर्ने शुक्रबारको निर्णयपछि कांग्रेस विवाद नयाँ चरणमा प्रवेश गरेको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयलाई चुनौती दिँदै महामन्त्री गगन थापाले पुस २८–२९ का लागि बोलाइएको विशेष महाधिवेशन नरोकिने घोषणा गरेका छन् ।

महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै पुस २८–२९ गतेका लागि विशेष महाधिवेशन आव्हान गरेका थिए ।

महामन्त्रीद्वयले विशेष महाधिवेशनका लागि आव्हान गरेपछि पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार कार्यसम्पादन समितिको बैठक राख्न कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निर्देशन दिएका थिए ।

कार्यसम्पादन समिति बैठक राखिएपछि विशेष महाधिवेशनमा पेस गर्ने राजनीतिक प्रस्ताव तयार गर्न धुलिखेल गएका थापा शुक्रबार काठमाडौं फर्किए । कार्यसम्पादन समितिको बैठक अघि केही केन्द्रीय सदस्यसँग परामर्श पनि गरे ।

कार्यसम्पादन समिति बैठकमा संस्थापन पक्षको तर्फबाट केन्द्रीय समितिको कार्यकाल जेठसम्म लम्ब्याउने र वैशाखमा नियमित महाधिवेशन गर्ने प्रस्ताव आएपछि महामन्त्रीद्वयले प्रतिवाद गरेका थिए ।

‘विधानको एउटा धारा देखाएर केन्द्रीय समितिको कार्यकाल लम्ब्याउने, तर विधानकै अर्को धारामा रहेको विशेष महाधिवेशनबारे केही बोल्न पर्दैन भनेर यो बैठक उम्किन पाउँछ ?,’ गगनले प्रश्न गरे ।

केन्द्रीय समितिले निर्णय गरेर विशेष महाधिवेशनको निर्णय नगरेमा महामन्त्रीको अधिकार प्रयोग गरेर केन्द्रको तर्फबाट आफूहरूले महाधिवेशन बोलाउने थापाले बताए । विशेष महाधिवेशनको कार्यविधि त्यही नै बनाइने थापाले बताए ।

‘विशेष महाधिवेशन सम्बन्धमा केही नबोल्ने कार्यसम्पादन समितिको बैठकमा हामीले फरक मत राखेका छौं । फरक मत राखेर घरमा गएर सुत्ने होइन, हामी तोकिएको समयमै विशेष महाधिवेशन गर्छौं,’ थापाले भने ।

null

महामन्त्री थापाले आइतबारसम्म केन्द्रीय समिति बैठक राखेर महाधिवेशनबारे निर्णय गर्न सभापति देउवासँग आग्रह गरेका छन् । देउवाले त्यो तत्परता नलिए आफूहरूले विशेष महाधिवेशन गरिछाड्ने उनले बताए ।

नेता डा. शशांक कोइरालाका अनुसार कार्यसम्पादन समितिको बहुमतले वैशाख २८ देखि महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले फागुन २१ गतेको निर्वाचनको समेत तयारी गर्नुपर्ने भएकोले महाधिवेशनको मिति वैशाखमा तोकिएको जानकारी दिए । मिति वैशाखमा तोकिए पनि महाधिवेशन प्रक्रिया चलिरहेको दाबी उनले गरे ।

गगनको अडानले देउवालाई धर्मसंकट !

भदौ २३–२४ को घटनापछि उत्पन्न परिस्थितिमा कांग्रेसका बहुमत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउन भन्दै उपसभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए । सभापति देउवाको अनुपस्थितिमा विशेष महाधिवेशनको हस्ताक्षर बुझेका पूर्णबहादुर कार्यवाहक सभापति बने ।

विशेष महाधिवेशन गर्ने कि नियमित गर्ने भन्ने विवादले असोज २८ गते शुरू भएको केन्द्रीय समिति बैठक डेढ महिना अनिर्णित बन्यो । विशेष महाधिवेशन पक्षधर नेताहरूको समेत सहमतिमा पुस २६ देखि नियमित महाधिवेशन गर्ने निर्णय गर्दै केन्द्रीय समिति बैठक सकियो ।

महाधिवेशनका लागि गर्नुपर्ने वडा अधिवेशनको म्याद गुज्रेसँगै नियमित महाधिवेशनको कार्यतालिका भत्कियो । कार्यतालिका भत्किएसँगै हस्ताक्षरकर्ता प्रतिनिधि फेरि जुरमुराए र विशेष महाधिवेशनका लागि दबाब बढाए ।

हस्ताक्षरकर्ताको भावनालाई सम्बोधन गर्न भन्दै महामन्त्रीद्वय थापा र शर्माले केन्द्रीय कार्यालयको अधिकार प्रयोग गर्दै बिहीबार विशेष महाधिवेशन आव्हान गर्दै विज्ञप्ति जारी गरे ।

‘दोस्रोपटक पार्टी विभाजनको अपजस नबोक्ने’ बताउँदै आएका सभापति देउवाले पूर्णबहादुर खड्का र रमेश लेखकलाई बोलाएर विकसित अवस्थाबारे छलफल गरे । शुक्रबार बिहान देउवालाई भेट्न गएका डा. डिला संग्रौलासहितका केन्द्रीय सदस्यसँग देउवाले पार्टी फुट्न नदिने बताएका थिए ।

वैशाखमा महाधिवेशन गर्ने कार्यसम्पादन समितिको निर्णयलाई पार्टी कार्यालयबाटै चुनौती दिँदै विशेष महाधिवेशन नरोक्ने घोषणा गगनले गरे । ‘विशेष महाधिवेशनले पार्टी फुट्छ भने त्यस्तो विधान किन बनाइएको ? विधान पारित गर्नेले जवाफ दिनु पर्दैन ?,’ थापाले प्रतिप्रश्न गरे ।

विशेष महाधिवेशनबारे कांग्रेस विधानको व्यवस्था

विशेष महाधिवेशनले कांग्रेस विभाजनकै स्थितिमा पुग्छ कि भन्ने आशंकाले पार्टीका कार्यकर्ता तरंगित छन् । तर विशेष महाधिवेशन पक्षमा हस्ताक्षर गरेका नेता र महामन्त्रीद्वयले स्पष्टीकरण दिइरहेका छन्– ‘पार्टी फुट्दैन, फुटाउँदैनौं ।’

पार्टी बैठकअघि महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी फुट्ने हल्ला निराधार भएको र विधानको बाध्यकारी व्यवस्था कार्यान्वयन गर्न मात्र लागिएको प्रष्टीकरण दिए ।

‘कांग्रेसभित्रको अहिलेको विवाद इजरायल–प्यालेस्टाइनको जस्तो होइन र रुस-युक्रेन जस्तो होइन,’ शर्माले भने, ‘विधानको व्यवस्था अनुसार विशेष महाधिवेशन गरेर जाँदा पार्टी फुट्दैन ।’

गगन–विश्वले विशेष महाधिवेशन आव्हान गरेर नरोक्ने अडान लिएपछि देउवा निकै चिन्तित बनेका छन् । ‘सभापति तनावमा हुनुहुन्थ्यो, जुनसुकै उपाय अपनाएर भए पनि पार्टी विभाजन हुन दिन्न भन्नुभयो,’ शुक्रबार देउवालाई भेटेका एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने, ‘आज भोलिमै महामन्त्रीद्वयलाई बोलाएर कुरा गर्छु भन्नु भएको छ ।’​

null

बैठकमा भएको त्यो नोकझोक

कार्यसम्पादन समिति बैठकमा संस्थापन इतर समूहबाट ५ जनाले नेतृत्व परिवर्तन गरेर मात्र निर्वाचनमा जानुपर्ने अडान राखेका थिए । स्रोतका अनुसार महामन्त्रीद्वय थापा र शर्मा, अर्जुननरसिंह केसी, उमा रेग्मी, फर्मुला मन्सुरले नेतृत्व परिवर्तन गरेर चुनावमा जानु पर्ने बताएका थिए ।

संस्थापन पक्षका नेताहरूले विशेष महाधिवेशनले पार्टी फुटाउँछ भन्ने खालको अभिव्यक्ति दिएपछि महामन्त्रीद्वयले वर्षौंसम्म रजगज गरेकाले बोल्ने भाषा भएको टिप्पणी गरेका थिए ।

‘पार्टी हामीले फुटाउने होइन, यही पार्टीको नेतृत्व लिन भनेर हामीले संघर्ष गरिरहेका छौं । विशेष महाधिवेशनमा गएर हामीलाई हराएर पार्टीको नेतृत्व लिए हुन्छ,’ थापाले चुनौती दिँदै भने, ‘वर्षौंसम्म पार्टीमा रजगज गरेर बसेकाहरूको चाहना होला फुटाउने । हाम्रो छैन ।’

सहमहामन्त्री फर्मुल्ला मन्सुरले वैशाखमा महाधिवेशन सार्ने नियतमा शंका छ भनेपछि विमलेन्द्र निधि र उमाकान्त चौधरीले नियत भन्ने शब्द फिर्ता लिनुपर्ने बताएका थिए ।​

‘हामी सिंगो कांग्रेसको नेतृत्व गर्न चाहन्छौं, दृढतापूर्वक भन्छु– हामी नेतृत्व गर्नेछौं । कांग्रेस छाडेर जालान् या फुटाउँलान् भन्ने कसैले नसोच्नु । हामी पर्खिन्छौं पनि फर्किन्छौं पनि,’ शर्माले बैठकमा भनेका थिए ।​​

पढ्नुहोस् यो पनि

भत्कियो कांग्रेसको महाधिवेशन कार्यतालिका, गगनको नयाँ प्रस्तावमा संस्थापन पक्षको 'अब्जेक्सन'

चुनावमा असर पर्छ भनेर पहिले महाधिवेशन नगरौं भनेको हुँ, गर्ने नै भए बाधक बन्दिनँ– देउवा

salt training

कमेन्ट गर्नुहोस्