२७ जेठ २०८३, बुधबार

मौसमी फ्लु र चिसोसँगै टाउको दुखाइका बिरामी बढ्दै

पुस २१, २०८२
विराटनगर
मौसमी फ्लु र चिसोसँगै टाउको दुखाइका बिरामी बढ्दै

तराई क्षेत्रमा चिसो बढेसँगै टाउको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या वृद्धि भएको छ । चिकित्सकहरूका अनुसार चिसो हावा, तापक्रममा आएको अचानक परिवर्तन, शरीरमा पानीको कमी, साइनसको समस्या तथा घाँटी र काँध क्षेत्रका मांसपेशी कडा हुनु जस्ता कारणले जाडो मौसममा टाउको दुखाइ बढ्ने गरेको छ ।

कोशी अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन डा. रोशन खड्काका अनुसार जाडो मौसमले शरीरको ताप सन्तुलन र रक्तसञ्चार प्रणालीमा प्रत्यक्ष असर पार्ने भएकाले यो समयमा टाउको दुखाइको समस्या लिएर आउने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएको छ ।

उनका अनुसार जाडो मौसममा शरीरको तापक्रम घट्दा रक्तनलीहरू सङ्कुचित हुन्छन्, जसका कारण टाउकोतर्फ जाने रक्तप्रवाहमा कमी आउँछ ।

डा. खड्काका अनुसार जाडो मौसममा देखिने टाउको दुखाइको अर्को प्रमुख कारण शरीरमा पानीको कमी (डिहाइड्रेसन) हो । जाडोमा तिर्खा कम लाग्ने भएकाले मानिसहरूले पानी कम पिउने गर्छन्, तर शरीरलाई आवश्यक पानीको मात्रा जाडोमा पनि उत्तिकै हुने उनको भनाइ छ । 
चिसो हावाले घाँटी र काँध क्षेत्रका मांसपेशीमा प्रत्यक्ष असर पार्ने हुँदा टाउको पछाडिबाट सुरु भएर अगाडितर्फ फैलिने दुखाइ देखिने चिकित्सकहरूको अनुभव छ । विशेषगरी मोटरसाइकल चलाउँदा घाँटी नछोप्ने, राति चिसोमा सुत्ने तथा लामो समय एउटै आसनमा बस्ने व्यक्तिमा यस्तो समस्या बढी देखिने गरेको डा. खड्काले जानकारी दिए । 

यसैगरी जाडो मौसममा नाक बन्द हुने, अनुहार भारी महसुस हुने, आँखाको वरिपरि च्यापिएको जस्तो दुख्ने तथा टाउकोको अगाडिको भाग दुख्ने समस्या पनि बढ्ने गरेको छ । साइनस सङ्क्रमण वा एलर्जी भएका व्यक्तिमा समयमै उपचार नगरे टाउको दुखाइ लामो समयसम्म रहने र कहिलेकाहीँ जटिल अवस्था पनि आउन सक्ने चिकित्सकहरूको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्