
मुक्तिनाथ विकास बैंक लिमिटेड उन्नाइसौं वर्ष पूरा गरी बीसौं वर्षमा प्रवेश छ । यस अवसरमा बैंकले पुस १९ गते देशभर विविध कार्यक्रम गरेको छ ।
बैंकले केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौं, क्षेत्रीय कार्यालय जनकपुर, नारायणगढ, धादिङ, पोखरा, इटहरी, बुटवल र लम्कीमा आयोजित बृहत रक्तदान कार्यक्रममा कूल ७५५ युनिट रगत संकलन गरी स्थानीय रक्तसञ्चार गृहलाई हस्तान्तरण गरेको छ ।
सोही अवसरमा ‘सन् २०५० मा मेरो नेपाल’ शीर्षकमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीबीच राष्ट्रव्यापी चित्रकला प्रतियोगिता गरेको छ ।
उक्त प्रतियोगितामा देशभरका कूल ७९१ विद्यार्थी सहभागी भएका थिए । सर्वोत्कृष्ट चित्रको सिर्जनाकार काठमाडौंबाट रिया खड्काले प्रथम स्थान हासिल गरी ५० हजार नगद र प्रमाण पत्र, हरेक क्षेत्रीय कार्यालय अन्तर्गतको उत्कृष्ट चित्रकारलाई जनही १० हजार नगद र प्रमाण पत्र प्रदान गरिएको प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।
उपरोक्त प्रतियोगितामा सम्बन्धित विषयका स्वतन्त्र विशेषज्ञको छनोटको आधारमा पुरस्कार घोषणा गरिएको थियो । साथै, बैंकले सात वटै प्रदेशलाई समेटिने गरी विभिन्न विद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति, विभिन्न विद्यालयका विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण, बागमती सफाइ महाअभियानलाई सफाइ सामाग्री हस्तान्तरण, गैरनाफामूलक सामाजिक संस्था जस्तै; सेवा आश्रमलाई न्यानो सिरक, डस्नाको सहयोग, फोहोर व्यवस्थापनका लागि डस्टबिन वितरण, हुम्ला जिल्लाको अदानचुली गाँउपालिकाको दुर्गम गाउँका गरिब तथा विपन्न वर्गका व्यक्तिलाई जिविकोपार्जनका लागि सिलाई मेसिन वितरण, ई–नेबल नेपालमार्फत बालबालिकालाई कृत्रिम हात हस्तान्तरण जस्ता विभिन्न सामाजिक कार्य गरेको छ ।

बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लले गरे भने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समिर शेखर बर्जाचार्यले स्वागत मन्तव्य, बैंकको अवस्था, प्रगति तथा विभिन्न क्रियाकलाप बारेमा प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले राखेका थिए ।
उक्त कार्यक्रममा मुक्तिनाथ विकास बैंकको संस्थागत गीत विमोचन, संस्थामा १० वर्ष सेवा अवधि पूरा गरेका ४७ जना कर्मचारीलाई सम्मान पनि गरिएको थियो ।
सो कार्यक्रममा बैंकका सञ्चालक, सेयरधनी, सेवाग्राही तथा कर्मचारीको उपस्थिति रहेको थियो ।