
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच भेटवार्ता भएको छ । विशेष महाधिवेशनमा नयाँ नेतृत्व चुन्न निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला विवाद समाधानका लागि महामन्त्रीद्वय र सभापति देउवाबीच भेटवार्ता भएको नेता देवराज चालिसेले जानकारी दिए ।
उनका अनुसार देउवा निवास महारजगञ्जमा जारी वार्तामा कार्यबाहक सभापति पूर्णबहादुर खड्कालगायत नेताहरू पनि सहभागी छन् । यसैगरी, संस्थापन पक्षधरका बालकृष्ण खाँण र रमेश लेखक, शेखर पक्षका मिनेन्द्र रिजालसहित नेताहरू पनि देउवा निवासमा रहेको अर्का एक नेताले जानकारी दिए ।
आजको वार्तामा मंगलबार मिल्न बाँकी रहेका विषयमा सहमतिको प्रयास हुनेछ ।
विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच मंगलबार दिनभर र गएराति चलेका विभिन्न चरणका वार्ता निष्कर्षविहीन भएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको छ । विशेष महाधिवेशनअन्तर्गत आजदेखि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइएको छ ।
सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि सहमति जुट्न नसकेको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार अब निर्वाचनमार्फत् नै पार्टीको नेतृत्व परिवर्तन गर्ने प्रक्रिया शुरू गरिएको हो । विशेष महाधिवेशनले यसअघि नै नयाँ नीति पारित गरिसकेको छ । महामन्त्रीद्वयले पेश गरेका दुई प्रतिवेदन बन्दसत्रबाट मंगलबार पारित गरिएको थियो ।
यता, विशेष महाधिवेशन प्रचार-प्रसार उपसमिति संयोजक सुवास पोखरेलले संस्थापन पक्षले अझै पनि अन्तिम वार्ताको प्रयास गरिरहेको बताए । यद्यपि, वार्ताको ढोका खुला राख्दै निर्वाचनलाई निरन्तरता दिइएको उनले बताए । संस्थापन पक्ष विशेष महाधिवेशनको अपनत्व लिन तयार भए पनि सभापति देउवा नेतृत्व हस्तान्तरण गर्न तयार नहुँदा सहमति नजुटेको पोखरेलले बताए।