
एन्थ्रोपिकको नयाँ इकोनोमिक इन्डेक्स प्रतिवेदनअनुसार भारतमा क्लाउडी एआईको प्रयोग तीव्र गतिमा बढिरहेको छ, जसको प्रमुख कारण सफ्टवेयर तथा प्राविधिक विकाससम्बन्धी कामहरू हुन्। प्रतिवेदनले भारतलाई क्लाउडी एआई प्रयोगमा विश्वमै दोस्रो स्थानमा राखेको छ।
भारतमा क्लाउडीका शीर्ष १० प्रयोगमध्ये पाँचवटा सफ्टवेयर विकास श्रेणीमा पर्छन्। समग्र प्रयोगको करिब ४५.२ प्रतिशत कम्प्युटर र गणितसम्बन्धी काममा केन्द्रित छ। यसले भारतको बलियो डेभलपर आधार र नयाँ प्रविधि अपनाउने क्षमताको संकेत गर्छ।
भारतको Anthropic AI Usage Index (AUI) ०.२२ रहेको छ। यो सूचकांकले कुनै देशको कार्ययोग्य जनसंख्याको आकारको तुलनामा क्लाउडीको प्रयोग कति बढी वा कम छ भन्ने मापन गर्छ। AUI १ भन्दा माथि भए जनसंख्याको आकारले अनुमान गरेभन्दा बढी प्रयोग भएको मानिन्छ, भने १ भन्दा तल भए अपेक्षाभन्दा कम प्रयोग भएको जनाउँछ।
भारतमा क्लाउडीको प्रयोग सीएसएस, एचटीएमएल र यूआई स्टाइलिङ कार्यमा विश्व औसतको तुलनामा दोब्बर बढी देखिएको छ। वेब एप्लिकेसन बनाउने र डिबग गर्ने काममा १.७ गुणा बढी प्रयोग भएको प्रतिवेदनमा उल्लेख छ। साथै, च्याटबोट र वर्कफ्लो अटोमेसनजस्ता एआई प्रणाली विकासमा पनि भारतीय प्रयोगकर्ताको सहभागिता १.५ गुणा बढी छ।
सफ्टवेयर विकासबाहेक पनि भारतमा क्लाउडीलाई करियर उन्नति, रोजगारी खोज, व्यावसायिक सीप विकास, STEM विषयका शैक्षिक काम र उद्यमशीलतासम्बन्धी व्यवसाय योजना बनाउन प्रयोग गरिएको देखिन्छ।
विश्वस्तरमा क्लाउडीको प्रयोग अझै पनि मुख्यतः कोडिङसम्बन्धी काममा केन्द्रित छ। अमेरिका, भारत, जापान, बेलायत र दक्षिण कोरिया क्लाउडी एआई का प्रमुख प्रयोगकर्ता मुलुक हुन्। सीमित संख्याका देशले कुल प्रयोगको ठूलो हिस्सा ओगटेको प्रतिवेदनले देखाएको छ।
हाल ४९ प्रतिशत पेशागत काममा कम्तीमा चौथाइ कार्यमा एआई प्रयोग भइरहेको छ, जुन अघिल्लो अध्ययनमा ३६ प्रतिशत थियो।
प्रतिवेदनले एआईको प्रभाव सबै पेशामा समान नहुने स्पष्ट पारेको छ। रेडियोलोजिस्ट र थेरापिस्टजस्ता पेशामा एआईले समय लाग्ने काम सम्हालिदिँदा पेशागत क्षमता अझै सुदृढ हुन सक्ने उल्लेख छ। तर डेटा इन्ट्री, केही आईटी भूमिका र ट्राभल एजेन्टजस्ता क्षेत्रमा एआईले ठूलो हिस्सा काम सम्हाल्दा सीप सिमित हुने जोखिम देखिन्छ।
देशअनुसार प्रयोगमा फरक ढाँचा देखिएको छ। ब्राजिलमा कानुनी कामका लागि एआई प्रयोग बढी छ भने जापानमा कथा लेखनमा, र इन्डोनेसियामा शैक्षिक तथा पाठ्यक्रमसम्बन्धी काममा क्लाउडीको प्रयोग अग्रस्थानमा छ।
यो प्रतिवेदन क्लाउडी एआई Free, Pro र Max का प्रयोगकर्तासँग भएका कुराकानीको नमूना र एपीआई ट्राफिकका ट्रान्सक्रिप्ट विश्लेषणमा आधारित छ। नमूनाहरू २०२५ नोभेम्बर १३ देखि २० सम्मका हुन्, जुन Opus 4.5 सार्वजनिक हुनुअघि सङ्कलन गरिएको हो।