
के तपाईंलाई ८ घण्टा सुतिसकेपछि पनि शरीर थकित र दुखेको महसुस हुन्छ ? सानो काम वा बिहान ओछ्यानबाट उठ्नु नै पहाड चढेजस्तै लाग्छ ? यदि यस्तो हो भने सचेत हुनुस् । यो केवल सामान्य थकान होइन, ‘बर्नआउट’ को संकेत हुन सक्छ । यसलाई सधैँ ‘कामको प्रेसर’ भनेर टार्दै आउनुभएको छ भने सावधान रहनुस् । यसले दीमकझैँ बिस्तारै स्वास्थ्य बिगार्दै लैजान्छ ।
बर्नआउट के हो ?
कुनै व्यक्तिले शारीरिक, मानसिक र भावनात्मक रूपमा पूर्ण रूपमा थिचिएको वा निचोरिएको महसुस गर्नुलाई बर्नआउट भनिन्छ । यस अवस्थामा कुनै पनि काममा मन नलाग्ने तर निरन्तर काम गरिरहने प्रवृत्ति देखिन्छ । समस्या के भने धेरैजसो मानिसहरू पूर्ण रूपमा थाकिसकेपछि मात्र यसलाई चिन्छन् । विशेषगरी सधैँ व्यस्त रहन रुचाउने मानिसहरूलाई आफू क्षमताभन्दा बढी काम गरिरहेको अनुभूति नै हुँदैन ।
बर्नआउटका प्रमुख लक्षण
– सधैँ निद्रा लागिरहने र सामान्य काम सम्पन्न गर्न पनि धेरै समय लाग्ने
– आफूले गरेको कामको कुनै अर्थ छैन जस्तो लाग्नु वा काममा जानु पर्यो भन्ने सोचले नै डर लाग्नु
– सानो कुरामा पनि चिडचिडाहट हुनु, झर्को लाग्नु र साथी–परिवारबाट टाढिँदै जानु
– अत्यधिक खाने वा बिल्कुलै नखाने बानी लाग्नु, निद्रामा पनि अत्यधिक सुत्ने वा निद्रै नलाग्ने समस्या देखिनु
– निरन्तर तनावका कारण टाउको दुख्नु (विशेषगरी निधारमा भारीपन), पेट खराब हुनु वा कम्मर दुखिरहनु
बर्नआउट किन हुन्छ ?
– लामो समयसम्म आराम नगरी निरन्तर काम गर्नु
– काम र व्यक्तिगत जीवनबीच सन्तुलन नहुनु
– आफैंबाट आवश्यकता भन्दा धेरै अपेक्षा राख्नु
– ‘ना’ भन्न नसक्नु
– सधैँ फोन र इमेलमा उपलब्ध रहनु
बर्नआउटबाट कसरी बच्ने ?
– लगातार काम नगर्नुस्। कामको बीच–बीचमा रोकिएर ब्रेक लिनुस् । मेशिनजस्तै निरन्तर काम नगर्नुस् ।
– अफिसको काम अफिसमै सीमित राख्नुस् । घरमा ल्यापटप र अफिसका कलबाट दूरी बनाउने प्रयास गर्नुस् ।
– ‘ना’ भन्न सिक्नु तपाईंको स्वास्थ्यका लागि अत्यन्त जरुरी छ ।
– सुत्ने, खाने र साथीहरूसँग रमाइलो गर्ने समय पनि छुट्याउनुस् । यसले मन ताजा बनाउन मद्दत गर्छ ।
– जिम जानुस्, हिँडडुल गर्नुस् वा घरमै हल्का स्ट्रेचिङ गर्नुस् । व्यायामले मूड राम्रो बनाउँछ र निद्रा पनि राम्रो हुन्छ ।
– पेन्टिङ, संगीत वा मनपर्ने कुनै पनि सिर्जनात्मक गतिविधिका लागि समय निकाल्नुस् ।
– समस्या धेरै गम्भीर महसुस भएमा थेरेपिस्ट वा काउन्सेलरको सहयोग लिन नहिच्किचाउनुस् ।