
देशभर चलिरहेको ‘यसपटक नयाँलाई’ भन्ने मतदाताहरूको ट्रेन्डका कारण नेकपा एमालेका महासचिव शंकर पोखरेललाई चुनावको नतिजा आफ्नो पक्षमा पार्न सकस पर्ने देखिएको छ ।
देशका अन्य भागमा जस्तै दाङ २ मा पनि बहुसंख्यक मतदाताको मनोविज्ञान ‘यसपटक नयाँलाई अवसर दिने’ भन्ने पाइएको छ । विगतमा पटक पटक कांग्रेस–एमालेलाई मत दिएका मतदाताले खुलेरै यसपटक नयाँलाई दिने भनिरहेका छन् ।
लोकान्तरसँग सम्पर्कमा आएका मतदातामध्ये बहुसंख्यक/अत्यधिक मतदाताले (निर्वाचन आचारसंहिताका कारण प्रतिशत नखुलाइएको) नयाँ राजनीतिक दलप्रति आफूहरूको आकर्षण रहेको स्पष्ट अडान देखाए ।
‘नयाँलाई एकपटक चान्स दिने’ भन्नेमा नेकपा एमालेकै शुभेच्छुक पनि छन्, तर उनीहरूले खुलेर भन्न सकिरहेका छैनन् । ‘पार्टी नबदल्ने, मत बदल्ने’ मनोविज्ञान मतदाताहरूको देखिन्छ ।
सोमबार बजार गर्न घोराही बजारमा आएका खुसीलाल चौधरीले यसपटक नयाँलाई भोट दिने सल्लाह चलिरहेको बताए । ‘दुख:बिमार र सामाजिक कामका लागि पनि हामीले आस्था राखेको दल फेर्दैनौं, तर यसपटक भोट नयाँलाई दिन्छौं’, चौधरीले भने ।
शंकर पोखरेलको स्थायी निवास रहेको तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरीकी जयन्ती शर्माले यसपटक नयाँ दललाई भोट दिने योजना रहेको बताइन् । ‘म मात्र होइन हाम्रो महिला समूहमा रहेका सबै दिदीबहिनीको सल्लाह यसपटक नयाँलाई दिऔं भन्ने छ’, शर्माले भनिन्, ‘पुराना दललाई पटक-पटक दिएका हौं । उनीहरूले हाम्रा आशा अपेक्षा पूरा गर्न सकेनन् ।’

नेताले आफ्ना आफन्त, आसेपासे र नातागोता बाहेक कसैलाई नहेरेको गुनासो उनले गरिन् ।
प्रदेश राजधानी दाङ लगेकोमा छैन जस, मतदातालाई ‘बाल मतलब !’
२०७४ सालमा मुख्यमन्त्री रहेको बेला पोखरेलले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ लैजाने निर्णय गराएका थिए । प्रदेश राजधानी पायक नपर्ने ठाउँमा लगिएको भन्दै अधिकांश जिल्लामा विरोध भइरहेको छ । तर, दाङका मतदाता प्रदेश राजधानी ल्याएको भन्ने कुरासँग सहमत छैनन् ।
‘प्रदेश राजधानी दाङ ल्याएको भन्ने कार्ड अघिल्लो चुनावमै असफल’ भएकोले यसपटक मतदाता त्यो कुरा सुन्ने पक्षमा देखिएनन् । प्रदेश राजधानी ल्याएको जस कसैले दिएनन् ।
बिजौरीमा सानो फेन्सी पसल चलाउँदै आएकी गीता बुढाले प्रदेश राजधानीसँग सरोकार नभएको बताइन् । ‘यो अगाडिको सडक हेर्नुस् न कस्तो छ, दिनदिनै दुर्घटना भइरहेको छ । धुलोले यहाँ हामीलाई बस्न सास्ती छ’, बुढाले भनिन्, ‘शंकर पोखरेल हाम्रो गाउँको नेता हो, तर हामीले यसपटक नयाँलाई दिने हो ।’
बिजौरीकै मीरा केसीले पनि यसपटक नयाँलाई भोट दिने योजना रहेको बताइन् । ‘कांग्रेस–एमालेलाई पटक पटक दिएकै हो, यसपटक नयाँलाई परीक्षण गर्ने हो । उनीहरूबाट पनि धोका भयो भने फेरि सोचौंला’, केसीले भनिन् ।
बिजौरीमै किराना पसल गर्ने मेघराज पोखरेल यसपटक मतदाता एकहोरिएको बताउँछन् । ‘मतदाताहरू यसपटक नयाँ भनिरहेका छन्, मैले घण्टीमा भोट हाल्ने हो’, पोखरेलले भने ।

नेकपा एमालेका ‘हेभिवेट’ उम्मेदवार पोखरेल उम्मेदवार रहेको दाङ २ मा नेपाली कांग्रेसका किरण किशोर घिमिरे, नेकपाका निर्मल आचार्य, रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य उम्मेदवार छन् । ०७९ सालमा तत्कालीन माओवादीकी रेखा शर्मा विजयी भएको यो क्षेत्रमा अहिले राप्रपाबाट ऋषिकेश पोखरेल र राष्ट्रिय जनमोर्चाबाट मणिराम पोखरेल उम्मेदवार छन् ।
०७९ सालको चुनावमा शर्माले २६ हजार ८ सय ८० मत पाउँदा पोखरेलले २६ हजार ६८७ मत पाएका थिए । रास्वपाका विशाल अधिकारीले १५ हजार ८ सय ६१ मत पाएका थिए । मतदाताहरूको सोचाइमा १८० डिग्रीको परिवर्तन आएका कारण त्यो अंकगणित यसपटक कुनै औचित्य देखिँदैन । कुनैबेला माओवादीको प्रभाव रहेको र कृष्णबहादुर महराले पटक-पटक चुनाव जितेको यो क्षेत्रमा उनीहरूको पनि कसैले नाम लिँदैन ।
‘छोरीले अस्ट्रेलियाबाट फोन गरेर मन बदल्दिइन्’
दाङ हापुरका भरत केसी यातायात व्यवसायी हुन्, विदेशमा रहेका छोराछोरीको सुझावका आधारमा यसपटक मत बदल्ने योजना बनाएको उनले बताए । ‘छोरीले अस्ट्रेलियाबाट फोन गरेर यसपटक नयाँलाई भोट दिनुपर्छ भनिन्, हामीले पनि सोच बदलेका छौं । ९८ वर्षको बुवा (टीकाराम केसी)ले पनि यसपटक नयाँलाई भोट दिनुहुन्छ, बोलिचालिको भाषामा उहाँ विगतमा कालो कांग्रेस हो’ केसीले भने ।
पुराना राजनीतिक दलले जनताको अपेक्षा अनुसार काम नगरेका कारण मतदाताको मत बदलिएको उनले बताए । ‘घोराही १२ को हाम्रो टोलमा ५८ जना मतदाता छौं, ५ जनामध्ये अधिकांशले यसपटक नयाँलाई दिने भनिरहेका छन्’, केसीले भने, ‘बालेन प्रधानमन्त्री बन्ने कुराले उत्साही छौं । फागुन ८ गते बालेन र रविको दाङमा हुने आमसभाका लागि २ वटा बस दिनभरिका लागि फ्रीमा दिने निर्णय गरेको छु ।’
घोराही १७ मा पसल गरिरहेका वीरेन्द्र श्रेष्ठ एमाले एमाले अध्यक्ष केपी शर्मा ओलीको छुद्र बोलीका कारण देशभर उनीहरूको माहोल बिग्रेको बताउँछन् । ‘जेनजी आन्दोलनमा भागेपछि पनि ओली सुध्रेनन्, उनको छुद्र बोलीले मान्छे आक्रोशित बनेका छन् । अहिले पनि चुनाव भाँड्न लागेजस्तो देखिन्छ’, श्रेष्ठले भने, ‘हामी पुरानो पार्टीमै आस्था राख्ने मान्छे हौं, तर यसपटक नयाँलाई हेर्छौं ।’
६ वर्ष साउदी अरेबियामा बसेर फर्केका घोराही १४ का प्रदीप चौधरी अटोरिक्सा चलाउँछन् । अन्य मतदाताजस्तै उनको मन पनि यसपटक नयाँलाई हेरौं भन्ने छ । ‘हाम्रो गाउँटोलमा सबैले घण्टी घण्टी भनेको सुनिन्छ, यसपटक नयाँलाई दिने हो’, चौधरीले भने ।
नयाँलाई भोट दिन्छौं भनिरहेका व्यक्तिहरू आफूहरूको ठूलो अपेक्षा नरहेको बताउँछन् । ‘यही देशमा बसेर गरिखान पाउँ भन्ने हो । देशमा परिवर्तन होस् भन्नका लागि यसपटक हामी नयाँलाई भोट दिने निचोडमा पुगेका छौं’, घोराहीमा सानो फलफूल पसल र अटोरिक्सा चलाउँदै आएका लालबहादुर गिरीले भने ।

दाङ २ कै अर्का मतदाता अजय सुनारले सबैले यसपटक नयाँप्रति आशा राखेको बताए । ‘बालेन प्रधानमन्त्री बन्ने कुराले धेरैको मन खिचेको छ । काठमाडौंमा जस्तै यहाँ पनि विकास हुन्छ कि भन्ने आशा छ’, सुनारले भने ।
रोल्पा स्थायी घर भइ हाल दाङ २ मा बसोबास गर्दै आएका र यहीँका मतदाता गिरी बहादुर घर्ती पुराना दलबाट धोका खाएर मतदाताले यसपटक नयाँलाई भोट दिने कुरा गरिरहेको बताए । ‘यहाँ पसलमा आउने सबैले नयाँलाई भोट दिने भन्ने गरेको सुन्छु, मेरो पनि विचार त्यस्तै हो’ घर्तीले भने ।
‘अस्पतालमा बेडका लागि भनसुन गर्नु नपरोस्, बास यत्ति चाहन्छौं’
घोराही ६ का सागर गिरी विदेश जाने सपना त्यागेर गाउँमै बसिरहेका छन् । घोराही बजारमा उनले सानो व्यवसाय गरेका छन् । बालेन प्रधानमन्त्री बन्ने कुराले उत्साहित उनी देशमा सामाजिक न्याय स्थापना हुन्छ कि भन्ने आशमा नयाँलाई भोट दिने योजना बनाएको बताए ।
‘हेर्नुस् सर, यो मेरो सानो पसलमा काठमाडौंबाट सामान ल्याउँदा बीचमा प्रहरीलाई घुस दिनुपर्छ । यस्तो पनि हुन्छ!?’ उनले भने, ‘कम्तीमा अस्पतालमा बेड पाउनका लागि सोर्स लगाउनु नपरोस्, बास हामीले चाहेको त्यही हो । आफ्नो दु:ख आफ्नो ठाउँमा गरेकै छौं ।’
सानो जुत्ता पसलसहित पुरानो जुत्ता सिउँदै गरेका शिवराज नेपाली देशमै काम गरेर बस्न सक्ने वातावरणका लागि यसपटक मतदाताले मन परिवर्तन गरिरहेको बताए । ‘मेरो दाजु देशका रोजगारी नपाएर विदेश जानुभयो, बाकसमा फर्केर आउनु भयो । यस्तो नहोस्, देशमै रोजगारी पाइयोस् । विगतमा जिताएका दलले जनताको भावना बुझेनन्’, घोराही १२ का शिवराज नेपालीले भने ।
घोराहीकै पार्वती चौधरीले यसपटक नयाँलाई भोट दिने विचार रहेको बताइन् । ‘हामी धेरै कुरा बोल्न जान्दैनौं, जनतालाई राम्रो होस् भनेर भोट नयाँलाई दिने हो’, उनले भनिन् । हामीले कुरा गरेका कतिपय मतदातालाई यो क्षेत्रमा रास्वपाको को उम्मेदवार छ भन्ने जानकारी समेत छैन ।

घोराही १० का गणेश कार्की विगतमा कांग्रेस-एमालेलाई भोट दिएका मतदाताले पनि यसपटक खुलेआम नयाँलाई भोट दिने भनिरहेको बताए ।
कतिपय महिला मतदाताले विदेशमा रहेका पति र छोराछोरीले नयाँलाई हाल्नु भनेर दिनमा ३ पटक फोन गर्ने गरेको बताए ।
‘खहरेले ठूला रूख पनि पल्टाइदिन्छ’
तुलसीपुर १७ का सूर्य बस्नेत यसपटक जनतामा एकप्रकारको आक्रोश देखिएको बताउँछन् । ‘दलका प्रतिबद्ध कार्यकर्ता बाहेक स्वतन्त्र मतदाता यसपटक नयाँको पक्षमा देखिन्छन्, नयाँको नामको यो खहरे कति लामो जान्छ भन्न सकिँदैन’ बस्नेतले लोकान्तरसँग भने, ‘खहरेले कहिलेकाहीँ ठूला ठूला रूख पनि पल्टाइदिन्छ, यसपटकको चुनाव त्यस्तै हुँदैछ ।’
खेतका काम गरिरहेका तुलसीपुर १७ मजगैराका अमर केसी पुराना दललाई दिँदा दिँदा वाक्क भएर मतदाताले यसपटक मन परिवर्तन गरेको बताउँछन् । ‘जनताहरू पुरानाको कुरा सुन्न तयार नै छैनन्, यसपटक नयाँलाई हेरौं न त भनिरहेका छन् । चुनाव रोकिएन भने यसपटक नयाँले लैजान्छन्’, केसीले भने ।
तुलसीपुर १७ का कालिचरण चौधरीले यसपटक नयाँलाई दिने भन्ने चर्चा रहेको बताए । ‘धेरैले नयाँलाई प्राथमिमता दिने भनिरहेका छन्, नयाँलाई दिँदा के हुने हो भनेर पनि मान्छेहरू सोचिरहेका छन्’, घर बनाउने मिस्त्री काम गर्ने चौधरीले भने ।
यसअघि नेकपा एमालेलाई भोट दिँदै आएका नारायण अधिकारी यसपटक पुरानोलाई भोट दिने पक्षमा नरहेको बताए । ‘यत्रो आन्दोलन भयो, युवाहरूले केही गर्छौं भनेका छन् । यसपटक नयाँलाई दिने भन्ने घरसल्लाह छ’, अधिकारीले भने ।
घोराही ९ मकण्डाडाका छविलाल केसीले अधिकारीको कुरामा सहमति जनाए । ‘तपाईंहरूलाई लुकाउनु पर्ने केही छैन, यसपटक नयाँलाई दिने हो । जसले जे भनेपनि हामी परिवर्तन हुँदैनौं’, केसीले भने ।
इँटाभट्टामा काम गर्ने लालबहादुर विकले यसपटक नयाँलाई दिने भन्ने चर्चा सुनिरहेको बताए । ‘इँटाभट्टामा काम गर्नेलाई राजनीतिको कुरा थाहा हुन्न । लास्टसम्म के हुन्छ हेरौं । घण्टीलाई नै दिने कि भन्ने छ । काम गर्नेहरूको त्यस्तै सल्लाह छ’, विकले भने ।

मतदान गर्ने बेलासम्ममा माहोल बन्ने कांग्रेस-एमालेको आश
कांग्रेस–एमाले र नेकपाका स्थानीय कार्यकर्ता भोट हाल्ने बेलासम्म मतदाताहरू पुरानै पार्टीमा फर्किने दाबी गर्छन् । अधिकांश क्षेत्रमा दलका गढ र विरासत भत्किएको भए पनि आफूहरूको संगठन नै चुनाव जित्ने आधार भएको दाबी उनीहरूको छ ।
घोराही १७ का नेकपा एमालेका वडा सदस्य विजयकुमार लम्सालले अहिले नयाँ नयाँ भनिरहेका मतदाता अन्तिममा कन्भिन्स हुने दाबी गरे । ‘दाङको विकासका लागि शंकर पोखरेललाई जिताएर पठाउनुपर्छ भन्ने मतदाताको भावना छ’, लम्सालले लोकान्तरसँग भने ।
घोराही १० की वडा सदस्य प्रज्ञा बुढा पनि अन्तिमसम्ममा एमालेको पक्षमा माहोल फर्किने विश्वासमा छिन् । ‘केन्द्रीय नेता उम्मेदवार हुनुहुन्छ, दाङका जनताले यसपटक उहाँलाई भोट दिनुहुन्छ भन्ने आश छ’, बुढाले भनिन् ।

नेपाली कांग्रेसका क्रियाशील सदस्य प्रेमबहादुर रावत अहिले नयाँको पक्षमा चर्चा भए पनि अन्तिममा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने दाबी गर्छन् । ‘मान्छेहरू नयाँ-नयाँ भनिरहेका छन्, तर उनीहरूले देश चलाउन सक्छन् कि सक्दैनन्, त्यो प्रश्न बाँकी छ’ राउतले भने ।
किन नयाँ-नयाँ भनिरहेका छन् मतदाता ?
तुलसीपुर उपमहानगरपालिका–१८ का लेखराज नेपालीले यो पटक दाङ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर देख्छन् । छाला जुत्ता दोकान सञ्चालक समेत रहेका युवा नेपालीले ९९ प्रतिशत रास्वपाले जित्ने दाबी गर्छन । ‘यो क्षेत्रमा रास्वपाका युवा नेता विपिनकुमार आचार्य उम्मेदवार हुनुहुन्छ’, नेपाली भन्छन्, ‘हाम्रो घरमा १० वटा मत छन्, म र मेरो श्रीमती तुलसा नेपालीसहित सबैको भोट यो पटक घण्टीमा जान्छ ।’

‘यसअघि हामीले एमालेलाई भोट दिएका थियौं । यिनीहरुले भ्रष्टचारीलाई संरक्षण गरेर हामीजस्तो गरिखानेलाई वातावरण बनाउन सकेनन । त्यही भएर यो पटक मत बदल्न लागेका हौं । मैले कुनै पार्टी सदस्यता लिएको छैन’, उनले निर्धक्क भने ।
तुलसीपुर उपमहानगरपालिका–१८ का प्रकाश केसी पनि यो पटक रास्वपालाई रोज्ने मनस्थिति बनाएका छन् । गत निर्वाचनमा उनले माओवादी हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई मतदान गरेका थिए । ‘यो पटक मैले घण्टी भोट हाल्ने हो’ उनी भन्छन्, ‘विगतका निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई जिताइयो । तर, विकास गरेनन् । आफू आफू लडेर देशलाई ध्वस्त बनाउन लागे ।’
‘अबको चुनावमा नयाँलाई विचार गर्ने हो । गर्लान् नगर्लान् आफ्नो ठाउँमा छ । यिनीहरू पनि यस्तै रहे अर्को चुनावमा यिनीहरू पनि सकिन्छन् । पुराना पार्टीका अगाडि पछाडि गर्नेले भोट हाल्लान् तर, जनताको उनीहरूको पक्षमा देखिँदैन’, केसीले थपे ।
घोराही उपमहानगरपालिका–१५ कि शान्ता पराजुलीको मतदान गर्न यो पटक होइन गएको निर्वाचनमा नै मन बदलिएको रहेछ । घोराहीमा हरियो तरकारी बिक्री गर्ने उनी परिवारका सबैको मत यो पटक नयाँलाई जाने बताउँछिन्।
‘यहाँबाट धेरै नेताले जिते पनि कसैले काम गरेन । घोराही सुन्दर ठाउँ भए पनि व्यवस्थित केही छैन । नेताहरूले गर्न सकेनन् । व्यवस्थित किसिमले बाटाघाटा र पुल बनाउन कसैको ध्यान छैन’, उनी भन्छिन्।
घोराही–१४ का महम्मद जाबेद पनि नयाँ दलप्रति उत्साहित देखिए । ‘हामी फागुन ८ गतेको इन्तजारमा छौं । बालेन शाहलाई भेट्न आतुर छौं । मसँगै व्यवसाय गर्ने युवा मोहम्मद अवाज र मोहम्द रकिब पनि नयाँलाई हेर्ने मनमा छन् । अरुलाई हेरियो धेरै पटक बालेनलाई हरौं एक पटक भन्ने हो’, जाबेदले भने ।

तुलसीपुर–१८ कैं गणेश केसीले देशको परिवर्तन र विकासका लागि नयाँ हेरौं भन्ने टोल समाजमा छलफल चलिरहेको बताउँछन् । यही क्षेत्रका ठूला नेता भन्ने शंकर पोखरेलले विकासको काम केही नगरेको उनको दु:खेसो छ । ‘ओलीले जनतालाई छल गर्दा गर्दा देउवाको घरमा भेटिएको पैसा पनि एआईले बनाएको भन्न भ्याए’, उनले भने, ‘अब आफू हेलिकप्टर चढेर भागेको पनि एआईले हो भन्न बेर छैन । नेताले जनतालाई बेकुफ बनाउन दिन अब सकिए ।’
तुलसीपुर–१८ का मिस्त्री काम गर्ने दशिराम चौधरीले गाउँटोलमा रास्वपाको लहर सुनिए पनि आफूले नेपाली कांग्रेसलाई मत दिने बताए । तर, समाजमा जसलाई दिए पनि एउटैलाई दिनुपर्छ भन्ने छलफल भने चलेको उनको भनाइ छ । गाउँका धेरै कांग्रेसले पनि यो पटक घण्टीलाई मत दिनुपर्छ भन्ने छलफल बढी भइरहेको उनले बताए । सोही ठाउँकी मीना चौधरी पहिलो पटक मत हाल्ने तयारीमा छन् । कसलाई मत जान्छ भन्ने प्रश्नमा उनले खुलाउन चाहिनन् । तर, सबैले स्वतन्त्र भन्ने गरेको सुन्दै आएको बताइन् ।
तुलसीपुर–१९ का सुनिल सुनारकी आमा कांग्रेसबाट वडा सदस्य हुन् । जेनजी युवा सुनिल आमा जोडिएको पार्टीमा आफ्नो मत यो पटक नजाले बताउँछन । ‘देश कस्तो हुन्छ भन्नका लागि पनि भोट चेन्ज गर्नुपर्ने छ’, उनी भन्छन्, ‘ममीलाई केही भन्दिनँ तर, बाबा, भाइ, बहिनी र मेरो मत यो पटक पूर्ण रूपमा चेन्ज हुन्छ । देशको मुहार बालेनले फर्नेछ । फागुन ८ गते रवि लामिछाने र बालेन घोराही आउँदैछन् । हामी सबै कार्यक्रममा सहभागी हुन जाने तयारीमा छौं ।’
तुलसीपुर–१८ कै विपुल नेपाली पनि यो पटक नयाँलाई हेर्ने बताउँछन् । तर, टेम्पो चालक विपुललाई रास्वपाको उम्मेदवारको नाम थाहा छैन । ‘एमाले, कांग्रेसलाई सबैलाई जनताले बुझिसके । यो पटक नयाँ पार्टीलाई बुझ्नका लागि भए पनि भोट दिने हो’, उनले भने ।

घोराही उपमहानगरपालिका–११ का देव बस्नेतले नयाँलाई हेरौं भन्ने मनस्थिति बनाएका छन् । विदेश रहँदै आएका उनी पहिलो पटक मतदान गर्न उत्सुक छन् । ‘हामी जस्तो युवाले यो पटक नयाँलाई हेर्ने हो’, उनले भने ।
तुलसीपुर–१७ कि सुनमाया विश्वकर्मा रास्वपाको माहोल रहेको बताउँछिन् । ‘मोबाइल र टिकटकमा घण्टी घण्टी मात्र आउँछ’, उनी भन्छिन्, ‘तर, पनि परिवारसँग सल्लाह गरेर मत हाल्ने सोचमा छु । अहिले नै यो पार्टीलाई हाल्छु भनेर भन्दिन है ।’
घोराही–१३ का लेखनाथ बुढाथोकीले कांग्रेस परिवर्तन भएर आएकाले विगतमा जस्तो यो पटक पनि कांग्रेसलाई मत दिने बताए । ‘कांग्रेस परिवर्तन नभएको भए सोच्नुपर्ने अवस्था थियो’, उनले भने, ‘कांग्रेस विशेष महाधिवेशनबाट परिवर्तन भएर आएको छ । यो क्षेत्रमा विगतमा दुई पक्षीय प्रतिस्पर्धा हुन्थ्यो । यो पटक कांग्रेस, एमाले र रास्वपाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देख्छु ।’

घोराही–१५ का अनिश डाँगीले पनि दाङ क्षेत्र नम्बर २ को माहोल विगतको भन्दा फरक देख्छन् । अघिल्लो पटक पनि घण्टीलाई मतदान गरेको बताउने उनले यो पटक पनि रास्वपालाई मत दिने बताए । न्यू नेशनल ट्रेडसका सञ्चालक समेत रहका उनले पुराना शक्ति मिलेर आए पनि यो पटक रास्वपालाई कसैलाई पाजित गर्न नसक्ने अवस्थामा दह्रिएको बताए ।
घोराही–१८ का व्यवसायी तथा नेपाली सेनाबाट रिटायर्ड एक व्यक्तिले नाम नखोल्ने सर्तमा आफूले एमालेलाई मत दिने सोच बनाएको बताए । ‘व्यवसायी मान्छेले नाम र फोटासहित यसलाई र उसलाई मेरो मत जान्छ भन्न मिल्दैन । तर, म एमालेको पक्षमा मत दिन्छु’, ती व्यक्तिले भने ।
घोराही–१३ का धनबहादुर वलीले देशलाई बचाउन राप्रपा यो देशका लागि उपयुक्त पार्टी भएको दाबी गरे । ‘देशमा विदेशी सेना परेड खेल्यो, देशलाई राजा चाहिन्छ । त्यसका लागि राप्रपा चुनावमा उपयुक्त पार्टी हो भन्ने मलाई लाग्छ’, उनी भन्छन् ।