
रुकुम पश्चिममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा), प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र नेपाली कांग्रेसबीच त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिएको छ ।
२०६४ सालदेखि लगातार चार पटक चुनाव जितेका जनार्दन शर्मा (प्रभाकर) यसपटक पनि चुनावी मैदानमा छन् । फरक यत्ति हो उनी अहिले पुराना सहयात्रीसँग छैनन् ।
माओवादी जनयुद्धकालदेखि नै साविकको माओवादीमा आबद्ध भएका शर्मा यस पटक भने प्रलोपाबाट उम्मेदवार बनेका हुन् ।
माओवादी जनयुद्धकालमा डेपुटी कमान्डरको भूमिका निर्वाह गरेका उनी २०६४ सालको संविधानसभा चुनावदेखि २०७९ सालको प्रतिनिधिसभा चुनावसम्म लगातार चारपटक निर्वाचित भए । यसअघि चुनाव जित्दै आएका प्रभाकरलाई अहिले जनयुद्धकालीन सहयात्री गोपाल शर्माले कडा चुनौती दिइरहेको स्थानीय बताउँछन् । गोपाल नेकपाबाट उम्मेदवार छन् ।
विगतमा प्रभाकरलाई जिताउँदै आएका मतदाता द्विविधामा देखिन्छन् । साबिक माओवादीका कार्यकर्ताहरू (हाल नेकपा)जनार्दनले रुकुम पश्चिममा गरेको विकास निर्माणको कामलाई भुल्न नसकिने बताउँछन् । तर यसो भन्दैमा संगठनलाई घात गरेर उनलाई भोट हाल्न नसकिने उनीहरूको भनाइ छ ।

सानीभेरी गाउँपालिका-४ मेघा पुग्दा केही स्थानीयहरू भेटिए । यसैमध्येका एक धनी बुढाथोकीले विगतमा आफूहरूले जनार्दनलाई मतदान गरेको भए पनि यसपटक के गर्ने भन्ने निर्णय गरिनसकेको बताए । उनको घरमा २ भोट रहेछन् ।
त्यहीँ भेटिएका ६६ वर्षीय देवी चन्दले भने यसपटक पनि जनार्दनलाई नै मतदान गर्ने बताए । ‘हामी पनि विगतदेखि नै माओवादी हो । २०६४ सालदेखि पार्टी र जनार्दनलाई नै मत दिँदै आएको हो’, चन्दले लोकान्तरसँग भने, ‘जनार्दनले गरेको विकासलाई हेरेर भए पनि उसलाई नै मतदान गर्नुपर्छ ।’ उनको घरमा रहेको तीन वटा भोट आँखा चुनाव चिह्नमा जाने चन्दले खुलाए ।
त्यहीँ भेटिएका ४४ वर्षीय तिलकबहादुर ओलीले पनि विगतमा जनार्दनलाई मतदान गर्दै आएका रहेछन् । तर, यसपटक उनले पार्टी नै फेरेका हुनाले के गर्ने भन्ने निर्णय गरिनसकेको वली बताउँछन् ।
‘उहाँले पार्टी छाड्नु हुँदैनथ्यो । पार्टीभित्रै रहेर संघर्ष गर्नुपर्थ्यो’, ओलीले लोकान्तरसँग भने, ‘उहाँले पार्टी छाडिसकेको हुनाले उहाँलाई के आधारमा भोट गर्ने त ?’ पार्टी छाडेर शर्माले धेरै ठूलो भूल गरेको उनले बताए ।

त्यसैगरी, सोही गाउँका ४० वर्षीय तिलवीर ओली र ३० वर्षीय खेमबहादुर कार्कीले पनि जनार्दन वा नेकपाका उम्मेदवारमध्ये कसलाई मतदान गर्ने भन्ने कुराको टुंगो नलगाएको बताए ।
उनीहरूको पनि साझा बुझाइ के थियो भने जनार्दन रुकुम पश्चिमलाई चाहिएको नेता हो तर पार्टी छाड्नु हुँदैनथ्यो । ‘पार्टीमै रहेर नेतृत्वसँग आन्तरिक लडाइँलाई भने जारी राख्नुपर्थ्यो । तर, पार्टी नै छाडेर गइसकेपछि हामीलाई पनि द्विविधा भएको छ’, उनीहरूले भने, ‘हामी नेकपाकै कार्यकर्ता हौं । त्यसैले हामीले पार्टीकै उम्मेदवारलाई मतदान गर्नुपर्ने बाध्यता हुन्छ ।’
संगठनात्मक रूपमा रुकुम पश्चिममा अन्य दल भन्दा नेकपा नै बलियो छ । सानीभेरीमा भेटिएका ती नेकपाका कार्यकर्ताहरूका अनुसार नेकपाको संगठनात्मक मत नै ३४ हजार छ ।
‘संगठनको आधारमा त नेकपाको कसैसँग प्रतिस्पर्धा नै छैन’, उनीहरूले थपे, ‘तर, प्रभाकारले पनि विगतमा त्यही संगठनको मत पाउँदै आएको हुनाले उनले नेकपाकै मत तान्छन् । यसपटक के हुने हो भन्न सकिने अवस्था छैन ।’
साबिकमा नेकपा माओवादी केन्द्र नै हुँदा संगठन बलियो रहेकोमा पछि नेकपा एकीकृत समाजवादीसहित अन्य कम्युनिस्ट पार्टीको एकीकरणले गर्दा रुकुम पश्चिममा नेकपा धेरै बलियो देखिएको उनीहरूको कथन छ ।

२०७९ सालको प्रतिनिधिसभा चुनावमा माओवादी केन्द्रले ३४ हजार, नेपाली कांग्रेसले १४ हजार, नेकपा एमालेले ७ हजार मत पाएको थियो । गत चुनावमा उम्मेदवार नै नउठाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने समानुपातिक तर्फ १८ सय मत पाएको थियो ।
सानीभेरी गाउँपालिका-४ मै केही पर थप स्थानीयहरू भेटिए । ६७ वर्षीय भीमबहादुर ओली, ७२ वर्षीय वीरबहादुर चन्द, ७९ वर्षीय देवबहादुर मल्ल र ६२ वर्षीय अभियान खत्री उभिएर चुनावी गफ गरिरहेका थिए । सोही क्रममा हामी पनि संवादमा मिसियौं ।
विस्तारै खुल्दै गएपछि उनीहरू पुरानो कांग्रेसी भएको खुलाए । आफूहरूले यसपटक कांग्रेसमै मतदान गर्ने उनीहरूको भनाइ छ । स्थानीय निर्वाचनमा यो वडामा कांग्रेसकै उम्मेदवार निर्वाचित भएका रहेछन् ।
‘एक समय त यहाँको ढुङ्गो, माटो सबै कांग्रेस थियो । तर, जनयुद्धपछि माओवादीको संगठन बलियो भयो’, उनीहरूले लोकान्तरसँग भने, ‘कतिपय माओवादीको भयत्रासले पनि माओवादी भए ।’
यो निर्वाचनमा नेकपा, नेपाली कांग्रेस र प्रलोपाबीच नै मुख्य प्रतिस्पर्धा हुने उनीहरूको आँकलन छ ।

त्यसपछि हामी पुगेको सानीभेरी गाउँपालिका-८ सिम्लीमा भेटिए, ३९ वर्षीय तिलकराज विश्वकर्मा । उनले पनि आफूहरूको मत तारामा जाने खुलाए । ‘हाम्रो घरमा जम्मा ५ वटा भोट छ । पाँचै भोट प्रत्यक्ष र समानुपातिक दुवै तारामै जान्छ’, विश्वकर्माले लोकान्तरसँग भने ।
सोही गाउँमा भेटिएका ४० वर्षीय दुर्गाबहादुर भण्डारीले भने आफू २० वर्षदेखि रुखकै मतदाता भए पनि यहाँ रुखले जित्न नसकेको बताए । तर, यसपटक कम्युनिस्टहरूको मत काटाकाट हुने हुँदा कांग्रेसले मौकामा चौका हान्न सक्ने उनको टिप्पणी छ ।
उनको घरमा रहेका जम्मा १५ मत मध्ये १२ मत खस्ने भए पनि मत विभाजन हुने उनले खुलाए । ‘प्रत्यक्षतर्फ रुखमा ४ मत, तारामा ६ मत, घण्टीमा २ मत र २ आँखामा २ मत जान्छ’, भण्डारीले लोकान्तरसँग भने, ‘तर समानुपातिक तर्फ भने सबै भोट घण्टीमा जान्छ होला ।’ उक्त वडा पनि साविकको माओवादीले नै जितेको उनले बताए ।
त्यहीँ भेटिएका २१ वर्षीय प्रकाश बरालले भने आफू जेनजी भएकोले आफ्नो मत घण्टीमा जाने सुनाए । सानीभेरीबाट झन्डै २० किलोमिटर जति उकालो चढेर हामी रुकुमपश्चिमको सदरमुकाम मुसिकोट नगरपालिका पुग्यौं । त्यहाँ भेटिएका धेरैजसो मतदाताले तारा,रुख र आँखामै प्रतिस्पर्धा हुने बताए ।

मुसिकोट नगरपालिका-५ का ६९ वर्षीय नरबहादुर खत्रीले पनि १ देखि २ हजारको मतान्तरले नै ती तीन दलमध्येका कुनै एक उम्मेदवारले जित्ने बताए ।
‘नेकपा, रास्वपा र प्रलोपा गरी तीन जना पुरानो माओवादीकै उम्मेदवार हुन् । उनीहरूबीच मत विभाजन हुने हुँदा कांग्रेसले पनि जित्न सक्छ’, खत्रीले लोकान्तरसँग भने । जनार्दनको संगठन नभए पनि प्रभावशाली व्यक्तित्वका कारण १३ हजार जति मत जनार्दनले पाउने उनीहरूको आकलन छ ।
मुसिकोट नगरपालिकाको वडा नम्बर ५ मा भेटिएका ५२ वर्षीय कर्ण ओली भने आफूहरू आँखामै मतदान गर्ने बताउँछन् । उनी नेकपा एमालेका प्रदेश कमिटी सदस्य पनि हुन् । त्यहाँ एमालेका नन्दराम देवकोटाले उम्मेदवारी दिएको भए पनि पार्टीको केन्द्रीय निर्णय अनुसार उनले आफ्नो उम्मेदवारी फिर्ता लिएर जनार्दनको लागि प्रचार गरिरहेको ओलीले बताए ।
‘यहाँ हाम्रो पार्टीबाट उम्मेदवारी मनोनयन भए पनि पछि पार्टीको केन्द्रीय सर्कुलर बमोजिम हाम्रो उम्मेदवारले मनोनयन फिर्ताको घोषणा गरेर आँखाकै प्रचारप्रसारमा हिँड्नु भएको छ’, ओलीले लोकान्तरसँग भने, ‘अघिल्लो चुनावमा एमालेको ९ हजार समानुपातिक मत खसेको थियो । यस पटक ९ हजारको ८० प्रतिशत जति मत आँखामा जान्छ । २० प्रतिशत मत झुक्किएर सूर्यमै जान सक्छ ।’
एमाले उम्मेदवारले मनोनयन फिर्ता लिएको घोषणा गरे पनि मतपत्रमा सूर्य चिह्न कायमै रहने हुँदा केहीले झुक्किएर सूर्यमै पनि मतदान गर्न सक्ने उनले बताए ।

मुसिकोट नगरपालिका-४ शितलपोखरीमा नाम नखुलाउने केही स्थानीयले भने तारामै मतदान गर्ने बताए । सोही नगरपालिकाको वडा नम्बर ५ सोलाबाङमा भेटिएका ६१ वर्षीय टेकबहादुर खडका र ४८ वर्षीय शेरबहादुर ओलीले भने आँखामा मतदान गर्ने बताए । उनीहरू दुवै जना एमालेका कार्यकर्ता भएकाले पार्टीको सर्कुलर अनुसार आँखामै मतदान गर्ने खुलाए ।
‘जनार्दन शर्माको प्रभाव आफ्नै छ त्यसमा एमालेको पनि मत मिसिएर उहाँ जित्न पनि सक्नु हुन्छ’, उनीहरूले लोकान्तरसँग भने, ‘तर यहाँ तारा धेरै बलियो भएको हुनाले उहाँले ताराको मत कति तान्न सक्नुहुन्छ त्यसमा भर पर्छ ।’
प्रतिस्पर्धा त आँखा, तारा र रुखमै हुने उनीहरूले बताए । घण्टी चौथो पोजिसनमा रहने उनीहरूको आकलन छ ।
त्यही गाउँमा भेटिएकी ४३ वर्षीया निर्मला खड्काले पनि आँखामै मतदान गर्ने खुलाइन् । ‘हाम्रो घरमा तीन वटा भोट छ’, उनले लोकान्तरसँग भनिन्, ‘तारामा हालेर के काम ? आँखामै हाल्ने हो ।’
त्यसपछि हामी पुगेको त्रिवेणी गाउँपालिका -२ सिम्रुत बजारमा भेटिएका ४५ वर्षीय मोहित खड्काले पनि आँखामै मतदान गर्ने बताए ।
‘जनार्दनले गरेको कामको आधारमा हामीले उहाँलाई भोट दिने हो’, खड्काले लोकान्तरसँग भने, ‘हामीले विगतमा माओवादीलाई नै भोट दिँदै आएको हो । तर यसपटक जनार्दनले रुकुममा गरेको विकासको आधारमा आँखामा मतदान गर्ने हो ।’ उनको घरमा रहेको ५ मत आँखामा जाने उनले खुलाए ।

त्रिवेणी गाउँपालिकाको वडा नम्बर ५ जीबाङमा भेटिका ३५ वर्षीय लिलबहादुर घर्तीले भने तारामै मतदान गर्ने बताए । उनको घरमा रहेको ६ मत तारामै जाने खुलाए ।
त्यसैगरी सोही गाउँपालिकाको वडा नम्बर ३ मा भेटिएका ४३ वर्षीय जयराम डाँगीले पनि तारामै मत हाल्ने खुलाए । उनको घरमा रहेको ४ मत तारामै जाने उनले बताए । ३० वर्षीय हिमाल खत्रीले भने कसलाई मतदान गर्ने भन्ने अहिलेसम्म निर्णय नगरिसकेको बताए ।
रुकुम पश्चिमका विभिन्न पालिकाका वडा पुग्दा त्रिपक्षीय प्रतिस्पर्धा हुने धेरैको आकलन थियो । विगतजस्तो यसपटक जनार्दनलाई सहज नहुने उनीहरूको विश्लेषण छ ।
२०६४ सालदेखि जनार्दनलाई निरन्तर मत हाल्दै आएका मतदाताले पार्टीको सिद्धान्त छोड्न नसकिने हामीसँग बताए । जनार्दन रुकुमको मात्र नभएर राष्ट्रकै नेता भए पनि भोट भने तारा छापमै हाल्ने धेरैजसोको भनाइ थियो ।

प्रलोपाले पुरानो माओवादीबाट ५ देखि १० प्रतिशतसम्म मत चोर्न सक्ने आकलन मतदाताहरूको रह्यो । एमालेको कम मत भएको र सबै मत आँखामा ट्रान्सफर हुनसक्ने स्थिति पनि देखिएन । कम्युनिस्टहरू फुटे र आफ्नो सैद्धान्तिक मत जोगाउन सकिए चुनौती राम्रै प्रस्तुत गर्ने आकलन कांग्रेसभित्र देखियो ।
त्यहाँ कांग्रेसबाट राजु केसी उम्मेदवार छन् । त्यसैगरी रास्वपाबाट मानबहादुर शाही, राप्रपाबाट गोपाल खड्का, नेमकिपाबाट धनबहादुर विक, राष्ट्रिय जनमोर्चाबाट सत्यनारायण श्रेष्ठ, नेकपा संयुक्तबाट शेरबहादुर केसी, नेकपा (माओवादी)बाट चन्द्रबहादुर बुढा, उज्यालो नेपालबाट नरेन्द्र केसी र आम जनता पार्टीबाट प्रेमा दमाई नेपाली उम्मेदवार छन् ।